
१२ भाद्र २०८२ / बारबर्दिया — बारबर्दिया नगरपालिकामा सामुदायिक स्वास्थ्य तथा नर्सिङ सेवा घरदैलो कार्यक्रम सञ्चालनका लागि तीनदिने नव नियुक्त नर्सहरुको अभिमुखिकरण र सेवा प्रवेश तालिम सुरु भएको छ। भाद्र १२ गतेदेखि १४ गतेसम्म नगरकार्यपालिका हलमा हुने तालिमको आयोजना नगरपालिका स्वास्थ्य शाखा, जयनगरले गरेको हो भने सहजीकरण नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, टेकु, काठमाडौंले गरेको छ।
नेपालकै छैठौं नर्सिङ कार्यक्रमको रुपमा सुरु भएको यस अभियान अन्तर्गत बारबर्दियामा १४ जना नर्स नियुक्त भएका छन्। यसमा ११ जना सामुदायिक नर्स, २ जना विद्यालय नर्स र १ जना सामुदायिक नर्स अधिकृत रहेका छन्। नियुक्त नर्सहरु नगरपालिकाका सबै ११ वटै वडामा पुगेर स्वास्थ्य सेवा प्रदान गर्नेछन्। विद्यालय नर्सहरुले किशोरी विद्यार्थीलाई लक्षित गर्दै जनता माध्यमिक विद्यालय रम्मापुर र धर्मभक्त माध्यमिक विद्यालय कतर्नियामा स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसका लागि नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, नगरपालिका र विद्यालयबीच त्रिपक्षीय सम्झौता भएको छ।

तालिमको उद्घाटन समारोहमा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिराकुमारी निरौलाले विद्यालय र सामुदायिक स्वास्थ्य सेवाको महत्वबारे प्रकाश पार्दै भन्नुभयो, “नर्सहरुको भूमिका समुदायमा स्वास्थ्य सेवाको पहुँच बढाउन र स्वास्थ्य सचेतना फैलाउन अत्यन्त महत्वपूर्ण छ। सुरक्षित मातृत्व, बाल–किशोर स्वास्थ्य, मानसिक स्वास्थ्य र रोग नियन्त्रणमा उनीहरुको योगदान अमूल्य हुनेछ।”
वरिष्ठ अस्पताल नर्सिङ प्रशासक वाला राईले स्थानीय तहस्तरमा प्रभावकारी समन्वय र समितिको भूमिकाको महत्वबारे धारणा राख्दै भन्नुभयो, “सामुदायिक नर्सको कार्य प्रभावकारी हुन स्थानीय समुदाय, विद्यालय र नगरपालिकाबीचको सहकार्य आवश्यक छ। त्रिपक्षीय सम्झौता यस कार्यलाई थप बलियो बनाउनेछ।”
सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम परिवार केन्द्रित अवधारणामा आधारित छ। यस अन्तर्गत नर्सहरुले स्वास्थ्य परीक्षण, उपचार, स्वास्थ्य शिक्षा, रोग रोकथाम र व्यवहार परिवर्तनका कार्यक्रम घरमै पुगेर सञ्चालन गर्नेछन्। कार्यक्रमले मातृ–शिशु स्वास्थ्य, किशोर–किशोरी स्वास्थ्य, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, सर्ने तथा नसर्ने रोग नियन्त्रण तथा जेष्ठ नागरिक स्वास्थ्य सेवा विस्तारमा विशेष योगदान पुर्याउने लक्ष्य राखेको छ।
यसअघि भक्तपुर, वर्दिबास, चन्द्रागिरी, वालिङ र इटहरीमा लागू भइसकेको यो कार्यक्रम चालु आर्थिक वर्षदेखि बारबर्दिया नगरपालिकामा औपचारिक रूपमा सुरु गरिएको हो। नगरपालिकाले यस अभियान मार्फत स्थानीय जनतामा स्वास्थ्य सम्बन्धी चेतना बढाउने र गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
उद्घाटन कार्यक्रममा नगरप्रमुख छबिलाल थारुले शिक्षा र स्वास्थ्यलाई सामाजिक विकासको मुख्य आधारका रूपमा प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो,
“स्वस्थ र सुसक्षम समाज निर्माण गर्न शिक्षा र स्वास्थ्य दुवै स्तम्भलाई मजबुत बनाउनु आवश्यक छ। विद्यालय र समुदायमा नर्सिङ सेवा उपलब्ध गराउनु भनेको हाम्रो समाजको भविष्य सुरक्षित बनाउने कदम हो। बारबर्दियाका सबै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने अधिकार राख्छन्। नगरपालिकाले नर्सहरुको उच्च मनोबल कायम राख्न र प्रभावकारी सेवा विस्तारमा निरन्तर साथ दिनेछ।”
मेयर थारुले नर्सहरुलाई आफ्नो जिम्मेवारी उच्च मनोबलसहित निर्वाह गर्न प्रेरित गर्दै, नगरपालिकासँग सहकार्य र सहयोगका लागि नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखालाई धन्यवाद ज्ञापन गर्नुभयो।
नगरपालिकाले यस कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय स्वास्थ्य समिति, विद्यालय, परिवार र समुदायसँग सहकार्यमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएको छ। तालिममा सहभागी नर्सहरुले आगामी दिनमा आफ्नो कार्य प्रभावकारी बनाउन आवश्यक ज्ञान, सीप र व्यवहारिक अभ्यास प्राप्त गर्नेछन्।
यस कार्यक्रमको सफल कार्यान्वयनले बारबर्दियामा मातृ–शिशु स्वास्थ्य, किशोर–किशोरी स्वास्थ्य, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य र समुदायमा रोग नियन्त्रण सेवा विस्तारमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।
















