
बर्दिया,२०८३ कार्तिक , २० ।
किशोरकिशोरीको स्वास्थ्य, शिक्षा तथा अधिकार संरक्षणमा केन्द्रित किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना (ASRHR) को दोस्रो चरणअन्तर्गत सन् २०२६ को वार्षिक समीक्षा कार्यक्रम बारबर्दिया नगरपालिकामा सम्पन्न भएको छ।
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (KOICA) को आर्थिक सहयोग, प्लान इन्टरनेसनलको साझेदारी तथा राधाकृष्ण थारू जनसेवा केन्द्र (RKJS), गुलरिया–५, बर्दियाको कार्यान्वयनमा बारबर्दिया नगरपालिकासँग समन्वय र सहकार्य गरी सञ्चालित परियोजनाको वार्षिक समीक्षा कात्तिक १९ गते गरिएको हो।
कार्यक्रममा सन् २०२६ का गतिविधि, आर्थिक प्रगति, उपलब्धि र चुनौतीसँगै परियोजनाको तीनवर्षे अवधिमा भएका काम तथा आगामी योजनाबारे जानकारी गराइएको थियो।
परियोजनाको तीनवर्षे अवधिमा बारबर्दिया नगरपालिकाका २१ सामुदायिक विद्यालय र १९ सार्वजनिक स्वास्थ्य संस्थामा किशोरकिशोरीको स्वास्थ्य, शिक्षा तथा अधिकार संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ।
परियोजनामार्फत विद्यालयमा बृहत् यौनिकता शिक्षा, शिक्षक तथा स्वास्थ्यकर्मीलाई तालिम, किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा विस्तार, सूचना कक्ष स्थापना, अपाङ्गतामैत्री शौचालय तथा महिनावारी आराम कक्षजस्ता पूर्वाधार विकासका काम गरिएको कार्यक्रममा प्रस्तुत गरिएको थियो।
त्यसैगरी किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा भवन निर्माण, स्वास्थ्य संस्थामा परामर्श सेवाको सुदृढीकरण, अभिभावक तथा समुदायमा सचेतना विस्तार र अन्तरपुस्ता संवादमार्फत किशोरकिशोरीको स्वास्थ्य तथा अधिकारप्रतिको बुझाइ अभिवृद्धि गर्ने प्रयास गरिएको छ।
कार्यक्रममा प्रस्तुत विवरणअनुसार विद्यालयमा बृहत् यौनिकता शिक्षाको पहुँच विस्तार, साथी शिक्षकको परिचालन, स्वास्थ्यकर्मीको क्षमता विकास तथा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवाको मूल्याङ्कनजस्ता गतिविधिसमेत सञ्चालन गरिएका छन्।
सन् २०२६ को आर्थिक विवरणअनुसार परियोजनाका लागि विनियोजित ८६ लाख ७९ हजार ४५४ रुपैयाँमध्ये ८६ लाख ४२ हजार ४१९ रुपैयाँ खर्च भएको जानकारी गराइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि एवं बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारुले नगरको शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा कोइका, प्लान इन्टरनेसनल र राधाकृष्ण थारू जनसेवा केन्द्रलगायतका विभिन्न संस्थाहरूले नगरपालिकासँगको सहकार्यमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले परियोजनाअन्तर्गत भएका काम कागजमा मात्र सीमित नभई विद्यालय, स्वास्थ्य संस्था र समुदायमा प्रत्यक्ष देखिने गरी कार्यान्वयन भएको उल्लेख गर्दै यस्ता परिणाममुखी कार्यक्रमले नगरपालिकाको विकासमा महत्वपूर्ण सहयोग पुर्याएको बताउनुभयो। नगरपालिकाको आवश्यकता र नागरिकको हितलाई केन्द्रमा राखेर परिणाममुखी काम गर्ने सबै संघसंस्थासँग सहकार्य गर्न नगरपालिका सकारात्मक रहेको उहाँको भनाइ थियो।

साझेदारी र सहकार्यबाट सञ्चालित कार्यक्रमहरूको सकारात्मक परिणाम प्रत्यक्ष रूपमा देखिन थालेको उल्लेख गर्दै उहाँले साझेदार संस्थाहरूको सहयोगमा निर्माण भएका भौतिक पूर्वाधार तथा विकास गरिएका सेवा–सुविधाको संरक्षण, प्रभावकारी सञ्चालन र निरन्तरताको जिम्मेवारी नगरपालिकाले लिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। साथै, प्राप्त उपलब्धिहरूको संस्थागत स्वामित्व ग्रहण गर्दै तिनलाई दीर्घकालीन रूपमा दिगो बनाइने बताउनुभएको थियो।
त्यसैगरी, नगर उपप्रमुख रत्न पाण्डेले विकास साझेदारहरूको सहकार्यमा सञ्चालित कार्यक्रमहरूले नगरपालिकाको सामाजिक विकास र सेवा प्रवाहमा महत्त्वपूर्ण टेवा पुर्याएको बताउनुभयो। जनप्रतिनिधिको कार्यकाल सीमित भए पनि सरकारमा जोसुकै आए पनि नागरिकको हित र नगरको समग्र विकाससँग जोडिएका यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले परियोजनामार्फत हासिल भएका उपलब्धिहरूको सराहना गर्दै सहयोगी तथा साझेदार निकायहरूप्रति आभार व्यक्त गर्नुभयो। स्थानीय सरकार र विकास साझेदारबीचको आपसी समन्वय तथा सहकार्यले विकासका प्रयासलाई थप प्रभावकारी बनाउने विश्वाससमेत व्यक्त गर्नुभयो।
कार्यक्रमका सभाध्यक्ष एवं राधाकृष्ण थारू जनसेवा केन्द्रका कोषाध्यक्ष यज्ञराज पोखरेलले परियोजना सञ्चालनका क्रममा बारबर्दिया नगरपालिकाबाट प्राप्त सहयोग, समन्वय तथा सहज कार्य वातावरणप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रमका सभाध्यक्ष एवं राधाकृष्ण थारू जनसेवा केन्द्रका कोषाध्यक्ष यज्ञराज पोखरेलले परियोजना सफलतापूर्वक सञ्चालन गर्न नगरपालिकाबाट प्राप्त साथ, सहयोग र अनुकूल कार्य वातावरणप्रति आभार व्यक्त गर्नुभयो। उहाँले समुदायका आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राख्दै आगामी दिनमा पनि इमानदारी, जिम्मेवारी र प्रतिबद्धताका साथ विकासमूलक कार्यक्रमहरू अघि बढाउने बताउनुभयो। साथै, सम्भव भएसम्म परियोजनाको तेस्रो चरणसमेत सञ्चालन गरी हालसम्म हासिल भएका उपलब्धिहरूलाई थप विस्तार र दिगोपन दिने संस्थाको चाहना रहेको उल्लेख गर्नुभयो।
समीक्षा कार्यक्रममा परियोजनाका उपलब्धिसँगै कार्यान्वयनका क्रममा देखिएका चुनौती र तिनको समाधानका लागि अपनाइएका रणनीतिबारे पनि जानकारी गराइएको थियो। समुदायको सहभागिता, विद्यालय र स्वास्थ्य संस्थाबीचको समन्वय, स्थानीय सरकारको अपनत्व तथा सेवाको दिगोपनालाई आगामी दिनका महत्वपूर्ण प्राथमिकताका रूपमा प्रस्तुत गरिएको थियो।

किशोरकिशोरीको स्वास्थ्य र अधिकार संरक्षणमा भएका उपलब्धिलाई दीर्घकालीन रूपमा संस्थागत गर्न स्थानीय सरकार, समुदाय र विकास साझेदारबीचको निरन्तर सहकार्य आवश्यक रहेको सन्देशसहित कार्यक्रम सम्पन्न भएको हो। — रिपोर्टिङ नेपाल, बर्दिया
















