
१० असार २०८२, रिपोर्टिंग नेपाल ,बर्दिया — बारबर्दिया नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि करिब ९६ करोड ७७ लाख रुपैयाँ बराबरको बजेट र नीति कार्यक्रम सार्वजनिक गरेको छ। नगर उपप्रमुख तथा नगरसभा उपाध्यक्ष रत्न कुमारी पाण्डेले नगरपालिकाको १७ औं नगरसभा अधिवेशनमा बजेट प्रस्तुत गर्दै आत्मनिर्भर र न्याययुक्त समाज निर्माणका लागि स्पष्ट कार्यदिशा प्रस्तुत गर्नुभएको हो। उहाँले नगरको समृद्धिको यात्रालाई गति दिने गरी बजेटको संरचना तयार पारिएको जानकारी दिनुभयो।
प्रस्तुत बजेटअनुसार चालु खर्चका लागि ६६ करोड १९ लाख रुपैयाँभन्दा बढी र पुँजीगत खर्चका लागि ३३ करोड ५८ लाख रुपैयाँ विनियोजन गरिएको छ। नगरपालिकाले यो वर्ष शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पूर्वाधार विकास, सूचना प्रविधि, सामाजिक सुरक्षा, महिला तथा बालबालिका लगायतका क्षेत्रमा सन्तुलित र समावेशी ढंगले बजेट बाँडफाँड गरेको जनाएको छ।
नगरपालिकाले “कृषि, उद्योग र पर्यटनमा वृद्धिः बारबर्दियाको समृद्धि” भन्ने नारालाई आत्मसात गर्दै आगामी वर्षको योजना अघि सारेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा करिब ९९ करोड ५२ लाख रुपैयाँको संशोधित बजेटमध्ये जेष्ठ मसान्तसम्म ४६ करोड ६० लाख चालु खर्च र १८ करोड ८८ लाख विकास खर्च गरेर वित्तीय प्रगतिमा सन्तोषजनक उपलब्धि हासिल गरिएको बताइएको छ। सो अवधिमा कभर्ड हल निर्माण, सडक कालोपत्रे, नाली निर्माण, वडा कार्यालय र प्रशासकीय भवन निर्माण तथा सुधार, सेनिटरी प्याड वितरण लगायतका सेवा तथा पूर्वाधारमुखी योजनाहरू कार्यान्वयन गरिएको छ।
पूर्ण पाठको भिडियो Youtube च्यानल YM TV Nepal मा हेर्न सकिनेछ
नयाँ बजेटमा शिक्षा क्षेत्रमा करिब ७ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ, जसअन्तर्गत शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालयमा सुशासन प्रवर्द्धन र सार्वजनिक शिक्षाको रूपान्तरणलाई प्राथमिकता दिइने उल्लेख छ। त्यस्तै, कृषिमा यान्त्रिकीकरण तथा प्रविधिको पहुँच विस्तारका लागि ५० लाख, पशुपालनमा नस्ल सुधार, रोकथाम र आहार व्यवस्थापनका लागि ४१ लाख २५ हजार रुपैयाँ छुट्याइएको छ।
महिला सशक्तीकरण, बालबालिकाको संरक्षण तथा दलित समुदायको सामाजिक सुरक्षा सुनिश्चित गर्न २३ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। आयुर्वेद, योग तथा अध्यात्मलाई नगरवासीको स्वास्थ्य सुधारको एक महत्वपूर्ण पाटोका रूपमा अगाडि ल्याउने योजनाअनुसार १२ लाख रुपैयाँ छुट्याइएको छ। त्यसैगरी सूचना प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले ४ लाख २५ हजार र युवा तथा खेलकुदमा सक्रिय सहभागिता प्रोत्साहन गर्न ११ लाख ४७ हजार रुपैयाँ विनियोजन गरिएको छ। न्यायिक समिति सशक्तीकरण, लैङ्गिक हिंसा न्यूनीकरण तथा उपमेयर कार्यक्रम सञ्चालनका लागि पनि छुट्टै २२ लाख ९५ हजारको व्यवस्था गरिएको छ।
नगरपालिकाले डिजिटल प्रविधिको उपयोगलाई संस्थागत बनाउँदै डिजिटल नागरिक बडापत्र कार्यान्वयनमा लैजाने लक्ष्यसहित योजना अगाडि सारेको छ। यसै अन्तर्गत घर नम्बरिङ प्रणाली, कर शिक्षामा जनचेतना र राजश्व दायरा विस्तारमा समेत प्राथमिकता दिइने उल्लेख गरिएको छ। संघीय तथा प्रदेश सरकारबाट प्राप्त सशर्त, विशेष तथा समपूरक अनुदानहरू तोकिएको मापदण्डअनुसार खर्च गरिनेछ भने जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित तथा सीमान्तकृत वर्गका लागि सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिइनेछ।
बजेट प्रस्तुत गर्दै उपप्रमुख पाण्डेले संविधान, लोकतन्त्र र सामाजिक रूपान्तरणका लागि बलिदान दिने सम्पूर्ण ज्ञातअज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। नगर विकासको लागि सबै राजनीतिक दल, संघीय तथा प्रदेश सरकार, निजी क्षेत्र, नागरिक समाज र आम नगरवासीहरूको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले समृद्ध बारबर्दिया निर्माणका लागि सबै पक्षलाई एकजुट भई अघि बढ्न आग्रह गर्नुभयो।

















