१२ कार्तिक २०८१ l बर्दिया l गोपीलाल कँडेल
यदि तपाई कहिल्यै समुन्द्रको बीचमा कुनै विकट उष्ण टापुलाई हेर्नुहुन्छ भने तपाईले त्यहाँ देख्नुहुन्छ- त्यस निर्जन टापुमा नरिवलका अग्ला अग्ला रुखहरु खडा छन् । भएन त अचम्म ? आखिर यो त्यस टापुमा कसरी पुग्यो ?
के तपाईंलाई थाहा छ- त्यस नरिवलले बिलकुल प्रतिकुल वातावरणमा एउटा असम्भब लाग्ने यात्रा गरेको छ ? के तपाईंलाई लाग्छ- त्यससंग कुनै नक्सा थियो ? थिएन । न त त्यस नरिवलसंग कुनै नक्सा थियो, न आजकलको उपकरण जस्तो कुनै जिपिएस नै थियो । यस्तो पनि हैन कि ऊसंग त्यहाँसम्म पुग्नको लागि कुनै डुङ्गा वा ईन्जिन थियो । तर, साँचो त यहि हो- यो लामो र दुर्गम यात्रा गर्नका लागि त्यस सानो नरिवलभित्र उसलाई जरुरत पर्नै सबै थोक थियो । समुन्द्रमा जीवित रहनको लागि सफा पानीको जरुरत हुन्छ, साथै जब त्यो नरिवल कतै किनारा तिर पुग्यो भने त फेरि अङ्कुरित हुनका लागि पनि उसलाई सफा पानी नै चाहिन्छ ।
यस पूरा यात्राका क्रममा नरिवल आफू भित्र मीठो पानीले भरिईरहन्छ । नरिवलको जटायुक्त खोल पुरै यात्राको दौरान एक रक्षा कवच हुनुका साथै तैरिनमा उसलाई सहयोगी हुन्छ । यसैकारण नरिवल पानीमा डुब्दैन, पानीको सतह भन्दा माथि तैरिईरहन्छ र डुङ्गाको पालले जस्तै हावाको बेगलाई पनि समात्ने काम त्यो जटाले गर्दछ ।
बडा उत्साहका साथ यो नरिवल आफ्नो अज्ञात गन्तब्य तिर अघि बढ्दै रहन्छ । रुखबाट झरेर सागरको फिँजयुक्त छालद्वारा बारम्बार तरङ्गित भैरहन्छ । यसले बारम्बार खुला सागरमा पुग्ने प्रयास गरिरहन्छ । एकपटक जब यो नरिवल सागरमा पुग्दछ अनि तत्काल सागरको छाल र हावाको गति समातेर आफ्नो गन्तब्य स्थलतिर बढिरहन्छ । कहिल्यै सोच्नुभएको छ- यति बिशाल सागरको बीचमा प्रचण्ड छालहरुको झापड सहेर यो सानो नरिवल बिलकुलै आत्तिदैन । मानवले बिशालकाय जहाज, ट्याङ्कर, पनडुब्बी आदि बनाएका छन् तर जब समुद्रमा तुफान आउँछ ति ठूला ठूला जनयानहरु पनि नजिकको बन्दरगाहमा शरण लिन्छन् र आफूलाई सुरक्षित राखेर तुफान हट्ने प्रतीक्षा गर्दछन् । तर, यो नरम नरिवलले त्यसो गर्दैन । हरेक तेज छाल संगसंगै माथि उछालिन्छ र हरेक दोश्रो छालसंगै तल पछारिन्छ । तुफानले यसका लागि एउटा यस्तो उपकरणको जस्तै काम गर्दछ जो एक किसिमले यस यात्रामा सहयोगी बन्न जान्छ ।
एक दिन समुन्द्रको कुनै ठुलो छालले त्यो नरिवललाई कुनै नयाँ किनारामा हुरर्याईदिन्छ । त्यो नयाँ ठाउँमा पुगेर यो नरिवलले चुपचाप आफ्नो जरा फिजाउँछ र एक दिन यस्तो पनि आउनेछ- त्यस नयाँ ठाउँमा नरिवलको एउटा रुख आफ्नो फललाई फेरि पनि समुन्द्रका छाललाई सुम्पिनका लागि तयार हुनेछ ।
जे जति पनि नरिवलसंग छ, त्यसले बढी भन्दा बढी आफ्नो क्षमताको उपयोग गर्दछ, कुनै हिचकिचाहट बिना, केहि नसोचीकन यस्ता हरेक अवसरहरुलाई समात्छ, जो उसले पाउँछ र अन्ततः त्यो त्यस ठाउँमा पुग्न सफल हुन्छ, जहाँ उसले आफूलाई फेरि पनि सृजना गर्न सक्छ, फेरि स्थापित गर्न सक्छ ।
हामीसंग पनि ती सम्पूर्ण जरुरी ताकत छन्, ती तमाम शक्ति छन्, जसको सहि प्रयोग गरेर हामी त्यस लक्षित बिन्दुलाई, त्यस स्थानलाई प्राप्त गर्न सक्छौँ । आफ्नो जिज्ञासा र आफ्नो साँचो उत्साहले हामी आफू भित्रको त्यो स्थान प्राप्त गर्न सक्छौँ, खोज्न सक्छौँ जहाँ सहि अर्थमा, हामी आफै आफूसंग, पूर्ण सहजताका साथ, पुरै शांतिका साथ त्यस आनन्दलाई अनुभूति गर्न सक्छौँ- जो हामी भित्रै छ । ( साभार- Splitting the Arrow by Prem Rawat )