०४ कार्तिक २०८१ l बर्दिया l गोपीलाल कँडेल
एउटा मानिस थियो । उसले कसैको कुभलो चिताउदैन थियो । आफ्ना आराध्यदेव प्रति सधै निहुरन्थ्यो, सम्मान प्रकट गर्थ्यो । एक पटक उसले आफ्नो भगवानसंग गम्भीर प्रार्थना गर्यो “हे भगवान मेरो ईच्छा पूर्ण गरिदिनु होस् ।” त्यो पुकारलाई भगवानले पनि सुन्नुभएछ । ध्यानदृष्टिले हेर्दा कुनै कुराको अभावमा त्यो भक्त निकै नै दुखी भएको महसुस गर्नुभएछ । अनि भगवानले नजिकै आएर दर्शन दिनुभयो र सोध्नुभयो ” म तिम्रो कुन ईच्छा पूरा गरिदिऊँ ? भन।” उसले भगवानको प्रार्थना गर्दै भन्यो ” प्रभु ! मेरो आर्थिक अवस्था निकै कमजोर छ, एउटा राम्रो जागिर पाउन पाए हुन्थ्यो” ।
संसार भरी नै भगवानका भक्तहरुले आफ्ना आवश्यकता र अभावहरु पूरा गराउन भगवानसंग बरदान माग्ने गर्छन् । यो भक्तले पनि कुनै राम्रो नोकरीको बरदान माग्यो । भगवानले पनि “तथास्तु” भन्नु भयो। त्यसपछि उसलाई जागिरको अफर आयो। राम्रो जागीर पायो र खुसी खुसी दिनहरु बिताउन थाल्यो । त्यो मानिस केहि बर्ष त खुसी नै देखियो तर बिस्तारै बिस्तारै उसको खुसी कम हुदै गयो । पाँच सात बर्ष पछि त ऊ निकै चिन्तित र उदास देखिन थाल्यो । आफ्नो भक्त चिन्तामा डुबेको देखेर भगवान फेरि त्यस मानिसको नजिकमा आउनु भयो र सोध्नुभयो ” कस्तो चलिरहेको छ ? राम्रो नोकरी पाएका छौ, फेरि किन चिन्तित देखिन्छौ ? तिम्रो अरु कुनै ईच्छा बाँकी छ ?” अनि उसले भन्दछ “प्रभु मेरो अब एउटै ईच्छा बाँकी छ, मेरो आफ्नै एउटा घर भैदिएको भए हुन्थ्यो । यहि चिन्ताले मलाई सताईरहेको छ प्रभु ।” भगवानले फेरि उसलाई बरदान दिनु भयो र अन्तर्ध्यान हुनुभयो। केहि समय त त्यो ब्यक्ति खुसी नै भयो तर फेरि बिस्तारै बिस्तारै उसको अनुहार मलीन देखिन थाल्यो । बिस्तारै बस्तारै चिन्तामा डुब्न थाल्यो । आफ्नो आराध्य देवलाई सम्झन थाल्यो, मनमनै पुकारा गर्न थाल्यो “हे प्रभु मेरो चिन्ता हरण गरिदिनुहोस् ।” फेरि पनि भगवान प्रकट हुनुभयो र सोध्नु भयो ” अब फेरि के भयो ? किन मलाई बोलाएको ? फेरि कुनै ईच्छा जाग्यो कि के हो भक्त ?” हो प्रभु ! अब मेरो एउटै ईच्छा बाँकी छ । मेरो यो एक्लो जिन्दगी निक्कै नै कष्टकर बनेको छ । सबैथोक हुँदा हुदै पनि एक्लोपनले मलाई आनन्द नै छैन । अब हजुरको आशीर्वादले मेरो एक असल कन्यासंग बिवाह हुन पाए अति नै उत्तम हुने थियो प्रभु ।” ल ठिक छ! तिम्रो बिवाह पनि भैहाल्नेछ । अरु कुनै बाँकी छ माग्नुपर्ने भने भनी हाल ।” ” छैन प्रभु मलाई अब यति भए पुग्छ । हजुरको जय होस्।” त्यस भक्तले भन्यो । भगवानले तथास्तु भन्दै अलप हुनुभयो । त्यसपछि उसका दिनहरु आनन्दले बित्न थाले । घरको सारा काम धन्दा पत्नीले गर्थिन् भने ऊ जागीरमा जान्थ्यो । नोकरीमा पनि तरक्की हुदै गयो । ऊ यतिबेला सम्म ठूलो अफिसर भैसकेको थियो । पाँच छ बर्ष सम्म अनि आनन्द र सन्तोषका साथ बितिरहेको जिन्दगीमा फेरि चिन्ताका भावहरु देखा पर्न थाले । भित्र भित्रै मन कुटुकुटु खान थाल्यो । पत्नीको अनुहार पनि मलीन देख्न थाल्यो । अनि फेरि भगवानलाई बोलाउने निधो गर्यो र प्रार्थना गर्यो । फेरि पनि भगवान प्रकट हुनुभयो र सोध्नुभयो ” अब फेरि के चाहियो ?” “प्रभु हजुरको कृपाले मलाई सबैथोक पुगेको छ। तर अहिले आएर फेरि मलाई एउटा चिन्ताले सताईरहेको छ प्रभु । दिन पर दिन पत्नीको अनुहारमा पनि मलीनता बढ्दै गएको देख्छु । अरु छिमेकी र समवयका मित्रहरुको घरमा बच्चाहरू खुसीले चिच्याएको आवाज गुञ्जिरहेको हुन्छ। तर मेरो घर सधै सुनसान हुन्छ, समशान जस्तो। त्यसैले प्रभु! १-२ वटा बच्चाको चाहना जाग्यो प्रभु । मेरा पनि बालबच्चा होउन् । अब यो आखिरी ईच्छा पनि पूरा गरिदिनु हवस् ।” भगवानले यो ईच्छा पनि पूरा गरिदिनु भयो।
अब उसको जिन्दगीमा बालबच्चा पनि आए। सधै खुसी नै खुसी। नोकरीमा पदोन्नति, तलवमा बृध्दि। बच्चाहरु पनि ठूला भएर स्कूल जान थाले । स्कूलको पढाइ सकेर कलेज गए । त्यहाँबाट पनि ग्राजुयट भएर आ-आफ्नो रुची अनुसार पेशा अपनाएर कमाउन पनि थाले । अब त त्यो भक्त अरु खुसी हुनुपर्ने हो तर अझै पनि ऊ खुसी हुन सकेन । सधै कुनै न कुनै चिन्ताले खिन्न भैरहेको अनुभव उसले गर्न थाल्यो । यति बेला सम्म ऊ बुढो भैकेको थियो । जागीरबाट पनि रिटायर्ड भैसकेको थियो । राम्रोसंग आखा पनि देख्न नसक्ने, कान पनि सुन्न नसक्ने भयो । हिडडुल गर्न पनि समस्या, उठबस गर्न पनि समस्या, सुत्न पनि समस्या, सुतेर उठ्न पनि समस्या, यस्तै भैरहेको थियो । फेरि एक दिन भगवान आउनु भयो र सोध्नु भयो ” के छ तिम्रो हालचाल ? सबै ठिकठाक त छ ? कि कुनै ईच्छा अझै बाँकी छ ?” उसले अनुहार मलीन बनाउदै भन्यो “हे भगवान! यो सबै थोक हुँदा हुदै पनि मनमा शांति छैन । हजुरको कृपादृष्टिले जागिर घर पत्नी बालबच्चा प्रमोशन धन दौलत सबै कुरा सम्पन्न छ । छोराछोरीहरु आ-आफ्नो लाईनमा लागिसकेका छन् । मलाई कुनै कुराको अभाव छैन प्रभु । तर यो मनमा कुनै न कुनै कुराले अशांति भैरहन्छ । सबै भन्दा ठूलो कुरा त शांति रहेछ प्रभु । अब मेरो आखिरी ईच्छा यहि छ कि मलाई शांति मिलोस् । प्रभु! अब मलाई शांति दिनुहोस् ।” भगवानले मुस्कुराउँदै भन्नु भयो ” यो कुरा तिमिले पहिले नै मागेको भए कति राम्रो हुन्थ्यो । होईन र ? तिमि त पहिलो दिन मै शांति माग्न चाहन्थ्यौ तर तिमिले जागिर घर पत्नी बालबच्चा र सम्पत्तिमा नै शांति देख्यौ। वास्तबिक शांति ती कुराहरुमा निर्भर छैन भन्ने कुरा तिमिले बुझ्न सकेनौ । यो कुरा बुझ्न तिमिलाई यतिका समय लाग्यो । जीवनको उत्तरार्धको पनि डिलमा आईपुग्दा बल्ल तिमिलाई थाहा भयो कि शांति नै प्रमुख चिज हो । शांतिको अभावमा सबै कुरा क्षणिक र अधुरो नै हुन्छ । काश ! यो कुरा तिमिले पहिलो भेट मै मागेको भए! ल ठिक छ, अन्तिम अवस्था नै सहि, अब तिमिलाई आत्मिक शांति पनि प्राप्त हुनेछ, तथास्तु ” । भगवान अन्तर्ध्यान हुनुभयो । (प्रेम रावतजीको शांति संदेशबाट भावानुबाद)
शांति त जीवनको सबै भन्दा पहिलो आवश्यकता हो । जन्म देखि मृत्यु सम्म सधैभरि शांतिको उत्तिकै महत्व छ । शांति त बुढेसकालमा पो चाहिन्छ त ! शांतिको लागि अहिले हाम्रो समय होईन भन्ने गरेको पनि सुनिन्छ तर त्यसो होईन । जन्म देखि मृत्यु सम्म हरेक पल पलमा शांतिको उत्तिकै महत्व र जरुरत छ । शांति छैन भने जीवनमा कुनै पनि कुराले आनन्द दिन सक्दैन । त्यस कारण मानिसको पहिलो आवश्यकता नै शांति हो । मन मस्तिष्कमा शांति छ भने मानिस जे जस्तो अवस्थामा पनि खुसी र सुखी रहन सक्छ । हरेक कठिनाईहरुसंग शाहसका साथ मुकाबिला गर्न सक्छ र जीवनमा सफलता हासिल गर्न सक्छ । यदि जीवनमा शांति छैन भने उसले कुनै प्रगति गर्न सक्दैन । जीवनमा कुनैपनि सफलता हासिल गर्न सक्दैन । शांति खलबलिन जाँदा मानिसहरुले अकालमृत्यु पनि रोज्ने गर्छन् । त्यसकारण शांतिको महत्व बुझेर जीवनमा शांति कसरी स्थापना गर्न सकिन्छ र कसरी शांति बनाईराख्न सकिन्छ भन्ने बिषयमा बुझ्न आवश्यक छ l