बारा । बाल एकता माविको सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफको हत्याको शुरुवाती कारण पत्ता लागेको प्रहरिले जानकारी गरायको छ ।
हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेपछि हत्याको कारण पत्ता लागेको हो । बारा प्रहरीका अनुसार प्रिन्सीपल सर्राफ लामो समयदेखि एक महिलासँग प्रेम सम्बन्धमा रहनुनै मृत्युको कारण रहेको प्रहरीले खुलासा गरेको छ ।
बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार विवाहित सर्राफसँग प्रेममा रहेकी ति महिला अर्का एकजना पुरूषसँग पनि प्रेमसम्बन्धमा थिइन् । ती पुरूषले सर्राफलाई आफ्नी प्रेमिकासँग सम्बन्ध तोड्न बारम्बार दबाब दियका थिए , तर सर्राफले प्रेमिका छाड्न मानेका थिएनन् ।
महिलाको अर्का प्रेमीले गत साउन १३ र भदौ २८ गते पनि सर्राफलाई गोली हान्ने प्रयास गरेका थिए तर सफल हुन सकेका थिएनन् । सर्राफ हत्यामा महिलाको दोहोरो भूमिका रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलाले अर्का प्रेमीले कि आफूलाई मार्ने कि सर्राफलाई मार्ने धम्की दिएपछि आफूले सर्राफको हत्या गर्न सहयोग गरेको बयान प्रहरीलाई दिएकी छन् ।
घटना संलग्न एकजना महिला र २ जना पुरुषलाई प्रहरीले पक्राउ गरिसकेको छ।