बर्दिया l २९ भाद्र २०८१ l गोपीलाल कँडेल
एक सन्यासी पुरै संसारको यात्रा गरेर आफ्नो आश्रम तर्फ फिर्ता हुँदै थिए । बाटोमा एउटा सानो राज्यमा बास बस्न पुगे । यो कुरा त्यस राज्यका राजाले थाहा पाए । राजाले गएर ती सन्यासीलाई भने- स्वामी जी ! एउटा प्रश्न २० बर्ष देखि निरन्तर सोधिरहेको छु तर समाधान पाउन सकेको छैन । तपाईले समाधान दिनुहुन्छ? स्वामीजीले भने- अवश्य दिनेछु । आज तपाई यहाँबाट खाली हात फर्किनु हुनेछैन, सोध्नुहोस् । राजाले भने- म ईश्वरलाई भेट्न चाहन्छु । ईश्वरको बारेमा मलाई सम्झाउने कोसिस न गर्नुहोला, म सोझै ईश्वरसंग भेट गर्न चाहन्छु । कसरी भेट्न सकिन्छ, त्यसको उपाय बताईदिनुस् । ती सन्यासीले भने- अहिले नै भेट गर्न चाहनुहुन्छ कि केहि समय पर्खेर ? राजाले भने- क्षमा गर्नुहोला । सायद तपाईले कुरा बुझ्नु भएन । मैले परमपिता परमात्माको कुरा गरिरहेको छु । म कुनै ईश्वर नामको मानिससंग भेट गर्न चाहिरहेको छैन । म त परमपिता परमेश्वरलाई भेट्न चाहन्छु । सायद तपाईले मैले भनेको कुरा बिर्सनुभयो कि ? ती सन्यासीले भने- महाशय ! बिर्सने कुनै गुन्जाईस नै छैन । म त चौबिसे घण्टा परमात्मासंग भेट गराउने काम नै गर्छु । अहिले नै भेट्ने हो कि केहि समय पर्खिन सक्नु हुन्छ ? सोझो उत्तर दिनुहोस् । राजाले कुनै जवाफ नदिएपछि फेरि ती सन्यासीले भने- बीस बर्ष देखि भेट्न उत्सुक हुनुहुन्छ अनि आज समय आएको छ भेट गरिहाल्नुस् । राजाले हिम्मत जुटाएर भने- लौ त, म अहिले नै भेट्न चाहन्छु । भेट गराई दिनुस् । सन्यासीले भने- कृपा गरेर यस सानो टुक्रा कागजमा आफ्नो नाम ठेगाना लेखिदिनुस् ता की मैले भगवान कहाँ पुर्याई दिउँ कि तपाई को हुनुहुन्छ । राजाले आफ्नो नाम महल राज्य आफ्ना उपाधिहरु सबै लेखेर सन्यासीलाई दिए ।
ती सन्यासी बोले- महाशय ! यी सबै कुराहरु मलाई झुट्टा र असत्य लागिरहेका छन् जुन तपाईले यस कागजमा लेख्नुभयो । राजन ! के तपाईको यसमा लेखिएको नाम बदलिदियो भने तपाई बदलिनुहुन्छ ? तपाईको चेतना तपाईको अस्तित्व तपाईको ब्यक्तित्व बदलिएर अर्कै हुन्छ ? राजाले भने- हुन्न । नाम बदलिदैमा म बदलिन्न । नाम नाम हो र म म हुँ । फेरि सन्यासीले भने- एउटा कुरा त निश्चित भयो कि नाम तपाईको परिचय होईन । किनभने तपाई त्यसलाई बदलिदिए पनि बदलिनुहुन्न । ल, अर्को कुरा- आज तपाई राजा हुनुहुन्छ र भोली गाउँको भिखारी हुनुभयो भने बदलिनुहुन्छ ? राजाले जवाफ दिए- राज्य खोसिएर म गाउँको भिखारी भएछु भने पनि म त उही नै रहनेछु बदलिनेछैन । म जे छु त्यहि नै रहनेछु राजाबाट भिखारी भएछु भने पनि । चाहे राज्य नहोस् महल नहोस धन नहोस् तर त त्यहि रहनेछु जो म छु । सन्यासीले फेरि भने- अर्को एउटा कुरा निश्चित भयो कि राज्य पनि तपाईको परिचय होईन । राज्य खोसिंदा पनि तपाई बदलिनु हुनेछैन । राजन ! तपाईको उमेर कति भयो ? राजाले भने- ५५ बर्ष । सन्यासीले सोधे- त के ६० बर्ष पुगेपछि तपाई अर्कै हुनुहुनेछ ? २५ बर्ष अथवा जब तपाई बालक हुनुहुन्थ्यो के तपाई अर्कै हुनुहुन्थ्यो ? राजाले भने- होईन । उमेर बदलिन्छ शरीर बदलिन्छ तर म त उही नै छु । बच्चा बालक जवान र आजको यो उमेरमा पनि म त म नै छु र उहि नै छु । म भित्र जे कुरा थियो आज पनि त्यहि नै छ । सन्यासीले भने- तेश्रो कुरा पनि निश्चित भयो कि उमेर पनि तपाईको परिचय होईन, शरीर पनि तपाईको परिचय होईन । अब भन्नुस् तपाईको परिचय के हो ? तपाई को हो ? त्यस परिचयलाई लेखेर दिनुस् म पुर्याईदिन्छु भगवान समक्ष । नत्र भने म पनि झुट्टा बन्नेछु तपाईसंगै । यी कुनै पनि परिचय तपाईका होईनन् । राजाले भने- तब त धेरै नै मुस्किल भयो । त्यसलाई त मैले पनि जान्दिन कि म को हुँ । यी सबै कुराहरुलाई नै मैले मेरो परिचय भनेर बुझेको छु । सन्यासीले भने- त्यसो भए त धेरै नै कठिनाई हुने भयो, जसको मैले परिचय नै दिन सक्दिन । कसले भेट गर्न चाहन्छ भनेर भन्न पनि सक्दिन । अनि भगवानले पनि भन्ने छन् कोसंग भेट गराउन चाहन्छौ ? त्यसो भए जानुस् पहिले तपाई को हुनुहुन्छ त्यो खोज्नुस् । आफ्नो वास्तबिक परिचय खोज्नुस् । र, मैले तपाईलाई यो पनि भनिदिन्छु कि जुन दिन तपाईले आफ्नो वास्तबिक परिचय फेला पार्नु हुनेछ, आफूलाई जान्नुहुनेछ, आफूलाई चिन्नुहुनेछ त्यस दिन तपाई भगवानलाई खोज्न आउनु हुने नै छैन । किनभने आफूलाई जान्दाजान्दै परमात्मा परमेश्वरलाई पनि जान्नुहुनेछ । आफूलाई जाने पछि परमात्मासंग भेट गर्न कसैको मदतको आवश्यकता पर्दैन । आफ्नो नाम ठेगाना आफै पठाउनुस् समय माग्नुस् र भगवानलाई भेट्नुस् । सन्यासीको कुरा सुनेर राजाको सबै भ्रम अहंकार अज्ञान घमण्ड दम्भ सबै चकनाचुर भयो । सन्यासीसंग बिदा भएर आफूलाई कसरी चिन्ने, आफ्नो परिचय कसरी कहाँ खोज्ने भन्ने चिन्तन गर्दै राजमहल तिर लागे ।