
बारबर्दिया (बर्दिया), कात्तिक २५ ।
बारबर्दिया नगरपालिका–७, रम्मापुरस्थित श्री जनता माध्यमिक विद्यालयमा आज एक विशेष समारोहका बीच पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८२ सुरु गरिएको छ। उक्त प्रतियोगिताको उद्घाटन प्रदेश सरकारका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले गर्नुभयो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले खेलकुद राष्ट्र र राष्ट्रियताको पहिचानसँग जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताउनुभयो। उहाँले खेलकुदले युवा पुस्तामा अनुशासन, लगनशीलता र आत्मविश्वासको विकास गराउने उल्लेख गर्दै समाजका किसान, मजदुरदेखि भुईँतहका जनताको आवाज माथिसम्म पुर्याउने जिम्मेवारी जनप्रतिनिधिहरूको नै भएको बताउनुभयो।

“जनताले गरेको विश्वासलाई मैले कहिल्यै विश्वासघात गर्न सक्दिन। म जनताको सेवकका रूपमा काम गरिरहेको छु,”
— जन्मजय तिमिल्सिना, सामाजिक विकासमन्त्री
उहाँले शिक्षा र खेलकुद दुवैलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताउँदै विद्यार्थी खेलाडीहरूलाई अनुशासन र मर्यादामा रही देश र समुदायको नाम उज्यालो पार्ने शुभकामना दिनुभयो।
‘विद्यालयबाटै राष्ट्रिय खेलाडी जन्मिन्छ’ — प्रमुख जिल्ला अधिकारी हमाल
कार्यक्रमका विशेष अतिथि बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले खेलकुदले केवल खेलाडी मात्र होइन, राष्ट्र र राष्ट्रिय पहिचानलाई पनि चिनाउने माध्यम भएको बताउनुभयो।
उहाँले विद्यालयस्तरमै यस्ता प्रतियोगिताले भावी राष्ट्रिय खेलाडी उत्पादन गर्ने आधार तयार गर्ने उल्लेख गर्दै भन्नुभयो,

“पहिला विद्यालयहरूमा ‘वीरेन्द्र रनिङ शिल्ड’को रूपमा यस्ता प्रतियोगिता सञ्चालन हुन्थ्यो, अहिले ‘राष्ट्रपति रनिङ शिल्ड’को रूपमा निरन्तरता पाइरहेको छ। यस्ता कार्यक्रमहरू नियमित रूपमा भैरहनु आवश्यक छ।”
‘जितभन्दा ठूलो अनुशासन र मर्यादा हो’ — नगरप्रमुख थारु
कार्यक्रमका सभाध्यक्ष तथा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले विद्यालयस्तरका यस्ता प्रतियोगिताले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यार्थी खेलाडीहरूलाई जितभन्दा बढी अनुशासन, सहयोग र मर्यादामा ध्यान दिन आग्रह गर्दै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षप्रति आभार प्रकट गर्नुभयो।

समारोहमा विद्यार्थीहरूले आकर्षक मार्चपास, मार्सल आर्टको प्रदर्शन, क्लबले सांस्कृतिक थारु गीत र स्थानीय तथा राष्ट्रिय लोकप्रिय कलाकार कमल बिसी माल्दाइले आफ्प्रनो कला प्रस्तुत गरेका थिए।
१६ विद्यालय सहभागी, खेलकुद कार्यक्रम कार्तिक २९ सम्म
बारबर्दिया नगरपालिकाको आयोजनामा र जनता माध्यमिक विद्यालय, रम्मापुरको संयोजनमा सञ्चालन भइरहेको यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १६ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरू सहभागी भएका छन्।
पहिलो दिन ८ सय मिटर दौड प्रतियोगिता सम्पन्न गरिएको छ भने भोलिदेखि भलिबल, कबड्डी, हाईजम्प, लङजम्प, सटपुट लगायतका खेलहरू सञ्चालन हुने जनाइएको छ। प्रतियोगिता कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सामाजिक विकासमन्त्री, सुरक्षा निकायका प्रतिनिधि, राजनीतिक दलका सदस्य, शिक्षक, बुद्धिजीवी, पत्रकार तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति थियो। उद्घाटन समारोह रंगीन झाँकी, विद्यार्थीहरूको जोशपूर्ण सहभागिता र खेलकुदमय वातावरणले भरिएको थियो।
















