जब मरुभूमि फुल्दछ

गोपीलाल कँडेल Avatar

१० मंसिर २०८१ l बर्दिया l गोपीलाल कँडेल

सहारा मरुभूमि एउटा चुनौतिपूर्ण क्षेत्र हो । यो सुख्खा ईलाका हो र धुलोले भरिएको छ । त्यहाँको भूमि बिरानो र रङ्गहीन छ । जब हावा बहन्छ त त्यसले बालुवा र माटोलाई पुरै सुकाइदिन्छ । निष्ठुरी सूर्यले धेरथोर जुन ओस थियो त्यसलाई पनि सुकाइदिन्छ जसले गर्दा जमीन कडा हुन्छ । मरुभूमि यस्तो ठाउँ हो जहाँ तपाई सोच्नुहुन्छ होला- यहाँ केहि पनि बाँच्दैन र जीवनको कुनै नामो निसान पनि छैन ।

तर, त्यस सतहको ठीक तल अनगिन्ती बीजहरु अङ्कुरित हुने एउटा मौकाको प्रतीक्षा गरिरहेका छन् । तिनले बर्षाको प्रतीक्षा गरिरहेका छन् । कहिले कहिले त दश बर्ष बित्दछ एक थोपा पानी बिना नै । बर्षाद हुने कुनै संभावना नै छैन । केही ग्यारेन्टी छैन- कहिले पानी पर्छ वा पर्दैन ।

यस्तो परिस्थितमा आशालाई जीवित राख्न र धैर्यसंग प्रतीक्षा गरिरहन सहज नहुन सक्छ, तर ती बिजले कहिल्यै पनि आशा त्याग्दैनन् । तिनिहरु सदैव तयारीको स्थितिमा प्रतीक्षा गर्दछन् ता कि जब पानी पर्छ,  तिनीहरु फक्रिनका निम्ति तैयार रहून् र अङ्कुरित हुन सकून ।

एक दिन बादल जम्मा हुन थाल्दछ र हावामा आर्द्रता बढ्न थाल्छ । टाढा कतै मेघ गर्जेको आवाजले बर्षा आउने संकेत दिन्छ । आर्द्रता बढ्ना साथ एउटा मीठो सुगन्ध फैलिन थाल्छ ।

फेरि आउँछ-  पहिलो थोपा,  दोस्रो, थोपा,  फेरि त्यस्रो  र एकदमै छिट्टै बर्षात् हुन थाल्छ । पानी धरती भित्र जान सुरु हुन्छ र ती बीज जो त्यति लामो समय देखि प्रतीक्षा गरिरहेका थिए, तिनमा जीवनको संचार हुन थाल्छ । उनिहरुसंग जति पनि शक्ति छ, ती पुरै शक्ति लगाएर अङ्कुरित हुन र बढ्न थाल्छन् ।

छिट्टै जब-जब फूल ठाउँ ठाउँमा फुल्न सुरु गर्छन्, सारा मरुभूमि चहकिलो रातो,  नीलो,  हरियो,  सुन्तला रङ्गले भरिन्छ । आफ्नो पुरै तयारी अवस्थामा आएको मरुभूमि जीवन र सुन्दरताले भरिएको दर्शनीय स्थल बन्न जान्छ ।

बीजले कहिल्यै पनि बहाना बनाउँदैन- किन उसले यस अवसरको लाभ उठाउन सकेन । उसले भन्दैन- ” मैले सोचेको थिएँ, पानी अर्को हप्ता पर्नेछ ।”

त्यो आफ्नो अवसरको प्रतीक्षामा हमेसा तयारीको अवस्थामा रहन्छ ।

हामीसंग पनि त्यस्तै बीज छ,  जसले धैर्यताका साथ उम्रिने अवसरको प्रतीक्षा गरिरहन्छ । सन्तुष्टिको बीऊ, स्पष्टताको बर्षालाई प्रतीक्षा गरिरहेको छ । तपाईंको प्रतीक्षा छ- तपाईं सन्तुष्ट हुने निर्णय लिनुहोस् । यदि तपाईं यो तय गरेर त्यसका लागि कार्य गर्न सक्नुभयो भने तपाईं भित्र त्यो सुषुप्त बीज आफ्नो बैभवका साथ प्रकट हुनेछ ।

(साभार- श्री प्रेम रावतज्यूको प्रवचन सन्देशबाट )

बिज्ञापन-YM-ADCustom Text

औकात – कृतज्ञता

गोपीलाल कँडेल Avatar

०१ मंसिर २०८१ l बर्दिया l गोपीलाल कँडेल

एउटा गरीब मानिस थियो । घरमा केहि थिएन,  कोहि थिएन । एक दिन ऊ केहि गर्छु भन्ने अठोटको साथ कामको खोजीमा घरबाट निस्कियो । शरीरमा लुगा कपडा पुराना फाटेका थिए, शरीर कमजोर थियो ।  तर मुखमा कान्ति,  मस्तिष्कमा चेत र  मनमा उत्साह थियो । काम र उचित अवसरको खोजीमा भौँतारिदै त्यो मानिस कुनै एउटा देशको राजधानी शहरमा पुग्यो । राजाको दरबारमा कुनै पनि काम पाउन पाए आफ्नो कला कौशल र क्षमता प्रदर्शन गर्ने अवसर पाउन सकिन्थ्यो भन्ने सोचेर त्यो मानिस राजदरबार तर्फ गयो । राजदरबारको बगँचामा काम गर्ने मालीको आवश्यकता थियो। त्यो मानिस त्यहि बगैँचामा काम गर्न थाल्यो । उसले बगैँचामा अत्यन्त मेहनतका साथ काम गर्न थाल्यो जसको कारण छोटो सामयमा नै बगैँचा अत्यन्त सुन्दर र हराभरा हुदै गयो । हरेक दिन राजा बगैँचामा डुल्न आउँथे ।  त्यो नयाँ मालीको कार्य कौशलता देखेर राजा अत्यन्तै प्रभाबित भए र एक दिन उसलाई बोलाएर सोधे, ” तिमिलाई अरु के के काम गर्न आउँछ ?” महाराज! यो सेवकले अरु पनि धेरै काम गर्ने क्षमता राख्दछ । यदि महाराजको सेवा गर्ने मौका मिल्छ भने यस सेवकले कहिल्यै पनि निराश पार्ने छैन ।” ” त्यसो हो भने भोलि बिहान दरबारमा आउनु।”  राजाले हुकुम दिएर दरबार तिर लागे ।

त्यो मानिस भित्र भित्रै धेरै नै खुसी भयो । अब मैले राजदरबारमा काम पाउने भएँ । के के काम गरेर राजालाई खुसी पार्ने भनेर अनेक योजनाहरु बनाउन थाल्यो । अन्तमा ईमानदारीका साथ दत्त चित्त भएर जो परिआएका कामहरु गर्दै राजाको सेवा गर्ने अठोट गर्दै कति बेला निदायो उसलाई पत्तो भएन । बिहान नियत समयमा नै तैयार भएर ऊ राजदरबारमा पुग्यो । उसंग नयाँ कपडा थिएन । ठाउँ ठाउँमा च्यातिएको थोत्रो पुरानो कपडाहरु लगाएर ऊ राजदरबारमा प्रवेश गर्यो । राजदरबारमा प्रवेश गर्दा ऊसंग मात्र एउटा थोत्रो बाकस थियो । राजाले उसलाई आफ्नो दरबारमा जागिर दिए । उसले राजदरबारमा उसलाई दिईएको काम बडो ईमानदारी र लगनका साथ गर्दै गयो । राजाले यसको कामको मूल्याङ्कन गर्दै पदोन्नति गर्दै गए र एकदिन त्यो मानिसलाई राजाले मन्त्री बनाए । मन्त्री बनेपछि पनि बिस्तारै बिस्तारै मेहनत गर्दै जाँदा त्यो मानिस एकदिन मुख्यमन्त्री बन्यो र राजाको दाहिने हात बनेर राजकाजमा राजालाई सघाउन थाल्यो । जब ऊ मन्त्री बन्यो जो त्यहाँ ऊ भन्दा धेरै पुराना भारदारहरु थिए, उनिहरुले  उसको ईर्ष्या गर्न थाले । उसको बिरुध्दमा षडयन्त्र गर्ने योजनाहरु बुन्न थाले । उसलाई कसरी यहाँबाट हटाउने भन्ने बिषयमा उनिहरुले तर्क बितर्क गर्न सुरु गरे । राजाले त्यो मन्त्रीलाई बस्नको लागि राजमहलमै व्यबस्था गरिदिए । त्यो देखेर उनिहरु अझ धेरै चिढिए ।

अव त्यो मन्त्री फुर्सदको समय बिताउन आफ्नो कोठामा जान थाल्यो र त्यहाँ घन्टौँ समय बिताउन थाल्यो । त्यस कोठामा खासै अरु कुराहरु थिएनन् । उसका दैनिक प्रयोगका कुराहरु र राजर्षी पोशाकहरु बाहेक त्यहि पुरानो बाकस थियो । त, जस जसले त्यस ब्यक्तिको ईर्ष्या गर्ने गर्थे उनिहरुले त्यस ब्यक्तिलाई आफ्नो निवासमा गएर घण्टौँ समय बिताउने गरेको देखे । उनिहरुले त्यहाँ एउटा बाकस राखिएको पनि देखे । अब उनिहरुलाई षडयन्त्र रच्ने एउटा ठूलो मसला मिल्यो । उनिहरु सबै जना मिलेर राजा कहाँ गए र राजासंग चुक्ली गरे । ” महाराज यो मानिस ठिक छैन । यो प्राय गरेर हरेक दिन आफ्नो निवासमा जान्छ र त्यहाँ धेरै लामो समय बिताउँछ । त्यसले आफ्नो कोठामा एउटा बाकस पनि राखेको छ । उसले त्यस बाकसमा के के सामानहरु चोरेर राखेको छ । त्यो ब्यक्ति संकास्पद छ,  ईमानदार छैन ।”  यस्तै यस्तै चुक्लीहरु उनिहरुले राजालाई सुनाए । तर राजालाई उनिहरुको कुरामा बिश्वास लागेन किनभने त्यो ब्यक्ति राजदरबारमा आए देखि र मन्त्री भए देखि प्रशासनमा आमूल परिवर्तन भएको थियो । प्रजाहरु सुखी र खुसी हुदै गैरहेका थिए । राज्यकोषमा प्रसस्त धन द्रव्य आम्दानी भैरहेको थियो । राजाले त्यस ब्यक्तिलाई प्रेम गर्थे, बिश्वास गर्थे र  ईज्जत पनि गर्थे । ति भारदारहरुको यस्तो दुराशयपूर्ण कुरा सुन्दा राजालाई ज्यादै नै दुख लाग्यो । उनको बिश्वास र प्रेममा दरार उत्पन्न भयो । उनले पनि ती मन्त्रीलाई शंकाको दृष्टिले हेर्न लागे ।

एक दिन राजा लुक्दै छिप्दै उनको पछिपछि लागेर निवासमा पुगे । जब त्यो मन्त्री आफ्नो कोठा भित्र छिर्यो र ढोका बन्द गर्यो तव राजाले ढोका ढकढकाए । कोठा भित्र पसेर ढोका बन्द गरेको देखेपछि राजाले सोचे कि यो पक्कै बदमास रहेछ, आज त रंगे हात समातिने भयो । अब यसलाई त्यसै छोड्नु हुदैन । कठोर सजाय दिनुपर्छ । राजा यस्तै यस्तै सोच्दैथिए । त्यस ब्यक्तिले ढोका खोलिदियो । ढोकामा राजालाई देख्दा ऊ आश्चर्यचकित भयो र राजालाई कोठामा स्वागत गर्यो “सवारी होस् महाराज ।”  राजाले बाकस तर्फ ईसारा गर्दै भने,  ” यसमा तिमिले के राखेका छौ ? देखाऊ । आज म यस बाकसमा के के राखिएको छ,  हेर्न चाहन्छु ।” ति मन्त्रीले भने, ” महाराज! यसमा हजुरलाई देखाउन लायक कुनै कुरा छैन । हजुरले के हेर्नुहुन्छ र यसमा ?”  राजाले कड्केर भने, ” होईन होईन, यसलाई तुरुन्त खोल । म यसमा के के छ सबै कुरा हेर्न चाहन्छु ।” ति मन्त्रीले जति जति मनाही गर्दै गए,  राजालाई उति उति शंका बढ्दै गयो । ” हैन, यसमा त पक्कै पनि सुन चाँदी र पैसा अवश्य राखिएको हुनुपर्छ । यो सबै मेरो राजदरबारबाट चोरी गरिएको हुनुपर्छ । देखाऊ मलाई । म हेर्छु । यो मेरो आज्ञा हो । यसलाई खोलेर देखाउ । यसमा के के राखेका छौ तिमिले ।”  अनि जब त्यस ब्यक्तिले त्यो पुरानो थोत्रो बाकस खोल्यो त्यसमा एकजोडी पुरानो फाटेको कपडा मात्र राखिएको थियो । राजालाई बडो आश्चर्य भयो कि यसमा यो के हो ? किन यस्ता फाटेका थोत्रा पुराना कपडा राखिएको हो ?  अनि राजाले आश्चर्यपूर्वक सोधे, “के हो यो ? एउटा सम्पन्न राज्यको मन्त्रीको बाकसमा यति पुराना र थोत्रा कपडा ?”  अनि ती  मुख्यमन्त्रीले भने, ”  महाराज ! जुन दिन मलाई हजुरले दरबारमा मौका दिनुभएको थियो,  मैले त्यस दिन यिनै कपडा लगाएको थिएँ । मसंग यी पुराना कपडा बाहेक अरु केहि पनि थिएन । र, हजुरको कृपाको कारण,  तपाईको दयाको कारण आज म यस अवस्थामा छु । हजुरले मलाई जुन यति ठूलो जिम्मेवारी दिनुभएको छ,  त्यसको लागि म धेरै नै आभारी छु,  कृतज्ञ छु । आज म तपाईको असिम दयाले गर्दा एउटा दरीद्र भिखारीबाट यति ठूलो मन्त्री बनेको छु ।”  अनि राजाले सोधे, “यो कोठामा आएर घण्टौँ सम्म तिमी के गर्छौ ? अनि यी थोत्रा फाटेका पुराना लुगा किन ?”  अनि ति मन्त्रीले भने, “महाराज! म हरेक दिन यस कोठामा आएर यी कपडालाई हेर्छु, पहिरिन्छु  र नियाल्छु किनभने म मेरो औकात भुल्न चाहन्न ।  म कहाँ थिएँ भन्ने कुरा बिर्सिन चाहन्न । म कुन अवस्था थिएँ, कसको कृपाले आज म कहाँ बाट कहाँ पुगें भन्ने कुरा बिर्सिन चाहन्न । म आफ्नो औकात भुल्न चाहन्न । त्यस कारण मैले यी कपडालाई सम्हालेर राखेको छु ।  हरेक दिन यिनै भावनाहरुमा डुब्ने गर्नाले तपाईका प्रति श्रध्दा र आदर अझै बढ्छ । मेरो ईमानदारी र बफादारीमा आँच नआओस् भन्ने सतर्कता अझै बढ्छ । किनभने आज जे छु तपाईको कृपा र दयाको कारणले छु र यो यथार्थलाई मैले कहिल्यै पनि बिर्सन चाहन्न । त्यसैले हरेक दिन म यस कोठामा आउँछु र यी पुराना कपडा लगाएर आफूलाई नियाल्छु महाराज । म आफूलाई हरेक दिन आफ्नो औकात सम्झाईरहन चाहन्छु ।”  राजाले जब ती मन्त्रीको यथार्थ थाहा पाए,  उनलाई आफूले केहि समय पहिले सम्म गरेको ब्यवहार र शंका उपशंका प्रति ग्लानी भयो । राजा ति मन्त्रीका सामू भित्र भित्रै नतमस्तक भए । अनाहकमा चुक्ली गरेर अरूको मानमर्दन गर्न खोज्ने ती भारदारहरु दण्डका भागिदार थिए, दण्डित भए भने मन्त्री अझ शक्तिशाली भएर राजदरबारमा सेवा गर्दै रहे ।

जुन किसिमले त्यो साधारण गरीब मानिस राजाको कृपाले मन्त्री बन्यो र उसले त्यो कृतज्ञतालाई बिर्सन चाहेन । त्यसै प्रकारले सृष्टिकर्ताले हरेक मनुष्यको हृदयमा परमसुख परमशांतिको खजाना राखिदिएका छन् जसको हामीले अनुभव गर्नसक्छौँ । तर हामी यस संसारको चमकदमकमा ती सृष्टिकर्ताको कृपालाई बिर्सदिन्छौँ । उनि प्रतिको ईमानदारी र बफादारीलाई बिर्सिन्छौँ । हामीले आफ्नो हैसियत के हो, औकात के हो भन्ने कुरा कहिल्यै पनि बिर्सनु हुदैन । आज संसारमा कृतज्ञतामा ह्रास आएको छ । मानिसले क्षणभर मै आफ्नो औकात बिर्सिन्छ । अलिकति मात्र ठाउँ पायो भने मानिस दम्भ , घमण्ड र अहंकारले चुलिन्छ । म मात्रै हुँ,  अरु कसैको पनि अस्तित्व नै छैन भन्ने दम्भले भरिन्छ । यी र यस्तै बिषयहरुमा श्री प्रेम रावतज्यूले दिनुभएका प्रवचनहरु अत्यन्त उपयोगी छन् । जुन युट्यव र अन्जन टिभिमा हेर्न सुन्न सकिन्छ ।

केहि यस्ता आफ्नो औकात भुलेर दम्भ अहंकार र घमण्डले चुलिएका ब्यक्तिहरु छन् तिनिहरुलाई भन्ने मन लाग्छ- समय छँदै सम्हालिनुहोस् । आज तपाई जहाँ हुनुहुन्छ कसको दया र कृपाले पुग्नुभएको हो ? ति चुक्लीखोर भारदारहरु जस्तो होईन कि ति ईमान र वफालाई बरकरार राख्ने सेवक मन्त्री जस्तो बन्ने संकल्प लिनुहोस् । यो कथाले दिन खोजेको शिक्षा यहि नै हो । धन्यबाद ।

बिज्ञापन-YM-ADCustom Text

नरिवलको नियति

GOPILAL KANDEL

१२ कार्तिक २०८१ l बर्दिया l गोपीलाल कँडेल

यदि तपाई कहिल्यै समुन्द्रको बीचमा कुनै विकट उष्ण टापुलाई हेर्नुहुन्छ भने तपाईले त्यहाँ देख्नुहुन्छ- त्यस निर्जन टापुमा नरिवलका अग्ला अग्ला रुखहरु खडा छन् । भएन त अचम्म ?  आखिर यो त्यस टापुमा कसरी पुग्यो ?

के तपाईंलाई थाहा छ-  त्यस नरिवलले बिलकुल प्रतिकुल वातावरणमा एउटा असम्भब लाग्ने यात्रा गरेको छ ? के तपाईंलाई लाग्छ- त्यससंग कुनै नक्सा थियो ?  थिएन । न त त्यस नरिवलसंग कुनै नक्सा थियो,  न आजकलको उपकरण जस्तो कुनै जिपिएस नै थियो । यस्तो पनि हैन कि ऊसंग त्यहाँसम्म पुग्नको लागि कुनै डुङ्गा वा ईन्जिन थियो । तर, साँचो त यहि हो- यो लामो र दुर्गम यात्रा गर्नका लागि त्यस सानो नरिवलभित्र उसलाई जरुरत पर्नै सबै थोक थियो । समुन्द्रमा जीवित रहनको लागि सफा पानीको जरुरत हुन्छ,  साथै जब त्यो नरिवल कतै किनारा तिर पुग्यो भने त फेरि अङ्कुरित हुनका लागि पनि उसलाई सफा पानी नै चाहिन्छ ।

यस पूरा यात्राका क्रममा नरिवल आफू भित्र मीठो पानीले भरिईरहन्छ । नरिवलको जटायुक्त खोल पुरै यात्राको दौरान एक रक्षा कवच हुनुका साथै तैरिनमा उसलाई सहयोगी हुन्छ । यसैकारण नरिवल पानीमा डुब्दैन, पानीको सतह भन्दा माथि तैरिईरहन्छ र डुङ्गाको पालले जस्तै हावाको बेगलाई पनि समात्ने काम त्यो जटाले गर्दछ ।

बडा उत्साहका साथ यो नरिवल आफ्नो अज्ञात गन्तब्य तिर अघि बढ्दै रहन्छ । रुखबाट झरेर सागरको फिँजयुक्त छालद्वारा बारम्बार तरङ्गित भैरहन्छ । यसले बारम्बार खुला सागरमा पुग्ने प्रयास गरिरहन्छ । एकपटक जब यो नरिवल सागरमा पुग्दछ अनि तत्काल सागरको छाल र हावाको गति समातेर आफ्नो गन्तब्य स्थलतिर बढिरहन्छ । कहिल्यै सोच्नुभएको छ- यति बिशाल सागरको बीचमा प्रचण्ड छालहरुको झापड सहेर यो सानो नरिवल बिलकुलै आत्तिदैन । मानवले बिशालकाय जहाज, ट्याङ्कर, पनडुब्बी आदि बनाएका छन् तर जब समुद्रमा तुफान आउँछ ति ठूला ठूला जनयानहरु पनि नजिकको बन्दरगाहमा शरण लिन्छन् र आफूलाई सुरक्षित राखेर तुफान हट्ने प्रतीक्षा गर्दछन् ।  तर,  यो नरम नरिवलले त्यसो गर्दैन । हरेक तेज छाल संगसंगै माथि उछालिन्छ र हरेक दोश्रो छालसंगै तल पछारिन्छ । तुफानले यसका लागि एउटा यस्तो उपकरणको जस्तै काम गर्दछ जो एक किसिमले यस यात्रामा सहयोगी बन्न जान्छ ।

एक दिन समुन्द्रको कुनै ठुलो छालले त्यो नरिवललाई कुनै नयाँ किनारामा हुरर्‍याईदिन्छ । त्यो नयाँ ठाउँमा पुगेर यो नरिवलले चुपचाप आफ्नो जरा फिजाउँछ र एक दिन यस्तो पनि आउनेछ- त्यस नयाँ ठाउँमा नरिवलको एउटा रुख आफ्नो फललाई फेरि पनि समुन्द्रका छाललाई सुम्पिनका लागि तयार हुनेछ ।

जे जति पनि नरिवलसंग छ,  त्यसले बढी भन्दा बढी आफ्नो क्षमताको उपयोग गर्दछ,  कुनै हिचकिचाहट बिना,  केहि नसोचीकन यस्ता हरेक अवसरहरुलाई समात्छ, जो उसले पाउँछ र अन्ततः त्यो त्यस ठाउँमा पुग्न सफल हुन्छ,  जहाँ उसले आफूलाई फेरि पनि सृजना गर्न सक्छ,  फेरि स्थापित गर्न सक्छ ।

हामीसंग पनि ती सम्पूर्ण जरुरी ताकत छन्, ती तमाम शक्ति छन्, जसको सहि प्रयोग गरेर  हामी त्यस लक्षित बिन्दुलाई, त्यस स्थानलाई प्राप्त गर्न सक्छौँ । आफ्नो जिज्ञासा र आफ्नो साँचो उत्साहले हामी आफू भित्रको त्यो स्थान प्राप्त गर्न सक्छौँ, खोज्न सक्छौँ जहाँ सहि अर्थमा,  हामी आफै आफूसंग,  पूर्ण सहजताका साथ,  पुरै शांतिका साथ त्यस आनन्दलाई अनुभूति गर्न सक्छौँ- जो हामी भित्रै छ । ( साभार- Splitting the Arrow by Prem Rawat )

बिज्ञापन-YM-ADCustom Text

शांति कहिले चाहिन्छ ?

०४ कार्तिक २०८१ l बर्दिया l गोपीलाल कँडेल

एउटा मानिस थियो । उसले कसैको कुभलो चिताउदैन थियो । आफ्ना आराध्यदेव प्रति सधै निहुरन्थ्यो, सम्मान प्रकट गर्थ्यो । एक पटक उसले आफ्नो भगवानसंग गम्भीर प्रार्थना गर्‍यो “हे भगवान मेरो ईच्छा पूर्ण गरिदिनु होस् ।” त्यो पुकारलाई भगवानले पनि सुन्नुभएछ । ध्यानदृष्टिले हेर्दा कुनै कुराको अभावमा त्यो भक्त निकै नै दुखी भएको महसुस गर्नुभएछ । अनि भगवानले नजिकै आएर दर्शन दिनुभयो र सोध्नुभयो ” म तिम्रो कुन ईच्छा पूरा गरिदिऊँ ?  भन।”  उसले भगवानको प्रार्थना गर्दै भन्यो ” प्रभु ! मेरो आर्थिक अवस्था निकै कमजोर छ, एउटा राम्रो जागिर पाउन पाए हुन्थ्यो” ।

संसार भरी नै भगवानका भक्तहरुले आफ्ना आवश्यकता र अभावहरु पूरा गराउन भगवानसंग बरदान माग्ने गर्छन् । यो भक्तले पनि कुनै राम्रो नोकरीको बरदान माग्यो । भगवानले पनि “तथास्तु” भन्नु भयो। त्यसपछि उसलाई जागिरको अफर आयो। राम्रो जागीर पायो र खुसी खुसी दिनहरु बिताउन थाल्यो । त्यो मानिस केहि बर्ष त खुसी नै देखियो तर बिस्तारै बिस्तारै उसको खुसी कम हुदै गयो । पाँच सात बर्ष पछि त ऊ निकै चिन्तित र उदास देखिन थाल्यो । आफ्नो भक्त चिन्तामा डुबेको देखेर भगवान फेरि त्यस मानिसको नजिकमा आउनु भयो र सोध्नुभयो ” कस्तो चलिरहेको छ ? राम्रो नोकरी पाएका छौ, फेरि किन चिन्तित देखिन्छौ ? तिम्रो अरु कुनै ईच्छा बाँकी छ ?” अनि उसले भन्दछ “प्रभु मेरो अब एउटै ईच्छा बाँकी छ, मेरो आफ्नै एउटा घर भैदिएको भए हुन्थ्यो । यहि चिन्ताले मलाई सताईरहेको छ प्रभु ।” भगवानले फेरि उसलाई बरदान दिनु भयो र अन्तर्ध्यान हुनुभयो। केहि समय त त्यो ब्यक्ति खुसी नै भयो तर फेरि बिस्तारै बिस्तारै उसको अनुहार मलीन देखिन थाल्यो । बिस्तारै बस्तारै चिन्तामा डुब्न थाल्यो । आफ्नो आराध्य देवलाई सम्झन थाल्यो, मनमनै पुकारा गर्न थाल्यो  “हे प्रभु मेरो चिन्ता हरण गरिदिनुहोस् ।” फेरि पनि भगवान प्रकट हुनुभयो र सोध्नु भयो ” अब फेरि के भयो ? किन मलाई बोलाएको ? फेरि कुनै ईच्छा जाग्यो कि के हो भक्त ?”  हो प्रभु ! अब मेरो एउटै ईच्छा बाँकी छ । मेरो यो एक्लो जिन्दगी निक्कै नै कष्टकर बनेको छ । सबैथोक हुँदा हुदै पनि एक्लोपनले मलाई आनन्द नै छैन । अब हजुरको आशीर्वादले मेरो एक असल कन्यासंग बिवाह हुन पाए अति नै उत्तम हुने थियो प्रभु ।” ल ठिक छ! तिम्रो बिवाह पनि भैहाल्नेछ । अरु कुनै बाँकी छ माग्नुपर्ने  भने भनी हाल ।” ” छैन प्रभु मलाई अब यति भए पुग्छ । हजुरको जय होस्।” त्यस भक्तले भन्यो । भगवानले तथास्तु भन्दै अलप हुनुभयो । त्यसपछि उसका दिनहरु आनन्दले बित्न थाले । घरको सारा काम धन्दा पत्नीले गर्थिन् भने ऊ जागीरमा जान्थ्यो । नोकरीमा पनि तरक्की हुदै गयो । ऊ यतिबेला सम्म ठूलो अफिसर भैसकेको थियो । पाँच छ बर्ष सम्म अनि आनन्द र सन्तोषका साथ बितिरहेको जिन्दगीमा फेरि चिन्ताका भावहरु देखा पर्न थाले । भित्र भित्रै मन कुटुकुटु खान थाल्यो । पत्नीको अनुहार पनि मलीन देख्न थाल्यो । अनि फेरि भगवानलाई बोलाउने निधो गर्‍यो र प्रार्थना गर्‍यो । फेरि पनि भगवान प्रकट हुनुभयो र सोध्नुभयो ” अब फेरि के चाहियो ?”  “प्रभु हजुरको कृपाले मलाई सबैथोक पुगेको छ। तर अहिले आएर फेरि मलाई एउटा चिन्ताले सताईरहेको छ प्रभु । दिन पर दिन पत्नीको अनुहारमा पनि मलीनता बढ्दै गएको देख्छु । अरु छिमेकी र समवयका मित्रहरुको घरमा बच्चाहरू खुसीले चिच्याएको आवाज गुञ्जिरहेको हुन्छ। तर मेरो घर सधै सुनसान हुन्छ, समशान जस्तो। त्यसैले प्रभु! १-२ वटा बच्चाको चाहना जाग्यो प्रभु । मेरा पनि बालबच्चा होउन् । अब यो आखिरी ईच्छा पनि पूरा गरिदिनु हवस् ।”  भगवानले यो ईच्छा पनि पूरा गरिदिनु भयो।

अब उसको जिन्दगीमा बालबच्चा पनि आए। सधै खुसी नै खुसी। नोकरीमा पदोन्नति, तलवमा बृध्दि। बच्चाहरु पनि ठूला भएर स्कूल जान थाले । स्कूलको पढाइ सकेर कलेज गए । त्यहाँबाट पनि ग्राजुयट भएर आ-आफ्नो रुची अनुसार पेशा अपनाएर कमाउन पनि थाले । अब त त्यो भक्त अरु खुसी हुनुपर्ने हो तर अझै पनि ऊ खुसी हुन सकेन । सधै कुनै न कुनै चिन्ताले खिन्न भैरहेको अनुभव उसले गर्न थाल्यो । यति बेला सम्म ऊ बुढो भैकेको थियो । जागीरबाट पनि रिटायर्ड भैसकेको थियो । राम्रोसंग आखा पनि देख्न नसक्ने, कान पनि सुन्न नसक्ने भयो । हिडडुल गर्न पनि समस्या, उठबस गर्न पनि समस्या, सुत्न पनि समस्या, सुतेर उठ्न पनि समस्या, यस्तै भैरहेको थियो । फेरि एक दिन भगवान आउनु भयो र सोध्नु भयो ” के छ तिम्रो हालचाल ? सबै ठिकठाक त छ ? कि कुनै ईच्छा अझै बाँकी छ ?” उसले अनुहार मलीन बनाउदै भन्यो “हे भगवान! यो सबै थोक हुँदा हुदै पनि मनमा शांति छैन । हजुरको कृपादृष्टिले जागिर घर पत्नी बालबच्चा प्रमोशन धन दौलत सबै कुरा सम्पन्न छ । छोराछोरीहरु आ-आफ्नो लाईनमा लागिसकेका छन् । मलाई कुनै कुराको अभाव छैन प्रभु । तर यो मनमा कुनै न कुनै कुराले अशांति भैरहन्छ । सबै भन्दा ठूलो कुरा त शांति रहेछ प्रभु । अब मेरो आखिरी ईच्छा यहि छ कि मलाई शांति मिलोस् । प्रभु! अब मलाई शांति दिनुहोस् ।” भगवानले मुस्कुराउँदै भन्नु भयो ” यो कुरा तिमिले पहिले नै मागेको भए कति राम्रो हुन्थ्यो । होईन र ? तिमि त पहिलो दिन मै शांति माग्न चाहन्थ्यौ तर तिमिले जागिर घर पत्नी बालबच्चा र सम्पत्तिमा नै शांति देख्यौ। वास्तबिक शांति ती कुराहरुमा निर्भर छैन भन्ने कुरा तिमिले बुझ्न सकेनौ । यो कुरा बुझ्न तिमिलाई यतिका समय लाग्यो । जीवनको उत्तरार्धको पनि डिलमा आईपुग्दा बल्ल तिमिलाई थाहा भयो कि शांति नै प्रमुख चिज हो । शांतिको अभावमा सबै कुरा क्षणिक र अधुरो नै हुन्छ । काश ! यो कुरा तिमिले पहिलो भेट मै मागेको भए! ल ठिक छ, अन्तिम अवस्था नै सहि, अब तिमिलाई आत्मिक शांति पनि प्राप्त हुनेछ, तथास्तु ” । भगवान अन्तर्ध्यान हुनुभयो । (प्रेम रावतजीको शांति संदेशबाट भावानुबाद)

शांति त जीवनको सबै भन्दा पहिलो आवश्यकता हो । जन्म देखि मृत्यु सम्म सधैभरि शांतिको उत्तिकै महत्व छ । शांति त बुढेसकालमा पो चाहिन्छ त ! शांतिको लागि अहिले हाम्रो समय होईन भन्ने गरेको पनि सुनिन्छ तर त्यसो होईन । जन्म देखि मृत्यु सम्म हरेक पल पलमा शांतिको उत्तिकै महत्व र जरुरत छ । शांति छैन भने जीवनमा कुनै पनि कुराले आनन्द दिन सक्दैन । त्यस कारण मानिसको पहिलो आवश्यकता नै शांति हो । मन मस्तिष्कमा शांति छ भने मानिस जे जस्तो अवस्थामा पनि खुसी र सुखी रहन सक्छ । हरेक कठिनाईहरुसंग शाहसका साथ मुकाबिला गर्न सक्छ र जीवनमा सफलता हासिल गर्न सक्छ । यदि जीवनमा शांति छैन भने उसले कुनै प्रगति गर्न सक्दैन । जीवनमा कुनैपनि सफलता हासिल गर्न सक्दैन । शांति खलबलिन जाँदा मानिसहरुले अकालमृत्यु पनि रोज्ने गर्छन् । त्यसकारण शांतिको महत्व बुझेर जीवनमा शांति कसरी स्थापना गर्न सकिन्छ र कसरी शांति बनाईराख्न सकिन्छ भन्ने बिषयमा बुझ्न आवश्यक छ l

बिज्ञापन-YM-ADCustom Text

मन्दिरका भगवान

गोपीलाल कँडेल Avatar

२० असोज २०८१ l बर्दिया l गोपीलाल कँडेल

यो कथा मैले रचना गरेको होईन तर कतै पढेको कथालाई यहाँ उतार्ने प्रयास गरेको छु । कथा मार्मिक छ र सन्देशमुलक पनि छ। ध्यान दिएर पढिदिनुहोला ।

एक दिन एउटी आमाले आफ्नो सानो छोरालाई लिएर मन्दिर जाँदै थिइन् । उनीहरू मन्दिरतिर जाँदै गर्दा बाटोमा सिंगमरमरबाट बनाइएको सिंह देखे । जब बच्चाले सिंह देख्यो, ऊ डराएर रुन लाग्यो । तव उसकी आमाले बच्चालाई सोधिन् –”बाबु तिमी किन रोएको ? “

बच्चाले भन्यो –”आमा ! मैले दुईवटा सिंह देखेँ, उनीहरूले मलाई खान्छन भन्ने डर लागिरहेको छ ।”

आमाले भन्छिन् –”हैन छोरा यी सिंहहरू त पत्थरका हुन्, यिनीहरूले तिमीलाई थोरै केही गर्न सक्छन् ?!”

फेरि जब उनीहरू आमाछोरा केही अगाडि बढे तव सिंगमरमरका दुईवटा हात्ती देखिए । हात्ती देखेर डराउँदै बच्चा फेरि रुन लाग्यो ।

आमाले सोध्छिन् –”अब फेरि किन रोएको ? “बच्चाले उत्तर दियो –”मैले दुइवटा हात्ती देखेँ, यिनीहरू धेरै ठूला छन्, मलाई कुल्चिएर मारिदिनेछन्” आमाले छोरालाई संझाउदै भनिन् –”हैन बाबु तिमी चिन्ता नगर, यिनीहरूले केही गर्दैनन्, यी पनि त पत्थरकै हुन्, यिनीहरूले तिमीलाई के गर्न सक्छन् र ? “

फेरि केही अगाडि पुग्दा मन्दिरको ढोकामा पत्थरले बनेका दुईवटा ठूला ठूला भयानक द्वारपाल हातमा भाला लिएर खडा थिए । सबैकुरा पत्थरकै थिए । बच्चाले यो सबै देखेर धेरै डरायो अनि रुन लाग्यो । फेरि आमाले सोधिन् –”अब फेरि किन रोएको ?”

बच्चाले रुँदै भन्यो –”उता हेर्नुस् त आमा ! दुईवटा देवदूत उभिइरहेका छन् । लामालामा जुँगा पालेका छन्, पगडी बाँधेका छन्,यिनीहरूले हामीलाई मार्ने छन्।”

आमाले भनिन् –”हैन बाबु यिनीहरू पनि त पत्थरकै हुन् । यिनीहरूले तिम्रो केही बिगार्न सक्दैनन् । यिनीहरूले केही पनि गर्न सक्दैनन् नडराऊ।”

दुवै जना मन्दिर भित्र गए । आमा चन्दन अक्षता, फूलफल दुध आदि पूजाका सामान मूर्तिमा चढाउदै थिइन । बच्चाले चुपचाप हेरिरहेको थियो । अनि यो सब देखेर बच्चाले आमासँग सोध्यो –”आमा यो तपाई के गरिरहनु भएको छ ?”

आमाले जवाफ दिइन् –”म भगवानको पूजा गर्दैछु, प्रसाद चढाउदै छु, फलफूल चढाउँदैछु, माला चढाउँदैछु, देखेनौ र ?”

अनि बच्चाले भन्यो –” देखिरहेको छु आमा ! आमा यिनी पनि त पत्थरकै हुन नि ! हैन र ? पूजापाठ गर्दैमा यिनले तपाईलाई के गर्लान र ? पत्थरबाट बनेका मुर्तीले केहि गर्न सक्दैनन् भन्नु भएको होईन ?”

बच्चाको जवाफ सुनेर आमा आश्चर्यचकित भइन् । ऊनलाई बच्चाको जवाफले गम्भीरतापूर्वक सोच्न बाध्य बनायो ।

यस कथाबारे मेरो निजी बिचार यस प्रकार रहेको छः-

मन्दिर आस्थाको केन्द्र हो । मन्दिरमा गएर पूजा आराधना गर्नाले ईश्वरीय भावको बिकास हुन्छ । ईश्वर प्रति प्रेम जागृत हुन्छ । ईश्वर खोजीको ईच्छा जागृत हुन्छ । मनमा एकप्रकारको शान्ति मिल्छ । तर के मन्दिरमा गएर मुर्तीमा चन्दन अछेता दुध फलफूल र रुपैया पैसा चढाउदैमा ईश्वर प्रशन्न हुन्छन् त ?  मन्दिरमा गएर हामी बरदान माग्छौँ । के मन्दिरमा मागेका सबै बरदानहरु पूरा भएका छन् त ?  मन्दिर नजाने र पूजा नगर्नेलाई के हुन्छ ? बडो गम्भीर प्रश्न हुन यी । म पूजापाठ र आराधनाको बिरोधी होईन तर वास्तबिक पूजा हुनुपर्ने मन्दिरमा गएर पूजा गर्न हामी चुक्यौँ कि ! हाम्रो हृदय मन्दिरमा जीवन्त परमेश्वर हुनुहुन्छ, पत्थरको मुर्ती होईन। के हामीले आफू भित्र बिराजमान परमेश्वरको पूजा गरेका छौँ ?  त्यो मन्दिरमा कहिल्यै शिर निहुराएका छौँ ?  मेरो सल्लाह के छ भने बाहिरको मन्दिरमा त जानुस् पुजा आराधना गर्नुस् त्यसमा कुनै आपत्ति छैन तर जहाँ जीवन्त परमेश्वर बस्नुभएको छ त्यहाँ पनि जानुस् । त्यो मन्दिर तपाई भित्रै छ, तपाईको हृदयमा छ। हृदय निवासी भगवानलाई चन्दन अछेता फलफूल भेटी केहि चाहिँदैन, केवल तपाईको प्रेम र भाव चाहिन्छ। भगवान भावको भोको हुनुहुन्छ, अरु कुराको होईन। भगवान श्रीकृष्णको उपदेश अनुसार समयको महापुरुषबाट आत्मज्ञान प्राप्त गरेर त्यसको अभ्यासबाट हृदयनिवासी परमात्मालाई भेट्न अनुभव गर्न सकिन्छ। यसको लागि सहयोग चाहिएका आउनुहोस्- हामी सहजीकरण गर्न तयार छौँ ।

बिज्ञापन-YM-ADCustom Text

प्रमुख जिल्ला अधिकारी शर्मा लाई ध्यानाकर्षणपत्र

१८ असोज २०८१ l बर्दिया l हिन्दु धर्ममा महान पर्बका रुपमा मनाइने चाड दशै नजिकिदै गर्दा हुनसक्ने सम्भावित घटनाहरुको नियन्त्रणमा सम्बन्धित निकायहरुले विशेष ध्यान दिनुपर्ने र चाडपर्वको बेला राज्यप्रशासन चनाखो भै आफ्नो भुमिकालाई प्रभावकारी ढंगले निर्वाह गर्न अनुरोध गर्दै नेकपा (बहुमत) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) बर्दियाले संयोजक रमिता थारुको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी रूद्रा देवि शर्मा लाई ध्यानाकर्षणपत्र बुझाएको छ। यातायात क्षेत्रमा यात्रु ठगिने,कालोबजारी, महंगी तथा उपभोक्ता ठगिने अवस्था तथा जुवातास लगायतका घटना रोक्नु पर्ने माग गर्दै ५ बुदे ध्यानाकर्षणपत्र बुझायको हो l ध्यानाकर्षणपत्रको पूर्णपाठ पढनुहोस :

श्री प्रमुख जिल्ला अधिकारी ज्यू,
जिल्ला प्रशासन कार्यालय बर्दिया ।

विषयः ध्यानाकर्षणपत्र

यतिबेला बहुसंख्यक नेपालीहरुले मनाउने दशै, तिहार र छठपर्वको पूर्वसन्ध्यामा हामी छौ । देश र विदेशबाट समेत आफ्‌नो घर फर्किने क्रम बढ्दो छ। यातायात क्षेत्रमा चाप बढेको कारण यात्रुहरुले सकसपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। यति मात्रै होइन दुर्घटनाहरु समेत बढ्न सक्ने देखिन्छ । साथै, चाडपर्वमा सामानको खपत उच्च हुने हुँदा बजारमा सामानहरुको खरिदक्रम पनि उच्च हुँदै गएको छ । यसै मौकामा सामान खरिद-विक्रिमा बदमासीहरुपनि उच्च हुने गरेका छन्। मूल्य, तौल र गुणस्तरमा ठगिने, मिसावट हुने, कालोबजारी गर्ने, सामानको अभाव सिर्जना गर्ने लगायतका समस्याहरु देखिदै आएका छन् । समाजमा चोरी डकैति हुने, जुवा तास खेल्ने, अधिक मदिरा सेवन गर्ने, झैझगडा गर्ने समस्याहरुपनि चाडबाडकै बेला उच्च हुने गरेका छन्। यस बर्दिया जिल्लामा व्यापारिक नाका समेत भएको कारणले गदां सीमा नाकामा विभिन्न किसिमका अवैध कारोबार बढ्ने, तस्करी हुने र लागूऔषधको अवैध कारोबार, ओसारपसार तथा प्रयोग उच्च हुने गरेका छन्। आफ्‌नो सास्कृतिको जगेनां गर्नु सचन पाटो हो तर पछिल्लो समय चाडपर्व भड़िकिलो र खर्चिलो गरी मनाउने गलत प्रचलन समेत समाजमा बढ्दै गए‌को छ। यि लगायत चाडबाडकै मौका छोपी हुण्डीको कारोबार समेत बढ्ने गरेका घटना हामीले झेल्दै आएका छौ ।

हाम्रो संगठन आफ्‌नो स्थापनाकालदेखि विद्यार्थीका हक अधिकारका साथै आम जनजीविकाका सवालमा समेत दिलोज्यानले सक्रिय रहेको कुरा सबैमा विदितै छ। यसै सन्दर्भमा नजिकिदै गरेको चाडपर्वको बेला राज्यप्रशासन चनाखो हुन र आफ्नो भुमिकालाई प्रभावकारी ढंगले निर्वाह गर्न अनुरोध सहित हाम्रो संगठन तपशीलको विषयमा प्रशासन कार्यालयको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

तपशील
१) यातायात क्षेत्रमा कडाई पूर्वक निगरानी सहित यात्रु ठगिने, दुर्घटना बढ्ने अवस्थाको अन्त्य गरियोस् ।

२) बजार अनुगमनलाई तीव्र र प्रभावकारी ढंगले अगाडी बढाइयोस् । एकाधिकार, कालोबजारी, महंगी तथा उपभोक्ता ठगिने र सामान अभाव हुने अवस्थाको अन्त्य गरियोस् ।

३) चाडपर्वकै बेला समाजमा बढ्न सक्ने लुटपाट, चोरी डकैति, कैझगडा लगायतवाट जनताको सम्पत्ति र जिउको उचित सुरक्षा प्रदान गरियोस् ।

४) लागू औषधको कारोवार र प्रयोग तथा सीमा नाकामा हुने अवैध कारोचार, तस्करी, जुवातास लगायतका घटना रोक्न विशेष अभियान सञ्चालन गरियोस् ।

५) रेडियो टिभि र सामाजिक सञ्जाल मार्फत चाडबाड केन्द्रीत सामाजिक सचेतना मूलक प्रचार कार्यलाई व्यापक बनाइयोस् ।

बिज्ञापन-YM-ADCustom Text

ॐ के हो !

गोपीलाल कँडेल Avatar

बर्दिया l १३ भाद्र २०८१ l गोपीलाल कँडेल

संसारको सबैभन्दा प्राचिन धर्म सनातन संस्कृति हो। पछि समाजमा बिचलन आएर मत र मान्यताहरु बिभाजन हुदै बिभिन्न धर्मको प्रादुर्भाव हुन थालेपछि सनातन संस्कृतिलाई हिन्दु धर्म भनेर नामाकरण गरिएको हो। हिन्दु धर्मको नामाकरण करिव १५०० ईपु तिर भएको अनुमान छ। यस हिसावले हेर्दा जुनबेला हाम्रा ऋषिमुनीहरुले ॐ को कन्सेप्ट उजागर गरे त्यसबेला संसारका सबै मानिसहरु सनातनी थिए। पछि लिपिबध्द गर्ने क्रममा चारबेदमा र उपनिषदहरुमा ॐ को उत्पत्ति अर्थ र महत्वको बारेमा प्रशस्त वर्णन गरिएको छ। माण्डूक्य उपनिषद, प्रश्न उपनिषद, कठ उपनिषद, छान्दोग्य उपनिषद, तैत्तिरीय उपनिषद आदिमा ॐ को प्रशस्त चर्चा र व्याख्या गरिएकोछ। ॐ को उत्पत्ति र यसको महत्त्वलाई प्रारम्भ देखि नै ब्रह्माण्डकै उत्पत्तिसँग जोडिएको छ। ॐ लाई ब्रह्माण्डको आदिम ध्वनि (प्रणव), जसबाट सम्पूर्ण सृष्टि उत्पन्न भयो  भनेर मानिएको छ। यसको उत्पत्ति र महत्वको बिषयमा विभिन्न धार्मिक ग्रन्थहरूले गहन व्याख्या गरेका छन्, विशेष गरी उपनिषद र वेदहरूले यसको आध्यात्मिक र दार्शनिक आयामको वर्णन गरेका छन्। ॐ लाई ब्रह्माण्डीय ध्वनि वा मूल ध्वनि मानिन्छ, जसबाट ब्रह्माण्डको सृष्टि भएको हो। हिन्दू धर्मको मान्यताअनुसार ॐ ब्रह्माण्डको पहिलो ध्वनि हो जुन सम्पूर्ण अस्तित्वको प्रारम्भ हो, आधार हो। माण्डूक्य उपनिषदमा ॐ लाई सम्पूर्ण ब्रह्माण्ड र जीवनको अस्तित्वसँग जोडिएको छ। ॐ लाई जागृत, स्वप्न, सुषुप्ति, र तुरीय (जुन ब्रह्मसँगको एकत्वको अवस्था हो) का प्रतीकका रूपमा व्याख्या गरिएको छ। वैदिक परम्परामा ॐ लाई “प्रणव” भनिन्छ, जसको अर्थ “ध्वनिको स्रोत” हो। यो ध्वनि कुनै भौतिक वस्तुबाट उत्पन्न भएको होइन, बरु यो ब्रह्माण्डको अनन्त शक्ति र चेतनाबाट उत्पन्न भएको हो। ॐ लाई ब्रह्माण्डीय ध्वनि वा मूल ध्वनि मानिन्छ, जसबाट ब्रह्माण्डको सृष्टि भएको हो। सनातन धर्मको मान्यता अनुसार ॐ ब्रह्माण्डको पहिलो ध्वनि हो जुन सम्पूर्ण अस्तित्वको प्रारम्भ हो बर्तमान हो र भबिष्य पनि हो। त्यहि ब्रह्माण्डमा गुन्जायमान भैरहेको कम्पनबाट निस्केको ध्वनिलाई प्रतिनिधित्व गर्नको लागि एउटा अक्षरको बिकास भयो त्यो हो ॐ। ॐ आफैमा केहि पनि होईन तर यसले प्रतिनिधित्व गरेको ध्वनिले अत्यन्त ठूलो महत्व राख्दछ । यसलाई प्रस्ट्याउनको लागि सनातनी बिद्वानहरुले अनेक कोसिस गरेका छन् । शंखनादबाट निस्कने ध्वनि, घण्टा बजाउँदा निस्कने तरंगित ध्वनि र मुखैले अ+ऊ+म को उच्चारण गरेर निस्कने स्वरलाई ॐ को प्रतिकका रुपमा लिएका छन् । हो, ब्रह्माण्डमा प्रतिध्वनित भैरहेको रिनिनिनि- टिनिनिनि को आवाज नै ॐ हो । ॐ को प्रतिध्वनि त अझ अलि ठूलो आकारको घण्टा बजाउँदा स्पष्ट सुन्न सकिन्छ । बिद्युत उत्पादन गर्ने टर्वाईनहरु जस्ता ठूला ठूला मेसिनहरुको नजिकै गएर गहिरिएर सुन्ने हो भने ॐ को प्रतिनिधि ध्वनि सुन्न सकिन्छ, यद्यपि यो ध्वनि ॐ होईन । ॐ को ध्वनि यस ब्रह्माण्डमा हरेक बस्तु जीव निर्जीव सबैमा स्वसमाहित छ । समग्र ब्रह्माण्डलाई हेर्ने हो भने ॐ नै ब्रह्माण्डको जीवन हो । यसको लयबाट निस्कने उर्जा र जीवनले सम्पूर्ण चराचर र ग्रह नक्षत्र तारा सबैलाई अस्तित्वमा राखेको छ । हरेक कण कणमा ॐ ध्वनिको उपस्थिति छ । हरेक जीवनमा ॐ ध्वनिको उपस्थिति छ। हरेक प्राणीमा ॐ को उपस्थिति छ। हरेक मनुष्यमा ॐ ध्वनिको उपस्थिति छ। यदि त्यो ॐ को उपस्थिति भएन भने कुनै पनि प्राणी वा मानिस जीवित रहन सक्दैन। संसारको कुनै पनि प्राणीको जीवन ॐ ध्वनिको श्रोतमा अडेको छ। तपाईको शरीर भित्र ताप र धड्कन कसरी भैरहेको छ, बिचार गर्नुस् त ? जुन दिन त्यो अदृश्य दिब्य शक्तिले छाडिदिन्छ त्यस दिन तपाईको शरीरबाट ॐ पनि बिदा हुनेछ। सम्पूर्ण ब्रह्माण्डमा निरन्तर गुन्जायमान भैरहने त्यस ॐ शक्तिको कारण नै संसार अस्तित्वमा छ, तपाई हामी अस्तित्वमा छौँ। वेदहरूमा यसलाई ब्रह्माण्डको उत्पत्ति र संचालनको श्रोत परमशक्ति (ब्रह्म) को प्रतीकका रूपमा ब्याख्या गरिएको छ। केहि पौराणिक ग्रन्थहरुमा ॐ लाई ब्रह्मज्ञान र आत्मज्ञान प्राप्त गर्ने मार्गको रूपमा पनि व्याख्या गरिएको छ। भागवत गितामा ॐ को निरन्तर ध्यान गर्ने व्यक्तिले परमात्मा (ब्रह्म) सम्मको मार्ग प्रशस्त गर्न सक्छ भनिएको छ। ॐ लाई यहाँ ब्रह्मको ध्वनि र साधकहरूको अन्तिम लक्ष्यको प्रतीक मानिएको छ। पतञ्जलिको योगसूत्रमा पनि ॐ लाई महत्वपूर्ण स्थान दिइएको छ। योगसूत्रले ॐ लाई ध्यानको लागि उत्कृष्ट साधन बताएको छ  र ॐ को ध्यानले चित्तको शुद्धि र ब्रह्मज्ञान प्राप्त गर्न सकिन्छ भनी व्याख्या गरेको छ ।

ॐ हरेक प्राणीमा अवस्थित छ । ॐ हरेक मानिसमा अवस्थित छ । जहाँ ॐ छैन त्यहाँ जीवन छैन । हरेक मानिसले आफू भित्र रहेको ॐ लाई जान्न सक्दछ । ॐ अक्षरले प्रतिनिधित्व गर्ने आवाजलाई सुन्न सक्दछ । त्यो बिराट ब्रह्माण्डबाट निस्केको कम्पनलाई सुन्न र बुझ्न सक्ने क्षमता केवल मानिसमा मात्र छ । हरेक मानिसको हृदयमा ॐ रुपी ध्वनि बिद्यमान छ । ॐ ब्रह्म हो, परब्रह्म हो। यसको श्रवण अभ्यासले दिव्यशक्तिको अनुभूति हुन्छ। आफू भित्रै रहेको परमात्माको अनुभूति हुन्छ।  टर्वाईनबाट निस्कने रुनुनुनुन टिनिनिनि अथवा यस्तै प्रकारको व्यक्त गर्नै नसकिने मीठो र हृदयप्रिय तरंगहरु निरन्तर रुपमा प्रतिध्वनित भैरहेको छ मानव शरीरमा । त्यसलाई सुन्न सकिन्छ, त्यसको संगितबाट अलौकिक र अपार आनन्द लिन सकिन्छ।  साधकहरु मौन साधनामा घण्टौँ सम्म बसेका हुन्छन् त्यहि ॐ ध्वनिको गहिराईमा निमग्न भएर । त्यो क्षमता तपाई हामी सबैमा छ । आफू भित्रको त्यो दिब्य शक्तिलाई जान्ने चिन्ने अनुभव गर्ने र त्यस ॐ ध्वनिको आनन्द लिने क्षमता सबै मानव संग छ। यो एकदमै प्राक्टिकल कुरा हो ।

कालान्तरमा सनातन धर्मबाट बिखण्डित भएर गएका बौध्द, जैन र शीख धर्महरुले पनि आफ्नो धर्ममा ॐ लाई महत्वपूर्ण स्थानमा राखेका छन्।  हालका केहि बर्षहरुमा ॐ को शक्ति, महत्व र यसको गरिमा बुझ्ने क्रिश्चियन मुस्लिम तथा अन्य धर्मावलम्बिहरुले ॐ को गुन्जनलाई आत्मसात गरेका छन्। आफ्नो जीवनशैली बनाएका छन्। ॐ को अभ्यासबाट शांति र आनन्द प्राप्त गरेका छन् । तर जसलाई यसको गुढ रहस्य थाहा छैन उनिहरु बिमुख भएका छन् । ॐ कुनै बाहिरी आवाज होईन, मुखले उच्चारण गरेर वा कुनै बाद्ययन्त्रहरु बजाएर यसको वास्तबिक ध्वनिको प्रस्फुटन हुन सक्दैन। यी प्रयासहरु केवल प्रतिकात्मक मात्र हुन्, मुर्तीमा भगवान जस्तै। ॐ को असली ध्वनि त ब्रह्माण्डमा सर्बत्र निरन्तर स्वयम् गुन्जायमान छ। त्यो गुन्जन नै असली ॐ को गुन्जन हो । अरु सबै प्रतिकात्मक हुन्। यो कुनै धर्म बिशेष वा हिन्दु धर्म भित्रको कुरा होईन। यो त जुन समयमा संसारमा धर्म नै थिएन, सनातनी संस्कृति मात्र थियो, त्यस बखत देखि स्वीकार गरिएको कुरा हो। ॐ ध्वनिको अस्तित्व त चराचर जगतको श्रृष्टि भन्दा पनि पहिलेको कुरा हो। जुन समयमा यस ब्रह्माण्डको श्रृष्टि भयो त्यो भन्दा पनि पहिलेको कुरा हो। ॐ ध्वनिको उत्पति र अस्तित्वलाई कुनै धर्म वा दर्शनसंग जोडेर हेर्नु उचित हुँदैन।

त्यसैले ॐ कुनै पनि धर्म भित्र बाँधिएको नभएर यो त स्वतन्त्र छ । ॐ ले प्रतिनिधित्व गरेको ब्रह्माण्डीय त्यो ध्वनि सम्पूर्ण चर अचर जीव निर्जिव शुक्ष्म स्थूल स्थावर जङ्गम् सबैमा समान रुपले ब्याप्त छ । मानव हृदयमा पनि त्यो शक्ति बिद्यमान छ, गुन्जायमान छ। हामी भित्रै गुन्जिइरहेको त्यो ॐकार ध्वनिलाई कहिल्यै जानेका छौँ ? सुनेका छौँ या सुन्ने प्रयास गरेका छौँ ? यदि छैनौँ भने यो मौका तपाई हाम्रो लागि हो। यो मानव शरीरमा जीवित छँदै यो मौकालाई नगुमाऔँ किनभने मानव शरीर बाहेक अन्य शरीरले ॐ को अनुभूति गर्न सक्दैन । के तपाई यसका लागि तयार हुनुहुन्छ ? तयार हुनुहुन्छ भने आउनुस् हामीलाई एक मौका मिलेको छ । त्यस दिव्यशक्तिसंग साक्षात्कार हुने, अनुभूति गर्ने र आनन्द लिने यो अवसरको सदुगयोग गरौँ। जय ॐ !

 

बिज्ञापन-YM-ADCustom Text

असली भगवानको खोजी गरौँ

गोपीलाल कँडेल Avatar

बर्दिया l ०६ असोज २०८१ l गोपीलाल कँडेल

आउनुहोस् !  आज भगवानको बिषयमा चर्चा गरौँ । यहाँ जातको कुरा छैन, धर्मको कुरा छैन, सम्प्रदायको कुरा छैन, राजनीतिको कुरा छैन, रङ्गको कुरा छैन, आर्थिक उच-नीचको कुरा छैन, पढ अनपढको कुरा छैन । किनभने यी सबै कुराहरु भगवानले बनाएका होईनन्, हामीले बनाएको हौँ । मानिसहरुले बनाएका हुन् । तपाई जहाँ हुनुहुन्छ, जे हुनुहुन्छ, जस्तो हुनुहुन्छ- भगवानको असल रचना हुनुहुन्छ । भगवान यस संसारमा प्रचलित कुनै धर्ममा छैनन् । भगवान कुनै धर्म बिशेषमा भैदिएको भए भक्तहरु किन अनाहकमा मारिन्थे ?  ऊनी त सबै धर्म भन्दा पर स्वतन्त्र रुपमा छन् । सबै धर्मको छाताको रुपमा छन् । ऊनले मानिसहरुमा बिभाजन चाहदैनन्, धर्महरु बिभाजन चाहन्छन् र बिभाजनका लागि हामी धर्महरु बनाउँछौँ । मानिसहरुले संसारमा मठ, मन्दिर, गिर्जाघर, मस्जीद बनाएका छन्- बिभाजनका अखडा हरु । ग्रन्थ, मन्त्र, मुर्ती, फोटो बनाएका छन्- आफूतिर तान्नको लागि । प्रार्थना, जप, पुजा, पाठ, दान आदि बनाएका छन्- लुट्न र लुटिनका लागि । भगवान आफै सम्पन्न छन्- हामीले केहि दिईरहनु पर्दैन ।

हामीले भगवानको आशा गर्छौं- उनले कहिल्यै हाम्रो आशा गर्नु पर्दैन । हामीले नै हाम्रा लागि भगवान बनाएर मन्दिरमा राखेका छौँ- भिखारी बनाएर । हरेक दिन बेलुका हिसाव गर्छौं आज मेरो भगवानले कति कमायो भनेर । तर उनलाई कुनै कुराको अभाव छैन । उनलाई हामीले बनाउनु पर्दैन- हामीले बनाएको भगवान असली हुदै होईनन्- हुनै सक्दैनन् । उनी त हर प्राणीमा छन्- शुक्ष्म रुपमा । हर प्राणीमा मात्र होईन, कण कण मा छन् । सर्वव्यापक छन्  र अविनाशी छन्- उनी नभएको ठाउँ छैन । सर्वव्यापक र अविनाशी भगवान सबै भन्दा नजिक हाम्रो हृदयमा छन् हरेक प्राणीको हृदयमा छन् । जव सम्म हामी जीवित रहन्छौँ- हामी भित्रै छन् । हरेक सानो भन्दा सानो र ठूलो भन्दा ठूलो बस्तु भगवानको मन्दिर हो- मेरो शरीर पनि । जव मेरो यो शरीर भत्किन्छ- उनी यो मन्दिरमा बस्दैनन् अनि मेरो प्रलय हुन्छ । अब मैले बिचार गर्नुछ कि- म भित्र बिराजमान मेरो भगवानको मैले आजसम्म अनुभव गरें कि गरिन ? उहाँलाई चिनें कि चिनिन ? उहाँको रुप रंग स्पर्श अन्धको अनुभूति भयो कि भएन ? मैले आज सम्म आराधना गरें कि गरिन ?  मैले भक्ति गरें कि गरिन ?  यता तर्फ सोच्ने बेला आयो । तर आजको “म” मैले आफ्नै हातले बनाएको भगवानको अगाडी हात जोडेर नानाथरी बिलौना गर्छु- नानाथरी मनोकामना माग्छु । मैले बनाएको भगवानले मलाई केहि देलान् ? मलाई यो कुरा थाहा छैन कि उनले मलाई दिनको लागि केहि कुरा बाँकी राखेका छैनन्- मलाई मात्र होईन,  सबैथोक सबैलाई बराबरी दिएका छन् । हामीले कति सदुपयोग गर्यौँ ? हामी भगवानसंग मानव निर्मित पदार्थ माग्दछौँ- त्यो उनले कसरी दिउन् ? मलाई यस धर्तीमा जन्म दिए, अनवरत चलिरहने यो स्वाँस दिए, चेतना दिए र म भित्र नै आफ्नो आसन बनाएर बसे- यो भन्दा ठूलो कुनै अर्को कुरा छैन  मेरो लागि ।

अब म यथार्थको धरातलमा आउनुपर्छ- मैले चेत्नु पर्छ । मैले म भित्र निवास गर्नु हुने मेरो भगवानलाई खोज्नु पर्छ, चिन्नुपर्छ । मैले उनको दर्शन म भित्रै गर्नुपर्छ- अर्जुनले जस्तै । मैले मेरो भगवानलाई अहिले, यो समयमा राम, कृष्ण, शिव, विष्णु, अल्लाह, ईशामसिह  आदि कुनै रुपमा  पनि पाउन सक्दिन । न उनीहरुका गाथा वाचन गरेर, सुनेर,  कण्ठस्थ पारेर वा गाएर मेरो कल्याण हुन्छ किनकि उनीहरु अहिले यस संसारमा छैनन्, दिवंगत भैसके । मैले म भित्र नै जीवंत भगवान, ईश्वर, अल्लाह, ईशामसिह, खोज्नुपर्छ । जहाँ उनी छन्- त्यहाँ खोज्नुपर्छ र पाउन सकिन्छ । अहिलेको बैज्ञानिक युगमा हरेक कुरालाई परिक्षण गरेर पुष्टि गरिन्छ र उपयोग गरिन्छ । परिक्षणबाट पुष्टि नगरेरै उपयोग गरिन्छ भने त्यो अन्धविश्वास हो- त्यसबाट उपलब्धी हुदैन । आउनुहोस्- हामी पनि हामी भित्र निवास गर्नुहुने भगवानको परीक्षण गरौँ- आत्मज्ञानको बिधि द्वारा । आत्मज्ञान द्वापर युगमा भगवान श्रीकृष्णले अर्जुनलाई दिनुभएको ज्ञान हो, राजबिद्या हो । जुन समयमा संसारमा एउटा मात्र धर्म थियो- हिन्दुधर्म । त्यस बेलाका सबै मानिसहरु हिन्दु थिए । आत्मज्ञान हिन्दुधर्मावलम्बीहरुका लागि मात्र थिएन र होईन- यो त मानव मात्रका लागि हो । यहि आत्मज्ञानको बिधि नै बैज्ञानिक छ, परिक्षणबाट पुष्टि भएको छ । आज ११० देशका करोडौं मानिसहरुले यसको अभ्यास गर्छन्- श्री प्रेम रावतजीबाट आत्मत्ज्ञानको बिधि प्राप्त गरेर । आउनुहोस् तपाई पनि । हाम्रो समय कति छ थाहा छैन, समय छंदै आफ्नो कल्याण हुने उपाय गरौँ । आफ्नो भगवानको जीवन्त अनुभूति गरौँ ।

बिज्ञापन-YM-ADCustom Text

बाँसगढी नगरपालिकाको संविधान विरोधी निर्णय …?

भरत परियार, बर्दिया – ३१ भाद्र २०८१

सङ्घर्षको आँधीबेहरीमा जन्मिएको अखिल (क्रान्तिकारी) क्रान्तिकारी विद्यार्थी आन्दोलनको मूल प्रवाह हो । शिक्षामा आमूल रूपान्तरणका लागि राजनीतिक सत्ताको समग्र रूपान्तरणको वैज्ञानिक सत्यप्रति स्पष्ट र दृढ रहँदै वर्तमानमा आमशैक्षिक सुधारका लागि सङ्घर्ष र वैज्ञानिक समाजवादी क्रान्तिमा अग्रदस्ताको भूमिका निर्वाह गरिरहेको छ । जनताको अपेक्षा र क्रान्तिको आवश्यकतामा खरो उत्रिन सक्ने सडक बाघको रुपमा स्थापित हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी) ले विद्यार्थी आन्दोलनको गौरवमय विरासत कायम गर्न र नयाँ इतिहास निर्माण गर्न अनवरत सडक संघर्षको नेतृत्व गदै आइरहेको छ l हाल हाम्रो संगठनले नेपालको शिक्षा क्षेत्रमा विद्यमान निजीकरण, माफियाकरण र व्यापारीकरणका विरुद्ध देशैभरी Mission Everyday Campaign-2 अभियान सञ्चालन गरिरहेको छ ।

   शिक्षालाई मौलिक अधिकारको रूपमा राज्यले कानुनी व्यवस्था गरेको भएपनि कार्यान्वयनमा शिक्षा क्षेत्रमा पैसा हुने र नहुनेका विचमा चरम विभेद छ। पैसाको तौल अनुसार शिक्षा किन्नुपर्ने व्यापारीक वस्तु बन्न पुगेको छ। नेपालको शिक्षा निजिकरण, व्यापारीकरण हुँदै अकुत नाफा कमाउने विशाल बजारका रूपमा दुरुपयोग भएको छ। शिक्षा आम जनताको पहुँचबाट टाढा हुदै गएको छ आम विद्यार्थीको अधिकारका पक्षमा आवाज उठाउनु र संघर्ष गर्नु हाम्रो कर्तव्य हो। यसै सन्दर्भमा बर्दियाको बाँसगढी नगरपालिकाले अघिल्लो वर्षको SEE को नतिजा देशैभर ४८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् भने ५२ प्रतिशत अनुउत्तिर्ण भएका छन् । बर्दिया जिल्लाका ३१ वटा माध्यमिक विद्यालयको रिजल्ट १० प्रतिशत भन्दा कम आएको छ भने ७ वटा विद्यालय निल(शून्य)भएका छन् । 

जिल्ला भरिका ७ वटा सामुदायिक विद्यालयहरुमा एसईई रिजल्ट शुन्य आएको छ । निल नतिजा आएका स्कुलहरुमा जनता माबि बेलवा बाँसगढी, नेरा गणेश माबि मनाउ गेरुवा, लक्ष्मी माबि चेपाङ बाँसगढी,  जनता माबि बठुवा बाँसगढी, अमर सहिद दशरथ चन्द माबि बारबर्दिया, जगदम्बिका माबि शान्तिपुर बढैयाताल र पृथ्वी माबि लखना बाँसगढीमा गरी जम्मा ४ सय ५८ जना विद्यार्थी मध्ये सबै जना अनुत्तीर्ण  भएका  छन् । बाँसगढी नगरपालिकाका मात्रै ४ वटा विद्यालय निल भएका छन् ।  यसरी अनपेक्षित रिजल्ट आएको भन्दै बाँसगढी नगरपालिले नगरपालिका भित्रका सरकारी विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गर्ने र त्यसवापत विद्यार्थीबाट शुल्क उठाउन पाउने व्यवस्था कार्यान्वयनमा ल्यायो । सोही अनुसार सबै विद्यालयले अनिवार्य रुपमा लागू हुने गरी विद्यार्थीबाट मनपरी शुल्क असूल गर्ने काम गरिरहेका छन् । बिद्यालय समयमा कोर्स पूरा नगर्ने, ठिक ढंगले विद्यार्थी लाई नपढाउने, विषयगत शिक्षक दरबन्दी अपुग राख्ने, शिक्षक शिक्षिकाहरुलाई तालीम नदिने, पालिकाले आफ्नो जिम्मेवारी ठिक ढंगले पूरा नगर्ने तर शिक्षा जस्तो संवेदनशील क्षेत्रमा निजीकरणलाई प्रोत्साहन दिने स्थानीय सरकारको नीतिले किसान, मजदुर, न्युन वर्गीय जनताका छोराछोरीलाई विद्यालय शिक्षाबाट वञ्चित गर्ने देखिन्छ ।

यसै पनि देशको अहिलेको शिक्षाको अवस्था हेर्दा हाम्रा विद्यालय ज्ञान, सिप र क्षमता आर्जन गर्ने नभई हातमा सर्टिफिकेट झुन्डाएर बिदेश लखट्ने अर्थात् विदेशी कामदार उत्पादन गर्ने कारखानामा सीमित छन् । तर वार्षिक रिजल्टकै आधारमा सिकाइ उपलब्धि कम भएको भन्दै निरक्षर अभिभावकमा विभिन्न भ्रम पैदा गरी मनपरी शुल्क उठाउने काम भएको छ । राम्रो रिजल्ट ल्याउने वाहानामा भ्रम पैदा गरी सामुदायिक शिक्षालाई ध्वस्त पार्ने र निजीकरणलाई प्रवर्धन गर्ने कार्य कुनैपनि हिसाबले उपयुक्त देखिँदैन । सामुदायिक बिद्यालयमा राज्यले भौतिक पुर्वाधार सहित निःशुल्क  पाठ्यपुस्तक, खाजा नास्ता र विभिन्न सेवा सुविधा सहित दक्ष शिक्षकहरुको व्यवस्थापन गरेको भएता पनि अघिल्लो पटकको रिजल्ट ठिक नआउनुको परिणामस्वरूप अहिले विद्यार्थी र अभिभावकमाथि मनलाग्दी आर्थिक भार थोपरिएको अवस्था छ । यस्तो अवस्थामा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई लगाएत अन्य सरोकारवाला निकाय मुकदर्शक बनिरहेको देखिन्छ ।

हाम्रो संगठनले उक्त प्रकारको शुल्क खारेजीको लागि मौखिक रुपले अनुरोध गर्यो, पालिकाका १४ मध्ये १३ वटा विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको हस्ताक्षर संलग्न गराइ ७२ घण्टे अल्टिमेटम सहितको मागपत्र बुझाउने लगायतका कामहरु गर्दा समेत शुल्क खारेजीका निम्ति पालिकाको तर्फबाट कुनै तदारुकता देखिएन बरु मेयरले उल्टै धम्किपूर्ण भाषा प्रयोग गर्ने, हप्काउने, झगडा गर्न तम्सिने जस्ता तुच्छ व्यवहार प्रदर्शन गर्न थाले । फलस्वरुप, भाद्र २४ गते नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गर्न हाम्रो संगठन बाध्य भयो । २४ गते बेलुका र २५ गते विहान मेयर स्वयंले बोलाएको अनौपचारिक वार्तामा समेत हामी बस्यौ, उनले विद्यार्थीका माग सम्बोधन गर्ने कुनै छाटकाट देखाएनन् । भाद्र २५ गते दवाव स्वरुप नगर प्रमुख खड्क बहादुर खड्काको घरमा कालोव्यानर लगाउने र महेन्द्र राजमार्गलाई २० मिनेटको लागि चक्काजाम गर्ने कार्य भए। २६ गते औपचारिक वार्ताको आव्हान गरियो न समस्यालाई हल गर्न कुनै प्रयास गरियो बरु मेयरको निर्देशनमा संगठनले लगाएको ताला फोड्ने काम भयो। यसरी संविधानको व्यवस्था र विद्यार्थीका हक अधिकार कार्यान्वयनका निम्ति हाम्रो संगठनले गरिरहेको शान्तिपूर्ण प्रयासमा नगरपालिकाले तगार हालिदियो । 

विदयार्थीहरुको हक अधिकारको कार्यान्वयन तथा आफ्नो कर्तव्यप्रति सचेत संगठन भएको हैसियतले  विद्यार्थीहरुमाथि भइरहेको लुटको अन्त्य गर्ने प्रयासमा हाम्रो सङ्गठन बर्दिया जिल्ला समिति निरन्तर जुधिरहेको रहेको छ।  नगर प्रमुख भड्काववादी गतिविधिलाई चिर्दै विद्यार्थीको निःशुल्क शिक्षा प्राप्तिको अधिकारलाई कार्यान्वयन गर्ने गरी विद्यार्थी आन्दोलनको तयारी गर्नु अहिले बर्दिया जिल्ला समितिकाे प्रमुख समेत कार्यभार हो ।

भरत परियार {अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला इञ्चार्ज हुन् }

बिज्ञापन-YM-ADCustom Text

तपाईको परिचय के हो ?

बर्दिया l २९ भाद्र २०८१ l गोपीलाल कँडेल
एक सन्यासी पुरै संसारको यात्रा गरेर आफ्नो आश्रम तर्फ फिर्ता हुँदै थिए । बाटोमा एउटा सानो राज्यमा बास बस्न पुगे । यो कुरा त्यस राज्यका राजाले थाहा पाए । राजाले गएर ती सन्यासीलाई भने- स्वामी जी ! एउटा प्रश्न २० बर्ष देखि निरन्तर सोधिरहेको छु तर समाधान पाउन सकेको छैन । तपाईले समाधान दिनुहुन्छ? स्वामीजीले भने- अवश्य दिनेछु । आज तपाई यहाँबाट खाली हात फर्किनु हुनेछैन, सोध्नुहोस् । राजाले भने- म ईश्वरलाई भेट्न चाहन्छु । ईश्वरको बारेमा मलाई सम्झाउने कोसिस न गर्नुहोला, म सोझै ईश्वरसंग भेट गर्न चाहन्छु । कसरी भेट्न सकिन्छ, त्यसको उपाय बताईदिनुस् । ती सन्यासीले भने- अहिले नै भेट गर्न चाहनुहुन्छ कि केहि समय पर्खेर ? राजाले भने- क्षमा गर्नुहोला । सायद तपाईले कुरा बुझ्नु भएन । मैले परमपिता परमात्माको कुरा गरिरहेको छु । म कुनै ईश्वर नामको मानिससंग भेट गर्न चाहिरहेको छैन । म त परमपिता परमेश्वरलाई भेट्न चाहन्छु । सायद तपाईले मैले भनेको कुरा बिर्सनुभयो कि ? ती सन्यासीले भने- महाशय ! बिर्सने कुनै गुन्जाईस नै छैन । म त चौबिसे घण्टा परमात्मासंग भेट गराउने काम नै गर्छु । अहिले नै भेट्ने हो कि केहि समय पर्खिन सक्नु हुन्छ ? सोझो उत्तर दिनुहोस् । राजाले कुनै जवाफ नदिएपछि फेरि ती सन्यासीले भने- बीस बर्ष देखि भेट्न उत्सुक हुनुहुन्छ अनि आज समय आएको छ भेट गरिहाल्नुस् । राजाले हिम्मत जुटाएर भने- लौ त, म अहिले नै भेट्न चाहन्छु । भेट गराई दिनुस् । सन्यासीले भने- कृपा गरेर यस सानो टुक्रा कागजमा आफ्नो नाम ठेगाना लेखिदिनुस् ता की मैले भगवान कहाँ पुर्याई दिउँ कि तपाई को हुनुहुन्छ । राजाले आफ्नो नाम महल राज्य आफ्ना उपाधिहरु सबै लेखेर सन्यासीलाई दिए ।

ती सन्यासी बोले- महाशय ! यी सबै कुराहरु मलाई झुट्टा र असत्य लागिरहेका छन् जुन तपाईले यस कागजमा लेख्नुभयो । राजन ! के तपाईको यसमा लेखिएको नाम बदलिदियो भने तपाई बदलिनुहुन्छ ? तपाईको चेतना तपाईको अस्तित्व तपाईको ब्यक्तित्व बदलिएर अर्कै हुन्छ ? राजाले भने- हुन्न । नाम बदलिदैमा म बदलिन्न । नाम नाम हो र म म हुँ । फेरि सन्यासीले भने- एउटा कुरा त निश्चित भयो कि नाम तपाईको परिचय होईन । किनभने तपाई त्यसलाई बदलिदिए पनि बदलिनुहुन्न । ल, अर्को कुरा- आज तपाई राजा हुनुहुन्छ र भोली गाउँको भिखारी हुनुभयो भने बदलिनुहुन्छ ? राजाले जवाफ दिए- राज्य खोसिएर म गाउँको भिखारी भएछु भने पनि म त उही नै रहनेछु बदलिनेछैन । म जे छु त्यहि नै रहनेछु राजाबाट भिखारी भएछु भने पनि । चाहे राज्य नहोस् महल नहोस धन नहोस् तर त त्यहि रहनेछु जो म छु । सन्यासीले फेरि भने- अर्को एउटा कुरा निश्चित भयो कि राज्य पनि तपाईको परिचय होईन । राज्य खोसिंदा पनि तपाई बदलिनु हुनेछैन । राजन ! तपाईको उमेर कति भयो ? राजाले भने- ५५ बर्ष । सन्यासीले सोधे- त के ६० बर्ष पुगेपछि तपाई अर्कै हुनुहुनेछ ? २५ बर्ष अथवा जब तपाई बालक हुनुहुन्थ्यो के तपाई अर्कै हुनुहुन्थ्यो ? राजाले भने- होईन । उमेर बदलिन्छ शरीर बदलिन्छ तर म त उही नै छु । बच्चा बालक जवान र आजको यो उमेरमा पनि म त म नै छु र उहि नै छु । म भित्र जे कुरा थियो आज पनि त्यहि नै छ । सन्यासीले भने- तेश्रो कुरा पनि निश्चित भयो कि उमेर पनि तपाईको परिचय होईन, शरीर पनि तपाईको परिचय होईन । अब भन्नुस् तपाईको परिचय के हो ? तपाई को हो ? त्यस परिचयलाई लेखेर दिनुस् म पुर्याईदिन्छु भगवान समक्ष । नत्र भने म पनि झुट्टा बन्नेछु तपाईसंगै । यी कुनै पनि परिचय तपाईका होईनन् । राजाले भने- तब त धेरै नै मुस्किल भयो । त्यसलाई त मैले पनि जान्दिन कि म को हुँ । यी सबै कुराहरुलाई नै मैले मेरो परिचय भनेर बुझेको छु । सन्यासीले भने- त्यसो भए त धेरै नै कठिनाई हुने भयो, जसको मैले परिचय नै दिन सक्दिन । कसले भेट गर्न चाहन्छ भनेर भन्न पनि सक्दिन । अनि भगवानले पनि भन्ने छन् कोसंग भेट गराउन चाहन्छौ ? त्यसो भए जानुस् पहिले तपाई को हुनुहुन्छ त्यो खोज्नुस् । आफ्नो वास्तबिक परिचय खोज्नुस् । र, मैले तपाईलाई यो पनि भनिदिन्छु कि जुन दिन तपाईले आफ्नो वास्तबिक परिचय फेला पार्नु हुनेछ, आफूलाई जान्नुहुनेछ, आफूलाई चिन्नुहुनेछ त्यस दिन तपाई भगवानलाई खोज्न आउनु हुने नै छैन । किनभने आफूलाई जान्दाजान्दै परमात्मा परमेश्वरलाई पनि जान्नुहुनेछ । आफूलाई जाने पछि परमात्मासंग भेट गर्न कसैको मदतको आवश्यकता पर्दैन । आफ्नो नाम ठेगाना आफै पठाउनुस् समय माग्नुस् र भगवानलाई भेट्नुस् । सन्यासीको कुरा सुनेर राजाको सबै भ्रम अहंकार अज्ञान घमण्ड दम्भ सबै चकनाचुर भयो । सन्यासीसंग बिदा भएर आफूलाई कसरी चिन्ने, आफ्नो परिचय कसरी कहाँ खोज्ने भन्ने चिन्तन गर्दै राजमहल तिर लागे ।

बिज्ञापन-YM-ADCustom Text

बिज्ञापन

Custom Text

भर्खरै राखिएको