
२९ जेष्ठ २०८२, रिपोर्टिंग नेपाल , गुलरिया
धेरैले भन्छन्—राजनीति बदनाम छ।
तर गुलरिया–२ मा राजनीति आशाको किरण बनेर उदाएको छ।
यहाँका वडा अध्यक्ष टंक प्रसाद अधिकारी नेता हैनन्—नेतृत्वको परिभाषा हुन्।
उहाँ भन्छन् – “कुर्सी भनेको आसन हैन, अभिभावकत्व हो। वडाबासी रोए भने, म निदाउन सक्दिनँ।”
कहिलेकाहीँ नेतृत्व केवल कुर्सी होइन, जीवन र आशाको स्रोत पनि बन्न सक्छ। गुलरिया नगरपालिकाको वडा नं. २ मा सामाजिक विकासको उज्यालो किरण फैलिँदै गएको छ। यो उज्यालो पछाडि जसको दृढ प्रतिबद्धता, स्पष्ट दृष्टिकोण र सेवा भाव रहेको छ, उनी हुन – वडा अध्यक्ष टंक प्रसाद अधिकारी। विकास भनेको केवल सडक र भवन मात्र होइन, मानव जीवनको आधारभूत पक्ष – स्वास्थ्य, शिक्षा, र सम्मानजनक जीवन हो भन्ने विश्वासका साथ उनले बजेटको सही सदुपयोगमार्फत अति बिपन्न वर्गलाई केन्द्रमा राखेर ऐतिहासिक काम गरेका छन्।
आज जुन गाउँमा हिजो उपचार खर्च नहुँदा मान्छे पिडामा थिय , आज त्यहाँ औषधिको व्यवस्था भएको छ। जहाँ अभावले पढ्न नसक्ने विद्यार्थी थिए, त्यहाँ आज ल्यापटप वितरण भएको छ। जहाँ कसैको मृत्युले परिवारलाई दुईचोटि पीडा दिन्थ्यो- एक आफन्त गुमाउनुको र अर्को आर्थिक संकटको – आज त्यही आर्थिक संकटको पीडालाई वडा कार्यालयले काँध थापेको छ।
विकास भौतिक मात्रै हो भन्ने सोचलाई चुनौती
बहुसंख्यक स्थानीय तहमा अहिले पनि विकासको नाममा ढल, सडक, पर्खाल, टोल सुधार लाई प्राथमिकता दिइएको पाइन्छ। तर, गुलरिया–२ का अध्यक्ष टंक प्रसाद अधिकारीको सोच मान्छे–केन्द्रित छ। उहाँ भन्छन्: “विकासको अर्थ मान्छेले महसुस गर्न सक्नुपर्छ। विद्यालय जान नपाउने बच्चाको घर अगाडि बाटो बनाउनु मात्र विकास होइन। जब ऊ विद्यालय पुग्छ, किताब पढ्छ, स्वस्थ हुन्छ – त्यो हो साँचो विकास।”
चार यस्ता कार्यक्रम, जसले बाँच्न संघर्ष गरिरहेकालाई जिउनको आधार दियो
- स्वास्थ्य बीमा: रोग होइन, राहत पाउने अधिकार
राहत वितरण होइन, अधिकारको सुनिश्चितता हो यो कार्यक्रम। अध्यक्ष अधिकारीले सुरु गर्नुभएको अति बिपन्न परिवारहरूका लागि स्वास्थ्य बीमा योजनाले वडा नं. २ मा अति बिपन्न परिवारहरूलाई राहत महसुस भएको छ। यो योजनाबाट धेरै परिवारहरू अस्पताल खर्चको बोझबाट मुक्त भएका छन्।
- औषधि खर्च: साना रोगको भारी बिसाउने चौतारी वडा कार्यालय
पाँच रुपैयाँको औषधि नहुँदा थलिएको वृद्ध, टाउको दुख्दा पानीपात्रो सुम्सुम्याउने बालक… अहिले ती सबैलाई तपाईंका लागि वडा कार्यालय छ भन्न सकिने अवस्था छ। उपचार खर्च तिर्न नसक्ने अवस्थाका नागरिकका लागि वडा कार्यालयले नगद औषधि सहयोगको व्यवस्था गरेको छ। वडामा अब सामान्य चेकजाँचपछि औषधि नकिनी बस्नुपर्ने अवस्था हटेको छ। औषधि खर्चका लागि वडा कार्यालयले नगद राहत दिन थालेको छ। एक जना वृद्धाले आँशु झार्दै भनिन्: “अघिल्लोचोटि दुखाइ हुँदा तेल मालिस गरेर सुतें। योपल्ट वडा कार्यालयले सहयोग गरेकै कारण डाक्टरसम्म पुगें।”
- मृत्यु काज सहयोग : अन्तिम सस्कारमा पनि वडा सरकार आफन्त महसुस
अति बिपन्न गरिब परिवारमा कुनै सदस्यको मृत्यु भयो भने क्रिया खर्चको जोहो गर्नु चुनौती थियो। वडा अध्यक्षले यो कुरालाई ध्यानमा राख्दै मृत्यु काज खर्च सहयोग कार्यक्रम ल्याउनुभयो। एक स्थानीय भन्छिन्: हामी जस्तो गरीब परिवारमा कसैको मृत्यु भएपछि क्रिया खर्चको जोहो गर्न गाह्रो पर्थ्यो। तर वडा कार्यालयबाट क्रिया खर्च सहयोग उपलब्ध हुदा ठूलो राहत पुगेको छ।
गरीबीले अन्तिम सस्कारमा आर्थिक बोझले च्यापिने घर परिवारलाई वडा कार्यालयले मृत्यु–काज खर्च सहयोग गरेर ‘सरकार भनेको बाँचुन्जेल मात्र होइन, मरेपछि पनि साथ दिने’ सन्देश दिएको छ।
- ल्यापटप सहयोग: डिजिटल भविष्य निर्माणको साहसी कदम
अति बिपन्न घरका दुई विद्यार्थीलाई वडा कार्यालयले ३०% लागत सहभागितामा ल्यापटप सहयोग गर्दै आइरहेकोछ । ती विद्यार्थीहरू अहिले अनलाइन क्लास, प्रोजेक्ट तथा अनुसन्धानमा सहभागी हुन सक्षम भएका छन्। एक बिद्यार्थी भन्छन : यो केवल सामग्री वितरण हैन, सपना हेर्ने स्क्रिन हो ।

टंक अधिकारीको नेतृत्वमा सामाजिक विकासले पायो नयाँ परिभाषा
धेरै नेता भन्छन्, “हामी गरिबसँग छौं।”
तर, अध्यक्ष टंक प्रसाद अधिकारीले भनेर होइन, गरेर देखाउनुभएको छ।
अध्यक्ष अधिकारीको सामाजिक सोचलाई वडा सदस्यहरूको सक्रिय समर्थन प्राप्त भएको छ। “हामी सबै सामाजिक विकासलाई प्राथमिकतामा राखेर सहमत भएका थियौँ,” भन्छन् वडा सदस्य केशब बुढा ।
वडा सचिव कर्ण बस्नेत बताउनुहुन्छ: “बजेट आउँछ, योजना बन्छ, तर कार्यान्वयनमा धक्का लाग्छ भन्ने गुनासो आम हो। तर हाम्रो वडामा योजनाको डिजाइनदेखि कार्यान्वयन सम्म अध्यक्ष स्वयं संलग्न हुनुहुन्छ। त्यसैले परिणाम देखिन्छ।”
वडा सचिव बस्नेतले पनि कार्यान्वयन पक्षमा सहयोगपूर्ण नेतृत्व दिनुभएकोछ । “योजना कागजमा मात्र सीमित भएन, हामीले परिणाम देख्यौँ,” उहाँको भनाइ छ।
अध्यक्ष अधिकारीको यो सोचमा वडा सदस्यहरू पनि उत्तिकै संलग्न छन्। वडा सदस्य निर्मला नेपाली भन्छिन : “हामी सबै एकजुट भएर ‘गरिबप्रेमी बजेट’ बनाउन सहयोग गरिरहेका छौ । उहाँले सबैलाई समेट्नुहुन्छ । हामीले समर्थन गर्न पाएकोमा गर्व लाग्छ।”
स्थानीयको भावना: अध्यक्ष होइन, अभिभावक हो उहाँ
वडाका अधिकांश लाभान्वितहरू अध्यक्ष अधिकारीलाई आफ्नो घरको अबिभाबक मान्छन्।
एक युवाले भने: “अध्यक्ष टंक अधिकारीको काम देखेपछि मेरो सोच परिवर्तन भएको छ – राजनीति राम्रो पनि हुन सक्छ।” उहाँको विचार, कर्म, र सामाजिक प्रतिबद्धता नेतृत्व कसरी हुनुपर्छ भन्ने पाठ बनिरहेको छ । उहाँ केवल एक वडा अध्यक्ष होइन, यो समयका लागि एक प्रेरक पात्र हुनुहुन्छ।
एक वृद्धाले भने —
“चुनाव सकियो, नेताहरू हराए तर उहाँ फेरि दोस्रो पटक वडा अध्यक्ष बनेर आउनुभयो– अझै नजिक, अझै जनताको सपना बोकेर, जनताको समस्याको समाधान बनेर ।”
अध्यक्षको दृष्टिकोण: भौतिकभन्दा अघि सामाजिक
पुनः निर्वाचित अध्यक्ष टंक प्रसाद अधिकारी भन्छन्, “सडक र भवन आवश्यक छन् तर त्यो भन्दा पहिला मान्छेले उपचार, शिक्षा, सम्मान र सुरक्षाको अनुभूति पाउनुपर्छ। त्यही भएर म भौतिक पूर्वाधारको साथ् साथै सामाजिक विकासलाई प्राथमिकता दिन्छु।”
विकासको परिभाषा जब जनताको मुहारमा देखिन्छ, तब त्यो नेतृत्वको सफलता मानिन्छ। वडा नं. २ का टंक प्रसाद अधिकारीले जनताको विश्वास जित्नु मात्र होइन, सामाजिक न्याय र समावेशी विकासको आदर्श स्थापित गर्नुभएको छ। यस प्रकारको सोच र काम मुलुकभर नै उदाहरण बन्नसक्ने खालको छ ।
प्रभावकारी नेतृत्व, उदाहरणीय सेवा: टंक अधिकारी जस्ता प्रतिनिधिको खोजी गर्दैछ देश
यस्ता उदाहरणहरू विरलै भेटिन्छन् , जहाँ जनप्रतिनिधिले भाषण होइन, काम गर्छन् , जहाँ योजना चुनाबी प्रतिबद्धताको कागज होइन, जनताको समस्याको समाधानको दस्ताबेज बन्छ , जहाँ जनताको आँशु मात्र देखिँदैन पुछिन्छ पनि।
अध्यक्ष अधिकारीले देखाउनुभएको सामाजिक न्याय, आत्मीय सेवा, र गरिबमुखी बजेट योजनाको यात्रा, आज गुलरिया–२ का लागि मात्र होइन, पुरै स्थानीय तहको लागि पाठ हो, प्रेरणा हो, उदाहरण हो।
















