REPORTING पेन

नेपालका विभिन्न विधा र विषयका विश्वसनीय ताजा समाचारहरू, घटनाहरू, अपडेटहरू र जनचासोका विषयहरूलाई एकै ठाउँमा समेट्ने हाम्रो विशेष श्रेणी। यहाँ तपाईंले सामाजिक, राजनीतिक, आर्थिक र स्थानीय सबै खाले खबरहरू सहज रूपमा पाउन सक्नुहुन्छ।

अन्तर्राष्ट्रिय योग दिवसको तयारी तीव्र, योग समिति नेपालद्वारा योग अभ्यासको प्रोटोकल सार्वजनिक

०२ असार २०८२, रिपोर्टिंग  नेपाल ,नेपालगंज  — विश्वभर स्वास्थ्य, शान्ति र समन्वयको प्रतीकको रुपमा मनाइँदै आएको अन्तर्राष्ट्रिय योग दिवस यो वर्ष पनि आगामी २१ जुन (असार ७ गते) का दिन नेपालभर विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ।

यसै सन्दर्भमा, योग समिति नेपालले देशभरका योग शिक्षक, साधक, अभ्यासकर्ता र सर्वसाधारणका लागि लक्षित गर्दै आज “सामान्य योग अभ्यासको राष्ट्रिय प्रोटोकल” सार्वजनिक गरेको छ। उक्त प्रोटोकलमा बिहानको समयमा गर्न सकिने सरल, वैज्ञानिक र लाभदायक योग अभ्यासहरू — जसमा श्वासप्रश्वास (प्राणायाम), ध्यान, तान्ने व्यायाम (stretching), सूक्ष्म अभ्यासहरू र योगासन समावेश गरिएको छ — प्रस्तुत गरिएको छ।

समितिका अध्यक्ष योगगुरु आयुर्वेदाचार्य गिरिराज भट्टराईका अनुसार, “यो प्रोटोकल नयाँ अभ्यासकर्ता देखि लिएर दीर्घकालीन योग साधकहरूसम्मका लागि उपयुक्त छ। यसको माध्यमबाट हामी नेपाली समाजमा योगलाई सरल, सुलभ र अनुशासित बनाउँदै लैजान चाहन्छौं।”

योग अभ्यासको प्रोटोकलहेर्न यो फोटोमा क्लिक गर्नुहोस

विश्वभर मनाइन्छ २१ जुनमा

सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवस को रूपमा मनाइँदै आइएको हो। ‘शारीरिक, मानसिक र आत्मिक सन्तुलनका लागि योग’ भन्ने मूल सन्देश बोकेको यस दिवसमा विश्वभर करोडौं मानिसहरूले योग दिवस मनाउने गर्छन l

नेपालमा पनि पछिल्लो केही वर्षयता योग प्रतिको चासो र जागरूकता उल्लेखनीय रुपमा बढेको छ। विभिन्न टेलिभिजन कार्यक्रम, रेडियो, अनलाइन माध्यम र सामाजिक सञ्जालहरूबाट पनि योगसम्बन्धी शिक्षा र अभ्यासहरू प्रस्तुत गरिँदै आएका छन्।

योग हाम्रो जीवनशैली बन्नुपर्छ

योग समिति नेपालले जनतामा यही सन्देश फैलाउँदै आएको छ कि योग कुनै विशेष धर्म, जात वा वर्गको विषय होइन, यो सम्पूर्ण मानवजातिको कल्याणका लागि विकसित भएको अभ्यास प्रणाली हो। नियमित योग अभ्यासले शारीरिक तन्दुरुस्ती, मानसिक शान्ति र सामाजिक समन्वयमा महत्वपूर्ण योगदान दिन्छ।

बिज्ञापन-AI-ADCustom Text

लागुऔषध र हातहतियारसहित एक जना पक्राउ, प्रहरीले गर्‍यो सार्वजनिक

०२ असार २०८२, रिपोर्टिंग  नेपाल ,मकवानपुर – मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–१ मा अवैध लागुऔषध तथा हातहतियार लुकाएर राखिएको सूचना पाएपछि प्रहरीले संयुक्त अपरेशन सञ्चालन गरी एक व्यक्तिलाई पक्राउ गरेको छ।  जेठ ३१ गते करिब ७ बजे साँझ बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त टोलीले घर खानतलासी गर्दा लागुऔषध, हतियार र गोलीसहित एकजनालाई नियन्त्रणमा लिएको हो।

प्राप्त विवरण अनुसार राजु स्याङतानको घर अगाडि निजलाई फेला पारेर खानतलासी गर्दा सुत्ने कोठाभित्र सिरानी मुनी कपडामा बेरेर राखिएको अवस्थामा ७.६५ एमएमको Universal made in Italy लेखिएको म्यागजिनसहितको पेस्तोल १ थान, खाली म्यागजिन १ थान, र १३ राउण्ड गोली फेला पारिएको थियो।

गोठको दोस्रो तलाको मकैको खोस्टा र पत्करभित्र कपडामा बेरेर राखिएको झोलाभित्रबाट अर्को कटुवा पेस्तोल १ थान, ८ एमएम लेखिएको १२ राउण्ड गोली, अफिमजस्तो देखिने १ किलो ३१० ग्राम गिलो पदार्थ, र २२ किलो ८०० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

अनुसन्धानको क्रममा राजु स्याङतानको घरबाट करिब ५०० मिटर टाढा रहेको चन्द्रलाल मोक्तानको बारीमा, आँपको रुखको फेदमा प्लास्टिकमा बेरेर लुकाइएको सेतो झोलाबाट थप कटुवा पेस्तोल १ थान, ५ राउण्ड गोली, र अफिमजस्तो देखिने १ किलो ४८० ग्राम पदार्थ पनि बरामद गरिएको छ।

प्रहरीले बरामद भएको सबै लागुऔषध र हतियार प्रमाणको रूपमा संकलन गरी राजु स्याङतानलाई लागुऔषध तथा हातहतियार खरखजना सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ७ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार, यो अवैध कारोबार स्थानीय स्तरमा मात्र नभई ठूलो गिरोहसँग सम्बन्धित हुन सक्ने सम्भावना पनि रहेको छ।

बिज्ञापन-AI-ADCustom Text

बटनी खेत कतर्नियाको त्यो आधा बाटो… तीन पुस्ताको पर्खाइ अन्त्य

३१ जेष्ठ २०८२, रिपोर्टिंग  नेपाल ,बर्दिया –  बारबर्दिया नगरपालिका वडा नम्मर -९, कतर्निया गाउँका किसानहरूको जीवनमा विगत ३ पुस्तादेखि रहेको ठूलो समस्यालाई वडा अध्यक्ष देवेन्द्र कुमार बिष्टले आफ्नो अटूट संकल्प र कठोर, तर न्यायपूर्ण ढंगका साथ समाधान गरेका छन् । किसानहरू जसले ५०० मिटर हिडे पुगिने आफ्नो खेत  ३ किलोमिटर घुमेर पुग्नु पर्थ्यो हाल किसान र खेत बीच थुनिएको त्यो दूरी अब भत्किएको छ ।

स्थानिय भन्छन्  – उनि अलि कडा र ठाडो बोल्ने स्वभावका छन्, कहिलेकाहीं खरो बोलीले  ठेस पुर्याए पनि, मन चसक्क पारेपनि त्यो स्वरमा कहिल्यै कुनै पाप वा इर्ष्या नदेखिने हुन्छ,  तर यहि स्वभावका कारण  देवेन्द्र बिष्टका आलोचकहरू थुप्रै थिए ।  “खरो बोल्ने, रूखो स्वभावका नेताबाट के आशा गर्ने ?” भन्न पनि भ्याए तर अहिले चुप लागेर सबैकुरा सहने र जनताको समस्यामा  मौन रहने  नेताभन्दा बरु  खरो बोल्ने, रूखो स्वभावको भएपनि काम गर्ने देबेन्द्र जस्तै नेता ठिक भन्ने मा पुगेका छन् वडा नम्मर ९ का वडावासीहरु आजभोली l

“हामीले बिर्सिसकेको थियौँ कि यो बाटो खुल्ने सपना , तर देवेन्द्रजीको पहलले असम्भवजस्तो देखिएको कुरा सम्भव बनायो,” एक किसानको भावुक अभिव्यक्ति थियो। हिजो गालि बर्साउनेहरूले आज देबेन्द्रको काममा तालि बर्साइरहेका छन् । बोलि त कडा  हुन्छ, तर मनमा कुनै पाप छैन। जसको मनमा पाप हुदैन , ऊ बोल्न र काम गर्न डराउँदैन।” स्वभावले  कठोर, बोली ठाडो  र नडराउने, तर अन्तर्मनमा पूर्णरूपले वडा वासीको पक्षधर – यो परिचय बन्दैछ यस बाटो खोल्ने कार्य पश्चात वडाध्यक्ष देवेन्द्र बिष्टको। “उहाँको बोलीले कहिलेकाहीँ चस्काउँछ, तर कामले सबैको मन जित्छ,” वडाबासीहरू खुलेर प्रशंसा गर्छन्। अहिले किसानहरू यति भावुक छन् कि कसैले त बाटोको नाम नै ‘देवेन्द्र मार्ग’ राख्ने प्रस्ताव गरेका छन्।

भिडियो हेर्नुहोस : 

यो एउटा बाटो मात्र होइन, यो बाटो भनेको आशाको मार्ग, सम्भावनाको श्रोत र पुस्तौँदेखि अड्किएको सपना पूरा भएको एउटा जीवनरेखा बनेको छ। उनले खोलिदिएको बाटोले मात्र भौतिक दूरी होइन, किसानहरूको मनमा नयाँ आशा र भरोसाको पुल पनि जोडेको छ। यो कुनै सामान्य बाटो होइन, यो त्यो बाटो हो जसले सयौँ किसानको खेतलाई बाहिरी दुनियाँसँग जोड्ने काम गर्छ। तीन पुस्तासम्म असहज बाटो हुँदै खेतमा पुग्दा सम्म अनायासै बग्ने पसिना आज किसानले आफ्नो खेतमा उत्पादनका निम्ति  बगाउन पाएका छन् ।

हिजो विरोध गर्नेहरू आज आफैँ स्याबासी दिइरहेका छन्, प्रारम्भमा एक–दुई जनाले केही नबुझी विरोध जनाए पनि अहिले सबै जनताको साथ पाइएको अध्यक्ष बिष्ट बताउँछन्। वडाध्यक्ष देवेन्द्र बिष्टले आफू जनताको सेवक मात्र भएको बताउँदै भने, “मेरो जनता हो, मेरा किसान हुन्। बाटो नखोल्नु भनेको दुवै खुट्टा बाधेर हिडनुहोस् भनेर आदेश  दिए जस्तै  हो  । कसैको खेतमा पाइला राख्न पनि बाटो नहुनु भनेको बाँच्दाबाँच्दै जेलमा भएको जस्तै हो। यो बाटो जनताको अधिकार थियो,  मैले  त केवल ढोका खोल्ने  जिम्मेवारी लिएको मात्र हु सबै योगदान किसान र वडावासी कै हो ।”

वडा नं. ९ मा भएको यो विकास कार्य कुनै निर्माणमात्र होइन, जनविश्वास र नेताको प्रतिबद्धताको उदाहरण बनेको छ । देवेन्द्र बिष्टजस्ता जनप्रतिनिधिहरूले देखाएको साहस, निष्ठा र जनपक्षीय कार्यशैलीले अबको पुस्तालाई पनि प्रेरणा दिनेछ।

यो बाटो केवल माटो र मिहेनतले मात्र बनेको छैन, यो बाटो बनेको छ दुःख, संघर्ष, धैर्यता र साँचो नेतृत्वबाट। जहाँ भोलिका दिनमा वडा अध्यक्ष देबेन्द्र कुमार बिष्टकै कार्यकालमा ग्रेवल हालेर अझ बलियो र सहज हुनेछ  भन्ने भरोसा र बिस्वास राखेका छन्  यहाका जनताले ।

भिडियो हेर्नुहोस :

बिज्ञापन-AI-ADCustom Text

प्रतिनिधिसभा बैठक अवरुद्ध अन्त्य गर्न सत्तापक्ष–विपक्षबीच सहमति, बैठक सुचारु हुने

 ३० जेष्ठ २०८२, रिपोर्टिंग  नेपाल ,काठमाण्डौ – प्रतिनिधिसभाको अवरुद्ध बैठक पुनः सुचारु गर्न सत्तापक्ष र विपक्षी दलबीच सहमति जुटेको छ। आज शुक्रबार सत्ता गठबन्धनको तर्फबाट नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश कुमार बर्तौला र विपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे बीच लिखित सहमतिमा हस्ताक्षर भएको हो।

सहमति अनुसार, अध्यादेश र विभिन्न विषयमा संसदीय समितिमा छलफल गरिनुपर्ने माग सम्बोधन गर्न विशेष छानबिन आयोग गठन गर्नका लागि नेपाल सरकारले आवश्यक सहयोग गर्ने उल्लेख छ। साथै, सरकारद्वारा अधिकार दुरुपयोगसम्बन्धी आयोगको प्रतिवेदन र अध्यादेशमा देखिएका समस्याहरूको नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि ठोस पहल गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।

सहमति भएसँगै १३ गतेदेखि अवरुद्ध बैठक आजैदेखि सुचारु हुने नेताहरूले बताएका छन्। यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने उक्त सहमतिमा हस्ताक्षर गरेको छैन।

बिज्ञापन-AI-ADCustom Text

बाँकेको खजुरामा ४५औं योग केन्द्रको भव्य उद्घाटन सम्पन्न

२९ जेष्ठ २०८२, सुमित्रा पण्डित, नेपालगञ्ज

नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको योग समिति नेपालले खजुरा गाउँपालिका–१, बाकेमा २०८२ जेठ २६ गतेका दिन ४५औं योग केन्द्रको भव्य उद्घाटन सम्पन्न गरेको छ। उद्घाटन कार्यक्रममा योग समिति नेपालका पदाधिकारी, विभिन्न केन्द्रका संयोजक, उपसंयोजक, प्रशिक्षक, तथा ३१औं, ३५औं, ३७औं, ४२औं र ४३औं योग केन्द्रका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रममा खजुराकी महिला दिदीबहिनीहरूको समूहले पञ्चेबाजा बजाउँदै केन्द्रबाट आएको टोलीलाई भव्य स्वागत गरेको थियो। साथै, केही योगी कलाकारहरूले आ–आफ्नो कला प्रस्तुति दिएका थिए।

कार्यक्रमको शुभारम्भ खजुरा गाउँपालिका वडा नं. १ का अध्यक्ष मनबिर क्षेत्री र योग गुरुको हातबाट पानसमा बत्ती बालेर गरिएको थियो। उद्घाटन सत्रमा अध्यक्ष क्षेत्रीले योग समिति नेपालसँग सधैं सहकार्य गर्दै पालिकाका नागरिकलाई स्वस्थ राख्ने अभियानमा सक्रिय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

चिरञ्जीवी ज्ञवालीद्वारा सञ्चालित कार्यक्रममा खजुरा गाउँपालिका स्वास्थ्य इकाईका प्रमुख दिपक ढकालले शुभकामना मन्तव्य व्यक्त गर्दै योग समितिको योगदानप्रति प्रशंसा गर्नुभयो। उहाँले शारीरिक तथा मानसिक स्वास्थ्यप्रति जनचेतना फैलाउने अभियानमा समिति नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो।

समितीका सचिव  चिरञ्जीवी ज्ञवालीले संन्चालन  गर्नुभएको  कार्यक्रममा खजुरा गाउँ पालिका स्वास्थ्य   युनिटका प्रमुख  दिपक  ढकालले शुभकामना मन्तब्य दिदै  उहाँले योग समिति नेपालमार्फत नेपाली समाजमा फैलिएको स्वदेशी चेतना, शारीरिक तथा मानसिक स्वास्थ्यप्रति जागरूकता, बाके  जिल्ला मा नै केन्द्रिय कार्यालय  स्थानियहरु बाट सुरु गरिएको  सस्था  योग समिति  नेपाल  नेपाली  शुद्धता ,नेपाली कर्म  वीरहरु नेपालीहरुले गरेको  नेतृत्व  अनुशासन  प्रति  गर्विलो योग परम्पराको ,  गुरु  परम्पराको  पूर्वीय दर्शनको खुलेर प्रशंसा गर्नुभयो।आफु जहाँ  गए  पनि आफु पनि योग समिति  नेपाल  को सदस्य को  नाताले पनि  समितिको  आदर्शलाई  मानि पद  मा रहदा  न रहदा सदा  सर्बदा  समर्पित  हुने  प्रतिबद्वता ब्यक्त गनु भयाे ।

 

कार्यक्रममा ४५औं केन्द्रकी प्रमुख संयोजक पुष्पा थापाले केन्द्र स्थापनाको उद्देश्यमाथि प्रकाश पार्नुभयो भने वडा नं. १२ की संयोजक पुष्पा खनालले योगसम्बन्धी कविता वाचन गर्नुभयो। साथै, जानकी योग केन्द्र र जलपोखरी योग केन्द्रका संयोजक उषा नेपालले योगको महत्वबारे मन्तव्य दिनुभयको थियो  ।

योग गुरु तथा आयुर्वेदाचार्य गिरिराज भट्टराईले “स्वास्थ्य नै धन हो, शान्ति नै शक्ति हो” भन्ने सन्देश दिँदै योग अभ्यासलाई दैनन्दिन जीवनशैलीमा समावेश गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले योगासन, सुष्म क्रिया, प्राणायाम र ध्यानजस्ता अभ्यासहरू मार्फत शरीर, मन, मस्तिष्क र समाजबीचको सन्तुलन नै साँचो स्वास्थ्य हो भन्ने धारणा प्रस्तुत गर्दै सहभागीहरूलाई प्रेरित गर्नुभयो। साथै, उहाँले सन्तुलित आहार–विहार, मर्यादित रहन–सहन र अनुशासित जीवनशैलीले नै दीर्घकालीन स्वास्थ्य र मानसिक शान्तिमा योगदान पुर्‍याउने कुरामा विशेष जोड दिनुभयो।

 

कार्यक्रमको अन्त्यमा ४५औं योग केन्द्रको व्यवस्थापन समिति गठन गरिएको छ। समितिको संरचना निम्नानुसार रहेको छ:

प्रमुख संयोजक – पुष्पा थापा

संयोजक – कमान सिंह साउद

सदस्यहरू – जयलाल अधिकारी, हस्तबहादुर शाही, रमेश थापा, सुकमाया थापा, मनकुमारी थापा, भक्तबहादुर थापा, किसन थापा, नन्दलाल थापा, अरुणा कुमारी गुरुङ, भुवन सिंह, लालु माया थापा, नैनसरा आले, सिता मल्ल

सल्लाहकारहरू – मनबिर क्षेत्री र नवराज थापा

योग समिति नेपालले देशभर योगको उज्यालो फैलाउने अभियानलाई निरन्तरता दिँदै आएको छ। गुरु गिरिराज ज्युको मार्गदर्शनमा स्थापित यस ४५औं केन्द्रले पनि सो अभियानलाई अझ सशक्त बनाउने विश्वास लिइएको छ।

योग समिति नेपालले गुरु गिरिराजको मार्गदर्शनमा देशभर योगमार्फत सकारात्मक सामाजिक परिवर्तन ल्याउने अभियानलाई निरन्तरता दिँदै आएको छ। समितिका अनुसार ४५औं केन्द्रले पनि उक्त उज्यालोलाई अझ विस्तार गर्ने विश्वास लिएको छ।

बिज्ञापन-AI-ADCustom Text

“सत्ता होइन, सेवा हो मेरो धर्म” : अध्यक्ष टंक प्रसाद अधिकारी

२९ जेष्ठ २०८२, रिपोर्टिंग नेपाल , गुलरिया 

धेरैले भन्छन्—राजनीति बदनाम छ।
तर गुलरिया–२ मा राजनीति आशाको किरण बनेर उदाएको छ।
यहाँका वडा अध्यक्ष टंक प्रसाद अधिकारी नेता हैनन्—नेतृत्वको परिभाषा हुन्।
उहाँ भन्छन् – “कुर्सी भनेको आसन हैन, अभिभावकत्व हो। वडाबासी रोए भने, म निदाउन सक्दिनँ।”

कहिलेकाहीँ नेतृत्व केवल कुर्सी होइन, जीवन र आशाको स्रोत पनि बन्न सक्छ। गुलरिया नगरपालिकाको वडा नं. २ मा सामाजिक विकासको उज्यालो किरण फैलिँदै गएको छ। यो उज्यालो पछाडि जसको दृढ प्रतिबद्धता, स्पष्ट दृष्टिकोण र सेवा भाव रहेको छ, उनी हुन – वडा अध्यक्ष टंक प्रसाद अधिकारी। विकास भनेको केवल सडक र भवन मात्र होइन, मानव जीवनको आधारभूत पक्ष – स्वास्थ्य, शिक्षा, र सम्मानजनक जीवन हो भन्ने विश्वासका साथ उनले बजेटको सही सदुपयोगमार्फत अति बिपन्न वर्गलाई केन्द्रमा राखेर ऐतिहासिक काम गरेका छन्।

आज जुन गाउँमा हिजो उपचार खर्च नहुँदा मान्छे पिडामा थिय , आज त्यहाँ औषधिको व्यवस्था भएको छ। जहाँ अभावले पढ्न नसक्ने विद्यार्थी थिए, त्यहाँ आज ल्यापटप वितरण भएको छ। जहाँ कसैको मृत्युले परिवारलाई दुईचोटि पीडा दिन्थ्यो- एक आफन्त गुमाउनुको र अर्को आर्थिक संकटको – आज त्यही आर्थिक संकटको पीडालाई वडा कार्यालयले काँध थापेको छ।

विकास भौतिक मात्रै हो भन्ने सोचलाई चुनौती

बहुसंख्यक स्थानीय तहमा अहिले पनि विकासको नाममा ढल, सडक, पर्खाल, टोल सुधार लाई प्राथमिकता दिइएको पाइन्छ। तर, गुलरिया–२ का अध्यक्ष टंक प्रसाद अधिकारीको सोच मान्छे–केन्द्रित छ। उहाँ भन्छन्: “विकासको अर्थ मान्छेले महसुस गर्न सक्नुपर्छ। विद्यालय जान नपाउने बच्चाको घर अगाडि बाटो बनाउनु मात्र  विकास होइन। जब ऊ विद्यालय पुग्छ, किताब पढ्छ, स्वस्थ हुन्छ – त्यो हो साँचो विकास।”

चार यस्ता कार्यक्रम, जसले बाँच्न संघर्ष गरिरहेकालाई जिउनको आधार दियो

  • स्वास्थ्य बीमा: रोग होइन, राहत पाउने अधिकार

राहत वितरण होइन, अधिकारको सुनिश्चितता हो यो कार्यक्रम। अध्यक्ष अधिकारीले सुरु गर्नुभएको अति बिपन्न परिवारहरूका लागि स्वास्थ्य बीमा योजनाले वडा नं. २ मा अति बिपन्न परिवारहरूलाई राहत महसुस भएको छ। यो योजनाबाट धेरै परिवारहरू अस्पताल खर्चको बोझबाट मुक्त भएका छन्।

  • औषधि खर्च: साना रोगको भारी बिसाउने चौतारी वडा कार्यालय 

पाँच रुपैयाँको औषधि नहुँदा थलिएको वृद्ध, टाउको दुख्दा पानीपात्रो सुम्सुम्याउने बालक… अहिले ती सबैलाई तपाईंका लागि वडा कार्यालय छ भन्न सकिने अवस्था छ। उपचार खर्च तिर्न नसक्ने अवस्थाका नागरिकका लागि वडा कार्यालयले नगद औषधि सहयोगको व्यवस्था गरेको छ। वडामा अब सामान्य चेकजाँचपछि औषधि नकिनी बस्नुपर्ने अवस्था हटेको छ। औषधि खर्चका लागि वडा कार्यालयले नगद राहत दिन थालेको छ। एक जना वृद्धाले आँशु झार्दै भनिन्: “अघिल्लोचोटि दुखाइ हुँदा तेल मालिस गरेर सुतें। योपल्ट वडा कार्यालयले सहयोग गरेकै कारण डाक्टरसम्म पुगें।”

  • मृत्यु काज सहयोग  : अन्तिम सस्कारमा पनि वडा सरकार आफन्त महसुस 

अति बिपन्न गरिब परिवारमा कुनै सदस्यको मृत्यु भयो भने क्रिया खर्चको जोहो गर्नु चुनौती थियो। वडा अध्यक्षले यो कुरालाई ध्यानमा राख्दै मृत्यु काज खर्च सहयोग कार्यक्रम ल्याउनुभयो। एक स्थानीय भन्छिन्: हामी जस्तो गरीब परिवारमा कसैको मृत्यु भएपछि क्रिया खर्चको जोहो गर्न गाह्रो पर्थ्यो। तर वडा कार्यालयबाट क्रिया खर्च सहयोग उपलब्ध हुदा ठूलो राहत पुगेको छ।

गरीबीले अन्तिम सस्कारमा आर्थिक बोझले च्यापिने  घर परिवारलाई  वडा कार्यालयले मृत्यु–काज खर्च सहयोग गरेर ‘सरकार भनेको बाँचुन्जेल मात्र होइन, मरेपछि पनि साथ दिने’ सन्देश दिएको छ।

  • ल्यापटप सहयोग: डिजिटल भविष्य निर्माणको साहसी कदम

अति बिपन्न घरका दुई विद्यार्थीलाई वडा कार्यालयले ३०% लागत सहभागितामा ल्यापटप सहयोग गर्दै आइरहेकोछ । ती विद्यार्थीहरू अहिले अनलाइन क्लास, प्रोजेक्ट तथा अनुसन्धानमा सहभागी हुन सक्षम भएका छन्। एक बिद्यार्थी भन्छन : यो केवल सामग्री वितरण हैन, सपना हेर्ने स्क्रिन हो ।

टंक अधिकारीको नेतृत्वमा सामाजिक विकासले पायो नयाँ परिभाषा

धेरै नेता भन्छन्, “हामी गरिबसँग छौं।”
तर, अध्यक्ष टंक प्रसाद अधिकारीले भनेर होइन, गरेर देखाउनुभएको छ।

अध्यक्ष अधिकारीको सामाजिक सोचलाई वडा सदस्यहरूको सक्रिय समर्थन प्राप्त भएको छ। “हामी सबै सामाजिक विकासलाई प्राथमिकतामा राखेर सहमत भएका थियौँ,” भन्छन् वडा सदस्य केशब बुढा ।

वडा सचिव कर्ण बस्नेत बताउनुहुन्छ: “बजेट आउँछ, योजना बन्छ, तर कार्यान्वयनमा धक्का लाग्छ भन्ने गुनासो आम हो। तर हाम्रो वडामा योजनाको डिजाइनदेखि कार्यान्वयन सम्म अध्यक्ष स्वयं संलग्न हुनुहुन्छ। त्यसैले परिणाम देखिन्छ।”

वडा सचिव बस्नेतले पनि कार्यान्वयन पक्षमा सहयोगपूर्ण नेतृत्व दिनुभएकोछ । “योजना कागजमा मात्र सीमित भएन, हामीले परिणाम देख्यौँ,” उहाँको भनाइ छ।

अध्यक्ष अधिकारीको यो सोचमा वडा सदस्यहरू पनि उत्तिकै संलग्न छन्। वडा सदस्य निर्मला नेपाली भन्छिन  : “हामी सबै एकजुट भएर ‘गरिबप्रेमी बजेट’ बनाउन सहयोग गरिरहेका छौ  । उहाँले सबैलाई समेट्नुहुन्छ । हामीले समर्थन गर्न पाएकोमा गर्व लाग्छ।”

स्थानीयको भावना: अध्यक्ष होइन, अभिभावक हो उहाँ

वडाका अधिकांश लाभान्वितहरू अध्यक्ष अधिकारीलाई आफ्नो घरको अबिभाबक  मान्छन्।
एक युवाले भने: “अध्यक्ष टंक अधिकारीको काम देखेपछि मेरो सोच परिवर्तन भएको छ – राजनीति राम्रो पनि हुन सक्छ।” उहाँको विचार, कर्म, र सामाजिक प्रतिबद्धता नेतृत्व कसरी हुनुपर्छ भन्ने पाठ बनिरहेको छ । उहाँ केवल एक वडा अध्यक्ष होइन, यो समयका लागि एक प्रेरक पात्र हुनुहुन्छ।

एक वृद्धाले भने —

“चुनाव सकियो, नेताहरू हराए तर उहाँ फेरि दोस्रो पटक वडा अध्यक्ष बनेर  आउनुभयो– अझै नजिक, अझै जनताको सपना बोकेर, जनताको समस्याको समाधान बनेर ।”

अध्यक्षको दृष्टिकोण: भौतिकभन्दा अघि सामाजिक

पुनः निर्वाचित अध्यक्ष टंक प्रसाद अधिकारी भन्छन्, “सडक र भवन आवश्यक छन् तर त्यो भन्दा पहिला मान्छेले उपचार, शिक्षा, सम्मान र सुरक्षाको अनुभूति पाउनुपर्छ। त्यही भएर म भौतिक पूर्वाधारको साथ् साथै  सामाजिक विकासलाई प्राथमिकता दिन्छु।”

विकासको परिभाषा जब जनताको मुहारमा देखिन्छ, तब त्यो नेतृत्वको सफलता मानिन्छ। वडा नं. २ का टंक प्रसाद अधिकारीले जनताको विश्वास जित्नु मात्र होइन, सामाजिक न्याय र समावेशी विकासको आदर्श स्थापित गर्नुभएको छ। यस प्रकारको सोच र काम मुलुकभर नै उदाहरण बन्नसक्ने खालको छ ।

प्रभावकारी नेतृत्व, उदाहरणीय सेवा: टंक अधिकारी जस्ता प्रतिनिधिको खोजी गर्दैछ देश

यस्ता उदाहरणहरू विरलै भेटिन्छन् , जहाँ जनप्रतिनिधिले भाषण  होइन, काम गर्छन् , जहाँ योजना चुनाबी प्रतिबद्धताको  कागज होइन, जनताको समस्याको समाधानको दस्ताबेज बन्छ , जहाँ जनताको आँशु मात्र देखिँदैन पुछिन्छ पनि।

अध्यक्ष अधिकारीले देखाउनुभएको सामाजिक न्याय, आत्मीय सेवा, र गरिबमुखी बजेट योजनाको यात्रा, आज गुलरिया–२ का लागि मात्र होइन, पुरै स्थानीय तहको लागि पाठ हो, प्रेरणा हो, उदाहरण हो।

बिज्ञापन-AI-ADCustom Text

विश्व वातावरण दिवसमा ४४औं योग समर्पण केन्द्रको भव्य शुभारम्भ: एक बिरुवा, एक सन्देश मार्फत मानवता र प्रकृतिको संगम

नेपालगंज, जेठ २५ , २०८२ , विश्व वातावरण दिवसको विशेष अवसरको सम्झना गर्दै हिजो मिति २०८२ जेष्ठ २४ गते नेपालगञ्जमा आयोजित एक अत्यन्तै प्रेरणादायी र ऐतिहासिक कार्यक्रम मार्फत ४४औं योग केन्द्रको भव्य शुभारम्भ सम्पन्न भयो।

“जब मन शान्त र शरीर स्वस्थ्य हुन्छ,  तब समाज समुन्नत बन्छ, जब समाज समुन्नत बन्छ तब देश समुन्नत बन्छ ” यही सन्देश बोकेर, योग समिति नेपालले विश्व वातावरण दिवसको अवसर लाइ स्मरण गर्दै आफ्नो ४४औं योग  केन्द्रको गौरवशाली यात्रा आरम्भ गरेको छ । समाजमा मानसिक, शारीरिक र आध्यात्मिक चेतनाको सशक्त सन्देश फैलाउने उद्देश्यले योग समिति नेपालले आयोजना गरेको यो कार्यक्रममा प्रमुख अतिथि ,विशिष्ट अतिथि एबम अतिथिको रुपमा विशिष्ट व्यक्तित्वहरुको  उपस्थिति र उहाहरुको योग प्रतिको धारणाले बाँके जिल्लामा मात्र नभई सम्पूर्ण देशभर नै योग चेतनाको नयाँ लहर सुरु गरेको अनुभूति दिलाएको छ ।

कार्यक्रमका प्रमुख संयोजक नन्दलाल बैस्य र संयोजक आनन्द मोहपालको नेतृत्वमा समर्पित टिमले अत्यन्त योजनाबद्ध ढंगले आयोजना गरेको यस समारोहमा समाजका विविध तह–तप्काका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रह्यो। जिल्ला बन कार्यालयको सहकार्यमा सम्पन्न भएको यस ऐतिहासिक कार्यक्रममा सहभागी सबैलाई “एक बिरुवा – एक सन्देश” भन्ने मूल मर्म सहित एक–एक बिरुवा उपहारस्वरूप वितरण गरिएको थियो, जुन बिरुवा केवल वनको सम्भावना मात्र नभई, जीवनमा समर्पण, सन्तुलन र चेतनाको सन्देश बोकेको प्रतीकको रूपमा प्रस्तुत गरिएको थियो।

यस शुभारम्भ समारोहको प्रमुख अतिथिको रूपमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर श्री प्रशान्त बिष्ट उपस्थित हुनुहुन्थ्यो भने विशिष्ट अतिथिको रूपमा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी रहनु भएको थियो। साथै सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी हरिषचन्द्र शर्मा, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख रामबहादुर घर्ती, शसस्त्र प्रहरी प्रमुख शोभाकान्त खनाल, ट्राफिक कार्यालय प्रमुख नन्दकुमार पोख्रेल, जिल्ला बन कार्यालयका प्रमुख शंकर गुप्ता, उद्योग वाणिज्य महासंघ बाँकेका अध्यक्ष टंक धामी, लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिले कार्यक्रममा अझ गौरवमय बनायो।

कार्यक्रमको औपचारिक सत्रमा योग गुरु तथा आयुर्वेदाचार्य गिरिराज भट्टराईले उपस्थित सम्पूर्ण अतिथि र सहभागीप्रति हार्दिक आभार व्यक्त गर्दै, योगको वास्तविक अर्थ, महत्व र प्रभावका विषयमा एकदमै भावनात्मक र सन्देशमूलक मन्तव्य दिनुभयो। उहाँले भन्नुभयो—“आज हामीले ४४औं केन्द्र सुरु गरेका छौं, तर हाम्रो लक्ष्य ४४ लाख मानिसको जीवनमा चेतनाको उज्यालो फैलाउनु हो। बिरुवाले वन दिन्छ, तर योगले मानवता दिन्छ। हामीले सुरु गरेको यो केन्द्र केवल योग केन्द्र मात्र होइन — यो चेतनाको गहिराइमा जाने बाटो हो, आत्मा जगाउने एक यात्रा हो। यहाँबाट जीवनलाई नयॉं दृष्टिकोण दिने अभ्यासको आरम्भ हुन्छ । योग कुनै जात, धर्म वा राजनीतिक विचारधाराको विषय होइन, यो स्वास्थ्य शरीर र पबित्र मन प्राप्ति गर्ने चेतनाको आन्दोलन हो।”

यस कार्यक्रमले सामाजिक, प्रशासनिक, सुरक्षा, औद्योगिक, पत्रकारिता, र नागरिक समाजका सबै प्रतिनिधिलाई एकै थलोमा ल्याई सम्वाद, सशक्तिकरण र समर्पणको उत्कृष्ट उदाहरण पेश गर्‍यो।

प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त बिष्टले कार्यक्रमलाई सम्बोधन गर्दै स्पष्ट शब्दमा भन्नुभयो: “शरीर र समाज दुबैको सन्तुलनका लागि यस्तो अभियान सबै नगरपालिका र गाउँपालिकामा फैलिनुपर्छ। आवश्यक सम्पूर्ण  सहयोग र साथ दिन  नेपालगञ्ज उपमहानगरपालिका  सधै तयार छ।

एक बिरुवा, एक सन्देश – प्रकृति र चेतनाको मिलनबिन्दु स्वरूप  प्रत्येक सहभागीलाई एक–एक बिरुवा प्रदान गर्दै, जीवनमा सन्तुलन, शान्ति र समर्पणको सन्देश दिनु  आजको कार्यक्रमको विशेषता थियो – बन कार्यालय बाँकेको सहयोगमा आयोजित यस अभियानले केवल वातावरणीय सन्देश मात्र दिएन, योगमार्फत भित्री चेतनाको हरियाली पनि फैलायो। आजको यस केन्द्र उद्घाटन र बिरुवा वितरण कार्यक्रमले वातावरण, स्वास्थ्य र चेतनाको एकता प्रस्तुत गरेको छ।”

बाकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले नागरिकहरूमा योगको प्रवर्द्धनका लागि स्थानीय तहले आवश्यक वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउदै योगले सेवा प्रवाह, तनाव व्यवस्थापन र सामाजिक अनुशासनमा गहिरो प्रभाव पार्ने विश्वास व्यक्त गर्दै योगको अभ्यास हरेक नागरिकले गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा योग समिति नेपालका संस्थापक सल्लाहकार एवं कार्यक्रमका प्रमुख संयोजक नन्दलाल बैस्यले योग समितिको उद्देश्य, दर्शन र दूरदृष्टिको व्याख्या गर्दै सबै नागरिकलाई दैनिक योग अभ्यास गर्न अनुरोध गर्नुभयो। उहाँले योग समिति नेपाललाई मार्गदर्शन प्रदान गर्ने संस्थाको रूपमा चित्रण गर्दै समितिको क्षमतालाई एक मार्गनिर्देशन दिन सक्ने खानीको रूपमा परिभाषित गर्नुभयो र गुरु, अतिथि तथा समर्पित टोलीप्रति कृतज्ञता प्रकट गर्नुभयो।

जिल्ला बन कार्यालय प्रमुख शंकर गुप्ताले बिरुवालाई केवल उपहारको रूपमा नभई “प्रकृति र प्राणको एकता” को प्रतीकको रूपमा व्याख्या गर्नुभयो । यसै कार्यक्रममा डा. राजेन्द्रप्रसाद गुप्ता र आनन्द मोहपालले पनि योगको वैज्ञानिक र सामाजिक महत्त्वबारे विचार राख्नुभयो भने उद्योग वाणिज्य महासंघका अध्यक्ष टंक धामीले निजी क्षेत्रले पनि स्वास्थ्य र वातावरणीय चेतनामा योगदान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमको सांस्कृतिक पक्ष पनि अत्यन्त प्रभावशाली थियो जहाँ राष्ट्रियता झल्किने गीतमा बालयोगी कलाकार गिरिश्मा शर्मा र निरीक्षा शर्माले मनमोहक नृत्य प्रस्तुत गरे। गायक चक्र मल्लले गाएको सन्देशमूलक गीतले सम्पूर्ण वातावरणलाई भावनात्मक रुपमा समेट्दै सबैलाई मुग्ध बनायो। कार्यक्रमको संचालन चिरञ्जीवी ज्ञवालीले अत्यन्तै सुशिल र अनुशासित ढंगले गर्नुभयो जसले सम्पूर्ण कार्यतालिकालाई सुसंगठित राख्यो।

कार्यक्रमको समापनतिर योग गुरु गिरिराज भट्टराईले सम्पूर्ण उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि,अतिथिहरू, सहभागिहरू तथा ४४औं योग केन्द्रको स्थापनाका लागि विशेष योगदान पुर्‍याउने सम्पूर्ण योगिमनहरुलाइ हृदयदेखि आभार प्रकट  गर्दै दीर्घकालीन व्यवस्थापन तथा सञ्चालनका लागि समर्पित व्यवस्थापन समिति घोषणा गर्नुभयो जसको प्रमुख संयोजक नन्दलाल बैस्य र संयोजक आनन्द मोहपाल हुनुहुन्छ भने सदस्यमा श्याम गुप्ता, डा. राजेन्द्रप्रसाद गुप्ता, विजय गुप्ता, अजय गुप्ता, पारस मोहपाल, लल्लन चौधरी, सन्तोष बैस्य, सन्जय पोरवाल, जितेन्द्र गुप्ता, रामकिशोर गुप्ता, सुनिल गुप्ता, दिनेश गुप्ता रहनुभएको छ । सल्लाहकारका रूपमा टंक धामी, श्रीमती आनन्द मिना मोहपाल, राम पयारे गुप्ता र बिरेन्द्र मोहपाल रहनुभएको छ।

बिरुवा वितरणमा विशेष योगदान पुर्‍याउने जिल्ला बन कार्यालय बाँके, महेश ज्ञवाली र जिव नारायण बेलबासे र कानुनी सल्लाहकार विश्वजीत तिवारी प्रति योग समिति नेपालले आभार व्यक्त गर्यो । कार्यक्रममा स्वयंसेवी योग अगुवाहरू जानकी ज्ञवाली, मन्दरा सबिता र कमला हिराधरको भूमिका पनि स्मरणीय रह्यो।

यसरी, ४४औं योग केन्द्रको शुभारम्भ कार्यक्रमले केवल एउटा केन्द्रको उद्घाटन मात्र नभई चेतनाको नवीन युगको शुरुवात गरेको अनुभूति गरायो। यो कार्यक्रमले सामाजिक समरसता, आध्यात्मिक उन्नति र जीवनशैलीको रूपान्तरण तर्फको बाटो देखाएको छ, जुन केवल बाँके जिल्लाका लागि होइन, सम्पूर्ण राष्ट्रका लागि प्रेरणाको स्रोत बन्ने निश्चित छ।

 

 

बिज्ञापन-AI-ADCustom Text

बारबर्दिया न.पा. वडा ८ मा एक महिने मुढा बनाउने तालिम सम्पन्न, वडा अध्यक्ष र सभाध्यक्षबाट व्यवसायिक विस्तारको आह्वान

बारबर्दिया, जेष्ठ २३, २०८२ गते
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बारबर्दिया नगरपालिका–८ मा सञ्चालित एक महिने मुढा बनाउने तालिम आज औपचारिक रूपमा सम्पन्न भएको छ। २०८२ सालको बैशाख २२ गतेदेखि सुरु भएको तालिम जेष्ठ २२ गते सम्पन्न भएको हो भने समापन समारोह आज जेष्ठ २३ गते आयोजित गरिएको थियो।

बारबर्दिया नगरपालिका उद्यम विकास शाखाको आयोजनामा सम्पन्न उक्त तालिममा वडा नम्बर ८ का १३ जना महिला र २ जना पुरुष गरी कुल १५ जना सहभागीले मुढा बनाउने सीप सिकेका थिए। तालिमको प्रशिक्षक दिलमाया महतो रहेकी थिइन्। सहभागीहरूले सौहार्दपूर्ण वातावरणमा सहज र व्यवहारिक तरिकाले तालिम प्राप्त गरेको बताएका छन्।

वडा अध्यक्ष चन्दको प्रतिबद्धता: “२ वर्षअघिको पहल आज सार्थक भयो”

तालिम समापन समारोहका प्रमुख अतिथि बारबर्दिया–८ का वडा अध्यक्ष नरबहादुर चन्द (भरत) ले उक्त तालिम आफैँले दुई वर्षअगाडिदेखि नगरपालिकासँग पहल गर्दै आएको बताउँदै अहिले आएर त्यो प्रयासले मूर्तरूप लिएकोमा खुसी व्यक्त गरे।
उहाँले भन्नुभयो, “म यो तालिमबाट यहाँहरूले प्राप्त गर्नुभएको सीपलाई आम्दानीको स्रोत बनाउन सक्नुहुन्छ भन्नेमा ढुक्क छु। मुढा बनाउने काममा तपाईंहरूको परिवारले पनि साथ दिनेछ, जसले गर्दा उत्पादन बढ्नेछ र त्यसले तपाईंहरूको आर्थिक अवस्थामा सकारात्मक प्रभाव पार्नेछ।”

उहाँले सहभागीहरूलाई सिकेको सीपलाई केवल सिकाइमै सिमित नराख्न आग्रह गर्दै यसलाई व्यवसायिक रूपमा विस्तार गर्न प्रेरित गर्नुभयो।

भिडियो हेर्नुहोस :

सभाध्यक्ष योगीको घोषणा: “उपकरण पनि दिएका छौँ, उत्पादन ल्याउनुहोस् बजार हामी दिन्छौं”

कार्यक्रमको सभाध्यक्ष तथा नगर प्रवक्ता एवं बारबर्दिया–४ का वडा अध्यक्ष सीताराम योगीले सहभागिहरूलाई मुढा बनाउन आवश्यक पर्ने औजारहरू समेत वितरण गरिएको जानकारी गराउँदै त्यसलाई उत्पादनमा रूपान्तरण गर्न सुझाव दिनुभयो।
उहाँले भन्नुभयो, “४००, ५००, १००० – जति मुढा बनाउन सक्नुहुन्छ, बनाउनुहोस्। बेच्न समस्या भयो भने नगरपालिकामा ल्याउनुहोस्, बजार व्यवस्थापनको जिम्मा हामी लिन्छौं। तपाईंहरू ढुक्क भएर यो तालिमलाई आम्दानीमा रूपान्तरण गर्नुहोस्।”

उहाँले सीपमूलक तालिमको वास्तविक परिणाम तब मात्र देखिने बताउनुभयो जब त्यो सीपले उत्पादन र आम्दानीमा रूपान्तरण गर्न सक्ने हुन्छ।

उद्योग विकासतर्फ नगरको जोड

बारबर्दिया नगरपालिकाको उद्योग विकास शाखाले सञ्चालन गरेको यो तालिम गरिबी निवारण र स्वरोजगार प्रवर्द्धन मा केन्द्रित कार्यक्रमको एउटा उदाहरण हो। स्थानीयस्तरमा महिलाहरूको सीप विकास गर्दै आत्मनिर्भरता र लघु उद्यमको प्रवर्द्धन गर्न नगरले यस्ता कार्यक्रमलाई प्राथमिकता दिएको देखिन्छ।

समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरणसमेत गरिएको थियो। सहभागीहरूले यस तालिमबाट प्राप्त सीपलाई घरमै बसेर आम्दानीको स्रोत बनाउन सहज हुने बताएका छन्।

बिज्ञापन-AI-ADCustom Text

बारबर्दिया नगर अस्पतालमा मोरिंगा बिरुवा रोपेर विश्व वातावरण दिवस मनाइयो

बारबर्दिया, जेठ २२, २०८२ विश्व वातावरण दिवसको अवसरमा बारबर्दिया नगरपालिका अन्तर्गत रहेको नगर अस्पताल परिसरमा विशेष वातावरणीय कार्यक्रम आयोजना गर्दै मोरिंगा (सितल चिनी) को बिरुवा रोपिएको छ। स्वास्थ्य सेवा र वातावरण संरक्षणबीचको सम्बन्धलाई उजागर गर्ने उद्देश्यले गरिएको सो कार्यक्रमले अस्पतालको वातावरणलाई हरियाली बनाउने र समुदायमा हरित सन्देश फैलाउने लक्ष्य राखेको थियो।

कार्यक्रममा अस्पतालमा कार्यरत  मेडिकल अधिकृत  डा. माधव पन्त र डा. जितेन्द्र यादव, वरिष्ठ अहेब तुलसी पोखरेल, ल्याब असिस्टेन्ट आइतवारी चौधरी, फार्मेसी सहायक विनोद कुमार देमनदौरा , निर्मल थारू लगायत अस्पतालका अन्य कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। साथै जयनगर रेडक्रस उपशाखाका अध्यक्ष श्रीराम चौधरीले पनि बिरुवा रोपणमा सहभागिता जनाएका थिए।

मोरिंगा बिरुवा बहुपयोगी औषधीय गुणले भरिपूर्ण मानिन्छ, जसले पोषणमा टेवा पुर्‍याउने मात्र होइन, वातावरणीय सन्तुलनमा पनि योगदान दिन्छ। यस प्रकारका बिरुवाको प्रवर्द्धनले स्वास्थ्य र वातावरण दुवै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

उक्त कार्यक्रमका लागि आवश्यक बिरुवाको व्यवस्थापन नगर अस्पतालका अध्यक्ष तिर्थराज पौडेलले गर्नुभएको थियो। अस्पताल परिवारको समन्वयमा सम्पन्न भएको यस कार्यक्रमले हरित सोच र वातावरणीय जिम्मेवारीप्रति जनचेतना फैलाउने कार्यमा सघाउ पुर्‍याएको छ। सहभागीहरूले यस्ता अभियानलाई आगामी दिनहरूमा अझ व्यापक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिज्ञापन-AI-ADCustom Text

गणतन्त्रको उत्सवमा स्वास्थ्यको सन्देश – सितलाबजारमा ४१ औँ योग केन्द्र

१५ जेष्ठ  २०८२  – रिपोर्टिंग नेपाल 

गणतन्त्र दिवसको ऐतिहासिक अवसर पारेर बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–८ स्थित सितलाबजारमा आजको दिन एक विशेष अध्याय कोरिएको छ। त्यो अध्याय हो—योग, आयुर्वेद र आत्म–चेतनाको समागमसँग जोडिएको ४१ औँ योग केन्द्रको स्थापना। हाम्रो स्वास्थ्य, हाम्रो जिम्मेवारी — हरेक दिन, हरेक घर घरमै योग’ भन्ने सार्थक नारासहित आयोजित कार्यक्रमले गाउँको मुटुमा एउटा आध्यात्मिक, सामाजिक र शारीरिक जागरणको गहिरो सन्देश दिएको छ। यस ऐतिहासिक पहलको नेतृत्व श्रीकृष्ण प्रणामी सेवा आश्रमका केन्द्रीय उपाध्यक्ष नगेन्द्र मणि खड्का र श्रीकृष्ण प्रणामी निजानन्द आश्रम सितलाबजारका अध्यक्ष उद्धव सापकोटाले गरेका थिए। उनीहरूको प्रेरणादायी सोच, अडान र सेवाभावनाले गर्दा आज यहाँका बासिन्दाहरूले एउटा स्थायी योग केन्द्रको सपना साकार भएको देख्न पाए।

कार्यक्रमको प्रमुख अतिथि गाउँपालिकाकी उप–प्रमुख लक्ष्मी कुमारी अधिकारीले समस्त जनसमुदायलाई सम्बोधन गर्दै, योग जीवनको अभिन्न हिस्सा हुनुपर्नेमा जोड दिनुभयो। उहाँले शरीर, मन र आत्मा सन्तुलनमा रहेर मात्र व्यक्तिको जीवन सार्थक बन्ने भन्दै, पालिकाबाट यथासम्भव सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता जनाउनुभयो। अझ गहिरो रुपमा भन्नुपर्दा, उहाँले उपस्थित सबै सहभागीहरूलाई कम्तीमा पाँच–पाँच जना नयाँ व्यक्ति केन्द्रमा ल्याई सहभागी गराउने प्रेरणा दिनुभयो, जसले अभियानलाई एउटा सामूहिक चेतनाको लहरमा परिणत गर्ने विश्वास निर्माण गर्‍यो।

बिशेष अतिथि  वडा नम्बर ८ का वडा अध्यक्ष तेजनाथ पौडेलले भावुक शैलीमा भन्नुभयो—“हामीले स्वास्थ्य गुमायौं भने जीवनका हरेक पक्षहरू क्रमशः कमजोर बन्छन्। हामी स्वस्थ भयौं भने मात्र हाम्रो समाज, पेशा, व्यवहार, सोच, र आत्मा स्वस्थ रहन्छ। त्यसैले, हामी सबैले यस केन्द्रलाई केवल भौतिक संरचनाका रूपमा होइन, जीवन परिवर्तन गर्ने यन्त्रका रूपमा हेर्नुपर्छ।” वडाध्यक्ष पौडेलले यसअघि आफ्नै वडाको पचासा क्षेत्रमा खोलिएको ४० औँ योग केन्द्रले दिएका सकारात्मक असरहरू स्मरण गर्दै, सितलाबजारमा खुलेको ४१ औँ केन्द्रलाई अझ सशक्त बनाउने प्रतिवद्धता जनाउनुभयो। उहाँले त्रिपाल सहयोग गर्ने घोषणा गर्नुभयो त्यो घोषणामात्र  थिएन, त्यो भावनात्मक समर्थन पनि थियो—”सुतेर बिताउने बिहानको समय अब योगमा लगाऔं” भन्ने गहिरो चिन्तनको प्रतिबिम्ब।

तर साँचो अर्थमा आजको कार्यक्रमको ‘मुटु’ जो हुनुहुन्थ्यो, उहाँ हुनुहुन्थ्यो —योग गुरु तथा आयुर्वेदाचार्य गिरिराज भट्टराई। जब उहाँ मञ्चमा उठ्नुभयो, वातावरण नै परिवर्तित भयो। मौनता छायो, मन केन्द्रित भयो, र हृदयमा एउटा अनुभूति पैदा भयो—‘अब केही विशेष सुनिन्छ।’ उहाँको बोलीमा केवल शब्द थिएनन्, त्यहाँ एउटा जीवन दर्शन, चेतना र गहिरो अनुभूतिको बहाव थियो।

उहाँले भन्नुभयो—“रोग लागेर उपचार गर्नु भन्दा रोग नै नलाग्ने बानी बसाल्नुहोस्। त्यो बानी हो योग। हामीले यदि आफ्नै शरीरलाई एक घण्टा दिन सक्दैनौं भने अरूका लागि केहि गर्न सक्छु भन्ने अहंकार पाल्नु व्यर्थ हुन्छ। जसले आफैका लागि समय निकाल्न सक्दैन, उसले अरूका लागि समय दिने दाबी गर्नु बेकार हो। नेता होस्, कर्मचारी होस्, समाजसेवी होस्—सबैभन्दा पहिले आफ्नो शरीरप्रति जिम्मेवार हुनुपर्छ।”

भिडियो हेर्नुहोस :

उहाँको भनाइ यतिमा मात्र सीमित रहेन। उहाँले हामी सबैलाई भित्रैदेखि हल्लाउने गरी भन्नुभयो—“काम गरेर मात्र शरीर स्वस्थ हुँदैन, बरु थकानले शरीर झन् अशक्त बन्न सक्छ। शरीरको कुन अङ्गको लागि कस्तो व्यायाम आवश्यक छ भन्ने चेतनाले मात्र स्वास्थ्य कायम रहन्छ। हामीले यो बुझ्नुपर्छ—काम गर्नेहरूका लागि योग झन् अनिवार्य हुन्छ। योग भनेको शारीरिक तन्दुरुस्ती मात्र होइन, यो त मानसिक एकाग्रता, आत्मिक अनुशासन र जीवनको सन्तुलन हो।”

गिरिराज भट्टराईको बोलीले उपस्थितहरूलाई न केवल आजको दिनको महत्त्व बोध गरायो, तर जीवन परिवर्तन गर्ने आत्म–दर्शनको ढोका समेत खोलिदियो। उपस्थित सम्पूर्ण जनसमुदायले उहाँको मन्तव्यलाई हृदयले आत्मसात गरे, तालिको गड्गडाहटले उहाँको आत्मसमर्पित भावनाको कदर गरियो।

कार्यक्रमको अन्त्यतिर, जानकारी दिइयो कि आगामी दिनहरूमा केन्द्रमा नियमित योग कक्षा सञ्चालन गरिनेछ, जसको संयोजकत्व कला रेग्मीले गर्नुहुनेछ। प्रशिक्षक पूर्णरूपमा केन्द्रमा तयार नहुदाको समय सम्म प्रशिक्षकको भूमिका मा संयोजक कला रेग्मीले साथ् दिनुहुने कार्यक्रममा जानकारी गराइएको छ ।

यसरी, गणतन्त्र दिवसको पावन दिनमा योग, चेतना र आत्मिक उन्नतिको यो नयाँ केन्द्रले बर्दियाको सितलाबजारमा न केवल एक भौतिक संरचना थपेको छ, बरु समाजमा स्वास्थ्य, अनुशासन र सकारात्मक परिवर्तनतर्फको यात्रा सुरु गरेको छ।
यस केन्द्रको प्रत्येक बिहान—अब केवल शारीरिक अभ्यासको समय हुनेछैन, त्यो त एउटा नयाँ जीवनशैली अंगाल्ने, चेतनाको झ्याल खोल्ने, आत्मालाई पुनःजागृत गर्ने पवित्र अवसर बन्नेछ।

बिज्ञापन-AI-ADCustom Text

बिज्ञापन

Custom Text

भर्खरै राखिएको