
बारबर्दिया, २०८१ माघ ११ गते – बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाले एचपीभी (Human Papillomavirus) खोप अभियान २०८१ को शुरुवात गर्दै, यस अभियानलाई सफल बनाउन नगर प्रमुख छबिलाल थारुको अध्यक्षतामा एक अभिमुखीकरण र अन्तरक्रिया गोष्ठी सम्पन्न गरेको छ ,उक्त गोष्ठीमा नगर खोप समन्वय समितिका पदाधिकारीहरु, संचारकर्मीहरु र विभिन्न सरोकारवाला व्यक्तिहरु सहभागी थिए। गोष्ठीमा विभिन्न सरोकारवालाले अभियानको सफलता सुनिश्चित गर्नका लागि समन्वय र साझा प्रयासको महत्त्वलाई जोड दिए।
यस गोष्ठीको मुख्य उद्देश्य एचपीभी (Human Papillomavirus) खोप अभियानको बारेमा जनचेतना फैलाउन र यस अभियानको सफल कार्यान्वयनका लागि सबै सरोकारवालाहरुसँग सहकार्य गर्नु थियो l
बारबर्दिया नगरपालिकाले एचपीभी खोप अभियान अन्तर्गत बारबर्दिया नगरपालिकाको निजि तथा सामुदायिक विद्यालयका कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय छाडेका १० देखि १४ वर्षका किशोरीलाई लक्षित गरेको छ। २२, २३, २४ र २५ गते यो खोप विद्यालयलाइ पाएक पर्ने नजिकैको स्वास्थ्य केन्द्रमा उपलब्ध गराइने छ।
स्वास्थ्य शाखा प्रमुख गोविन्द्र पौडेलले गोष्ठीमा एचपीभी खोप अभियानको बारेमा स्पस्ट पार्दै शिक्षक, सरोकारवाला एवं संचारकर्मीहरुले एचपीभी खोपको प्रचार प्रसारमा सक्रिय भूमिका खेल्नुपर्ने बताउँदै, एचपीभी खोपको महत्व र फाइदा बारे जानकारी गराउनुभयो ।

एचपीभी (Human Papillomavirus) खोप एक प्रकारको भाइरस विरुद्धको खोप हो, जसले गर्भाशयको मुखको क्यान्सर जस्ता गम्भीर रोगहरूबाट सुरक्षा प्रदान गर्दछ। एचपीभी भाइरस किशोरीहरूको शरीरमा प्रवेश गर्नबाट रोक्न यस खोपको महत्त्व अत्यधिक छ। यो खोप प्राय: किशोरीहरूलाई दिइन्छ, ताकि भविष्यमा उनीहरूले गर्भाशय मुखको क्यान्सर जस्तो गम्भीर रोगबाट बच्न सकून्।
समापनको क्रममा नगर प्रमुख छबिलाल थारुले भन्नु भयो , “खोप अभियानको सफलता सबैको सहभागितामा निर्भर गर्दछ। हामी सबैको जिम्मेवारी हो कि यस अभियानलाई सफल पार्न कुनै पनि लक्षित किशोरीलाई खोपबाट बन्चित हुन दिनु हुँदैन।” उहाले थप्नुभयो , “हामीले प्रत्येक किशोरी र छात्रालाई खोप लगाउन प्रेरित गर्नका लागि स्थानीय समुदायका सबै सदस्यहरु, विद्यालयका शिक्षकहरु, र स्वास्थ्यकर्मीहरु सक्रिय हुनु जरुरि छ ।” खोप नलगाउँदा एचपीभी भाइरसको संक्रमणको सम्भावना बढ्न सक्छ, जसको परिणामस्वरूप गर्भाशय मुखको क्यान्सर जस्ता गम्भीर रोगहरु उत्पन्न हुन सक्छ। त्यसैले सबैलाई खोप लगाउन प्रेरित गरिनु अत्यन्त आवश्यक छ। यो खोप निशुल्क उपलब्ध छ।

यस खोप अभियानको प्रभावकारिता जनचेतना र समुदायका सबै सदस्यहरुको सक्रिय सहभागीतामा निर्भर गर्दछ । नगर खोप समन्वय समितिका पदाधिकारी , शिक्षक , सरोकारवाला एवं संचारकर्मीहरुले यस अभियानका बारेमा किशोरीहरुलाई अझ बढी सचेत बनाउने कार्य महत्वपूर्ण छ । यस अभियानको सफल कार्यान्वयनले भविष्यमा किशोरीहरूको स्वास्थ्यको हिफाजत गर्नेछ र गर्भाशय मुखको क्यान्सरजस्ता गम्भीर रोगहरूबाट बच्न मद्दत पुर्याउनेछ।

















