
१७ असार २०८२, रिपोर्टिंग नेपाल, यशु केसी
जयनगरमा रहेको द भ्वाइस एकेडेमी विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि अन्तरक्रिया तथा अभिभावक सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। २०६४ सालमा स्थापना भएको यस विद्यालयले शिक्षासँगै खेलकुद, सिर्जनात्मक कार्यक्रम तथा सामाजिक उत्तरदायित्वलाई समेट्दै उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै आएको छ। विद्यालयले पहिलो पटक २०८१ सालको एसइई परीक्षामा बर्दिया जिल्लाकै इतिहासमा पहिलो ४ GPA हासिल गर्न सफल भई जिल्लालाई गौरवपूर्ण उपलब्धि दिलाएको छ।
कार्यक्रमको शुभारम्भ विद्यालयका प्रधानाध्यापक भिमसेन गिरीले स्वागत मन्तव्य राख्दै गर्नुभएको थियो। उहाँले विद्यालयको स्थापना कालदेखि अहिलेसम्मको यात्राबारे चर्चा गर्दै, “यो सम्मान कार्यक्रम विद्यार्थीहरूको मेहनतको कदर गर्नुका साथै आगामी वर्ष SEE मा सहभागी हुन लागेका विद्यार्थीहरूलाई हौसला प्रदान गर्न गरिएको हो,” भन्नुभयो। कार्यक्रममा विद्यालयका संस्थापक डिल्लीराम गिरीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने प्रमुख अतिथिको रूपमा नगर प्रमुख छबिलाल थारु रहनुभएको थियो। नगर प्रमुख थारुले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा विशिष्ट अतिथि नगर उपप्रमुख रत्नकुमारी पाण्डे हुनुहुन्थ्यो। विशेष अतिथिमा वडा नं. ६ का वडा अध्यक्ष झगबहादुर वली, प्याब्सनका केन्द्रीय सदस्य एकराज पौडेल, शिक्षक महासंघ अध्यक्ष पोमराज शर्मा, शिक्षा शाखा प्रमुख प्रा.स. खिमराज काफ्ले, प्रमुख सल्लाहकार ओम काफ्ले लगायतको उपस्थिति रहेको थियो।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा द भ्वाइस एकेडेमीबाट २२ जना विद्यार्थी सहभागी भएका थिए, जसमा सबै उत्तीर्ण भएका छन्। बुवा घन श्याम र आमा गंगा पौडेलकी छोरी आरती पौडेलले ४ GPA ल्याएर बर्दिया जिल्लामै पहिलो स्थान हासिल गर्न सफल भएकी छिन्। अन्य विद्यार्थीमध्ये ४ जनाले A+, १४ जनाले A, र ३ जनाले B+ ल्याएका छन्। विद्यालयले आरतीलाई गाडीमा राखी पञ्चेबाजा सहित नगर परिक्रमा गराएर विशेष सम्मान प्रदान गरेको थियो। त्यसैगरी, विद्यालयले उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरू दिपिशा गिरी, आयेशा थापा, कविज ज्ञवाली, विदिशा रिजाल, नमन गिरी, प्रकाश बस्नेत, भुवन अर्याल, रोशन थापा, श्रीषा चौधरी, मौसम थारु , अशिम पुरी ,प्रशान्त बराल,साजन बि.क.,सुशान्त कुवर,समिर पौडेल,उर्मिला चौधरी,प्रदिप राजी, संगम भुजेल, प्रशान्त बिसी, निखिल चौधरी,अंकित केसी तथा उनीहरूका अभिभावकहरूलाई दोसल्ला र सम्मान–पत्र प्रदान गरेको थियो।
कार्यक्रमको प्रमुख आकर्षण बनेकी आरती पौडेलले भावुक शैलीमा मन्तव्य राखेकी थिइन्। उनले भनिन्, “मेरो बाबु रोजगारीको सिलसिलामा बिदेश जानुभएको छ, आमा घरको सबै जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। बाबाले कमाएको सबै पैसा मेरो पढाइमा खर्च गर्नुभएको छ। म बाबुआमाको आशा, भरोसा र विश्वास मर्न दिन्न।” उनले थप भनिन्, “म डाक्टर बन्न चाहन्छु, तर आर्थिक अवस्थाले साथ दिने अवस्था छैन। मनले त म डाक्टर पढ्न सक्छु भन्ने लाग्छ, तर पैसाले रोक्न सक्छ। मैले सेवा गर्ने डाक्टर बन्ने सपना देखेकी छु – सबैले उपचार पाउन सकून् भन्ने मेरो चाहना हो।” आरतीको यो भनाइले कार्यक्रम स्थलमा रहेका सबैलाई भावुक बनाएको थियो।
उनको भनाइ अहिले सामाजिक सञ्जालमा भाइरल बन्दैछ। उहाँको मर्मस्पर्शी अभिव्यक्तिको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्:
👉 आरतीको भिडियो हेर्नुहोस्
त्यस्तै नगर उपप्रमुख पाण्डेले सुभकामना दिने क्रममा भन्नुभयो : विद्यालयले दिएको निरन्तर प्रयास र १० वर्षदेखिको विद्यार्थीको कडा मिहिनेतले आज यस्तो अद्भुत सफलता सम्भव भएको हो। सबैलाई बाकि शैक्षिक भविष्यको सुभकामना ”
नगर प्रमुख छबिलाल थारुले आरतीको उल्लेखनीय उपलब्धिको प्रशंसा गर्दै भन्नुभयो, “आरती जस्ता विद्यार्थीहरू समाजका लागि प्रेरणा हुन्। उहाँको बोलीले हामी सबैलाई छुन सफल भयो। म उहाँ र सम्पूर्ण सफल विद्यार्थीहरूलाई बधाई दिन चाहन्छु।” उपप्रमुख रत्नकुमारी पाण्डेले भन्नुभयो, “१० वर्षदेखि विद्यालयले दिएको प्रयास, शिक्षक, अभिभावक र विद्यार्थीको समन्वयबाट आजको सफलता सम्भव भएको हो। यो विद्यालय अब बर्दियाको गौरव हो।”
विद्यालयका प्रमुख सल्लाहकार ओम काफ्लेले विद्यालयको इतिहासको चर्चा गर्दै भने, “संस्थागत रुपमा शैक्षिक सुधारको अभियानमा लाग्दै आएको द भ्वाइस एकेडेमी आज बर्दिया जिल्लाको शैक्षिक इतिहासमा चम्किलो नाम बनेको छ। ४ GPA ल्याउने विद्यार्थी उत्पादन गर्ने पहिलो विद्यालय बनेकोमा हामी सबै गर्व गर्न सक्छौं।”
कार्यक्रममा सहभागी अतिथिहरूले विद्यार्थीहरूको सफलतामा विद्यालयको भूमिकाको उच्च प्रशंसा गरेका थिए र आगामी दिनमा अझ उत्कृष्ट उपलब्धिको कामना व्यक्त गरेका थिए।

















