
बर्दिया,२०८३ कार्तिक , १७ । किशोरकिशोरीका संवेदनशील स्वास्थ्य समस्याबारे खुलेर कुरा गर्न सक्ने सुरक्षित र गोपनीय वातावरण निर्माण गर्ने उद्देश्यसहित बारबर्दिया नगरपालिका–७ सिउनियामा एकीकृत किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा भवन निर्माण गरी सञ्चालनमा ल्याइएको छ।
बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारूको अध्यक्षतामा सोमबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले नवनिर्मित भवनको औपचारिक हस्तान्तरण कार्यक्रममा सहभागिता जनाउनुभएको थियो। भवन निर्माणसँगै नगरपालिकाको आधारभूत स्वास्थ्य सेवा प्रणालीमा किशोरकिशोरी लक्षित सेवाका लागि थप पूर्वाधार जोडिएको छ।
नगरप्रमुख थारूले स्थानीय तहमा स्वास्थ्य सेवालाई भवन र संरचना निर्माणमा मात्र सीमित नराखी नागरिकको वास्तविक आवश्यकतासँग जोड्नुपर्ने सन्दर्भमा यो सेवा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। विशेषगरी किशोरावस्थामा देखिने शारीरिक, मानसिक तथा यौन एवं प्रजनन स्वास्थ्यसम्बन्धी जिज्ञासा र समस्याका विषयमा सहज रूपमा परामर्श तथा सेवा प्राप्त गर्ने वातावरण निर्माण हुनु यसको महत्वपूर्ण पक्ष हो।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक सहयोग तथा प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारू जनसेवा केन्द्र (आरकेजेएस) बर्दियाको साझेदारीमा सञ्चालित किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना दोस्रो चरणअन्तर्गत भवन निर्माण गरिएको हो।
भवन निर्माणमा कुल ४६ लाख ४५ हजार ४ सय ५८ रुपैयाँ २० पैसा खर्च भएको जनाइएको छ। २०८३ भदौ २८ गते निर्माण सम्पन्न भएको भवन सोमबार आयोजित कार्यक्रममा सम्बन्धित साझेदार संस्थाका प्रतिनिधिले स्वास्थ्य संस्था तथा नगरपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा नगरप्रमुख थारू, स्वास्थ्य सचिव श्रेष्ठ, जिल्ला समन्वय समिति सदस्य सुनिता नेपाली, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, कोइका नेपालका कन्ट्री डाइरेक्टर मुहेन कङ, प्लान इन्टरनेशनल कोरियाका प्रतिनिधि स्याङ्योङ पार्क तथा प्लान इन्टरनेशनल नेपालकी कार्यवाहक राष्ट्रिय निर्देशक सृजना गुरुङलगायतको उपस्थिति थियो।
कार्यक्रममा परियोजनाको उद्देश्य र उपलब्धिबारे जानकारी प्रस्तुत गर्नुका साथै नवनिर्मित भवनको अवलोकन गरिएको थियो। त्यसपछि कोइका, प्लान इन्टरनेशनल नेपाल र आरकेजेएसका प्रतिनिधिले भवन हस्तान्तरण गरेका थिए।
नयाँ भवनबाट किशोरकिशोरीले यौन तथा प्रजनन स्वास्थ्य, शारीरिक परिवर्तन, मानसिक स्वास्थ्य र अन्य संवेदनशील विषयमा गोपनीयता कायम राख्दै आवश्यक जानकारी, परामर्श तथा स्वास्थ्य सेवा लिन सक्ने अपेक्षा गरिएको छ। यसले विशेषगरी सामाजिक संकोच र जानकारीको अभावका कारण स्वास्थ्य संस्था पुग्न हिचकिचाउने किशोरकिशोरीलाई सेवा लिन सहज बनाउने विश्वास गरिएको छ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बर्दिया, स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश, नगरपालिका तथा वडा कार्यालयका प्रतिनिधि, स्वास्थ्यकर्मी, विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका पदाधिकारी, महिला स्वास्थ्य स्वयंसेविका, किशोरकिशोरी तथा बाल क्लबका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता रहेको थियो।
भवन निर्माणसँगै अब यसको प्रभावकारी सञ्चालन र सेवा निरन्तरता मुख्य विषय बनेको छ। स्थानीय सरकार, स्वास्थ्य संस्था र साझेदार निकायबीचको समन्वय कायम रहन सके सिउनियामा निर्माण भएको यो पूर्वाधारले बारबर्दियाका किशोरकिशोरीलाई आफ्नै समुदायमा गुणस्तरीय, सहज र गोपनीय स्वास्थ्य सेवा प्राप्त गर्ने आधार तयार गर्नेछ।
















