
१५ जेष्ठ २०८२ – रिपोर्टिंग नेपाल
गणतन्त्र दिवसको ऐतिहासिक अवसर पारेर बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–८ स्थित सितलाबजारमा आजको दिन एक विशेष अध्याय कोरिएको छ। त्यो अध्याय हो—योग, आयुर्वेद र आत्म–चेतनाको समागमसँग जोडिएको ४१ औँ योग केन्द्रको स्थापना। हाम्रो स्वास्थ्य, हाम्रो जिम्मेवारी — हरेक दिन, हरेक घर घरमै योग’ भन्ने सार्थक नारासहित आयोजित कार्यक्रमले गाउँको मुटुमा एउटा आध्यात्मिक, सामाजिक र शारीरिक जागरणको गहिरो सन्देश दिएको छ। यस ऐतिहासिक पहलको नेतृत्व श्रीकृष्ण प्रणामी सेवा आश्रमका केन्द्रीय उपाध्यक्ष नगेन्द्र मणि खड्का र श्रीकृष्ण प्रणामी निजानन्द आश्रम सितलाबजारका अध्यक्ष उद्धव सापकोटाले गरेका थिए। उनीहरूको प्रेरणादायी सोच, अडान र सेवाभावनाले गर्दा आज यहाँका बासिन्दाहरूले एउटा स्थायी योग केन्द्रको सपना साकार भएको देख्न पाए।

कार्यक्रमको प्रमुख अतिथि गाउँपालिकाकी उप–प्रमुख लक्ष्मी कुमारी अधिकारीले समस्त जनसमुदायलाई सम्बोधन गर्दै, योग जीवनको अभिन्न हिस्सा हुनुपर्नेमा जोड दिनुभयो। उहाँले शरीर, मन र आत्मा सन्तुलनमा रहेर मात्र व्यक्तिको जीवन सार्थक बन्ने भन्दै, पालिकाबाट यथासम्भव सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता जनाउनुभयो। अझ गहिरो रुपमा भन्नुपर्दा, उहाँले उपस्थित सबै सहभागीहरूलाई कम्तीमा पाँच–पाँच जना नयाँ व्यक्ति केन्द्रमा ल्याई सहभागी गराउने प्रेरणा दिनुभयो, जसले अभियानलाई एउटा सामूहिक चेतनाको लहरमा परिणत गर्ने विश्वास निर्माण गर्यो।
बिशेष अतिथि वडा नम्बर ८ का वडा अध्यक्ष तेजनाथ पौडेलले भावुक शैलीमा भन्नुभयो—“हामीले स्वास्थ्य गुमायौं भने जीवनका हरेक पक्षहरू क्रमशः कमजोर बन्छन्। हामी स्वस्थ भयौं भने मात्र हाम्रो समाज, पेशा, व्यवहार, सोच, र आत्मा स्वस्थ रहन्छ। त्यसैले, हामी सबैले यस केन्द्रलाई केवल भौतिक संरचनाका रूपमा होइन, जीवन परिवर्तन गर्ने यन्त्रका रूपमा हेर्नुपर्छ।” वडाध्यक्ष पौडेलले यसअघि आफ्नै वडाको पचासा क्षेत्रमा खोलिएको ४० औँ योग केन्द्रले दिएका सकारात्मक असरहरू स्मरण गर्दै, सितलाबजारमा खुलेको ४१ औँ केन्द्रलाई अझ सशक्त बनाउने प्रतिवद्धता जनाउनुभयो। उहाँले त्रिपाल सहयोग गर्ने घोषणा गर्नुभयो त्यो घोषणामात्र थिएन, त्यो भावनात्मक समर्थन पनि थियो—”सुतेर बिताउने बिहानको समय अब योगमा लगाऔं” भन्ने गहिरो चिन्तनको प्रतिबिम्ब।

तर साँचो अर्थमा आजको कार्यक्रमको ‘मुटु’ जो हुनुहुन्थ्यो, उहाँ हुनुहुन्थ्यो —योग गुरु तथा आयुर्वेदाचार्य गिरिराज भट्टराई। जब उहाँ मञ्चमा उठ्नुभयो, वातावरण नै परिवर्तित भयो। मौनता छायो, मन केन्द्रित भयो, र हृदयमा एउटा अनुभूति पैदा भयो—‘अब केही विशेष सुनिन्छ।’ उहाँको बोलीमा केवल शब्द थिएनन्, त्यहाँ एउटा जीवन दर्शन, चेतना र गहिरो अनुभूतिको बहाव थियो।
उहाँले भन्नुभयो—“रोग लागेर उपचार गर्नु भन्दा रोग नै नलाग्ने बानी बसाल्नुहोस्। त्यो बानी हो योग। हामीले यदि आफ्नै शरीरलाई एक घण्टा दिन सक्दैनौं भने अरूका लागि केहि गर्न सक्छु भन्ने अहंकार पाल्नु व्यर्थ हुन्छ। जसले आफैका लागि समय निकाल्न सक्दैन, उसले अरूका लागि समय दिने दाबी गर्नु बेकार हो। नेता होस्, कर्मचारी होस्, समाजसेवी होस्—सबैभन्दा पहिले आफ्नो शरीरप्रति जिम्मेवार हुनुपर्छ।”
उहाँको भनाइ यतिमा मात्र सीमित रहेन। उहाँले हामी सबैलाई भित्रैदेखि हल्लाउने गरी भन्नुभयो—“काम गरेर मात्र शरीर स्वस्थ हुँदैन, बरु थकानले शरीर झन् अशक्त बन्न सक्छ। शरीरको कुन अङ्गको लागि कस्तो व्यायाम आवश्यक छ भन्ने चेतनाले मात्र स्वास्थ्य कायम रहन्छ। हामीले यो बुझ्नुपर्छ—काम गर्नेहरूका लागि योग झन् अनिवार्य हुन्छ। योग भनेको शारीरिक तन्दुरुस्ती मात्र होइन, यो त मानसिक एकाग्रता, आत्मिक अनुशासन र जीवनको सन्तुलन हो।”

गिरिराज भट्टराईको बोलीले उपस्थितहरूलाई न केवल आजको दिनको महत्त्व बोध गरायो, तर जीवन परिवर्तन गर्ने आत्म–दर्शनको ढोका समेत खोलिदियो। उपस्थित सम्पूर्ण जनसमुदायले उहाँको मन्तव्यलाई हृदयले आत्मसात गरे, तालिको गड्गडाहटले उहाँको आत्मसमर्पित भावनाको कदर गरियो।
कार्यक्रमको अन्त्यतिर, जानकारी दिइयो कि आगामी दिनहरूमा केन्द्रमा नियमित योग कक्षा सञ्चालन गरिनेछ, जसको संयोजकत्व कला रेग्मीले गर्नुहुनेछ। प्रशिक्षक पूर्णरूपमा केन्द्रमा तयार नहुदाको समय सम्म प्रशिक्षकको भूमिका मा संयोजक कला रेग्मीले साथ् दिनुहुने कार्यक्रममा जानकारी गराइएको छ ।

यसरी, गणतन्त्र दिवसको पावन दिनमा योग, चेतना र आत्मिक उन्नतिको यो नयाँ केन्द्रले बर्दियाको सितलाबजारमा न केवल एक भौतिक संरचना थपेको छ, बरु समाजमा स्वास्थ्य, अनुशासन र सकारात्मक परिवर्तनतर्फको यात्रा सुरु गरेको छ।
यस केन्द्रको प्रत्येक बिहान—अब केवल शारीरिक अभ्यासको समय हुनेछैन, त्यो त एउटा नयाँ जीवनशैली अंगाल्ने, चेतनाको झ्याल खोल्ने, आत्मालाई पुनःजागृत गर्ने पवित्र अवसर बन्नेछ।
















