
२८ बैशाख २०८२ ✍️ रिपोर्टिंग नेपाल – संवाददाता, बाके
कोहलपुर नगरपालिका–२, जहाँ नगरभित्रकै करिब १८ देखि २० प्रतिशत जनसंख्या बसोबास गर्छ, लामो समयदेखि भोट बैंकको रुपमा मात्रै हेरिँदै आएको आरोप सर्वसाधारणले लगाउँदै आएका छन्। तर, पछिल्लो समय वडाध्यक्षको सक्रियताले केही सकारात्मक संकेत देखिएको छ।

वडाध्यक्षका अनुसार संघीयता कार्यान्वयनको आठ वर्ष नजिकिँदा पनि वडामा अझै वर्षातको समयमा हिलोमय बाटोमा हिँड्न बाध्य जनताका गुनासा टड्कारो छन्। यद्यपि, वडामा समानुपातिक बजेट व्यवस्थापन रहे पनि चुनौतीहरू स्पष्ट छन्।
“मैले हार मानेको छैन,” वडाध्यक्ष बताउँछन्, “जनताको आवश्यकता पहिचान गर्दै, क्रमिक रुपमा विकासका काम अघि बढाइरहेका छौं। गाउँ–गाउँमा पुगेर जन गुनासो सुन्दै, सबैसँग हातेमालो गर्दै, खुसी बाँड्दै अगाडि बढिरहेको छु।”

स्थानिय स्तरमा सिंहदरबारको सेवा पुगोस् भन्ने उद्देश्यले सुरु गरिएको संघीय शासन प्रणालीप्रति जनताको विश्वास बलियो बनाउने दिशामा वडाध्यक्षको प्रयास उल्लेखनीय छ। उनी भन्छन्, “जनतामा संघीयताप्रतिको विश्वास घट्दै गएको देखिन्छ, तर म विश्वास दिलाउन चाहन्छु कि सेवा र विकास दिन सकिन्छ।”
उनको यो अभिव्यक्तिले नेतृत्वको प्रतिबद्धता मात्र नभई, जिम्मेवारीप्रतिको समर्पण पनि झल्काउँछ।
















