
बर्दिया, २०८३ भाद्र २४, बुधबार । रिपोर्टिङ नेपाल
स्वास्थ्य क्षेत्रमा गरिएको वार्षिक मूल्याङ्कनमा बारबर्दिया नगरपालिका बर्दियाका आठ स्थानीय तहमध्ये उत्कृष्ट ठहरिएको छ। स्वास्थ्य कार्यालय बर्दियाले निर्धारित स्वास्थ्य सूचकका आधारमा गरेको मूल्याङ्कनमा बारबर्दियाले ७८.५३ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।
नगर अस्पतालमै आँखा उपचार सेवा सञ्चालनमा ल्याउने बर्दियाकै पहिलो पालिकाको रूपमा समेत पहिचान बनाएको बारबर्दियाले मूल्याङ्कनमा आफूलाई अब्बल सावित गर्न सफल भएको छ भने बढैयाताल गाउँपालिका ७६.९३ अंकसहित दोस्रो र गेरुवा गाउँपालिका ७६.७६ अंकसहित तेस्रो भएका छन्।
स्वास्थ्य कार्यालय बर्दियाले सार्वजनिक गरेको नतिजाअनुसार बाँसगढी नगरपालिका चौथो, मधुवन नगरपालिका पाँचौँ, गुलरिया नगरपालिका छैटौँ, राजापुर नगरपालिका सातौँ र ठाकुरबाबा नगरपालिका आठौँ स्थानमा रहेका छन्।
आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य क्षेत्रमा सञ्चालन भएका कार्यक्रम तथा गतिविधिको वार्षिक समीक्षा र आगामी योजना तर्जुमा कार्यक्रममा स्थानीय तहहरूको मूल्याङ्कन नतिजा सार्वजनिक गरिएको हो।
स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख उमेश गौतमले निर्धारित सूचकका आधारमा स्थानीय तहहरूको मूल्याङ्कन गरिएको बताउनुभयो। उहाँका अनुसार अंकका आधारमा पहिलो, दोस्रो र तेस्रो स्थान निर्धारण भए पनि जिल्लाका सबै स्थानीय तहले स्वास्थ्य क्षेत्रमा राम्रो काम गरिरहेका छन्।
मूल्याङ्कनमा समेटिएका सूचकबाहेक पनि स्थानीय स्वास्थ्य शाखाहरूले समुदायमा सकारात्मक प्रभाव पार्ने विभिन्न काम गरिरहेको गौतमले बताउनुभयो।
उहाँका अनुसार सबैभन्दा कम अंक प्राप्त गर्ने स्थानीय तहले समेत ७२.२९ अंक हासिल गरेको छ। अन्य जिल्ला तथा स्थानीय तहको अवस्थासँग तुलना गर्दा बर्दियाको समग्र स्वास्थ्य क्षेत्रको प्रदर्शन राम्रो रहेको उहाँको भनाइ छ।
स्वास्थ्य मूल्याङ्कनमा उत्कृष्ट भएका पहिलो, दोस्रो र तेस्रो स्थानका स्थानीय तहलाई सम्मान गरिएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुनले प्रमाणपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो।
स्थानीय तहको स्वास्थ्य सेवा, कार्यक्रम कार्यान्वयन र सूचकगत प्रगतिको नियमित मूल्याङ्कनले आगामी दिनमा स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
















