बारबर्दियाले गर्यो आगामी आर्थिक बर्षको निम्ति सुझाव संकलन

२६ जेष्ठ २०८१, बर्दिया l आज मिति २०८१ जेष्ठ २६ गते शनिबार बारबर्दिया नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ को बार्षिक निती तथा कार्यक्रम एवं बजेट निर्माणका निम्ति सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ ।


उक्त कार्यक्रम नगर प्रमुख छबीलाल थारूको अध्यक्षतामा बारबर्दिया नगरपालिकाको वडा नम्मर ६ मा रहेको जयनगर सामुदायिक सिकाई केन्द्रको सभाहलमा सम्पन्न भयको छ l कार्यक्रममा अतिथिको रुपमा नगर उपप्रमुख रत्ना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, विभिन्न पार्टीका प्रतिनिधि ,वडा अध्यक्षहरु हरुले आशनग्रहण गरेका थिए l

प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले उक्त कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत मन्तब्य दिदै कार्यक्रमबारे स्पस्ट पार्नुभएको थियो l जनताको निम्ति कामगर्ने क्रममा कानुनि रुपमा कस्ता नीति सुधार्नुपर्ने हुन सक्छ र कस्ता कस्ता नीति तथा कार्यक्रमहरु ल्याउदा बारबर्दियाली जनताको उन्नति तथा बारबर्दिया नगरपालिकाको सम्वृद्धि हुन्छ यसबारे लिखित तथा मौखिक रुपमा सल्लाह सुझाब दिन आग्रह गर्दै आफ्नो स्वागत मन्तव्यको अन्त्य गर्नुभयको थियो l

उक्त कार्यक्रमा २५ भन्दा धेरै जनाले सल्लाह सुझाब र गुनासो राख्नु भयको थियो l सुझाव संकलनमा गरिएका गुनासो तथा प्रस्नहरुको प्रतिउत्तर दिदै आगामी दिनमा पालिकाबाट काम गर्ने क्रममा गल्ति भयको रहेछ भने सच्चाउने र सल्लाह सुझाब सकेसम्म कार्यान्वयन गर्ने उप प्रमुख रत्ना कुमारी पाण्डेले आजको कार्यक्रमा मार्फत प्रतिबद्धता समेत गर्नुभयको छ l


सबैको सल्लाह सुझाब संकलन गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा उपस्थित भै सल्लाह सुझाब दिनुहुने प्रति धन्यबाद दिदै सबैको सल्लाह सुझाबलाई मनन गरि स्थानीय सरकारले समेट्न सक्ने बिषय स्थानीय सरकारले समेटने र स्थानीय सरकारले मात्र गर्न नसक्ने कार्यक्रमहरु प्रदेश तथा केन्द्र सरकार सित हातेमालो गरि सकेसम्म सल्लाह सुझाब अनुसार नीति तथा बजेट ल्याउने भन्दै उपस्थित सबैलाई जानकारी गराउनुभयो l आफ्नो अहिले सम्मको २ बर्षे कार्यकालमा सबै नागरिक, राजनीतिक दल संघ संस्थाहरुबाट साथ् सहयोग भयको र बाकि कार्यकालमा पनि सहयोग हुने अपेक्षा सहित उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभयो l

बिज्ञापन-YM-ADCustom Text

समाजसेवी कालीराम थारुको स्मृतिमा शालिक अनावरण

१४  श्रावण  २०८२, रिपोर्टिंग  नेपाल ,बर्दिया   — राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका समाजसेवी स्व. कालीराम थारुको सम्झनामा बारबर्दिया नगरपालिका–५ स्थित मगरागाडी चोकमा नागा पंचमी तथा गुरिया पर्वको अवसर पारि उहाँको शालिक अनावरण गरिएको छ।

नगरपालिकाको आयोजनामा आयोजित विशेष समारोहमा नगरप्रमुख छबिलाल थारुले शालिक अनावरण गर्दै स्व. थारुलाई “समर्पित र जनमुखी समाजसेवी”को रूपमा स्मरण गर्नुभयो। उहाँले भन्नुभयो, “कालीराम थारु कुनै पार्टी विशेषका प्रतिनिधि होइनन्, उनी सम्पूर्ण समाजका सेवक थिए। उहाँको योगदान थारु समुदायदेखि सम्पूर्ण बारबर्दिया नगरवासीका लागि प्रेरणाको स्रोत हो।”

यद्यपि शालिक निर्माण केही सामाजिक सञ्जालमा विवादको विषय बन्यो। आलोचकहरूले नेपाली कांग्रेसले स्थानीय निर्वाचन घोषणापत्रमा दल विशेषका नेताको नाममा शालिक नबनाउने उल्लेख गरेका थिए भन्ने विषय उठाइ समाजसेवी कालिरामको योगदान नबुझी हावाको भरमा मुर्ति बनाउनेकार्य लाई अतिरन्जित गरेका थिए । यसबारे नगरप्रमुख थारुले स्पष्ट पार्दै भन्नुभयो, “यो कुनै पार्टीको शालिक होइन। स्वर्गीय कालीराम थारु एक समाजसेवी हुनुहुन्थ्यो। उहाँको नेतृत्वमा बनाइएको कुलोबाट सयौं किसानले खेतमा सिँचाइ पाएका छन् , उहाको योगदानमा त्यसवेला खनिएको रम्मापुर जयनगर बाटोमा हजारौ जनता हिड्न पाएकाछन् , उहाले निर्माण गरेका स्कुलमा बिद्यार्थी पढिरहेका छन्, यस्ता धेरै योगदानहरु छन् कलिराम थारुको त्यसैले  उहाँलाई संकुचित राजनीतिक दृष्टिले होइन, साझा योगदान दिने सामाजिक व्यक्तित्वका रूपमा हेर्नुपर्छ।”

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टिकानाथ गोसाईले शालिक निर्माणमा १४ लाख ३८ हजार २ सय रुपैयाँ लागत लागेको जानकारी दिनुभयो। शालिक १ सय ९७ किलो तौलको भए पनि सम्झौता १ सय ८० किलोमा भएकाले सोही आधारमा भुक्तानी गरिएको हो। स्तम्भ निर्माण र वरिपरिका सडक पिच कार्यका लागि १५ लाख बजेटमा १४ लाख ६१ हजारमा सम्झौता भई बाँकी कार्य सम्पन्न हुन बाँकी रहेकाले म्याद थप गरिएको बताइएको छ।

वि.सं. १९८४ साल चैत २८ गते जन्मिनु भएका स्व. थारुले वि.सं. २०६१ साल चैत ४ गते निधन हुनु अघि सम्म जनताको सेवा, राजनीतिक जागरण र भौतिक विकासमा निरन्तर योगदान दिनुभयो। २०१२ सालदेखि कुलापानी चौधरीमार्फत राजनीतिमा प्रवेश गरी तीनपटक मगरागाडी गाउँपञ्चायतको प्रधानपञ्च पदमा निर्वाचित भई जनताको सेवा गर्नुभएको थियो।

२०३७ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा ‘छाता’ चिन्ह लिएर उम्मेदवारी दिनुभएका थारुले शिक्षा, सिँचाइ, पुल, मन्दिर, बाँध, कुला, खानेपानी, सडकजस्ता पूर्वाधार निर्माणमा सक्रिय सहभागिता जनाउनुभएको थियो। पश्चिम नेपालको एक ऐतिहासिक धार्मिक स्थल ‘सदाशिव मन्दिर’ पनि उहाँकै नेतृत्व र लगानीमा निर्माण भएको हो।

साँस्कृतिक संरक्षणमा समेत उहाँले विशेष ध्यान दिनु भएको थियो। उहाँको पहलमा परम्परागत भेषभूषा, नाचगान, रीतिरिवाजहरू जोगाइएका थिए। दशैँलगायत चाडपर्वहरूमा उहाँको घरमा सामूहिक जमरा, टीका र सांस्कृतिक जमघट नियमित रूपमा हुने गर्थ्यो।

राजाबाट ‘तक्मा’ र ‘कदरपत्र’ प्राप्त गरेका थारु, बहुदलीय व्यवस्थाको पक्षमा जनमत संग्रहमा सक्रिय सहभागी रहनुभएको थियो।

बारबर्दिया नगरपालिका वडा नम्मर ५ का वडाध्यक्ष लाल बहादुर चौधरी सभाध्यक्ष रहनुभएको उक्त कार्यक्रममा नगर प्रमुख छबिलाल थारु प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशेष अतिथिमा स्व. कलिराम थारुको धर्मपत्नी चीनकी थारु र प्रमुख प्रशासकीय अधिकृत टिकानाथ गोसाई रहनुभएको थियो l , राजनीतिक दल बाट प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसक नगर सभापति सुरेन्द्र बोहोरा, नेकपा माओवादीका नगर अध्यक्ष सुदिन थारु , रास्ट्रीय स्वतन्त्र पार्टीका नगर अध्यक्ष सागर भट्टराई , राप्रपा नगर अध्यक्ष राम भरोसे थारु लगाएत विभिन्न वडाका वडा अध्यक्ष, बडघर समाजसेवी लगायतको उपस्थिति रहेको थियो l

कार्यक्रमका सभाध्यक्ष बारबर्दिया नगरपालिका–५ का वडाध्यक्ष लाल बहादुर थारुले स्व. कालीराम थारु सामाजिक, सांस्कृतिक र भौतिक विकासमा उल्लेखनीय योगदान पुर्‍याएका एक सच्चा समाजसेवी भएको उल्लेख गर्दै उहाँको सम्मानमा शालिक स्थापना गर्नु नगरपालिकाको सराहनीय पहल भएको बताउनुभयो।

शालिक निर्माणलाई लिएर सामाजिक सञ्जालमा उठेका केही आलोचनाप्रति प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “कालीराम थारुजस्तो प्रेरणादायी व्यक्तित्वको जीवन र योगदानको गहिरो अध्ययन नगरी हचुवाको भरमा विरोध गर्नु दुर्भाग्यपूर्ण हो। यस्तो प्रतिक्रिया दिनेहरू कमजोर मानसिकता बोकेका सीमित व्यक्तिहरू मात्र हुन्।”

उहाँले कार्यक्रम समापनको घोषणा गर्दै कालीराम थारुलाई संकुचित राजनीतिक चश्माबाट नभई साझा सामाजिक योगदानको दृष्टिले हेर्नुपर्ने कुरामा जोड दिनुभयो। वडाध्यक्ष लाल बहादुर थारु  वर्तमानमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुनुहुन्छ।

बिज्ञापन-YM-ADCustom Text

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अवरुद्ध

 रिपोर्टिंग नेपाल-२३ श्रावण २०८०, बुटवल

पाल्पाको तिनाउ गाउँपालिका वडा नम्मर ३ रामापिथेकस पार्क क्षेत्रमा माथिबाट ठूलो पहिरो खसेपछि मंगलबार बिहानैदेखि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अवरुद्ध भएको छ |

पहिरो झरेपछि पाल्पा हुँदै बुटवलतर्फ आउने र बुटवलबाट पाल्पा हुँदै विभिन्न जिल्ला जाने सवारी साधनहरु बीचमै रोकिएको छ ।

  सिद्धबाबा सुरुङमार्गको निर्माणाधीन उत्तरतर्फको प्रवेश विन्दु पहिरो झरेको उक्त स्थानमा  सिद्धबाबा सुरुङमार्ग निर्माण कम्पनि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले रिप पोर्टल निर्माण गरिरहेको छ । साउनको पहिलो हप्ता देखि पटक-पटक त्यस स्थानमा पहिरो खस्दा सुरुङमार्गको स्लोप प्रोटेक्सन (रिप पोर्टल) मा क्षति पुर्‍याएको छ ।

पहिरोसँगै ठूलाठूला ढुंगाहरू सडकमा झरेकाले अवरुद्ध सडक खुलाउन केही समय लाग्न सक्ने छ  ।

बिज्ञापन-YM-ADCustom Text

बारबर्दिया नगरपालिकाको गौरवशाली पाइला — ‘पूर्ण खोप सुनिश्चिततामा पुनः पहिलो

जेष्ठ  २०८२ , बर्दिया – रिपोर्टिंग सम्बाददाता  “साना हातमा खोपको सुरक्षा, समर्पित मनमा सेवाको भाव” यिनै शब्दहरू आज बारबर्दिया नगरपालिकामा प्रत्यक्ष अनुभूत भए । बारबर्दियाले पुनः एकपटक ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिकाको रूपमा बर्दियामा पहिलो बन्ने गौरव प्राप्त गर्दै  , स्वास्थ्य सुरक्षामा आफ्नो अडिग प्रतिबद्धता पुष्टि गरेको छ।

आज आइतबार,विशेष समारोहका बीच नगरपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिकाको प्रमाणपत्र प्रदान गरिएको हो। यो उपलब्धि केवल औपचारिकता नभई समुदायको निरन्तर मेहनत, स्वयंसेवकको समर्पण र स्थानीय सरकारको स्पष्ट दृष्टिकोणको प्रतिफल हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका मापदण्ड अनुसार, कुनै पनि पालिकालाई पूर्ण खोप सुनिश्चित घोषित गर्नका लागि आवश्यक छ । १५ महिनाभित्र जन्मेका सबै बालबालिकाले निर्धारित सबै खोप प्राप्त गरिसकेको हुनुपर्छ। एकजना पनि खोपबाट वञ्चित हुन नहुने कडाइ लागू गरिएको छ।

 

बारबर्दिया नगरपालिकाले यी सबै मापदण्डलाई लगातार पालना गर्दै आएको छ। यही आधारमा, पहिलोपटक २०७७ सालमा पूर्ण खोप सुनिश्चित नगर घोषणा भएको बारबर्दियाले त्यसपछि प्रत्येक वर्ष मापदण्ड अनुरूपको मूल्याङ्कनमा सफलता प्राप्त गर्दै आएको छ। यस वर्ष पनि बारबर्दियाले निरन्तरता कायम राख्दै, प्रमाणपत्र प्राप्त गरेर बर्दियामा स्वास्थ्यको क्षेत्रमा उदाहरणीय उचाइमा पुग्न सफल भएको छ।

यस उपलब्धिको अवसरमा आयोजित ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा तथा सम्मान कार्यक्रम’ भावनात्मक र प्रेरणादायी दुवै बन्यो।

समारोहमा नगर प्रमुख छबिलाल थारुको अध्यक्षता थियो भने प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समितिकी उपप्रमुख अमिता कुमारी यादव रहनुभएको थियो। साथै अतिथिहरु  नगर उपप्रमुख रत्ना कुमारी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत टिकानाथ गोसाई, स्वास्थ्य कार्यालय प्रमुख नारायण प्रसाद चौधरी लगायतको उपस्थिति उल्लेखनीय थियो।

कार्यक्रमको शुरुवातमा सामाजिक विकास समिति संयोजक श्यामकुमारी चौधरीले स्वागत मन्तव्य दिइन्। तत्पश्चात दीप प्रज्वलन गर्दै नगर प्रमुख र प्रमुख अतिथिले संयुक्त रूपमा समारोहको उद्घाटन गर्नुभयो।

स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रतिवेदन प्रस्तुत गर्दै मूल्याङ्कनका मापदण्डहरू, यथार्थ अवस्थाहरू, सामना गरिएका चुनौतीहरू र सफलता प्राप्तिका पाटाहरू विस्तृत रूपमा सार्वजनिक गर्नुभयो।

कार्यक्रममा ११ वटै वडाका अध्यक्षहरू, खोप समन्वय समितिका सदस्यहरू, स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू सहभागी थिए। खोप अभियानमा उल्लेखनीय योगदान पुर्याउने महिला स्वास्थ्य स्वयंसेविका र खोप कार्यकर्ताहरूलाई दोसल्ला ओढाई प्रमाणपत्रसहित सम्मान गरिएकोछ ।

कार्यक्रमको सबैभन्दा भावुक र सम्मानजनक क्षण  पाँच जना ६० वर्ष नाघेका महिला स्वास्थ्य स्वयंसेविकाको बिदाइ बन्न पुग्यो ,  ती महिलाहरूले जीवनका दशकौँ समाजसेवामा अर्पण गरे – न त तलबको आश, न त सुविधाको चाहना । उनीहरुको सेवाभाव आज लाखौँको सम्मानमा परिणत भयो।

नगरपालिकाले ती स्वयंसेविकाहरू अम्बिका शाहा (कुम्रागाउँ), पार्वती थरुनी (जब्दहवा), तुलसी देवी सिंह ठकुरी (सिउनिया), कुमारी बिष्ट (औरी), पार्वती देवी सापकोटा (कतारनिया) सबैलाई रु. १/१  लाखको चेक, दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै बिदाइ गर्‍यो।

नगर अस्पताल विकास समितिका अध्यक्ष तीर्थराज पौडेललाई पनि स्वास्थ्य क्षेत्रको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै दोसल्ला ओढाएर सम्मान गरियो।

नगर प्रमुख छबिलाल थारुले भने “यो उपलब्धि हाम्रो स्वास्थ्यकर्मी, स्वयंसेविका, वडा अध्यक्षहरू र सम्पूर्ण नगरवासीको साझा प्रयासको उपज हो। हामी सबै गर्व गर्छौं कि हाम्रो पालिकामा एकजना पनि बालबालिका खोपबाट छुटेका छैनन्।”

उपप्रमुख रत्नकुमारी पाण्डे, जिल्ला स्वास्थ्य प्रमुख नारायणप्रसाद चौधरीले स्वयंसेविकाहरूको समर्पणका साथै पालिकाको यो उपलब्धिको मुक्तकण्ठले प्रशंसा गर्दै भविष्यमा पनि साथ र समर्थन रहने प्रतिबद्धता जनाए।

यस्तै, नगरप्रमुख छबिलाल थारुले ब्यानरमा लेखिएको  प्रतिबद्धता वाचन गरी हस्ताक्षर गरेपछि कार्यक्रमको अन्त्यतिर, सबै सहभागीहरूद्वारा प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गर्दै खोप अभियानको निरन्तरता, समावेशिता र दिगोपनाको संकल्प गरिएको थियो। यो केवल कागजी हस्ताक्षर थिएन , यो थियो, स्वास्थ्यप्रति जनप्रतिनिधि र सेवकहरूको गहिरो उत्तरदायित्वको संकेत।

बारबर्दिया नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको यात्रामा जुन साँचो प्रतिबद्धता देखाएको छ, त्यो अब स्थानीय शासन र सार्वजनिक स्वास्थ्य नीतिबीचको सफल सहकार्यको सजीव उदाहरण बनेको छ।

स्वास्थ्य सेवा केवल औपचारिक कार्यक्रम मात्र होइन, त्यो सधैं अविचल भावनात्मक र मानवीय समर्पणमा आधारित हुने रहेछ भन्ने कुरा आजको समारोहले पुनः पुष्टि गर्‍यो।

बिज्ञापन-YM-ADCustom Text

पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईसँग सीआईबीले बयान लिने

 रिपोर्टिंग नेपाल-२५ श्रावण २०८०,काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिने भएको छ । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुले पनि तत्कालिन सरकार समेतको संलग्नता रहेको बयान दिदा पनि बाबुराम भट्टराई र माधव कुमार लाई अनुसन्धानका लागी  कुनै प्रकृया अगाडी बढाईएको थिएन । हाल सर्बोच्च अदालतले उक्त प्रकरणमा निर्णय गराउने निर्णयकर्तालाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको हुँदा सोहि अनुसार  सीआईवीले पूर्वप्रधानमन्त्रीहरु माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई छानबिन गर्ने भएको छ । सर्बोच्च अदालतको निर्णय पश्चात माधव कुमार नेपाल विदेश भ्रमणमा निस्कियका छन । उक्त प्रकरणमा पूर्व मन्त्रीहरु विजयकुमार गच्छदार,चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठ लगायतलाई  पक्राउ पुर्जी जारी भएको छ ।

बिज्ञापन-YM-ADCustom Text

बारबर्दियामा महिला स्वास्थ्य स्वयंसेविकाको सम्मान–दिवस: २२ उत्कृष्ट स्वयंसेविका पुरस्कृत, १३० जनालाई प्रोत्साहन सामग्री वितरण

१९  मंसिर  २०८२  रिपोर्टिङ नेपाल सम्बाददाता , बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ आज भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय समुदाय, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्वयंसेविकाको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई विशेष बनाएको थियो।

कार्यक्रम ‘स्वस्थ समुदाय निर्माणमा महिला स्वास्थ्य स्वयंसेविकाको अग्रणी भूमिका’ भन्ने मूल नारा सहित  सुरु भयो।  जनचेतनामूलक नारासहित गरिएको  बजार परिक्रमा तथा र्‍यालीमार्फत स्थानीय बासिन्दालाई स्वास्थ्य–सन्देश फैलाइएको थियो।

समुदायमा लामो समयदेखि निस्वार्थ सेवामा समर्पित २२ जना उत्कृष्ट महिला समुदाय स्वास्थ्य स्वयंसेविकालाई कार्यक्रममै नगद, दोसल्ला र प्रमाणपत्रसहित विशेष सम्मान प्रदान गरिएको छ।

स्वास्थ्य शाखाका अनुसार, यी स्वयंसेविकाहरूले मातृ–शिशु स्वास्थ्य, पोषण, खोप, रोग नियन्त्रण र स्वास्थ्य–शिक्षा अभियानमा उल्लेख्य योगदान पुर्‍याउँदै आएका छन्।

त्यस्तै, नगर क्षेत्रमा क्रियाशील १३० जना स्वयंसेविकालाई झोला, छाता र टर्च वितरण गरी उनको निरन्तर सेवा–भावना र समर्पणप्रति कदर गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख छबिलाल थारुले चुनौतीपूर्ण परिस्थितिमा समेत समुदायलाई नजिकबाट सेवा पुर्‍याउने स्वयंसेविकाको भुमिकालाई ‘नगरपालिकाको स्वास्थ्य क्षेत्रको मेरुदण्ड’को रूपमा वर्णन गर्नुभयो।

उहाँले भन्नुभयो—
“बारबर्दिया नगरका स्वास्थ्य सूचकहरू पछिल्ला वर्षहरूमा निरन्तर सुधारिएको छ। यसको श्रेय सबैभन्दा धेरै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई नै जान्छ। उनीहरूको समर्पणलाई थप ऊर्जा दिन नगरपालिका निरन्तर साथ रहनेछ।”

उहाँले आगामी वर्षहरूमा क्षमता अभिवृद्धि तालिम, प्रोत्साहन कार्यक्रम, आवश्यक सामग्री तथा प्राविधिक सहयोग अझ सुदृढ बनाइने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले महिला स्वास्थ्य स्वयंसेविकालाई “समुदाय र स्वास्थ्य संस्थाबीचको जीवित पुल”को संज्ञा दिँदै उनको कार्यक्षमता र भूमिकाको प्रशंसा गर्नुभयो।“घर–आँगनमै पुगेर जोखिम रोकथामदेखि स्वास्थ्य सचेतना अभिवृद्धि गर्नु, मातृ–शिशु स्वास्थ्यमा सुधार ल्याउनु, खोप तथा स्वास्थ्य सेवा पहुँच विस्तार गर्नु—यी सबै क्षेत्रमा स्वयंसेविकाका प्रयास अमूल्य छन्। नगरपालिका सदैव उनीहरूको साथमा हुनेछ।”

प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखले सम्मान पत्र हस्तारण गर्दै

स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेलले स्वयंसेविकाको सक्रियताका कारण केही वर्षयता बारबर्दिया नगरपालिकाको स्वास्थ्य क्षेत्रमा ठोस परिवर्तन देखिएको उल्लेख गर्नुभयो।

उहाँका अनुसार—
“स्वयंसेविकाले कहिल्यै पछि नहट्ने स्वभाव, निरन्तर फाँट–स्तरमा काम गर्ने प्रतिबद्धता र समुदायप्रतिको जिम्मेवारी नै बारबर्दिया नगरको स्वास्थ्य प्रगतिसँग प्रत्यक्ष जोडिएको छ।”

उहाँले सम्मान–कार्यक्रम स्वयंसेविकाको मनोबल अभिवृद्धिमा महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै आगामी वर्षहरूमा पनि यो परम्परा निरन्तर अघि बढाइने जानकारी दिनुभयो।

स्वास्थ्य शाखाले कार्यक्रम सफल बनाउन साथ–सहयोग गर्ने १३० जना स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सरोकारवाला तथा नागरिक सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।

आजको दिवसले बारबर्दियामा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई औपचारिक रूपमा मान्यता दिएको मात्र होइन, उनीहरूको निष्ठा, समर्पण र समुदाय–सेवाप्रतिको दृढतामा पनि नयाँ ऊर्जा भरिदिएको जनाइएको छ।

बिज्ञापन-YM-ADCustom Text

बारबर्दिया–७, रम्मापुरमा पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको भव्य उद्घाटन

बारबर्दिया (बर्दिया), कात्तिक २५ ।
बारबर्दिया नगरपालिका–७, रम्मापुरस्थित श्री जनता माध्यमिक विद्यालयमा आज एक विशेष समारोहका बीच पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८२ सुरु गरिएको छ। उक्त प्रतियोगिताको उद्घाटन प्रदेश सरकारका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले गर्नुभयो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले खेलकुद राष्ट्र र राष्ट्रियताको पहिचानसँग जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताउनुभयो। उहाँले खेलकुदले युवा पुस्तामा अनुशासन, लगनशीलता र आत्मविश्वासको विकास गराउने उल्लेख गर्दै समाजका किसान, मजदुरदेखि भुईँतहका जनताको आवाज माथिसम्म पुर्‍याउने जिम्मेवारी जनप्रतिनिधिहरूको नै भएको बताउनुभयो।

“जनताले गरेको विश्वासलाई मैले कहिल्यै विश्वासघात गर्न सक्दिन। म जनताको सेवकका रूपमा काम गरिरहेको छु,”
जन्मजय तिमिल्सिना, सामाजिक विकासमन्त्री

उहाँले शिक्षा र खेलकुद दुवैलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताउँदै विद्यार्थी खेलाडीहरूलाई अनुशासन र मर्यादामा रही देश र समुदायको नाम उज्यालो पार्ने शुभकामना दिनुभयो।

विद्यालयबाटै राष्ट्रिय खेलाडी जन्मिन्छ’ — प्रमुख जिल्ला अधिकारी हमाल

कार्यक्रमका विशेष अतिथि बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले खेलकुदले केवल खेलाडी मात्र होइन, राष्ट्र र राष्ट्रिय पहिचानलाई पनि चिनाउने माध्यम भएको बताउनुभयो।
उहाँले विद्यालयस्तरमै यस्ता प्रतियोगिताले भावी राष्ट्रिय खेलाडी उत्पादन गर्ने आधार तयार गर्ने उल्लेख गर्दै भन्नुभयो,

“पहिला विद्यालयहरूमा ‘वीरेन्द्र रनिङ शिल्ड’को रूपमा यस्ता प्रतियोगिता सञ्चालन हुन्थ्यो, अहिले ‘राष्ट्रपति रनिङ शिल्ड’को रूपमा निरन्तरता पाइरहेको छ। यस्ता कार्यक्रमहरू नियमित रूपमा भैरहनु आवश्यक छ।”

जितभन्दा ठूलो अनुशासन र मर्यादा हो’ — नगरप्रमुख थारु

कार्यक्रमका सभाध्यक्ष तथा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले विद्यालयस्तरका यस्ता प्रतियोगिताले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यार्थी खेलाडीहरूलाई जितभन्दा बढी अनुशासन, सहयोग र मर्यादामा ध्यान दिन आग्रह गर्दै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षप्रति आभार प्रकट गर्नुभयो।

समारोहमा विद्यार्थीहरूले आकर्षक मार्चपास, मार्सल आर्टको प्रदर्शन, क्लबले सांस्कृतिक थारु गीत र स्थानीय तथा राष्ट्रिय लोकप्रिय कलाकार कमल बिसी माल्दाइले  आफ्प्रनो कला प्रस्तुत गरेका थिए।

१६ विद्यालय सहभागी, खेलकुद कार्यक्रम कार्तिक २९ सम्म

बारबर्दिया नगरपालिकाको आयोजनामा र जनता माध्यमिक विद्यालय, रम्मापुरको संयोजनमा सञ्चालन भइरहेको यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १६ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरू सहभागी भएका छन्।
पहिलो दिन ८ सय मिटर दौड प्रतियोगिता सम्पन्न गरिएको छ भने भोलिदेखि भलिबल, कबड्डी, हाईजम्प, लङजम्प, सटपुट लगायतका खेलहरू सञ्चालन हुने जनाइएको छ। प्रतियोगिता कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सामाजिक विकासमन्त्री, सुरक्षा निकायका प्रतिनिधि, राजनीतिक दलका सदस्य, शिक्षक, बुद्धिजीवी, पत्रकार तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति थियो। उद्घाटन समारोह रंगीन झाँकी, विद्यार्थीहरूको जोशपूर्ण सहभागिता र खेलकुदमय वातावरणले भरिएको थियो।

बिज्ञापन-YM-ADCustom Text

इलाका प्रहरी कार्यालय, जयनगरको भवन लुम्बिनी प्रदेश प्रहरी प्रमुख द्वारा समुदघाटन

२० बैशाख २०८१, बर्दिया | चक्र अविरल | ईलाका प्रहरी कार्यालय जयनगर बर्दियाको नवनिर्मित भवन समुदघाटन कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि लुम्बिनि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक कुबेर कडायतले रिवन काटेर भवन उदघाटन गर्नुभएको हो । लुम्बिनि प्रदेश सरकारको नियमित बजेट अन्तर्गत निर्माण गरिएको उक्त भवन एम पि कन्ट्रक्सन बाँकेले ठेक्का पाएको थियो ।

करिव पाँच कठ्ठामा अवस्थित आफ्नै जग्गामा निर्माण भएको कार्यालयको उदघाटन कार्यक्रममा विशिष्ठ अतिथिहरु बर्दिया जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारि रोशन कुमार कठायत , बारबर्दिया नगरपालिकाको उपप्रमुख रत्ना कुमारी पाण्डे लगाएत अतिथि वक्ता हरुले शुभकामना मन्तव्य दिनुभएको थियो ।

मन्तव्य दिँदै उपप्रमुखले बारबर्दिया राजनितिक र भौगोलिक आधारमा अलग अलग हुँदा इलाकाको सेवा क्षेत्र विभाजन हुनु परेको र जनतालाई सास्ति खेप्नु परेको गुनासो समेत गर्नु भयो उहाँले इलाका प्रहरी कार्यालय जयनगर ले नै यस नगरपालिका को ११ वटै वडामा सेवा दिने वातावरण मिलाउन प्रहरी नायव महानिरिक्षक समक्ष अनुरोध गर्नु भयो । बारबर्दिया नगरपालिका का प्रमुख प्रशाशकिय अधिकृत धर्मराज न्यौपाने , जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरिक्षक प्रविण धिताल , शशस्त्र प्रहरी बल ३१ नम्मर गण हेडक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक चित्राङ्गत दाहाल , राष्ट्रीय अनुसन्धान कार्यालय बर्दियाका उप अनुसन्धान निर्देशक पवन जोशि , बज्र दल गुल्म बर्दियाका सेनानि सुबोध कुवँर , लुम्बिनि प्रदेश प्रहरी कार्यालय टि एस टि प्रमुख प्रा. ना. उ. इ. रोशन सारु , शशस्त्र प्रहरी बल व्यस क्याम्प कतर्निया बर्दियाका प्रमुख स. प्र. ना. उ. छवि रावत , पुर्व प्रहरी बर्दिया का अध्यक्ष टंक बहादुर थापा लगाएत का व्यक्तिहरुको उपस्थितिका बीच उदघाटन गरिएको उक्त कार्यालयबाट आजै देखि नै सेवा सुचारु गरिएको छ ।

स्थानिय ठग्गु लाल शर्माले तिन कट्ठा जग्गा दान गर्नु भएपछि भवन निर्माण गरि सेवा सुचारु गर्दै आएको कार्यालय सशस्त्र द्वन्दकालमा ध्वस्त गरिए पछि बारबर्दिया नगरपालिकाको बानिया भारबाट सेवा दिँदै आएको थियो । हाल ठग्गु लाल शर्माले त्यस समयमा दान दिएको जग्गा सङ्गै सार्बजनिक जग्गा सहित करिब ५ कट्ठामा कार्यालय स्थापना गरिएको छ ।

जग्गादान गर्ने ठग्गु लाल शर्मा सहित उत्कृष्ट प्रहरी कर्मचारीहरु प्रहरी निरीक्षक मनिष श्रेष्ठ , प्रहरी नायब निरीक्षक शशी वली , प्रहरी जवान लक्ष्मण सुनारलाइ उक्त कार्यक्रममा प्रमुख अतिथि द्वारा सम्मान गरियको थियो ।

समारोहमा बोल्दै प्रमुख अतिथि लुम्बिनि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक कुबेर कडायतले यस कार्यालयले छिटो छरितो र उत्कृष्ट सेवा दिनेमा आफु विश्वस्त रहेको बताउनु भयो । सुचना बिना प्रहरी एक्लैले केहि गर्न नसक्ने र सुचकको नाम गोप्य राखिने हुँदा समाजमा घटेका घटनाहरुलाई सुचना गरि प्रहरी लाई सहयोग गर्न सबैमा अनुरोध गर्नु भयो ।

करिव तिन बजे बाट सुरु गरिएको उक्त समारोहमा प्रमुख अतिथि तथा विशिष्ट अतिथि लगायतले वृक्षारोपण समेत गरेका थिए । प्रमुख अतिथि लुम्बिनि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक कुबेर कडायतले नव निर्मित भवनको उदघाटन सङ्गै अवलोकन समेत गर्नुभएको उक्त समुदघाटन कार्यक्रममा संचालकको भूमिका इलाका प्रहरी कार्यालय बानियाँभारका कार्यालय प्रमुख प्रहरी निरिक्षक मनिष श्रेष्ठ ले निर्वाह गर्नुभयको थियो ।

बिज्ञापन-YM-ADCustom Text

बारबर्दिया नगरपालिकामा सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम सुरु

१२ भाद्र २०८२ / बारबर्दिया — बारबर्दिया नगरपालिकामा सामुदायिक स्वास्थ्य तथा नर्सिङ सेवा घरदैलो कार्यक्रम सञ्चालनका लागि तीनदिने नव नियुक्त नर्सहरुको अभिमुखिकरण र सेवा प्रवेश तालिम सुरु भएको छ। भाद्र १२ गतेदेखि १४ गतेसम्म नगरकार्यपालिका हलमा हुने तालिमको आयोजना नगरपालिका स्वास्थ्य शाखा, जयनगरले गरेको हो भने सहजीकरण नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, टेकु, काठमाडौंले गरेको छ।

नेपालकै छैठौं नर्सिङ कार्यक्रमको रुपमा सुरु भएको यस अभियान अन्तर्गत बारबर्दियामा १४ जना नर्स नियुक्त भएका छन्। यसमा ११ जना सामुदायिक नर्स, २ जना विद्यालय नर्स र १ जना सामुदायिक नर्स अधिकृत रहेका छन्। नियुक्त नर्सहरु नगरपालिकाका सबै ११ वटै वडामा पुगेर स्वास्थ्य सेवा प्रदान गर्नेछन्। विद्यालय नर्सहरुले किशोरी विद्यार्थीलाई लक्षित गर्दै जनता माध्यमिक विद्यालय रम्मापुर र धर्मभक्त माध्यमिक विद्यालय कतर्नियामा स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसका लागि नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, नगरपालिका र विद्यालयबीच त्रिपक्षीय सम्झौता भएको छ।

तालिमको उद्घाटन समारोहमा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिराकुमारी निरौलाले विद्यालय र सामुदायिक स्वास्थ्य सेवाको महत्वबारे प्रकाश पार्दै भन्नुभयो, “नर्सहरुको भूमिका समुदायमा स्वास्थ्य सेवाको पहुँच बढाउन र स्वास्थ्य सचेतना फैलाउन अत्यन्त महत्वपूर्ण छ। सुरक्षित मातृत्व, बाल–किशोर स्वास्थ्य, मानसिक स्वास्थ्य र रोग नियन्त्रणमा उनीहरुको योगदान अमूल्य हुनेछ।”

वरिष्ठ अस्पताल नर्सिङ प्रशासक वाला राईले स्थानीय तहस्तरमा प्रभावकारी समन्वय र समितिको भूमिकाको महत्वबारे धारणा राख्दै भन्नुभयो, “सामुदायिक नर्सको कार्य प्रभावकारी हुन स्थानीय समुदाय, विद्यालय र नगरपालिकाबीचको सहकार्य आवश्यक छ। त्रिपक्षीय सम्झौता यस कार्यलाई थप बलियो बनाउनेछ।”

सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम परिवार केन्द्रित अवधारणामा आधारित छ। यस अन्तर्गत नर्सहरुले स्वास्थ्य परीक्षण, उपचार, स्वास्थ्य शिक्षा, रोग रोकथाम र व्यवहार परिवर्तनका कार्यक्रम घरमै पुगेर सञ्चालन गर्नेछन्। कार्यक्रमले मातृ–शिशु स्वास्थ्य, किशोर–किशोरी स्वास्थ्य, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, सर्ने तथा नसर्ने रोग नियन्त्रण तथा जेष्ठ नागरिक स्वास्थ्य सेवा विस्तारमा विशेष योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

यसअघि भक्तपुर, वर्दिबास, चन्द्रागिरी, वालिङ र इटहरीमा लागू भइसकेको यो कार्यक्रम चालु आर्थिक वर्षदेखि बारबर्दिया नगरपालिकामा औपचारिक रूपमा सुरु गरिएको हो। नगरपालिकाले यस अभियान मार्फत स्थानीय जनतामा स्वास्थ्य सम्बन्धी चेतना बढाउने र गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

उद्घाटन कार्यक्रममा नगरप्रमुख छबिलाल थारुले शिक्षा र स्वास्थ्यलाई सामाजिक विकासको मुख्य आधारका रूपमा प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो,
“स्वस्थ र सुसक्षम समाज निर्माण गर्न शिक्षा र स्वास्थ्य दुवै स्तम्भलाई मजबुत बनाउनु आवश्यक छ। विद्यालय र समुदायमा नर्सिङ सेवा उपलब्ध गराउनु भनेको हाम्रो समाजको भविष्य सुरक्षित बनाउने कदम हो। बारबर्दियाका सबै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने अधिकार राख्छन्। नगरपालिकाले नर्सहरुको उच्च मनोबल कायम राख्न र प्रभावकारी सेवा विस्तारमा निरन्तर साथ दिनेछ।”

मेयर थारुले नर्सहरुलाई आफ्नो जिम्मेवारी उच्च मनोबलसहित निर्वाह गर्न प्रेरित गर्दै, नगरपालिकासँग सहकार्य र सहयोगका लागि नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखालाई धन्यवाद ज्ञापन गर्नुभयो। 

नगरपालिकाले यस कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय स्वास्थ्य समिति, विद्यालय, परिवार र समुदायसँग सहकार्यमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएको छ। तालिममा सहभागी नर्सहरुले आगामी दिनमा आफ्नो कार्य प्रभावकारी बनाउन आवश्यक ज्ञान, सीप र व्यवहारिक अभ्यास प्राप्त गर्नेछन्।

यस कार्यक्रमको सफल कार्यान्वयनले बारबर्दियामा मातृ–शिशु स्वास्थ्य, किशोर–किशोरी स्वास्थ्य, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य र समुदायमा रोग नियन्त्रण सेवा विस्तारमा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

बिज्ञापन-YM-ADCustom Text

बच्चा जन्माउने क्रममा आमाको मृत्यु : धर्मेश्वर अस्पतालले समयमै रिफर नगरेको परिवारको आरोप, प्राइम अस्पतालमा पुगेपछि मृत घोषणा

रिपोर्टिंङ नेपाल – २०८३ भदौ १८ गते मंगलबार

बच्चा जन्माउने क्रममा आमाको मृत्यु : धर्मेश्वर अस्पतालले समयमै रिफर नगरेको परिवारको आरोप, विराटनगर पुगेपछि मृत घोषणा

सप्तरी । कैलाश माझी

सप्तरीको सप्तकोशी नगरपालिका–११, भगनीकी २९ वर्षीया पुष्पा देवी खड्गाको प्रसूति उपचारका क्रममा मृत्यु भएपछि कञ्चनरूप नगरपालिका–१२ स्थित धर्मेश्वर अस्पतालको उपचार प्रक्रिया र बिरामीलाई गरिएको रिफरललाई लिएर गम्भीर प्रश्न उठेको छ।

भदौ १६ गते मंगलबार बिहान बच्चा जन्माउन धर्मेश्वर अस्पताल पुगेकी पुष्पाको शल्यक्रियापछि स्वास्थ्य अवस्था बिग्रिएको र राति मात्र उनलाई विराटनगरस्थित प्राइम अस्पतालमा रिफर गरिएको परिवारले जनाएको छ। परिवारका अनुसार प्राइम अस्पताल पुर्‍याउँदा चिकित्सकले पुष्पालाई मृत घोषणा गरेका थिए।

परिवारका अनुसार मंगलबार बिहान करिब २ बजे पेट दुखेपछि पुष्पालाई धर्मेश्वर अस्पताल लगिएको थियो। सामान्य प्रसूतिबाट बच्चा जन्माउन सम्भव नभएको भन्दै चिकित्सकले शल्यक्रिया गर्नुपर्ने बताएपछि उनको अप्रेसन गरिएको थियो।

परिवारको भनाइअनुसार बिहान करिब ४ बजे शल्यक्रिया सकिएको थियो। तर, शल्यक्रियापछि पनि पुष्पाको स्वास्थ्य अवस्था सामान्य नरहेको भन्दै परिवारले चिन्ता व्यक्त गरेको थियो।

यही अवस्थामा परिवारले अस्पतालको उपचार निर्णयमाथि गम्भीर प्रश्न उठाएको छ।

अवस्था गम्भीर थियो भने करिब ६ घण्टासम्म किन रिफर गरिएन ?

परिवारका अनुसार बिहान करिब ४ बजे शल्यक्रिया सकिएपछि राति करिब १० बजे मात्र पुष्पालाई थप उपचारका लागि विराटनगर रिफर गरिएको थियो।

यसबीचको करिब ६ घण्टाको अवधिमा बिरामीको अवस्था कस्तो थियो ?

यदि शल्यक्रियापछि बिरामीको अवस्था गम्भीर बन्दै गएको थियो भने समयमै उच्चस्तरीय उपचार सुविधा भएको अस्पतालमा रिफर किन गरिएन ?

यदि धर्मेश्वर अस्पतालमै आवश्यक उपचार सम्भव थियो भने राति करिब १० बजे आएर विराटनगर रिफर गर्नुपर्ने अवस्था किन सिर्जना भयो ?

र, यदि रिफर गर्नुपर्ने अवस्था पहिल्यै पहिचान भएको थियो भने बिरामीलाई घण्टौंसम्म अस्पतालमै राख्नुको चिकित्सकीय आधार के थियो ?

यी प्रश्नको जवाफ अब अस्पताल प्रशासन र उपचारमा संलग्न चिकित्सकबाट खोजिनुपर्ने देखिन्छ।

रिफर गरिएको अस्पतालले नै मृत घोषणा गरेको परिवारको भनाइ

परिवारका अनुसार धर्मेश्वर अस्पतालबाट राति करिब १० बजे प्राइम अस्पताल विराटनगरतर्फ रिफर गरिएकी पुष्पालाई त्यहाँ पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी दिएका थिए।

यसले रिफर गर्ने समय र बिरामीको वास्तविक स्वास्थ्य अवस्थाबारे थप प्रश्न उठाएको छ।

बिरामीलाई रिफर गर्ने निर्णय लिनुअघि धर्मेश्वर अस्पतालले उनको स्वास्थ्य अवस्था कुन स्तरमा पुगेको मूल्यांकन गरेको थियो ? रिफर गर्नुअघि अस्पतालमै के–कस्ता उपचार तथा जीवनरक्षाका प्रयास गरिएका थिए ?

यी विषय मेडिकल अभिलेख, उपचार विवरण र रिफरल नोटबाट स्पष्ट हुनुपर्ने देखिन्छ।

शल्यक्रिया गर्ने चिकित्सकमाथि पनि प्रश्न

परिवारका अनुसार पुष्पाको शल्यक्रिया स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. वसन्त साहले गरेका थिए।

अब शल्यक्रियाका क्रममा के समस्या उत्पन्न भयो, शल्यक्रियापछि बिरामीको स्वास्थ्यमा के परिवर्तन आयो, त्यसको व्यवस्थापन कसरी गरियो र बिरामीलाई तत्काल अन्य अस्पतालमा लैजानुपर्ने अवस्था कहिले पहिचान भयो भन्ने विषय छानबिनको दायरामा आउनुपर्ने देखिन्छ।

तर, पुष्पाको मृत्यु चिकित्सकीय लापरवाहीकै कारण भएको हो भन्ने निष्कर्ष अनुसन्धान र प्रमाणबिना निकाल्न भने मिल्दैन।

नवजात शिशु बाँच्यो, आमाको काख गुम्यो

पुष्पाको शल्यक्रियाबाट नवजात शिशुको ज्यान जोगिए पनि आमाको भने मृत्यु भएको परिवारले जनाएको छ।

हाल नवजात शिशुलाई विराटनगरस्थित विराट नर्सिङ होममा गैर–आईसीयूमा राखेर उपचार भइरहेको परिवारको भनाइ छ। पुष्पाका दुई छोरा पनि छन्।

बच्चा जन्मिएसँगै घरमा खुसीको वातावरण बन्नुपर्ने समयमा परिवारमा भने शोक छाएको छ। नवजात शिशुले जन्मिएको केही समयमै आमाको काख गुमाएको छ भने उनका दुई छोराले समेत आमाको साथ गुमाएका छन्।

पोस्टमार्टम र मेडिकल रेकर्डबाट खुल्नुपर्ने वास्तविकता

पुष्पाको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीले जनाएको छ।

अब पोस्टमार्टम रिपोर्टसँगै धर्मेश्वर अस्पतालको मेडिकल रेकर्ड, शल्यक्रिया रिपोर्ट, परीक्षणका नतिजा, औषधि तथा उपचार विवरण र रिफरल कागजातसमेत अध्ययन गर्नुपर्ने देखिन्छ।

विशेषगरी शल्यक्रिया सकिएको समयदेखि रिफर गर्दासम्मको करिब ६ घण्टामा बिरामीको अवस्था कसरी परिवर्तन भयो र के–कस्ता उपचार गरियो भन्ने विषय घटनाको अनुसन्धानका लागि महत्वपूर्ण हुने देखिन्छ।

परिवारको माग : सत्यतथ्य सार्वजनिक गरियोस्

घटनापछि परिवार तथा स्थानीयवासीले पुष्पाको मृत्युको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

उनीहरूको माग छ—मृत्युको वास्तविक कारण पत्ता लगाइयोस्, उपचारको सम्पूर्ण प्रक्रिया छानबिन गरियोस् र यदि उपचारमा कुनै कमजोरी वा लापरवाही प्रमाणित भएमा सम्बन्धित पक्षलाई कानुनअनुसार कारबाही गरियोस्।

पुष्पाको मृत्यु स्वाभाविक चिकित्सकीय जटिलताका कारण भएको हो वा उपचार प्रक्रियामा भएको कुनै कमजोरीले भूमिका खेलेको हो भन्ने कुरा अनुसन्धानपछि मात्र स्पष्ट हुनेछ।

तर एउटा प्रश्न भने गम्भीर रूपमा उठेको छ—

शल्यक्रिया बिहान ४ बजे सकिएको अवस्थामा बिरामीलाई थप उपचार आवश्यक थियो भने राति १० बजेसम्म किन पर्खाइयो ?

रिफर गर्ने अवस्था पहिले नै देखिएको थियो भने समयमै किन रिफर गरिएन ?

अन्ततः विराटनगरको अस्पतालले बिरामीलाई मृत घोषणा गर्नुपर्ने अवस्था आउनुअघि धर्मेश्वर अस्पतालमा बिरामीलाई बचाउन के–कस्ता प्रयास गरिएका थिए ?

यी प्रश्नको जवाफ अब मेडिकल अभिलेख, पोस्टमार्टम रिपोर्ट र निष्पक्ष छानबिनबाट सार्वजनिक हुनुपर्ने देखिन्छ।

बिज्ञापन-YM-ADCustom Text

बिज्ञापन

Custom Text

भर्खरै राखिएको