०१ मंसिर २०८१ l बर्दिया l गोपीलाल कँडेल
एउटा गरीब मानिस थियो । घरमा केहि थिएन, कोहि थिएन । एक दिन ऊ केहि गर्छु भन्ने अठोटको साथ कामको खोजीमा घरबाट निस्कियो । शरीरमा लुगा कपडा पुराना फाटेका थिए, शरीर कमजोर थियो । तर मुखमा कान्ति, मस्तिष्कमा चेत र मनमा उत्साह थियो । काम र उचित अवसरको खोजीमा भौँतारिदै त्यो मानिस कुनै एउटा देशको राजधानी शहरमा पुग्यो । राजाको दरबारमा कुनै पनि काम पाउन पाए आफ्नो कला कौशल र क्षमता प्रदर्शन गर्ने अवसर पाउन सकिन्थ्यो भन्ने सोचेर त्यो मानिस राजदरबार तर्फ गयो । राजदरबारको बगँचामा काम गर्ने मालीको आवश्यकता थियो। त्यो मानिस त्यहि बगैँचामा काम गर्न थाल्यो । उसले बगैँचामा अत्यन्त मेहनतका साथ काम गर्न थाल्यो जसको कारण छोटो सामयमा नै बगैँचा अत्यन्त सुन्दर र हराभरा हुदै गयो । हरेक दिन राजा बगैँचामा डुल्न आउँथे । त्यो नयाँ मालीको कार्य कौशलता देखेर राजा अत्यन्तै प्रभाबित भए र एक दिन उसलाई बोलाएर सोधे, ” तिमिलाई अरु के के काम गर्न आउँछ ?” महाराज! यो सेवकले अरु पनि धेरै काम गर्ने क्षमता राख्दछ । यदि महाराजको सेवा गर्ने मौका मिल्छ भने यस सेवकले कहिल्यै पनि निराश पार्ने छैन ।” ” त्यसो हो भने भोलि बिहान दरबारमा आउनु।” राजाले हुकुम दिएर दरबार तिर लागे ।
त्यो मानिस भित्र भित्रै धेरै नै खुसी भयो । अब मैले राजदरबारमा काम पाउने भएँ । के के काम गरेर राजालाई खुसी पार्ने भनेर अनेक योजनाहरु बनाउन थाल्यो । अन्तमा ईमानदारीका साथ दत्त चित्त भएर जो परिआएका कामहरु गर्दै राजाको सेवा गर्ने अठोट गर्दै कति बेला निदायो उसलाई पत्तो भएन । बिहान नियत समयमा नै तैयार भएर ऊ राजदरबारमा पुग्यो । उसंग नयाँ कपडा थिएन । ठाउँ ठाउँमा च्यातिएको थोत्रो पुरानो कपडाहरु लगाएर ऊ राजदरबारमा प्रवेश गर्यो । राजदरबारमा प्रवेश गर्दा ऊसंग मात्र एउटा थोत्रो बाकस थियो । राजाले उसलाई आफ्नो दरबारमा जागिर दिए । उसले राजदरबारमा उसलाई दिईएको काम बडो ईमानदारी र लगनका साथ गर्दै गयो । राजाले यसको कामको मूल्याङ्कन गर्दै पदोन्नति गर्दै गए र एकदिन त्यो मानिसलाई राजाले मन्त्री बनाए । मन्त्री बनेपछि पनि बिस्तारै बिस्तारै मेहनत गर्दै जाँदा त्यो मानिस एकदिन मुख्यमन्त्री बन्यो र राजाको दाहिने हात बनेर राजकाजमा राजालाई सघाउन थाल्यो । जब ऊ मन्त्री बन्यो जो त्यहाँ ऊ भन्दा धेरै पुराना भारदारहरु थिए, उनिहरुले उसको ईर्ष्या गर्न थाले । उसको बिरुध्दमा षडयन्त्र गर्ने योजनाहरु बुन्न थाले । उसलाई कसरी यहाँबाट हटाउने भन्ने बिषयमा उनिहरुले तर्क बितर्क गर्न सुरु गरे । राजाले त्यो मन्त्रीलाई बस्नको लागि राजमहलमै व्यबस्था गरिदिए । त्यो देखेर उनिहरु अझ धेरै चिढिए ।
अव त्यो मन्त्री फुर्सदको समय बिताउन आफ्नो कोठामा जान थाल्यो र त्यहाँ घन्टौँ समय बिताउन थाल्यो । त्यस कोठामा खासै अरु कुराहरु थिएनन् । उसका दैनिक प्रयोगका कुराहरु र राजर्षी पोशाकहरु बाहेक त्यहि पुरानो बाकस थियो । त, जस जसले त्यस ब्यक्तिको ईर्ष्या गर्ने गर्थे उनिहरुले त्यस ब्यक्तिलाई आफ्नो निवासमा गएर घण्टौँ समय बिताउने गरेको देखे । उनिहरुले त्यहाँ एउटा बाकस राखिएको पनि देखे । अब उनिहरुलाई षडयन्त्र रच्ने एउटा ठूलो मसला मिल्यो । उनिहरु सबै जना मिलेर राजा कहाँ गए र राजासंग चुक्ली गरे । ” महाराज यो मानिस ठिक छैन । यो प्राय गरेर हरेक दिन आफ्नो निवासमा जान्छ र त्यहाँ धेरै लामो समय बिताउँछ । त्यसले आफ्नो कोठामा एउटा बाकस पनि राखेको छ । उसले त्यस बाकसमा के के सामानहरु चोरेर राखेको छ । त्यो ब्यक्ति संकास्पद छ, ईमानदार छैन ।” यस्तै यस्तै चुक्लीहरु उनिहरुले राजालाई सुनाए । तर राजालाई उनिहरुको कुरामा बिश्वास लागेन किनभने त्यो ब्यक्ति राजदरबारमा आए देखि र मन्त्री भए देखि प्रशासनमा आमूल परिवर्तन भएको थियो । प्रजाहरु सुखी र खुसी हुदै गैरहेका थिए । राज्यकोषमा प्रसस्त धन द्रव्य आम्दानी भैरहेको थियो । राजाले त्यस ब्यक्तिलाई प्रेम गर्थे, बिश्वास गर्थे र ईज्जत पनि गर्थे । ति भारदारहरुको यस्तो दुराशयपूर्ण कुरा सुन्दा राजालाई ज्यादै नै दुख लाग्यो । उनको बिश्वास र प्रेममा दरार उत्पन्न भयो । उनले पनि ती मन्त्रीलाई शंकाको दृष्टिले हेर्न लागे ।
एक दिन राजा लुक्दै छिप्दै उनको पछिपछि लागेर निवासमा पुगे । जब त्यो मन्त्री आफ्नो कोठा भित्र छिर्यो र ढोका बन्द गर्यो तव राजाले ढोका ढकढकाए । कोठा भित्र पसेर ढोका बन्द गरेको देखेपछि राजाले सोचे कि यो पक्कै बदमास रहेछ, आज त रंगे हात समातिने भयो । अब यसलाई त्यसै छोड्नु हुदैन । कठोर सजाय दिनुपर्छ । राजा यस्तै यस्तै सोच्दैथिए । त्यस ब्यक्तिले ढोका खोलिदियो । ढोकामा राजालाई देख्दा ऊ आश्चर्यचकित भयो र राजालाई कोठामा स्वागत गर्यो “सवारी होस् महाराज ।” राजाले बाकस तर्फ ईसारा गर्दै भने, ” यसमा तिमिले के राखेका छौ ? देखाऊ । आज म यस बाकसमा के के राखिएको छ, हेर्न चाहन्छु ।” ति मन्त्रीले भने, ” महाराज! यसमा हजुरलाई देखाउन लायक कुनै कुरा छैन । हजुरले के हेर्नुहुन्छ र यसमा ?” राजाले कड्केर भने, ” होईन होईन, यसलाई तुरुन्त खोल । म यसमा के के छ सबै कुरा हेर्न चाहन्छु ।” ति मन्त्रीले जति जति मनाही गर्दै गए, राजालाई उति उति शंका बढ्दै गयो । ” हैन, यसमा त पक्कै पनि सुन चाँदी र पैसा अवश्य राखिएको हुनुपर्छ । यो सबै मेरो राजदरबारबाट चोरी गरिएको हुनुपर्छ । देखाऊ मलाई । म हेर्छु । यो मेरो आज्ञा हो । यसलाई खोलेर देखाउ । यसमा के के राखेका छौ तिमिले ।” अनि जब त्यस ब्यक्तिले त्यो पुरानो थोत्रो बाकस खोल्यो त्यसमा एकजोडी पुरानो फाटेको कपडा मात्र राखिएको थियो । राजालाई बडो आश्चर्य भयो कि यसमा यो के हो ? किन यस्ता फाटेका थोत्रा पुराना कपडा राखिएको हो ? अनि राजाले आश्चर्यपूर्वक सोधे, “के हो यो ? एउटा सम्पन्न राज्यको मन्त्रीको बाकसमा यति पुराना र थोत्रा कपडा ?” अनि ती मुख्यमन्त्रीले भने, ” महाराज ! जुन दिन मलाई हजुरले दरबारमा मौका दिनुभएको थियो, मैले त्यस दिन यिनै कपडा लगाएको थिएँ । मसंग यी पुराना कपडा बाहेक अरु केहि पनि थिएन । र, हजुरको कृपाको कारण, तपाईको दयाको कारण आज म यस अवस्थामा छु । हजुरले मलाई जुन यति ठूलो जिम्मेवारी दिनुभएको छ, त्यसको लागि म धेरै नै आभारी छु, कृतज्ञ छु । आज म तपाईको असिम दयाले गर्दा एउटा दरीद्र भिखारीबाट यति ठूलो मन्त्री बनेको छु ।” अनि राजाले सोधे, “यो कोठामा आएर घण्टौँ सम्म तिमी के गर्छौ ? अनि यी थोत्रा फाटेका पुराना लुगा किन ?” अनि ति मन्त्रीले भने, “महाराज! म हरेक दिन यस कोठामा आएर यी कपडालाई हेर्छु, पहिरिन्छु र नियाल्छु किनभने म मेरो औकात भुल्न चाहन्न । म कहाँ थिएँ भन्ने कुरा बिर्सिन चाहन्न । म कुन अवस्था थिएँ, कसको कृपाले आज म कहाँ बाट कहाँ पुगें भन्ने कुरा बिर्सिन चाहन्न । म आफ्नो औकात भुल्न चाहन्न । त्यस कारण मैले यी कपडालाई सम्हालेर राखेको छु । हरेक दिन यिनै भावनाहरुमा डुब्ने गर्नाले तपाईका प्रति श्रध्दा र आदर अझै बढ्छ । मेरो ईमानदारी र बफादारीमा आँच नआओस् भन्ने सतर्कता अझै बढ्छ । किनभने आज जे छु तपाईको कृपा र दयाको कारणले छु र यो यथार्थलाई मैले कहिल्यै पनि बिर्सन चाहन्न । त्यसैले हरेक दिन म यस कोठामा आउँछु र यी पुराना कपडा लगाएर आफूलाई नियाल्छु महाराज । म आफूलाई हरेक दिन आफ्नो औकात सम्झाईरहन चाहन्छु ।” राजाले जब ती मन्त्रीको यथार्थ थाहा पाए, उनलाई आफूले केहि समय पहिले सम्म गरेको ब्यवहार र शंका उपशंका प्रति ग्लानी भयो । राजा ति मन्त्रीका सामू भित्र भित्रै नतमस्तक भए । अनाहकमा चुक्ली गरेर अरूको मानमर्दन गर्न खोज्ने ती भारदारहरु दण्डका भागिदार थिए, दण्डित भए भने मन्त्री अझ शक्तिशाली भएर राजदरबारमा सेवा गर्दै रहे ।
जुन किसिमले त्यो साधारण गरीब मानिस राजाको कृपाले मन्त्री बन्यो र उसले त्यो कृतज्ञतालाई बिर्सन चाहेन । त्यसै प्रकारले सृष्टिकर्ताले हरेक मनुष्यको हृदयमा परमसुख परमशांतिको खजाना राखिदिएका छन् जसको हामीले अनुभव गर्नसक्छौँ । तर हामी यस संसारको चमकदमकमा ती सृष्टिकर्ताको कृपालाई बिर्सदिन्छौँ । उनि प्रतिको ईमानदारी र बफादारीलाई बिर्सिन्छौँ । हामीले आफ्नो हैसियत के हो, औकात के हो भन्ने कुरा कहिल्यै पनि बिर्सनु हुदैन । आज संसारमा कृतज्ञतामा ह्रास आएको छ । मानिसले क्षणभर मै आफ्नो औकात बिर्सिन्छ । अलिकति मात्र ठाउँ पायो भने मानिस दम्भ , घमण्ड र अहंकारले चुलिन्छ । म मात्रै हुँ, अरु कसैको पनि अस्तित्व नै छैन भन्ने दम्भले भरिन्छ । यी र यस्तै बिषयहरुमा श्री प्रेम रावतज्यूले दिनुभएका प्रवचनहरु अत्यन्त उपयोगी छन् । जुन युट्यव र अन्जन टिभिमा हेर्न सुन्न सकिन्छ ।
केहि यस्ता आफ्नो औकात भुलेर दम्भ अहंकार र घमण्डले चुलिएका ब्यक्तिहरु छन् तिनिहरुलाई भन्ने मन लाग्छ- समय छँदै सम्हालिनुहोस् । आज तपाई जहाँ हुनुहुन्छ कसको दया र कृपाले पुग्नुभएको हो ? ति चुक्लीखोर भारदारहरु जस्तो होईन कि ति ईमान र वफालाई बरकरार राख्ने सेवक मन्त्री जस्तो बन्ने संकल्प लिनुहोस् । यो कथाले दिन खोजेको शिक्षा यहि नै हो । धन्यबाद ।