
बर्दिया । २८ भाद्र २०८३ | बर्दियाको बारबर्दिया नगरपालिका–४ बैरियाघाटमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका १६ वर्षीय सम्राट थारु चार दिनपछि मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार २०८३ साल भदौ २४ गते बिहान करिब ८ः५० बजे बारबर्दिया नगरपालिका–४ बैरियाघाटमा प्रशुराम थारुको श्रीमतीको शुद्धीकरण कार्यमा सहभागी भई सोही घाटमा नुहाउने क्रममा स्थानीय श्यामकिशोर थारुका छोरा सम्राट थारु डुबेर बेपत्ता भएका थिए।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बनियाभार, बर्दियाबाट प्रहरी निरीक्षक विवेक भट्टराईको कमाण्डमा १० जना तथा सुरक्षा बेस कतर्नियाबाट सशस्त्र प्रहरी नायब निरीक्षक विनोदकुमार मल्लको कमाण्डमा १० जनाको टोली घटनास्थलमा खटिएको थियो। त्यसपछि सुरक्षाकर्मी र स्थानीयवासीको टोलीले निरन्तर खोजी गर्दै आएको थियो।
दैनिक रूपमा खोजी कार्य जारी रहेकै क्रममा २०८३ साल भदौ २८ गते बेलुका करिब ७ः५० बजे घटनास्थलदेखि करिब ४ किलोमिटर दक्षिण बारबर्दिया नगरपालिका–११ स्थित जब्दीघाटमा पानीमा तैरिरहेको अवस्थामा सम्राट थारुको शव फेला परेको प्रहरीले जनाएको छ।
पानीबाट शव बाहिर निकालिएपछि उनका काका रमेश थारुले शवको सनाखत गरेका छन्। घटनासम्बन्धी अन्य कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
















