
०२ असार २०८२, रिपोर्टिंग नेपाल ,मकवानपुर – मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–१ मा अवैध लागुऔषध तथा हातहतियार लुकाएर राखिएको सूचना पाएपछि प्रहरीले संयुक्त अपरेशन सञ्चालन गरी एक व्यक्तिलाई पक्राउ गरेको छ। जेठ ३१ गते करिब ७ बजे साँझ बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त टोलीले घर खानतलासी गर्दा लागुऔषध, हतियार र गोलीसहित एकजनालाई नियन्त्रणमा लिएको हो।
प्राप्त विवरण अनुसार राजु स्याङतानको घर अगाडि निजलाई फेला पारेर खानतलासी गर्दा सुत्ने कोठाभित्र सिरानी मुनी कपडामा बेरेर राखिएको अवस्थामा ७.६५ एमएमको Universal made in Italy लेखिएको म्यागजिनसहितको पेस्तोल १ थान, खाली म्यागजिन १ थान, र १३ राउण्ड गोली फेला पारिएको थियो।
गोठको दोस्रो तलाको मकैको खोस्टा र पत्करभित्र कपडामा बेरेर राखिएको झोलाभित्रबाट अर्को कटुवा पेस्तोल १ थान, ८ एमएम लेखिएको १२ राउण्ड गोली, अफिमजस्तो देखिने १ किलो ३१० ग्राम गिलो पदार्थ, र २२ किलो ८०० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

अनुसन्धानको क्रममा राजु स्याङतानको घरबाट करिब ५०० मिटर टाढा रहेको चन्द्रलाल मोक्तानको बारीमा, आँपको रुखको फेदमा प्लास्टिकमा बेरेर लुकाइएको सेतो झोलाबाट थप कटुवा पेस्तोल १ थान, ५ राउण्ड गोली, र अफिमजस्तो देखिने १ किलो ४८० ग्राम पदार्थ पनि बरामद गरिएको छ।
प्रहरीले बरामद भएको सबै लागुऔषध र हतियार प्रमाणको रूपमा संकलन गरी राजु स्याङतानलाई लागुऔषध तथा हातहतियार खरखजना सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ७ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार, यो अवैध कारोबार स्थानीय स्तरमा मात्र नभई ठूलो गिरोहसँग सम्बन्धित हुन सक्ने सम्भावना पनि रहेको छ।
















