१७ असार २०८२, स्यारोन रेग्मी,बर्दिया — बढैयाताल गाउँपालिका–९ मा अवस्थित श्री जय कालिका माध्यमिक विद्यालयले असार १५ लाई धान दिवसका रूपमा विशेष कार्यक्रमसहित मनाएको छ। ‘आफै कमाउ, आफै पढौं’ भन्ने मूल नाराका साथ विद्यालयले आफ्नै खेतमा धान रोपेर धान दिवसको विशेषता झल्काएको छ।
कार्यक्रममा गाउँपालिका प्रमुख श्री हिमालय त्रिपाठी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । उपप्रमुख लक्ष्मी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नारायणराज त्रिपाठी तथा कृषि शाखा प्रमुख दीपेन्द्र श्रीवास्तव विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। साथै विद्यालयका शिक्षक, अभिभावक, तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाइने परम्परालाई समेट्दै विद्यालयले यस वर्षको दिवसलाई कृषि तथा व्यवसायिक धार अन्तर्गत अध्ययनरत विद्यार्थीहरूलाई व्यवहारिक सिकाइसँग जोड्ने उद्देश्य राखेको छ। धान रोपाइँका क्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरू आफैँ खेतमा उत्रिएर विद्यार्थी र अभिभावकसँगै रोपाइँ कार्यमा सहभागी भए।
विद्यालयले आफ्नै जग्गामा उत्पादन गरिने धानको आम्दानी विद्यार्थीहरूको शैक्षिक खर्चमा प्रयोग गरिने जानकारी दिएको छ। यस कार्यले विद्यार्थीहरूमा श्रमको मूल्य, आत्मनिर्भरता र कृषि व्यवसायप्रतिको रुचि बढाउने विश्वास गरिएको छ।
विद्यालय व्यवस्थापन समिति तथा कृषि धारको संयोजनमा गरिएको यो प्रयासले ‘शिक्षा र श्रम सँगै’ भन्ने सोचलाई व्यवहारमा उतार्दै उदाहरणीय कार्य गरेको भन्दै सहभागी सबैले प्रशंसा गरेका छन्।
सङ्घर्षको आँधीबेहरीमा जन्मिएको अखिल (क्रान्तिकारी) क्रान्तिकारी विद्यार्थी आन्दोलनको मूल प्रवाह हो । शिक्षामा आमूल रूपान्तरणका लागि राजनीतिक सत्ताको समग्र रूपान्तरणको वैज्ञानिक सत्यप्रति स्पष्ट र दृढ रहँदै वर्तमानमा आमशैक्षिक सुधारका लागि सङ्घर्ष र वैज्ञानिक समाजवादी क्रान्तिमा अग्रदस्ताको भूमिका निर्वाह गरिरहेको छ । जनताको अपेक्षा र क्रान्तिको आवश्यकतामा खरो उत्रिन सक्ने सडक बाघको रुपमा स्थापित हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी) ले विद्यार्थी आन्दोलनको गौरवमय विरासत कायम गर्न र नयाँ इतिहास निर्माण गर्न अनवरत सडक संघर्षको नेतृत्व गदै आइरहेको छ l हाल हाम्रो संगठनले नेपालको शिक्षा क्षेत्रमा विद्यमान निजीकरण, माफियाकरण र व्यापारीकरणका विरुद्ध देशैभरी Mission Everyday Campaign-2 अभियान सञ्चालन गरिरहेको छ ।
शिक्षालाई मौलिक अधिकारको रूपमा राज्यले कानुनी व्यवस्था गरेको भएपनि कार्यान्वयनमा शिक्षा क्षेत्रमा पैसा हुने र नहुनेका विचमा चरम विभेद छ। पैसाको तौल अनुसार शिक्षा किन्नुपर्ने व्यापारीक वस्तु बन्न पुगेको छ। नेपालको शिक्षा निजिकरण, व्यापारीकरण हुँदै अकुत नाफा कमाउने विशाल बजारका रूपमा दुरुपयोग भएको छ। शिक्षा आम जनताको पहुँचबाट टाढा हुदै गएको छ आम विद्यार्थीको अधिकारका पक्षमा आवाज उठाउनु र संघर्ष गर्नु हाम्रो कर्तव्य हो। यसै सन्दर्भमा बर्दियाको बाँसगढी नगरपालिकाले अघिल्लो वर्षको SEE को नतिजा देशैभर ४८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् भने ५२ प्रतिशत अनुउत्तिर्ण भएका छन् । बर्दिया जिल्लाका ३१ वटा माध्यमिक विद्यालयको रिजल्ट १० प्रतिशत भन्दा कम आएको छ भने ७ वटा विद्यालय निल(शून्य)भएका छन् ।
जिल्ला भरिका ७ वटा सामुदायिक विद्यालयहरुमा एसईई रिजल्ट शुन्य आएको छ । निल नतिजा आएका स्कुलहरुमा जनता माबि बेलवा बाँसगढी, नेरा गणेश माबि मनाउ गेरुवा, लक्ष्मी माबि चेपाङ बाँसगढी, जनता माबि बठुवा बाँसगढी, अमर सहिद दशरथ चन्द माबि बारबर्दिया, जगदम्बिका माबि शान्तिपुर बढैयाताल र पृथ्वी माबि लखना बाँसगढीमा गरी जम्मा ४ सय ५८ जना विद्यार्थी मध्ये सबै जना अनुत्तीर्ण भएका छन् । बाँसगढी नगरपालिकाका मात्रै ४ वटा विद्यालय निल भएका छन् । यसरी अनपेक्षित रिजल्ट आएको भन्दै बाँसगढी नगरपालिले नगरपालिका भित्रका सरकारी विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गर्ने र त्यसवापत विद्यार्थीबाट शुल्क उठाउन पाउने व्यवस्था कार्यान्वयनमा ल्यायो । सोही अनुसार सबै विद्यालयले अनिवार्य रुपमा लागू हुने गरी विद्यार्थीबाट मनपरी शुल्क असूल गर्ने काम गरिरहेका छन् । बिद्यालय समयमा कोर्स पूरा नगर्ने, ठिक ढंगले विद्यार्थी लाई नपढाउने, विषयगत शिक्षक दरबन्दी अपुग राख्ने, शिक्षक शिक्षिकाहरुलाई तालीम नदिने, पालिकाले आफ्नो जिम्मेवारी ठिक ढंगले पूरा नगर्ने तर शिक्षा जस्तो संवेदनशील क्षेत्रमा निजीकरणलाई प्रोत्साहन दिने स्थानीय सरकारको नीतिले किसान, मजदुर, न्युन वर्गीय जनताका छोराछोरीलाई विद्यालय शिक्षाबाट वञ्चित गर्ने देखिन्छ ।
यसै पनि देशको अहिलेको शिक्षाको अवस्था हेर्दा हाम्रा विद्यालय ज्ञान, सिप र क्षमता आर्जन गर्ने नभई हातमा सर्टिफिकेट झुन्डाएर बिदेश लखट्ने अर्थात् विदेशी कामदार उत्पादन गर्ने कारखानामा सीमित छन् । तर वार्षिक रिजल्टकै आधारमा सिकाइ उपलब्धि कम भएको भन्दै निरक्षर अभिभावकमा विभिन्न भ्रम पैदा गरी मनपरी शुल्क उठाउने काम भएको छ । राम्रो रिजल्ट ल्याउने वाहानामा भ्रम पैदा गरी सामुदायिक शिक्षालाई ध्वस्त पार्ने र निजीकरणलाई प्रवर्धन गर्ने कार्य कुनैपनि हिसाबले उपयुक्त देखिँदैन । सामुदायिक बिद्यालयमा राज्यले भौतिक पुर्वाधार सहित निःशुल्क पाठ्यपुस्तक, खाजा नास्ता र विभिन्न सेवा सुविधा सहित दक्ष शिक्षकहरुको व्यवस्थापन गरेको भएता पनि अघिल्लो पटकको रिजल्ट ठिक नआउनुको परिणामस्वरूप अहिले विद्यार्थी र अभिभावकमाथि मनलाग्दी आर्थिक भार थोपरिएको अवस्था छ । यस्तो अवस्थामा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई लगाएत अन्य सरोकारवाला निकाय मुकदर्शक बनिरहेको देखिन्छ ।
हाम्रो संगठनले उक्त प्रकारको शुल्क खारेजीको लागि मौखिक रुपले अनुरोध गर्यो, पालिकाका १४ मध्ये १३ वटा विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको हस्ताक्षर संलग्न गराइ ७२ घण्टे अल्टिमेटम सहितको मागपत्र बुझाउने लगायतका कामहरु गर्दा समेत शुल्क खारेजीका निम्ति पालिकाको तर्फबाट कुनै तदारुकता देखिएन बरु मेयरले उल्टै धम्किपूर्ण भाषा प्रयोग गर्ने, हप्काउने, झगडा गर्न तम्सिने जस्ता तुच्छ व्यवहार प्रदर्शन गर्न थाले । फलस्वरुप, भाद्र २४ गते नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गर्न हाम्रो संगठन बाध्य भयो । २४ गते बेलुका र २५ गते विहान मेयर स्वयंले बोलाएको अनौपचारिक वार्तामा समेत हामी बस्यौ, उनले विद्यार्थीका माग सम्बोधन गर्ने कुनै छाटकाट देखाएनन् । भाद्र २५ गते दवाव स्वरुप नगर प्रमुख खड्क बहादुर खड्काको घरमा कालोव्यानर लगाउने र महेन्द्र राजमार्गलाई २० मिनेटको लागि चक्काजाम गर्ने कार्य भए। २६ गते औपचारिक वार्ताको आव्हान गरियो न समस्यालाई हल गर्न कुनै प्रयास गरियो बरु मेयरको निर्देशनमा संगठनले लगाएको ताला फोड्ने काम भयो। यसरी संविधानको व्यवस्था र विद्यार्थीका हक अधिकार कार्यान्वयनका निम्ति हाम्रो संगठनले गरिरहेको शान्तिपूर्ण प्रयासमा नगरपालिकाले तगार हालिदियो ।
विदयार्थीहरुको हक अधिकारको कार्यान्वयन तथा आफ्नो कर्तव्यप्रति सचेत संगठन भएको हैसियतले विद्यार्थीहरुमाथि भइरहेको लुटको अन्त्य गर्ने प्रयासमा हाम्रो सङ्गठन बर्दिया जिल्ला समिति निरन्तर जुधिरहेको रहेको छ। नगर प्रमुख भड्काववादी गतिविधिलाई चिर्दै विद्यार्थीको निःशुल्क शिक्षा प्राप्तिको अधिकारलाई कार्यान्वयन गर्ने गरी विद्यार्थी आन्दोलनको तयारी गर्नु अहिले बर्दिया जिल्ला समितिकाे प्रमुख समेत कार्यभार हो ।
भरत परियार {अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला इञ्चार्ज हुन् }
१५ श्रावण २०८२, रिपोर्टिंग नेपाल,काठमाण्डौ — राजनीतिक परिवर्तनका नाममा उभिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) पछिल्लो समय आफ्नै आन्तरिक विवाद, पारिवारिक सत्ता संघर्ष र नेतृत्वमा पारदर्शिताको अभावका कारण जनस्तरमा गम्भीर आलोचनाको शिकार बन्दै गएको छ। हालै सम्पन्न राष्ट्रिय भेलाले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाउँदै लालवीर चौधरीलाई नयाँ अध्यक्षको रूपमा चयन गरेपछि यो पार्टीप्रति जनताको दृष्टिकोण झनै नकारात्मक बनेको देखिन्छ।
पार्टी संरक्षक रेशम चौधरीका श्रीमती रञ्जिता श्रेष्ठलाई हटाएर आफ्नै पिता लालवीर चौधरीलाई अध्यक्ष बनाउनु सामान्य राजनीतिक प्रक्रियाभन्दा बढी “पारिवारिक राजनीतिक कब्जा” को रूपमा आलोचित भइरहेको छ। राजनीतिक विश्लेषकहरू भन्छन् — “यो पार्टी अब लोकतान्त्रिक भन्दा पनि एक परिवार केन्द्रित राजनीतिक कम्पनीको रूपमा अघि बढ्दैछ।”
भ्रष्टाचार र निष्क्रियताको आरोपबीच बर्खास्ती
रञ्जिता श्रेष्ठ डेढ वर्षसम्म पार्टी बैठक नबोलाएर निष्क्रिय भएको, आन्तरिक लोकतन्त्रको उपेक्षा गरेको, र आर्थिक पारदर्शितामा असफल भएको आरोप लाग्दै आएको थियो। त्यसमाथि पछिल्ला महिनाहरूमा उनीमाथि अनुदान, पार्टी कोष र संघसंस्थासँगको आर्थिक लेनदेनमा भ्रष्टाचारको संलग्नता रहेको गम्भीर आरोपहरू पनि सार्वजनिक भइरहेका थिए।
तर रञ्जिता श्रेष्ठलाई कारबाही गर्नुको सट्टा, सत्ता सुरक्षित गर्न आफ्नै पितालाई अध्यक्ष बनाउने योजना कार्यान्वयन गर्नुले पार्टीको चरित्र र नेतृत्वप्रतिको जनआस्था निरन्तर खस्कँदै गएको हो।
संस्थापकहरू छायामा, परिवारको वर्चस्व अगाडि
नागरिक उन्मुक्ति पार्टीको गठनका प्रारम्भिक दिनमा योगदान दिने धेरै संस्थापक र अग्रज कार्यकर्ताहरूलाई बेवास्ता गर्दै, संरक्षक रेशम चौधरीको निर्देशनमा चलेको हालको घटनाक्रमले पार्टीभित्र गम्भीर असन्तुष्टि चुलिएको छ। पार्टीभित्रका कतिपय नेताहरू खुल्लमखुल्ला भन्न थालेका छन् — “यो अब आम जनताको पार्टी रहेन, रेशम चौधरीको पारिवारिक संरचनामा सीमित भयो।”
एक नेताले नाम नखुलाउने सर्तमा भने, “अध्यक्ष बन्ने योग्यता र भूमिका त रामलाल डगौरा थारु जस्ता नेताहरूमा थियो, तर पुनः परिवारभित्रै घुमाएर पितालाई अध्यक्ष बनाइनु अत्यन्त निराशाजनक छ।”
राजनीतिक यात्राभन्दा स्वार्थको उकालो?
लालवीर चौधरी स्वयं पार्टीको संस्थापक नभएर पनि अहिलेको अध्यक्ष बन्नु आफैंमा राजनीतिक अवसरवादको उदाहरण बनेको छ। विगतमा राप्रपा, एमाले हुँदै यदाकदा स्वतन्त्र उम्मेदवारीमार्फत चुनाव जितेका चौधरी अब फेरि छोराको पार्टीमा अध्यक्ष बनेका छन् — त्यो पनि त्यही नेतृलाई हटाएर जसले उनलाई पार्टीमा भित्र्याएकी थिइन्।
जनस्तरमा आलोचना उठेको छ कि — “नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाको पीडालाई प्रतिनिधित्व गर्छ भनेर देखाइए पनि अहिले पार्टी आफैं पीडाको पात्र बनेको छ — सत्ता, पद र शक्ति निम्ति।”
जनताको नजरमा घट्दो भरोसा
नाउपा भर्खरै गठन भएर आम थारु समुदाय, मधेस र पिछडिएको जनताको प्रतिनिधित्व गर्दै उठेको पार्टी हो भन्ने आशा बोकेको थियो। तर २ वर्ष नबित्दै पार्टीको नीति, मूल्य र उद्देश्यभन्दा शक्तिको केन्द्रीकरणमा बढी केन्द्रित हुँदै गएको स्पष्ट देखिएको छ।
पार्टीमा एकताभन्दा विवाद, सैद्धान्तिकताभन्दा पदको होडबाजी, र नेतृत्वको पारदर्शिताभन्दा पारिवारिक सम्बन्धको आधारमा निर्णय लिइँदा जनताले यो पार्टीप्रति विश्वास गुमाउँदै गएका छन्।
एक नागरिक उनमुक्ती पार्टीका सदस्यका अनुसार राजनीतिमा नेतृत्व परिवर्तन सामान्य प्रक्रिया हो। तर जब नेतृत्व परिवर्तन नीति र संस्थागत मूल्यभन्दा व्यक्तिगत स्वार्थ र पारिवारिक समीकरणमा आधारित हुन्छ, त्यसले पार्टीमात्र होइन, आम जनताको भविष्यलाई पनि अनिश्चित बनाउँछ। नागरिक उन्मुक्ति पार्टीले अब तत्काल आत्ममूल्यांकन नगरे, त्यो स्वयं “नागरिक निराशा पार्टी” मा रूपान्तरण हुने खतरा देखिन्छ।
६ कार्तिक २०८०, काठमाडौं । त्रिदेशीय शृङ्खलामा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)बाट १६५ रनको लक्ष्य पाएको छ ।
आज मिति २०८०-०७-०६ गतेका दिन मुलपानीस्थित क्रिकेट मैदानमा यूएई र नेपाल बीच भयको खेलमा टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६४ रन ल्यायको थियो ।
उक्त खेलमा यूएईका खेलाडीहरु ले क्रमस बसिल हमेदले १९ बलमा दुई चौका र पाँच छक्का प्रहार गरि ४५ रन, भ्रित्या अरबिन्दले ४५ रन ,आसिफ खानले १८ र खालिद साहको १२ रन सहित १६४ रन ल्याई नेपाललाई १६५ रनको लक्ष्य दियका थिय ।
टि –२० विश्वकप छनोटको तयारीका लागि आयोजित क्रिकेट खेल शृङ्खलामा यूएई , नेपाल र हङकङ प्रतिस्पर्धा गरिरहेका छन् ।
शृङ्खलाको लिग चरणका फाइनल खेल बाहेकका सम्पूर्ण खेल मुलपानी हुनेछ भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल खेल हुने छ ।
०२ मंसिर २०८२ रिपोर्टिंग नेपाल | बारबर्दिया नगरपालिका–५ स्थित जनप्रिय आधारभूत विद्यालय जब्दहवामा हालै यौन तथा प्रजनन् स्वास्थ्य (Sexual and Reproductive Health) सम्बन्धी विशेष मेला आयोजना गरिएको छ। विद्यालयले विद्यार्थीहरूमा यौन स्वास्थ्य अधिकारबारे जानकारी अभिवृद्धि र सचेतना फैलाउन उक्त मेलाको आयोजना गरेको जनाएको छ।
मेलामा यौन शिक्षा तथा प्रजनन् स्वास्थ्यसँग सम्बन्धित विभिन्न स्टलहरू राखिएका थिए। यहाँ सन्देशमूलक सामग्री, चित्र, सूचना तथा जानकारीमूलक पोष्टरहरूको प्रदर्शनी गरिएको थियो, जसले विद्यार्थीहरूमा आफ्ना अधिकार, स्वास्थ्य र सुरक्षित व्यवहारबारे बुझाइ विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
उक्त अवसरमा परियोजनाको सहयोगमा निर्माण गरिएको तीन कोठे पहुँचयुक्त शौचालयको पनि उद्घाटन गरिएको थियो। करिब १५ लाख १९ हजार रुपैयाँ लागतमा निर्माण गरिएको यस शौचालय समयानुकूल, पहुँचयुक्त र प्रयोगमैत्री छ।
कार्यक्रममा उपस्थित बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले जनप्रिय आधारभूत विद्यालयले छोटो समयमा उल्लेखनीय सुधार गरेकोमा प्रशंसा गर्दै भने, “विद्यार्थीहरूको प्रस्तुति र क्षमताले मलाई अत्यन्तै खुशी बनाएको छ। नगरपालिका विद्यालयहरूमा स्वच्छता प्रवर्द्धनका लागि निरन्तर कार्यक्रम सञ्चालन भइरहेको छ। विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता कार्यविधिलाई स्थानीयकरण गरी सबै विद्यालयमा लागू गरिसकिएको छ। आवश्यक भौतिक संरचना निर्माणको काम पनि निरन्तर रूपमा भइरहेको छ। पालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै छात्र–छात्राहरूको समग्र विकासमा जोड दिइरहेको छ।”
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले पनि विद्यार्थीहरूको प्रस्तुति हेरेर उनीहरू यस विषयमा सचेत हुँदै गएको स्पष्ट भएको बताए। निर्माण भएको तीन कोठे शौचालय समयानुकूल, पहुँचयुक्त र उपयोगी भएको भन्दै यसको सही सदुपयोगसँगै स्वास्थ्य र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको उहाँले जोड दिनुभयो।
कार्यक्रममा राधाकृष्ण थारु जनसेवा केन्द्रका कोषाध्यक्ष यज्ञप्रसाद पोखरेलले संस्था विगतदेखि नै सामाजिक क्षेत्रमा अग्रणी भूमिकामा रहेको बताउँदै, “हामी निरन्तर रूपमा समुदायमुखी कार्यक्रम सञ्चालन गर्दै आएका छौं। यसरी शिक्षा र स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउने हाम्रो प्रयास निरन्तर जारी रहनेछ,” भन्नुभयो।
मेलाको आयोजना कोईकाको आर्थिक सहयोगमा प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरियाको साझेदारीमा सञ्चालित ‘किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य तथा अधिकार कार्यक्रम’ अन्तर्गत गरिएको हो। मेलामा विद्यार्थीहरूले यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी विषयमा आफ्ना भनाइ, नृत्य, गीत र नाटक प्रस्तुत गरे। कार्यक्रम विद्यार्थीहरूले सचेत र सुसंस्कृत तरिकाबाट सञ्चालन तथा व्यवस्थापन गरेका थिए, जसले मेलालाई अझ आकर्षक र शिक्षाप्रद बनाएको थियो।
विद्यालयले यस प्रकारका कार्यक्रममार्फत विद्यार्थीहरूमा स्वास्थ्य सम्बन्धी सचेतना फैलाउने मात्र होइन, व्यवहारिक दृष्टिले सुधार र सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको छ। आगामी दिनमा पनि यस्ता मेलाहरू नियमित रूपमा आयोजना गरिने विद्यालयले जनाएको छ।
१० असार २०८२, सुमित्रा सुबेदी, नेपालगञ्ज योग समिति नेपालका परिकल्पनाकार, केन्द्रीय संस्थापक अध्यक्ष तथा सुप्रसिद्ध आयुर्वेदाचार्य योगगुरु गिरिराजज्यूको जन्मोत्सवको अवसरमा नेपालगञ्जमा विविध सामाजिक गतिविधिहरू सम्पन्न भएका छन्। जन्मोत्सवलाई सामाजिक रूपले अर्थपूर्ण बनाउन असार ९ गते जन्मोत्सवको पूर्वसन्ध्यामा रक्तदान तथा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखा सभापति समेत रहनुभएका योगगुरु गिरिराजज्यूले नेपालगञ्जस्थित भेरी अस्पतालको रक्त संचार सेवा केन्द्रमा आयोजित कार्यक्रममा आफैँ पनि रक्तदान गर्नुभयो। उहाँले स्वस्थ व्यक्तिको शरीरमा प्रत्येक तीन महिनामा पुरानो रगत स्वतः नष्ट भइ नयाँ रक्त निर्माण हुने भएकाले नियमित रूपमा रक्तदान गर्नु आवश्यक रहेको बताउनुभयो। “समयमै रक्तदान गरेर अरुको जीवन बचाउन सकिन्छ, तीन महिनामा नष्ट हुने रगतको सदुपयोग यही हो,” उहाँको भनाइ थियो।
कार्यक्रममा ६० जनाभन्दा बढी योगप्रेमी, स्वयंसेवक तथा सामाजिक अभियन्ताहरूले रक्तदान गरेका थिए। कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झानाले रक्तदाता निर्मला शाह र अम्बिका कोईरालालाई रक्त सङ्कलनको प्याकेट हस्तान्तरण गरी गर्नु भएको थियो।
सो अवसरमा नेपालगञ्ज लगायतका विभिन्न जिल्लामा सक्रिय ४६ वटा योग केन्द्रका प्रतिनिधिहरूलाई आ–आफ्ना केन्द्रमा वृक्षारोपणका लागि बिरुवा वितरण गरिएको थियो। प्रत्येक केन्द्रमा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। वृक्ष वितरणमार्फत वातावरण संरक्षणको सन्देश पनि फैलाउने प्रयास गरिएको छ।
साथै, योग समिति नेपालले केही समयअघि खरिद गरेको भूमिमा निर्माणाधीन गुरुद्वाराभित्र वृक्षारोपण कार्यको शुभारम्भ समेत गरिएको छ। यसले योग केन्द्र र गुरुकुललाई हरित र शान्त वातावरणमा स्थापना गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
रक्तदान तथा वृक्षारोपण कार्यक्रममा योग समिति नेपालका सल्लाहकार मीन बहादुर मल्ल, जगदीशचन्द्र तिमल्सिना, रेडक्रसका प्रविधिक अधिकृत उपेन्द्र रेग्मी, योगप्रेमी समाजसेवी निल साक्य, हरित अभियन्ता हेमन्त काफ्ले लगायत ४८ वटा केन्द्रबाट आएका संयोजक, प्रशिक्षक, आजीवन सदस्य तथा योगमा विश्वास गर्ने योगप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमको संयोजन योग प्रशिक्षक प्रेम केसीले गर्नुभएको थियो भने विस्तृत जानकारी प्रशिक्षक सुमित्रा सुबेदीले दिनुभयो। सामाजिक सद्भाव, स्वास्थ्य तथा वातावरणप्रति जिम्मेवारी दर्शाउने उद्देश्यले गरिएको यो कार्यक्रमले योगगुरुको जन्मोत्सवलाई अर्थपूर्ण बनाएको सहभागिहरूले बताएका छन्।
३ मंसिर २०८०, बर्दिया | बारबर्दिया नगरपालिका वडा नम्मर ८ भगतपुर गाउमा बस्ने अन्दाजी २२ बर्षिय बिबाहित पुरुष गाउ घरमा ल्याप्टन भनेर चिनिने लक्ष्मन थारुलाइ बारबर्दिया नगरपालिका वडा नम्मर ८ कि एक १७ बर्षिय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
गत राती १० बजेको समयमा गाउले बहिनीलाई पिसाब लागेर साथ गएको मौकापारी उक्त समयमा सोही ठाउबाट मुख बुजेर नजिकैको लसुन बारिमा लगि जबर जस्ती करणी गरेको पीडितको आफन्तले रिपोर्टिंग नेपालको सम्बाददाता लाइ जानकारी गरायका छन् ।
बानियाभार इलाका प्रहरी कार्यालयमा पीडितले निबेदन दिय पस्चात आरोपीलाइ आज बिहान करिब ७ बजेको समयमा पक्राउ गरि बानियाभार इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पठायको छ |
जयनगर प्रहरिलाइ जानकारी गराय पश्चात राती १ बजे प्रहरी पीडितको घरमा सोधपुछ गरि बिहान जयनगर इलाका प्रहरीमा निबेदन दिन आउनु भनि फर्किएको तर बिहान पिडित पक्ष जयनगर इलाका प्रहरीमा निबेदन दर्ता गर्न जादा यहा दर्ता हुदैन , मिल्दैन बानियाभार प्रहरी कार्यालयमा जाउ भन्दै निबेदन दर्ता नगरी दुख दियको आरोप पिडित परिवारको छ |
१५ कार्तिक २०८०, काठमाडौं । काठमाडौंको गोठाटारमा प्रहरीले गोली प्रहार गरी दुइ जना लागू औषध कारोबारीलाई नियन्त्रणमा लियको छ ।जसमा एक भारतीय नागरिक र एक नेपाली रहेको छन्|
प्रहरीले गोलि प्रहार गर्दा भारतको ४८ वर्षीय मोहमद करिम घाइते भएका छन् भने झापाका हर्क लिम्बु लाई नेपाल प्रहरी ले नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरुलाई नियन्त्रणमा लियर तलासी लिदा एउटा पेस्तोल र २ सय ग्राम ब्राउन सुगर बरामद भएको जानकारी मा आयको छ । नेपाली नागरिक हर्क लिम्बु भारतिय नागरिक मोहमद करिमका सहयोगी भएको बुझिएको छ।
लागू औषध कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा गोली चलाउनुपरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले जनाएको छ।
१९ मंसिर २०८२ रिपोर्टिङ नेपाल सम्बाददाता , बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ आज भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय समुदाय, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्वयंसेविकाको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई विशेष बनाएको थियो।
कार्यक्रम ‘स्वस्थ समुदाय निर्माणमा महिला स्वास्थ्य स्वयंसेविकाको अग्रणी भूमिका’ भन्ने मूल नारा सहित सुरु भयो। जनचेतनामूलक नारासहित गरिएको बजार परिक्रमा तथा र्यालीमार्फत स्थानीय बासिन्दालाई स्वास्थ्य–सन्देश फैलाइएको थियो।
समुदायमा लामो समयदेखि निस्वार्थ सेवामा समर्पित २२ जना उत्कृष्ट महिला समुदाय स्वास्थ्य स्वयंसेविकालाई कार्यक्रममै नगद, दोसल्ला र प्रमाणपत्रसहित विशेष सम्मान प्रदान गरिएको छ।
स्वास्थ्य शाखाका अनुसार, यी स्वयंसेविकाहरूले मातृ–शिशु स्वास्थ्य, पोषण, खोप, रोग नियन्त्रण र स्वास्थ्य–शिक्षा अभियानमा उल्लेख्य योगदान पुर्याउँदै आएका छन्।
त्यस्तै, नगर क्षेत्रमा क्रियाशील १३० जना स्वयंसेविकालाई झोला, छाता र टर्च वितरण गरी उनको निरन्तर सेवा–भावना र समर्पणप्रति कदर गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख छबिलाल थारुले चुनौतीपूर्ण परिस्थितिमा समेत समुदायलाई नजिकबाट सेवा पुर्याउने स्वयंसेविकाको भुमिकालाई ‘नगरपालिकाको स्वास्थ्य क्षेत्रको मेरुदण्ड’को रूपमा वर्णन गर्नुभयो।
उहाँले भन्नुभयो— “बारबर्दिया नगरका स्वास्थ्य सूचकहरू पछिल्ला वर्षहरूमा निरन्तर सुधारिएको छ। यसको श्रेय सबैभन्दा धेरै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई नै जान्छ। उनीहरूको समर्पणलाई थप ऊर्जा दिन नगरपालिका निरन्तर साथ रहनेछ।”
उहाँले आगामी वर्षहरूमा क्षमता अभिवृद्धि तालिम, प्रोत्साहन कार्यक्रम, आवश्यक सामग्री तथा प्राविधिक सहयोग अझ सुदृढ बनाइने बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले महिला स्वास्थ्य स्वयंसेविकालाई “समुदाय र स्वास्थ्य संस्थाबीचको जीवित पुल”को संज्ञा दिँदै उनको कार्यक्षमता र भूमिकाको प्रशंसा गर्नुभयो।“घर–आँगनमै पुगेर जोखिम रोकथामदेखि स्वास्थ्य सचेतना अभिवृद्धि गर्नु, मातृ–शिशु स्वास्थ्यमा सुधार ल्याउनु, खोप तथा स्वास्थ्य सेवा पहुँच विस्तार गर्नु—यी सबै क्षेत्रमा स्वयंसेविकाका प्रयास अमूल्य छन्। नगरपालिका सदैव उनीहरूको साथमा हुनेछ।”
प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखले सम्मान पत्र हस्तारण गर्दै
स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेलले स्वयंसेविकाको सक्रियताका कारण केही वर्षयता बारबर्दिया नगरपालिकाको स्वास्थ्य क्षेत्रमा ठोस परिवर्तन देखिएको उल्लेख गर्नुभयो।
उहाँका अनुसार— “स्वयंसेविकाले कहिल्यै पछि नहट्ने स्वभाव, निरन्तर फाँट–स्तरमा काम गर्ने प्रतिबद्धता र समुदायप्रतिको जिम्मेवारी नै बारबर्दिया नगरको स्वास्थ्य प्रगतिसँग प्रत्यक्ष जोडिएको छ।”
उहाँले सम्मान–कार्यक्रम स्वयंसेविकाको मनोबल अभिवृद्धिमा महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै आगामी वर्षहरूमा पनि यो परम्परा निरन्तर अघि बढाइने जानकारी दिनुभयो।
स्वास्थ्य शाखाले कार्यक्रम सफल बनाउन साथ–सहयोग गर्ने १३० जना स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सरोकारवाला तथा नागरिक सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।
आजको दिवसले बारबर्दियामा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई औपचारिक रूपमा मान्यता दिएको मात्र होइन, उनीहरूको निष्ठा, समर्पण र समुदाय–सेवाप्रतिको दृढतामा पनि नयाँ ऊर्जा भरिदिएको जनाइएको छ।