“इज्जतमै चोट पुग्यो!” — सतखोलुवा बोरिङ योजनामा मिडियाले खन्यायो झुटको तेजाब ! अध्यक्ष चन्कु थारु भन्छन

जेष्ठ  २०८२ , बर्दिया – रिपोर्टिंग सम्बाददाता

“म दोषी थिइन, म भ्रष्ट थिएन ! तर मिडियाको एक भ्रामक भिडियोले म एक सोझो थारुको वर्षौको इमान र जनसेवाको भावना माथि प्रश्नचिन्ह लगाइदियो! भिडियो हेरेर ताली पिटनेहरुले बास्तबिकता बुझेनन् र बुझ्न पनि चाहेनन् ” – बारबर्दिया नगरपालिका वडा नम्बर ९ , सतखोलुवा बोरिंग योजनाका उपभोक्ता समिति अध्यक्ष चन्कु  थारु भन्छन ।

सतखोलुवा तालमा पानी भर्ने वडाध्यक्षको सपना, आरोपको भुमरीमा फस्यो

चन्कु थारुका अनुसार  : पर्यटकीय स्थल सतखोलुवा ताल क्षेत्रमा नगरपालिकाको सहयोगमा बोरिंग निर्माण गरिएको थियो। योजना सकिएपछि परीक्षण गरी पानी आएको पुष्टि पनि गरिएको थियो। तर, बोरिंगमा बिद्युत अभाव र प्राविधिक कारणले केही समय प्रयोगमा आउन नसकेको अवस्था कसैले नबुझी, एउटा भिडियो मात्रको भरमा योजनालाई भ्रष्टाचारको लेप लगाइयो।

जसले पानी दिन खोज्यो , उसैलाई डुबाइयो आरोपमा !

सतखोलुवा बोरिङ योजना कुनै सामान्य योजना थिएन। पर्यटकीय स्थल सतखोलुवा तालमा बाह्रै महिना पानीले भरिभराउ गराउने वर्षौं देखिको योजनालाई सम्बोधन गर्ने यो योजना वडाको  पहल, नगरपालिकाको सहयोग, अनि स्थानीय मेहनतबाट बनेको थियो तर मिडियाका कारण जे भयो त्यसपछि, त्यो न त विकासको कथा हो, न त न्यायको। एक सामाजिक सञ्जालमा अपलोड गरिएको अनुसन्धान बिनाको छोटो समयमा तयार गरिएको  भ्रामक भिडियोले  यस्तो आगो सल्कायो, जसले सिंगो योजनाको छवि, अध्यक्षको चरित्र र समितिको भरोसा नै खरानी बनायो।

भिडियो बन्यो हतियार, पत्रकार बने न्यायाधीश ! : चन्कुको आक्रोस

केही यस्ता मिडिया समूहले, जुन समाचारभन्दा वाइरल चाहन्छन्, जो तथ्यभन्दा थम्बनेलमा विश्वास गर्छन्, उनीहरूले सतखोलुवा योजनामा पानी नआएको क्षणलाई कैद गरे, तर पानी कहिले आयो, किन रोकियो, कसरी समाधान खोजियो — केही भनेनन् । यदि पत्रकारितालेनै निर्दोषको इज्जत खेलवाड गर्‍यो भने — कसले गर्छ न्याय?

उपभोक्ता समितिका अध्यक्ष थारुको गहिरो पीडा – “म गलत थिइन, तर मेरो इज्जतमा दाग लगाइयो”

सत्य के हो त ? : चन्कुको जवाफ

  • १४० मिटर बोरिंग गरि सकिएपछि नगरपालिकाले प्राविधिक निरीक्षण गर्‍यो।
  • जेनेरेटरमार्फत मोटर चलाइ परीक्षण गर्दा पानी राम्रोसँग आएको थियो।
  • त्यसपछि मात्र योजना पास भई करिब २२ लाख भुक्तानी गरिएको थियो।
  • तर बिद्युत लाइन नहुँदा बिगत केहि महिना बोरिंग नचलेको हो – कुनै अनियमितता होइन!
  • बोरिंग चलाउन पर्ने भन्दै स्थानीयको गुनासोपछि वडा अध्यक्षको पहलमा ट्रान्सफरमर ल्याइयो, लाइन जोडेपछि बोरिंग विद्युतबाट चलाइयो।
  • दक्ष प्राबिधिक बिना मोटरमा बिद्युत लाइन जोड्दा पानी कम आयो, समितिले तुरुन्तै निर्माण कम्पनीलाई जानकारी दियो।
  • कम्पनीले लाइनको समस्या हुनसक्ने बताएर प्राविधिक पठाउने आश्वासन दिएको थियो।

यिनै प्राविधिक समस्याका बीचमा पानी कम आयको बेला खिचिएको भिडियोको आधारमा भ्रामक रिपोर्ट सार्वजनिक गरियो, जसले योजना मात्र होइन अध्यक्ष र सम्पूर्ण उपभोक्ता समितिलाई नै बदनाम गरिदियो।

 

चन्कु थारु भन्छन पत्रकारले मेरो भिडियो त खिचे  तर ,  आफ्नो व्यक्तिगत धारणालाइ प्राथमिकतामा समेटे

सञ्चारकर्मीको प्रश्नमा उपभोक्ता समितिका अध्यक्षले स्पष्ट रुपमा भनेका थिए:यसमा कुनै अनियमितता छैन, पानी नआउनुको कारण लाइनको भोल्टेज समस्या हो तर दु:खद कुरा – यो भनाइको बेवास्था गर्दै मैले बुझाउन खोजेको कुरा भन्दा पनि पत्रकारले आफ्नो धारणा , आशंका र आरोपलाई प्राथमिकता दिए । यस्तो  दोषारोपण गरिनु कुनै हालतमा उचित होइन।

चिन्कु थारु प्रश्न गर्छन तपाइँ पत्रकार कि पक्षपाति ?

पत्रकारले खबर बनाउँदा दुवै पक्षको भनाइ लिनु अनिवार्य हुन्छ। तर जब सोधिएको भनाइलाई नजरअन्दाज गरेर आफ्नै धारणा मात्र देखाइन्छ, त्यो पत्रकारिता होइन – आरोपको मुखुण्डो लगाएको व्यक्तिगत रिस वा पूर्वाग्रह मात्र हो।

समाचार मात्र होइन, ‘चरित्र हत्याको हतियार बन्यो यो भिडियो! : पिडा पोख्छन चन्कु  

सामान्य लागे पनि यो भिडियोको असर एउटा इमानदार व्यक्तिको जीवनभरि पुर्‍याउने क्षति हो। एकपल्ट आम मानिसले “भ्रष्ट हो!” भनेर बुझिसकेपछि त्यसलाई फिर्ता गराउन शब्दको कुनै शक्ति हुँदैन। गलत थिएन, तर मेरो परिवार, समाज, चिन्ने–जान्ने सबैले माथि शंका गर्न थाले। अब ती मिडियाले त्यो दाग पखाल्न सक्छन् ?”

 चन्कु थारुको भनाइ :  सत्य नबुझी समाचार बनाउनु – पत्रकारिता होइन, अपराध हो!

सार्वजनिक बजेट र जनताको हितमा गरिएको योजना र त्यससँग सम्बन्धित कार्यहरूबारे समाचार बनाउँदा गहिरो अनुसन्धान, तथ्य संकलन र दुबै पक्षको धारणा आवश्यक हुन्छ। यस घटनामा नगरपालिका, उपभोक्ता समिति, निर्माण कम्पनी र स्थानीयको भूमिका महत्वपूर्ण रहेको देखिन्छ।

सतखोलुवा तालमा गरिएको बोरिङबारे उठाइएका प्रश्नहरूबारे उपभोक्ता समितिको स्पष्ट भनाइ छ – “भुक्तानी परीक्षणपछि मात्रै गरिएको हो, यसरी समाचार लेख्दा सन्तुलन र निष्पक्षता कायम राख्नु पत्रकारिताको मुख्य जिम्मेवारी हो। बोरिङको पानी आउनु वा नआउनु प्राविधिक परीक्षणको विषय हो –  हामीले ठेकेदारलाई रकम भुक्तानी गरेको हो काममा म आफै खटिए, यसमा मा दोसी कसरि ? चन्कु थारु भन्छन ।

सतखोलुवा बोरिंग योजना द्वारा सिचाई  सुविधा दिन खोज्दा, भ्रान्तिको लहर चलाइयो। अब चाहिएको छ – सत्यको लहर, जहाँ तथ्य बोल्छ, र इमानदारको इज्जत फर्काइन्छ। 

बिज्ञापन-YM-ADCustom Text

सन्तानको चाहनामा प्रविधिको सहारा : IVF उपचारमा बढ्दो निर्भरता

काठमाडौं, वैशाख २९, २०८२  – रिपोर्टिंग सम्बाददाता 
नेपालमा पछिल्ला केही वर्षयता IVF अर्थात् In Vitro Fertilization प्रविधिको प्रयोग उल्लेखनीय रूपमा बढ्दो छ। विगतमा सन्तान प्राप्तिको लागि विदेश जानुपर्ने अवस्था भए पनि अहिले काठमाडौं, पोखरा, बुटवल, विराटनगर लगायतका सहरहरूमा आधुनिक IVF क्लिनिकहरू विस्तार भएका छन्। यस प्रविधिबाट सयौँ निःसन्तान दम्पतीले सन्तान प्राप्ति सम्भव बनाएका छन्।

यस प्रविधिको प्रयोग विशेषगरी तब गरिन्छ जब दम्पतीले दीर्घकालीन प्रयासपछि पनि सन्तान प्राप्त गर्न सकिरहेका हुँदैनन्। महिलाको Fallopian tube बन्द भएको, वीर्यमा गम्भीर समस्या रहेको, Endometriosis जस्ता रोगहरू भएको वा अघिल्ला गर्भधारणहरू बारम्बार असफल भएका अवस्थाहरूमा IVF उपयुक्त मानिन्छ।

उपचारको क्रममा सुरुमा महिलालाई अण्डा उत्पादन बढाउने विशेष हर्मोन औषधि दिइन्छ। त्यसपछि Ultrasound को सहायताले अण्डाशयबाट अण्डा निकालिन्छ। अर्कोतर्फ, पुरुषबाट वीर्य सङ्कलन गरिन्छ र स्वस्थ शुक्राणुहरू छुट्याइन्छन्। यी अण्डा र शुक्राणुलाई प्रयोगशालामा निषेचित गरी भ्रूण विकास गराइन्छ। विकसित भ्रूणलाई केही दिन शरीरबाहिर राखेर मूल्याङ्कन गरिन्छ, र सबैभन्दा स्वस्थ भ्रूण महिलाको गर्भाशयमा स्थानान्तरण गरिन्छ। यसरी सफल भएमा गर्भ रहन्छ।

काठमाडौंस्थित Healthline Fertility Center, Nepal Fertility Centre, Vatsalya IVF, Norvic IVF लगायतका क्लिनिकहरूले पछिल्लो समय उल्लेखनीय सफलता हासिल गरिरहेका छन्। क्लिनिकहरूमा दैनिक १० देखि १५ जना निःसन्तान दम्पती परामर्शका लागि आउने गरेका छन्। एक प्रजनन विशेषज्ञका अनुसार, “पछिल्लो पाँच वर्षमा IVF उपचारको माग दोब्बर भएको छ। यस उपचारका निम्ति पहिले विदेश जानुपर्ने अवस्था थियो, तर हाल  नेपालकै विभिन्न शहरहरुमा  यो सेवा सहज रूपमा उपलब्ध छन्।”

नेपालमा सन्तान नहुने समस्याको समाधानका रूपमा IVF (In Vitro Fertilization) प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेको छ। राजधानी काठमाडौंदेखि विराटनगरसम्म फैलिएका प्रजनन उपचार केन्द्रहरूमा दैनिक सयौँ दम्पती IVF को परामर्शमा पुगिरहेका छन्। तर, यो प्रविधिको बढ्दो निर्भरता के दीर्घकालीन समाधान हो, वा नयाँ समस्या निम्त्याउने खतरा पनि बोकेको छ?

विशेषज्ञहरू भन्छन्, पछिल्लो समय बढ्दो तनाव, दम्पतीको ढिलो विवाह, प्रदूषण, जीवनशैलीका कारण निःसन्तानता वृद्धि भएको छ। यसैकारण IVF प्रविधिमा आकर्षण बढेको हो। तर, उपचारको लागत महँगो हुनु, प्रक्रिया तनावपूर्ण र कहिलेकाहीँ पुनः प्रयास गर्नुपर्ने अवस्था आउनुले यसमा निर्भरता बढ्नु स्वयंमा चिन्ताको विषय बन्न थालेको छ।

केही दम्पतीहरू बारम्बार IVF प्रयास गर्दा पनि सफल नहुने र मानसिक तथा आर्थिक दुवै दृष्टिले थकित हुने गरेका छन्। अर्कोतर्फ, कतिपय निजी केन्द्रहरूले अत्यधिक प्रचार गरेर मानिसहरूलाई उपचारका लागि आकर्षित गरिरहेको आरोप पनि लाग्न थालेको छ। नियमनको स्पष्ट मापदण्ड नहुँदा उपचारको गुणस्तर, पारदर्शिता र शुल्क निर्धारणमा समेत प्रश्न उठ्न थालेका छन्।

नेपालमा हालसम्म IVF प्रविधिलाई नियमित गर्ने कुनै स्पष्ट कानुनी ढाँचा छैन। यसले गर्दा भविष्यमा यो क्षेत्रमा नैतिक र कानुनी विवाद बढ्ने सम्भावना पनि विशेषज्ञहरूले औंल्याएका छन्।

यसबीचमा चिकित्सा वैज्ञानिकहरूले IVF लाई समाधानको रूपमा लिनुपर्ने भए पनि यसको प्रयोग सतर्क ढंगले र आवश्यक परामर्शपछि मात्र गर्नुपर्ने सुझाव दिएका छन्। नत्र यसप्रति बढ्दो निर्भरता समाजमा नयाँ समस्याहरू उत्पन्न गर्न सक्ने सम्भावना रहन्छ।

बिज्ञापन-YM-ADCustom Text

कोहलपुरमा हावाहुरीले विद्युत संरचनामा क्षति, ट्रान्सफर्मरसहित पोलहरु ढले

कोहलपुर, २८ वैशाख, २०८२ आज करिब ५ बजे आएको तेज हावाहुरीका कारण बाँके जिल्लाको कोहलपुर नगरपालिका–स्थित आनन्दनगर क्षेत्रमा विद्युत संरचनामा  क्षति पुगेको छ। सीटीभीटी कर्नरको पूर्व साइडमा रुख ढल्दा त्यसको चपेटामा परेर वटा ट्रान्सफर्मरसहित वटा विद्युत पोल ढलेका छन्।

यस घटनाले पुरै क्षेत्रको विद्युत आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको छ। स्थानीयवासीहरू आज अन्धकारमा बस्न बाध्य भएका छन् भने घरायसी कामकाज, विद्यार्थीहरूको पठनपाठन जस्ता दैनिक सेवा प्रभावित भएका छन्।

घटनाको जानकारी पाएलगत्तै कोहलपुर नगरपालिका–का वडा अध्यक्ष  हरि कठायतले घटनास्थल पुगेर स्थलगत वस्तुस्थिति बुझी  नेपाल विद्युत प्राधिकरणलगायत सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराई यथाशीघ्र मर्मत कार्य अगाडि बढाउन आग्रह  गरेकाछन

स्थानीय बासिन्दाका अनुसार हावाहुरी निकै तेज थियो जसका कारण  रुख ढल्न पुग्यो  रुखले विद्युत पोल ट्रान्सफर्मरमा ठुलो क्षति पुर्‍याए। यसबाट सो क्षेत्रका कैयौ घरधुरी प्रभावित भएका छन् ।

 मर्मत कार्य भोलि २९ गते  देखि सुरु हुने  जानकारी प्राप्त भएको  छ  पहिलो चरणमा पोल ट्रान्सफर्मर प्रतिस्थापन गरिनेछ भने दोस्रो चरणमा लाइन विस्तार गरी विद्युत आपूर्ति पुनः सञ्चालन गरिने बताइएको छ।

बिज्ञापन-YM-ADCustom Text

कोहलपुर–२ मा क्रमिक विकासका प्रयास: वडाध्यक्षको जनमुखी प्रतिबद्धता

२८  बैशाख २०८२ ✍️ रिपोर्टिंग नेपाल – संवाददाता, बाके 

कोहलपुर नगरपालिका–२, जहाँ नगरभित्रकै करिब १८ देखि २० प्रतिशत जनसंख्या बसोबास गर्छ, लामो समयदेखि भोट बैंकको रुपमा मात्रै हेरिँदै आएको आरोप सर्वसाधारणले लगाउँदै आएका छन्। तर, पछिल्लो समय वडाध्यक्षको सक्रियताले केही सकारात्मक संकेत देखिएको छ।

वडाध्यक्षका अनुसार संघीयता कार्यान्वयनको आठ वर्ष नजिकिँदा पनि वडामा अझै वर्षातको समयमा हिलोमय बाटोमा हिँड्न बाध्य जनताका गुनासा टड्कारो छन्। यद्यपि, वडामा समानुपातिक बजेट व्यवस्थापन रहे पनि चुनौतीहरू स्पष्ट छन्।

मैले हार मानेको छैन,” वडाध्यक्ष बताउँछन्, “जनताको आवश्यकता पहिचान गर्दै, क्रमिक रुपमा विकासका काम अघि बढाइरहेका छौं। गाउँ–गाउँमा पुगेर जन गुनासो सुन्दै, सबैसँग हातेमालो गर्दै, खुसी बाँड्दै अगाडि बढिरहेको छु।”

स्थानिय स्तरमा सिंहदरबारको सेवा पुगोस् भन्ने उद्देश्यले सुरु गरिएको संघीय शासन प्रणालीप्रति जनताको विश्वास बलियो बनाउने दिशामा वडाध्यक्षको प्रयास उल्लेखनीय छ। उनी भन्छन्, “जनतामा संघीयताप्रतिको विश्वास घट्दै गएको देखिन्छ, तर विश्वास दिलाउन चाहन्छु कि सेवा विकास दिन सकिन्छ।”

उनको यो अभिव्यक्तिले नेतृत्वको प्रतिबद्धता मात्र नभई, जिम्मेवारीप्रतिको समर्पण पनि झल्काउँछ।

बिज्ञापन-YM-ADCustom Text

“जनताकै सेवामा समर्पित छु” – वडाध्यक्ष हरी कठायत

२४  बैशाख २०८२ ✍️ रिपोर्टिंग नेपाल – संवाददाता, बाके 

भूमिहीन समस्याको समाधानतर्फ कदम: आशा जगाउँदै वडा नं. २

वडाध्यक्ष हुनु केवल पद होइन — जिम्मेवारी हो। यही सन्देश दिइरहेका छन् वडा नं. २ का वडाध्यक्ष श्री हरी कठायत। जनताको समस्या आफ्नै समस्या हो भन्ने भावनाले प्रेरित वडाध्यक्ष कठायत आजकल भूमिहीन समस्याको समाधानमा रातदिन नभनि खटिएकाछन ।

प्रेमनगरका सुरेश परिवारले हालै वडाध्यक्षसँग भेट गर्दै भूमिहीन समस्या, प्रक्रिया र सम्भावनाका बारेमा केही जिज्ञासाहरू राखे। वडाध्यक्ष कठायतले सम्पूर्ण प्रक्रिया पारदर्शी, तथ्यमा आधारित र कानुनीरूपमा अगाडि बढिरहेको स्पष्ट पारे।

प्रेमनगरका सुरेश परिवारले हालै वडाध्यक्षसँग भेट गर्दै भूमिहीन समस्या, प्रक्रिया र सम्भावनाका बारेमा केही जिज्ञासाहरू राखे। वडाध्यक्ष कठायतले सम्पूर्ण प्रक्रिया पारदर्शी, तथ्यमा आधारित र कानुनीरूपमा अगाडि बढिरहेको स्पष्ट पारे।

 

१३१ जनाको प्रक्रिया अघि बढिसकेको छ — कठायत

वडाध्यक्षले जानकारी गराए अनुसार, वडा कार्यालयले भूमिहीन तथा बसोबासका लागि १४६ जनाको नाम मालपोत कार्यालय बाँकेमा पठाएको थियो। सोही कार्यालयबाट प्राप्त पत्रअनुसार, १५ जनाको नाममा अन्यत्र जग्गा देखिएकोले, बाँकी १३१ जनाको प्रक्रिया अघि बढाइएको हो।

“हामीले सिफारिस मात्र हैन, हरेक नागरिकले न्याय पाउने वातावरण बनाउन निरन्तर पहल गरिरहेका छौँ,” — वडाध्यक्ष हरी कठायत।

१५ जनालाई फारम भर्न आह्वान

जसको नाममा अन्यत्र जग्गा देखिएको छ, उनीहरूलाई अब्यवस्थित बसोबास फारम भर्न वडाले सूचना निकालेको थियो। तर केही सम्पर्कमा नआएकोले, वडाध्यक्षले सबैलाई पुनः वडामा सम्पर्क गर्न आग्रह गरेका छन्।

 

सूचना मात्र होइन, हामी प्रत्यक्ष सम्पर्कका लागि टोली खटाउने सोचमा छौँ, ताकि कोही पनि अधिकारबाट बञ्चित नहोस्,” — कठायत

लालपुर्जा प्राप्तिको प्रक्रिया सजिलो बनाइँदै

वडाले आवश्यक कागजातको सूची पनि सार्वजनिक गरेको छ:

  • निस्सा प्रमाणको प्रतिलिपि
  • कर तिरेको प्रमाण
  • श्रीमान–श्रीमतीको नागरिकता र फोटो
  • बसाइँ सराई प्रमाणपत्र (यदि नागरिकता अन्य जिल्लाबाट भएको हो भने)

जनताको सेवा गर्न पाएको यो अवसरलाई म धर्म मान्दछु। जबसम्म एक जना पनि भूमिहीनको समस्या समाधान हुँदैन, म बिसाउँदिन,” — वडाध्यक्ष कठायतको प्रतिबद्धता।

स्थानीयले महसुस गरेका छन् परिवर्तन

प्रेमनगर लगायत वडा नं. २ का बासिन्दाहरू वडाध्यक्ष कठायतप्रति आशावादी देखिन्छन्। जनमुखी शैली, नियमित संवाद र व्यावहारिक पहलले उनलाई एक कर्मठ र प्रतिबद्ध जनप्रतिनिधिको रूपमा चिनाएको छ ।

जनताको साथ नै मेरो शक्ति हो

वडाध्यक्ष कठायतले अन्त्यमा भने,

म पदको लागि होइन, परिवर्तनका लागि यहाँ छु। जनताको साथ, सहयोग र विश्वास नै मेरो सबैभन्दा ठूलो पूँजी हो।”

बिज्ञापन-YM-ADCustom Text

थारु संस्कृतिको सुगन्ध फेरि बर्दियाको आकाशमा फैलिदै : दुईदिने सांस्कृतिक महोत्सव

✍️ रिपोर्टिंग नेपाल – संवाददाता, बारबर्दिया

बर्दिया, बैशाख १२ – थारु समुदायको समृद्ध सांस्कृतिक पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बर्दियाली थारु कलाकार मञ्च बर्दियाले विशेष नाटक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।

लुम्बिनी प्रदेश सरकार अन्तर्गत पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको आर्थिक सहयोग र बारबर्दिया नगरपालिका वडा नं. ४ तथा गुलरिया नगरपालिका वडा नं. ५ को समन्वयमा हुन लागेको उक्त कार्यक्रम दुई स्थानमा सम्पन्न हुनेछ। पहिलो कार्यक्रम बैशाख १४ गते बारबर्दिया न.पा. वडा नं. ४, घोरपिट्टा गाउँमा र दोस्रो कार्यक्रम बैशाख १५ गते गुलरिया न.पा. वडा नं. ५, सुहेल्वा गाउँमा आयोजना हुनेछ।

बर्दिया जिल्लामा थारु समुदायको  बाहुल्य रहेको छ। यद्यपि, आधुनिकताको प्रभाव र नयाँ पुस्ताको चासो कमीका कारण थारु समुदायका मौलिक चालचलन, नाचगान, गीत तथा खानपान बिस्तारै लोप हुँदै गएको छ। यही अवस्थालाई परिवर्तन गर्दै थारु संस्कृतिलाई जगेर्ना गर्न यो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिएको छ।

यस कार्यक्रमले आदिबासी जनजाती समुदायमा रहेका पौराणिक लोककलाको संरक्षण गर्दै तिनीहरूलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। बर्दियाली कलाकारहरूको मनोबल अभिवृद्धि र सिर्जनात्मक हौसला प्रदान गर्नु कार्यक्रमको अर्को महत्वपूर्ण उद्देश्य हो। थारु समुदायको मौलिक कला, गीत–संगीतलाई संरक्षण गर्दै नयाँ पुस्तामा यसको हस्तान्तरणमा टेवा पुर्‍याउने प्रयास हुनेछ। साथै, नाटकजस्ता सशक्त माध्यममार्फत पौराणिक लोककलाको प्रस्तुति दिइनेछ। कार्यक्रमले स्थानीय रैथाने खानपानको व्यवसायिकरणलाई समेत प्रवर्द्धन गर्नेछ। यसका साथै, बर्दिया जिल्लामा रहेका ऐतिहासिक, सांस्कृतिक तथा पौराणिक स्थलहरूको प्रचार–प्रसार गरी जिल्लालाई पर्यटनका लागि थप आकर्षक बनाउने लक्ष्य लिइएको छ।

कार्यक्रमले थारु समुदायका पौराणिक लोककलाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ, जसले नयाँ पुस्तालाई आफ्नै संस्कृतिप्रति गर्व र चेतना विकास गराउन मद्दत गर्नेछ। साथै, बर्दियाली कलाकारहरूको आत्मबल र सिर्जनात्मकता अभिवृद्धि हुनेछ, जसले उनीहरूलाई भविष्यमा अझ सशक्त बनाउनेछ। मौलिक नाटकीय प्रस्तुतिहरूले दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै थारु सांस्कृतिक सम्पदाको गहिरो अनुभूति गराउनेछ। कार्यक्रममार्फत बर्दिया जिल्लाको समृद्ध सांस्कृतिक र ऐतिहासिक सम्पदाको प्रचार–प्रसार भई जिल्लालाई एक आकर्षक पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आयोजकको भनाइ अनुसार, “थारु संस्कृतिको संरक्षण र आगामी पुस्तामा यसको हस्तान्तरण अनिवार्य छ। यस किसिमका कार्यक्रमले थारु समुदायमा सांस्कृतिक चेतना अभिवृद्धि गराउने विश्वास लिएका छौँ”

कार्यक्रममा स्थानिय कलाकारहरूको जीवन्त प्रस्तुति, मौलिक नाचगान तथा थारु परिकारहरुको विशेष प्रदर्शनी समेत रहने बताइएको छ।
सांस्कृतिक विविधताले सम्पन्न बर्दिया जिल्लाका बासिन्दाका लागि यो कार्यक्रम विशेष चासो र आकर्षणको विषय बनेको छ।

बिज्ञापन-YM-ADCustom Text

बर्दिया जिल्लामा प्रथमपटक जुनियर पेनकेक सिलात प्रतियोगिता सुरु

✍️ रिपोर्टिंग नेपाल – संवाददाता, बारबर्दिया

२०८१ चैत्र २५, बर्दिया – आत्मरक्षा, अनुशासन र मानसिक–शारीरिक मजबुतीलाई अभिव्यक्त गर्ने मार्शलार्टको विधा मध्ये   पेनकेक सिलात खेल पनि अब बर्दियामा लोकप्रिय बन्न थालेको छ।

बारबर्दिया नगरपालिका–७ स्थित रम्मापुर खेलमैदानमा पहिलो पटक जिल्लास्तरीय जुनियर पेनकेक सिलात प्रतियोगिता भव्य रूपमा उदघाटन भएको छ। पेनकेक सिलात संघ बर्दियाको आयोजनामा तथा बारबर्दिया नगरपालिका वडा नं. ७ को आर्थिक सहयोगमा आयोजित उक्त प्रतियोगितामा बर्दिया जिल्लाका विभिन्न पालिकाबाट ५८ जना महिला र पुरुष खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगिता आज चैत्र २५ गते उदघाट भएको  छ भने भोलि २६ गते  सम्म प्रतियोगिता संचालन हुनेछ ।

प्रतियोगिता विभिन्न तौल समूहमा वर्गीकृत गरिएको छ , जसमा २५–३०, ३१–३५, ३६–४०, ४१–४५, ४६–५० र ५१–५५ केजीका प्रतिस्पर्धीहरूबीच प्रतिस्पर्धा हुनेछ । बारबर्दिया, गेरुवा, बासगढी लगायतका पालिकाबाट खेलाडीहरु उपस्थित हुनुका साथै  राजापुर नगरपालिका बाट १७ जना गोजुरियो करातेका खेलाडी समेत सहभागी भएका छन् l नेपाल कराते महासंघको राष्ट्रिय रेफ्री तथा राष्ट्रिय प्रशिक्षक एबम नेपाल कराते महासंघ बर्दियाको उपाध्यक्ष गोजुरियो करातेका प्रशिक्षक तिर्थ रिजालले गोजुरियो करातेका आफ्ना खेलाडीहरुलाई  उपस्थित गराएको जानकारी गराएकाछन  ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारु रहेका थिए। कार्यक्रममा प्रमुख अतिथिले ब्यानर पढी मैनबत्ती प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए। सभाध्यक्षको भूमिकामा पेनकेक सिलात संघ बर्दियाका अध्यक्ष राम बहादुर चौधरी रहेका थिए भने कार्यक्रमको सञ्चालन बिमल सुवेदीले गरेका थिए।

विशिष्ट अतिथिका रूपमा वडा नं. ७ का वडा अध्यक्ष ईन्द्र प्रसाद चौधरी र जिल्ला खेलकुद विकास समितिका प्रमुख भुपेन्द्र पुन मगर तथा विशेष अतिथि पेनकेक सिलात संघ लुम्बिनी प्रदेशका अध्यक्ष खिम बहादुर खड्काको उपस्थिति रहेको थियो। नेपाल पेनकेक सिलात संघका सचिव गोबिन्द चौधरीले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथि र विशिष्ट अतिथिहरूलाई प्रसुना चौधरी र साइमाना राणा मगरले  दोसल्ला सहित अतिथिलाइ ब्याच वितरण गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख छविलाल थारुले बारबर्दिया नगरपालिकाले खेलकुदको विकासलाई निरन्तर प्राथमिकता दिँदै आएको बताएका थिए। उनले खेलले युवालाई अनुशासित बनाउने र आत्मनिर्भरता प्रदान गर्ने भएकाले यस्ता खेल आवस्यक रहेको भन्दै सहभागी सबैलाई शुभकामना दिएका थिए। यता, जिल्ला खेलकुद विकास समितिका प्रमुख भुपेन्द्र पुन मगरले बारबर्दिया पालिकाको सहयोगमा पेनकेक सिलात संघले गत वर्ष  राष्ट्रिय प्रतियोगिता पनि यही ठाउँमा आयोजना गर्ने अवसर पाएको जानकारी गराउँदै पालिका प्रमुख प्रति आभार प्रकट गरेका थिए। साथै उनले खेलाडीहरूलाई अनुशासित भई खेल्ने सुझाव दिँदै आयोजक समिति र आर्थिक सहयोग गर्ने वडा नं. ७ लाई समेत धन्यवाद दिएका थिए।

प्रतियोगिता सम्पन्न भएसँगै बर्दियामा पेनकेक सिलात खेलको आधार बलियो बनाउने संकेत देखिएको छ। आयोजक संघका अनुसार आगामी दिनमा अझ बढी संख्या र क्षेत्रबाट सहभागिता गराएर प्रदेश तथा राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना गर्ने योजना बनाइएको छ। स्थानीय तहको सहयोग, खेलाडीको सक्रियता र दर्शकहरूको उत्साहले बर्दियालाई आत्मरक्षात्मक खेलको केन्द्र बनाउने विश्वास लिइएको छ।

बिज्ञापन-YM-ADCustom Text

लघुवित्त पीडितहरू संगठित हुँदै संघर्ष समिति गठन, आन्दोलनको तयारी तीव्र

१० चैत्र २०८१ , बारबर्दिया – लघुवित्त तथा वित्तीय शोषण बिरुद्धको संघर्ष समिति नेपालको केन्द्रीय समितिले ले चैत्र ५ गते देखि काठमाण्डौ केन्द्रित आन्दोलन घोषणा गरे संगै स्थानिय स्तरमा समेत देशभर लघुवित्त तथा वित्तीय शोषणका विरुद्ध संघर्ष गर्दै आएका पीडितहरूले आफ्ना कार्यक्रम तिब्र पारेका छन् l यसै क्रममा लघुवित्त तथा वित्तीय शोषणका विरुद्ध संघर्ष गर्दै आएका  लघुवित्त तथा वित्तीय शोषण बिरुद्धको संघर्ष समिति बारबर्दियाले पनि आन्दोलनको तयारि र सक्रियता बढाउन संघर्ष समितिको पुनर्गठन गरेको छ ।

भिडियो हेर्नुहोस :

 

लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिका अनुसार, पछिल्लो समय लघुवित्त संस्थाहरूले अत्यधिक चर्को ब्याजदर असुली, ऋणीहरूमाथि सामाजिक तथा मानसिक दबाब सिर्जना गर्ने जस्ता अन्यायपूर्ण गतिविधिहरू गरिरहेको आरोप सहित पीडितहरूले यस्तो शोषण अन्त्य गर्दै लघुवित्त संस्थाहरूमार्फत लिइएका ऋणमाथि ब्याज मिनाहा गर्नुपर्ने, उत्पीडनको अन्त्य हुनुपर्ने, सरकारी अनुदान प्राप्त लघुवित्त संस्थाहरूलाई खारेज गर्नुपर्ने लगायतका माग अघि सारेका छन्।

प्रमुख मागहरू:

  • लघुवित्त संस्थाहरू खारेज गरी वैकल्पिक वित्तीय व्यवस्था गर्नुपर्ने।
  • लघुवित्त पीडितहरूको ऋणमा शतप्रतिशत ब्याज मिनाहा गरी तिर्न सक्ने अवस्था बनाइदिनुपर्ने।
  • आर्थिक शोषणविरुद्ध कानुनी सुधार गरी दोषीहरूमाथि कारबाही गर्नुपर्ने।
  • ऋणीहरूमाथि हुने सामाजिक तथा मानसिक शोषण बन्द गर्नुपर्ने।
  • सरकारी अनुदान प्राप्त लघुवित्त संस्थाहरूको कर्जा वितरण प्रक्रियामा पारदर्शिता ल्याइनुपर्ने।
  • लघुवित्त पीडितहरूको पुनर्स्थापनाका लागि सरकारबाट उचित राहत कार्यक्रम ल्याइनुपर्ने।
  • वित्तीय शोषणमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई दण्डित गर्नुपर्ने।

यसै क्रममा संघर्ष समितिले आगामी दिनहरूमा थप दबाबमूलक कार्यक्रम ल्याउने बताएको छ। संघर्ष समितिको गठन पश्चात संघर्ष समितिका बारबर्दिया इन्चार्ज  बिनोद न्यौपानेका  अनुसार, बारबर्दिया नगरपालिका स्तरिय संघर्ष समितिले पनि काठमाण्डौ केन्द्रित आन्दोलनलाई सफल बनाउने भन्दै नगरको आफ्नो कार्यक्रमलाइ तिब्र पारिरहेको  संघर्ष समितिका नगर इन्चार्ज बिनोद न्यौपानेले जानकारी दिदै यदि मागहरू पूरा नभए सशक्त संघर्षका कार्यक्रम अगाडि बढाइने चेतावनी समेत दिएकाछन् ।

 

बिज्ञापन-YM-ADCustom Text

हामीलाई आफू हराएको थाहै हुदैन

गोपीलाल कडेल- बर्दिया । २०८१ माघ १७ गते

कुनै बेला हामी आफ्नै दुनियाँमा हराउन पुग्छौँ । जब सबै कुरा राम्रोसँग चलिरहेको हुन्छ नि उक्त अवस्थामा हामी त्यो सबै आफ्नै कारणले चलेको हो भन्ने सोच्छौँ । मैले यसो गरेँ, मैले त्यसो गरेँ । मैले यो गरिसकेँ, मैले यो कुरा हासिल गरिसकेँ । यस्तै गर्दागर्दै मानिस क्रमशः घमण्डमा हराउन थाल्छ । स्वयम् नै हराउन थाल्छ । उसलाई हराउनका लागि कुनै विशेष स्थानको आवश्यकता नै पर्दैन । ऊ स्वयम् आफैँसँग हराउनका लागि अरु कसैको सहायता नै चाहिँदैन । ऊ स्वयम् नै आफ्नो विचारमा बाँधिएर हराउन थाल्छ । ‘म वास्तवमा नै हराइरहेको छु भन्ने कुरा थाहा भएपछि अब म बाटो कसरी पहिल्याउने भन्ने समस्या देखा पर्छ । यस्तो अवस्था तब आउँछ जब उसलाई दुःख महसुस हुन्छ । उसको इच्छाबमोजिम काम भएन भने उसलाई चिन्ता हुन थाल्छ । जब मानिसलाई दुःख हुन थाल्छ त्यसपछि ऊ भगवानको  शरणमा जान्छ । अनि, भगवानलाई पनि ‘जिन्न’ का रुपमा बनाइदिएका छन् । “भगवान् ! यसो गरिदेऊ, मेरा लागि यस्तो गरिदेऊ ।” तर, “भगवान् ! मलाई सद्बुद्धि देऊ । म बुझ्न सकूँ । म पहिचान गर्न सकूँ । आफ्नो जीवनमा म कतै बाटो नबिराऊँ” भन्ने सोच मानिसमा आउँदैन ।

एकपटक एक जना शिष्यलाई घमण्ड उत्पन्न भयो । उनलाई लाग्यो– ‘म ज्ञानी छु । मलाई यति धेरै ज्ञान छ कि म कहिल्यै पनि भ्रमित हुन सक्दिनँ ।’ एकदिन उनी आश्रममा महर्षिकहाँ गए अनि सोधे– “मेरा लागि कुनै आज्ञा छ ?”

महर्षिले भने, “होइन, आऊ बस न । केही कुराकानी गरौँ ।”

दुवैजना कुराकानी गर्न थाले । कुराकानी गर्दागर्दै दुई घन्टा बित्यो ।

महर्षिले शिष्यलाई भने, “मलाई तिर्खा लागेको छ । मेरा लागि पानी ल्याइदेऊ न त !” तब शिष्यले भने, “म अहिल्यै गएर ल्याइहाल्छु ।”

उनले लोटा हातमा लिए । नदी नजिकै थियो । त्यहाँ पानी लिनका लागि गए । उनी त्यहाँ पुगे तर नदी अलिकति गहिरो स्थानमा थियो । जसै उनी पानी उघाउनका लागि भनेर निहुरिए तब अचानक नदीमा खस्न पुगे । उनलाई म डुबिरहेको छु भन्नेसम्म मात्रै महसुस भयो । त्यसपछि उनी बेहोस भए । यसपश्चात् के भयो भन्ने कुरा उनलाई थाहा नै भएन ! उनको आँखा खुलेपछि उनले देखे– एक जना निकै राम्री युवतीले उनको हेरचाह गरिरहेकी रहिछन् । उनको निधारमा तौलियाले पुछिरहेकी थिइन् । शिष्यलाई उनी को थिइन् भन्ने कुराका बारेमा थाहा थिएन । उनलाई ‘ती युवती को हुन्, म कहाँ छु, कसरी यस स्थानमा आइपुगेँ’ भन्नेबारेमा कुनै पत्तै भएन । यसै क्रममा ती युवतीसँगको उनको माया बढ्न थाल्यो । माया बढेपछि ती शिष्यले युवतीसँग विवाह गरे । विवाह भयो । बालबच्चा पनि भए । जागिर खान थाले । सबै कुरा भयो । उनले अन्य सबै कुरा बिर्सिसकेका थिए । उनलाई ‘म स्वयम् को हुँ’ भन्ने कुरै थाहा भएन । कसरी त्यहाँ पुगियो भन्ने पनि थाहा भएन !

धेरै समय बितिसकेको थियो । एकदिन ती शिष्य नदीको किनारतिर घुम्नका लागि निस्किए । उनले नदीको एकदमै स्वच्छ पानीलाई नियाले । नदी एक सुरमा बगिरहेको थियो । एकदमै रमणीय वातावरण थियो । चराचुरूङ्गीको चिरबिर सुनिन्थ्यो । चिसो–चिसो हावा बहिरहेको थियो । सबै कुरा मनोहर लाग्थ्यो । त्यसैबेला अकस्मात् शिष्यले सम्झन पुग्छन्, उनलाई ख्याल आउँछ– “म यहाँ कसरी आइपुगेँ ! महर्षि त मेरो पर्खाइमा हुनुहुन्थ्यो । म उहाँका लागि पानी ल्याउन भनेर निस्केको थिएँ । कति वर्ष बितिसक्यो ? मेरो विवाह पनि भइसक्यो । मेरा बालबच्चासमेत भइसके । हैन, यो के भइरहेको हो !” उनी दगुर्दै–दगुर्दै महर्षिकहाँ पुगे ।

जसै उनी त्यहाँ पुगे । महर्षि त अझै पनि त्यहीँ बसिरहेकै थिए । तब शिष्यले भन्न थाले, “महाराज ! मबाट एकदमै ठूलो भूल भयो । म त कति वर्षसम्म हराउन पुगेँ । हजुरले मलाई पर्खिरहनुभयो । हजुरलाई त साह्रै धेरै तिर्खा लागिसकेको होला !”

महर्षिले शिष्य तर्फ फर्किएर भने, “अहिले भर्खरै त मैले तिमीलाई पठाएको थिएँ ।” तब शिष्यले भने, “यो मलाई के भइरहेको होला ?”

महर्षिले भने, “केही पनि भएको छैन । तिमीलाई ‘म कहिल्यै हराउन सक्दिनँ’ भन्ने घमण्ड थियो । म के बताउन चाहन्थेँ भने हराउनका लागि कति पनि समय लाग्दैन ।”

जब मानिस हराउँछ नि तब उसलाई ‘मलाई प्रकाशको आवश्यकता छ’ भन्ने कुरासमेत पनि थाहा हुँदैन । मैले कतै जानुछ । म यो संसारमा आएको छु र एकदिन मैले यहाँबाट जानुपर्ने छ । उसलाई यति कुराको पनि ख्याल रहँदैन । मानिस त ‘आफू कहिल्यै मर्दिनँ’ भने जसरी आफ्नो जीवन जिइरहेको हुन्छ ।

जब हराउँछौँ तब सबैभन्दा ठूलो कुरा त के हुन्छ भने हामीलाई आफू हराएको कुरै थाहा हुँदैन । यो हराउने कुरा नै सबैभन्दा डरलाग्दो विषय हो । यदि अलिकति मात्रै पनि ‘म हराइरहेको छु’ भन्ने कुरा महसुस हुने हो भने त मानिसले अवश्य नै कुनै न कुनै प्रयास गर्नेछ । ऊ त्यस स्थानबाट फुत्केर आफ्नो लक्ष्यमा पुग्नका लागि कोसिस गर्नेछ । तथापि, हराएको मानिसलाई भने ‘म हराएको छु’ भन्ने कुरै थाहा हुँदैन । त्यसकारण ऊ अझै धेरै हराउँछ, अझै हराउँछ । ती शिष्यलाई पनि यस्तै भइरहेको थियो ।

हामी आफ्नो जीवनमा सचेत भएर अघि बढ्नु आवश्यक छ अनि यो त ती सृष्टिकर्ताप्रति आभार व्यक्त गर्नुपर्ने विषय हो ।

(यो लेख प्रेम रावतको सम्बोधनलाई सम्पादन गरी साभार गरिएको हो । उनी मानवता र शान्तिका विषयमा चर्चा गर्ने अन्तर्राष्ट्रिय वक्ता तथा विश्वप्रसिद्ध पुस्तक ‘स्वयंको आवाज’ (हियर योरसेल्फ)का लेखक हुन् । उनको सन्देशका बारेमा थप जानकारीका लागि : www.premrawat.com)

बिज्ञापन-YM-ADCustom Text

बारबर्दिया नगरपालिका एचपीभी खोप अभियान : किशोरी छात्राहरुलाई २२ गते देखि खोप लगाइने

बारबर्दिया, २०८१ माघ ११ गते – बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाले एचपीभी (Human Papillomavirus) खोप अभियान २०८१ को शुरुवात गर्दै, यस अभियानलाई सफल बनाउन नगर प्रमुख छबिलाल थारुको अध्यक्षतामा एक अभिमुखीकरण र अन्तरक्रिया गोष्ठी सम्पन्न गरेको छ ,उक्त गोष्ठीमा नगर खोप समन्वय समितिका पदाधिकारीहरु, संचारकर्मीहरु र विभिन्न सरोकारवाला व्यक्तिहरु सहभागी थिए। गोष्ठीमा विभिन्न सरोकारवालाले अभियानको सफलता सुनिश्चित गर्नका लागि समन्वय र साझा प्रयासको महत्त्वलाई जोड दिए।

यस गोष्ठीको मुख्य उद्देश्य एचपीभी (Human Papillomavirus) खोप अभियानको बारेमा जनचेतना फैलाउन र यस अभियानको सफल कार्यान्वयनका लागि सबै सरोकारवालाहरुसँग सहकार्य गर्नु थियो l

बारबर्दिया नगरपालिकाले एचपीभी खोप अभियान अन्तर्गत बारबर्दिया नगरपालिकाको निजि तथा सामुदायिक विद्यालयका कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय छाडेका १० देखि १४ वर्षका किशोरीलाई लक्षित गरेको छ। २२, २३, २४ र २५ गते यो खोप विद्यालयलाइ पाएक पर्ने नजिकैको  स्वास्थ्य केन्द्रमा उपलब्ध गराइने छ।

स्वास्थ्य शाखा प्रमुख गोविन्द्र पौडेलले गोष्ठीमा एचपीभी खोप अभियानको बारेमा स्पस्ट पार्दै   शिक्षक, सरोकारवाला एवं संचारकर्मीहरुले एचपीभी खोपको प्रचार प्रसारमा सक्रिय भूमिका खेल्नुपर्ने बताउँदै, एचपीभी खोपको महत्व र फाइदा बारे जानकारी गराउनुभयो ।

एचपीभी (Human Papillomavirus) खोप एक प्रकारको भाइरस विरुद्धको खोप हो, जसले गर्भाशयको  मुखको क्यान्सर जस्ता गम्भीर रोगहरूबाट सुरक्षा प्रदान गर्दछ। एचपीभी भाइरस किशोरीहरूको शरीरमा प्रवेश गर्नबाट रोक्न यस खोपको महत्त्व अत्यधिक छ। यो खोप प्राय: किशोरीहरूलाई दिइन्छ, ताकि भविष्यमा उनीहरूले गर्भाशय मुखको क्यान्सर जस्तो गम्भीर रोगबाट बच्न सकून्।

समापनको क्रममा  नगर प्रमुख छबिलाल थारुले भन्नु भयो , “खोप अभियानको सफलता सबैको सहभागितामा निर्भर गर्दछ। हामी सबैको जिम्मेवारी हो कि यस अभियानलाई सफल पार्न कुनै पनि लक्षित किशोरीलाई खोपबाट बन्चित हुन दिनु हुँदैन।” उहाले थप्नुभयो , “हामीले प्रत्येक किशोरी र छात्रालाई खोप लगाउन प्रेरित गर्नका लागि स्थानीय समुदायका सबै सदस्यहरु, विद्यालयका शिक्षकहरु, र स्वास्थ्यकर्मीहरु सक्रिय हुनु जरुरि छ ।” खोप नलगाउँदा एचपीभी भाइरसको संक्रमणको सम्भावना बढ्न सक्छ, जसको परिणामस्वरूप गर्भाशय मुखको क्यान्सर जस्ता गम्भीर रोगहरु उत्पन्न हुन सक्छ। त्यसैले सबैलाई खोप लगाउन प्रेरित गरिनु अत्यन्त आवश्यक छ। यो खोप निशुल्क उपलब्ध छ।

 यस खोप अभियानको प्रभावकारिता जनचेतना र समुदायका सबै सदस्यहरुको सक्रिय सहभागीतामा निर्भर गर्दछ । नगर खोप समन्वय समितिका पदाधिकारी , शिक्षक , सरोकारवाला एवं संचारकर्मीहरुले यस अभियानका बारेमा किशोरीहरुलाई अझ बढी सचेत बनाउने कार्य महत्वपूर्ण छ । यस अभियानको सफल कार्यान्वयनले भविष्यमा किशोरीहरूको स्वास्थ्यको हिफाजत गर्नेछ र गर्भाशय मुखको क्यान्सरजस्ता गम्भीर रोगहरूबाट बच्न मद्दत पुर्याउनेछ।

बिज्ञापन-YM-ADCustom Text

बिज्ञापन

Custom Text

भर्खरै राखिएको