बारबर्दिया नगरपालिकामा सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम सुरु

१२ भाद्र २०८२ / बारबर्दिया — बारबर्दिया नगरपालिकामा सामुदायिक स्वास्थ्य तथा नर्सिङ सेवा घरदैलो कार्यक्रम सञ्चालनका लागि तीनदिने नव नियुक्त नर्सहरुको अभिमुखिकरण र सेवा प्रवेश तालिम सुरु भएको छ। भाद्र १२ गतेदेखि १४ गतेसम्म नगरकार्यपालिका हलमा हुने तालिमको आयोजना नगरपालिका स्वास्थ्य शाखा, जयनगरले गरेको हो भने सहजीकरण नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, टेकु, काठमाडौंले गरेको छ।

नेपालकै छैठौं नर्सिङ कार्यक्रमको रुपमा सुरु भएको यस अभियान अन्तर्गत बारबर्दियामा १४ जना नर्स नियुक्त भएका छन्। यसमा ११ जना सामुदायिक नर्स, २ जना विद्यालय नर्स र १ जना सामुदायिक नर्स अधिकृत रहेका छन्। नियुक्त नर्सहरु नगरपालिकाका सबै ११ वटै वडामा पुगेर स्वास्थ्य सेवा प्रदान गर्नेछन्। विद्यालय नर्सहरुले किशोरी विद्यार्थीलाई लक्षित गर्दै जनता माध्यमिक विद्यालय रम्मापुर र धर्मभक्त माध्यमिक विद्यालय कतर्नियामा स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसका लागि नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, नगरपालिका र विद्यालयबीच त्रिपक्षीय सम्झौता भएको छ।

तालिमको उद्घाटन समारोहमा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिराकुमारी निरौलाले विद्यालय र सामुदायिक स्वास्थ्य सेवाको महत्वबारे प्रकाश पार्दै भन्नुभयो, “नर्सहरुको भूमिका समुदायमा स्वास्थ्य सेवाको पहुँच बढाउन र स्वास्थ्य सचेतना फैलाउन अत्यन्त महत्वपूर्ण छ। सुरक्षित मातृत्व, बाल–किशोर स्वास्थ्य, मानसिक स्वास्थ्य र रोग नियन्त्रणमा उनीहरुको योगदान अमूल्य हुनेछ।”

वरिष्ठ अस्पताल नर्सिङ प्रशासक वाला राईले स्थानीय तहस्तरमा प्रभावकारी समन्वय र समितिको भूमिकाको महत्वबारे धारणा राख्दै भन्नुभयो, “सामुदायिक नर्सको कार्य प्रभावकारी हुन स्थानीय समुदाय, विद्यालय र नगरपालिकाबीचको सहकार्य आवश्यक छ। त्रिपक्षीय सम्झौता यस कार्यलाई थप बलियो बनाउनेछ।”

सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम परिवार केन्द्रित अवधारणामा आधारित छ। यस अन्तर्गत नर्सहरुले स्वास्थ्य परीक्षण, उपचार, स्वास्थ्य शिक्षा, रोग रोकथाम र व्यवहार परिवर्तनका कार्यक्रम घरमै पुगेर सञ्चालन गर्नेछन्। कार्यक्रमले मातृ–शिशु स्वास्थ्य, किशोर–किशोरी स्वास्थ्य, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, सर्ने तथा नसर्ने रोग नियन्त्रण तथा जेष्ठ नागरिक स्वास्थ्य सेवा विस्तारमा विशेष योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

यसअघि भक्तपुर, वर्दिबास, चन्द्रागिरी, वालिङ र इटहरीमा लागू भइसकेको यो कार्यक्रम चालु आर्थिक वर्षदेखि बारबर्दिया नगरपालिकामा औपचारिक रूपमा सुरु गरिएको हो। नगरपालिकाले यस अभियान मार्फत स्थानीय जनतामा स्वास्थ्य सम्बन्धी चेतना बढाउने र गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

उद्घाटन कार्यक्रममा नगरप्रमुख छबिलाल थारुले शिक्षा र स्वास्थ्यलाई सामाजिक विकासको मुख्य आधारका रूपमा प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो,
“स्वस्थ र सुसक्षम समाज निर्माण गर्न शिक्षा र स्वास्थ्य दुवै स्तम्भलाई मजबुत बनाउनु आवश्यक छ। विद्यालय र समुदायमा नर्सिङ सेवा उपलब्ध गराउनु भनेको हाम्रो समाजको भविष्य सुरक्षित बनाउने कदम हो। बारबर्दियाका सबै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने अधिकार राख्छन्। नगरपालिकाले नर्सहरुको उच्च मनोबल कायम राख्न र प्रभावकारी सेवा विस्तारमा निरन्तर साथ दिनेछ।”

मेयर थारुले नर्सहरुलाई आफ्नो जिम्मेवारी उच्च मनोबलसहित निर्वाह गर्न प्रेरित गर्दै, नगरपालिकासँग सहकार्य र सहयोगका लागि नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखालाई धन्यवाद ज्ञापन गर्नुभयो। 

नगरपालिकाले यस कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय स्वास्थ्य समिति, विद्यालय, परिवार र समुदायसँग सहकार्यमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएको छ। तालिममा सहभागी नर्सहरुले आगामी दिनमा आफ्नो कार्य प्रभावकारी बनाउन आवश्यक ज्ञान, सीप र व्यवहारिक अभ्यास प्राप्त गर्नेछन्।

यस कार्यक्रमको सफल कार्यान्वयनले बारबर्दियामा मातृ–शिशु स्वास्थ्य, किशोर–किशोरी स्वास्थ्य, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य र समुदायमा रोग नियन्त्रण सेवा विस्तारमा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

बिज्ञापन-YM-ADCustom Text

चितुवाको आक्रमणमा ज्यान गुमाएकी पार्वती डाँगीको परिवारलाई २० लाख ७० हजार बिमा रकम हस्तान्तरण

१३  जेष्ठ  २०८३  रिपोर्टिङ नेपाल सम्बाददाता ,  बारबर्दिया नगरपालिका–९ कतर्निया स्थित नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड को कतर्निया शाखाले चितुवाको आक्रमणमा परी मृत्यु भएकी आफ्नी सदस्य पार्वती डाँगीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दुर्घटना बिमा वापतको २० लाख ७० हजार रुपैयाँ बराबरको रकम हस्तान्तरण गरेको छ।

शाखा कार्यालय परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख छबिलाल थारु, उपप्रमुख रत्नाकुमारी पाण्डे, स्थानीय जनप्रतिनिधि  , प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड katarniyaa शाखाका अनुगमन अधिकृत जेपी मण्डल, शाखा प्रमुख केदार जोशी लगायत, संस्थाका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवातमा दिवंगत पार्वती डाँगीको सम्झनामा १ मिनेट मौनधारण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको थियो। त्यसपछि शाखाले दुर्घटना बिमा वापतको २० लाख ७० हजार रुपैयाँ बराबरको चेक  मृतककी छोरी गङ्गा सलामीलाई हस्तान्तरण गरेको हो।

पार्वती डाँगीको २०८२ साल पुस ९ गते चितुवाको आक्रमणमा परी दुःखद निधन भएको थियो। उहाँले जीविकोपार्जन तथा परिवारको आर्थिक अवस्था सुदृढ बनाउनका लागि उक्त संस्थाबाट ऋण लिनुभएको शाखाले जनाएको छ। संस्थाले ऋण प्रवाह गर्दा सदस्यहरूको ऋण बिमा गर्ने व्यवस्था रहेकाले उहाँको निधनपछि परिवारले बिमा वापतको रकम प्राप्त गरेको हो।

कार्यक्रममा बोल्दै अनुगमन अधिकृत जे पी मण्डलले संस्थाले सदस्यहरूको आर्थिक सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो। उहाँले ऋण लिने क्रममा सदस्यको ऋण बिमा गरिने भएकाले कुनै दुर्घटना वा असामयिक निधनको अवस्थामा परिवारलाई आर्थिक राहत पुग्ने उल्लेख गर्नुभयो।

मण्डलका अनुसार बारबर्दिया नगरपालिका क्षेत्रमा संस्थाका ६९० सदस्य रहेका छन् भने बाँसगढी नगरपालिकामा ४४६, ठाकुरबाबा नगरपालिकामा ८८ तथा बढैयाताल गाउँपालिकामा १० जना सदस्य रहेका छन्। यी चार स्थानीय तहमा गरी संस्थाका कुल १ हजार २३४ सदस्य मध्ये ७०६ जना सदस्यलाई ऋण प्रवाह गरिएको जानकारी उहाँले दिनुभयो ।

कार्यक्रममा नगर प्रमुख छबिलाल थारुले स्वर्गीय पार्वती डाँगीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारलाई छिटोछरितो रूपमा बिमा रकम उपलब्ध गराएकोमा संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो।

उपस्थित स्थानीयवासीहरूले पनि दुःखको घडीमा संस्थाले परिवारलाई आर्थिक सहारा उपलब्ध गराएको भन्दै प्रशंसा गरेका थिए। मृतककी छोरी गङ्गा सलामीले समयमै बिमा रकम उपलब्ध गराएकोमा संस्थाप्रति आभार व्यक्त गर्दै यसले परिवारलाई ठूलो राहत मिलेको बताइन्।

बिज्ञापन-YM-ADCustom Text

पदनाहा स्वास्थ्य चौकीलाई बारबर्दिया नगरपालिकाबाट उत्कृष्टताको सम्मान

५ असोज  २०८२ / बारबर्दिया — बारबर्दिया नगरपालिका–४ मा अवस्थित पदनाहा स्वास्थ्य चौकीले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको भन्दै बारबर्दिया नगरपालिकाबाट प्रशंसा पत्र प्राप्त गरेको छ।

नगरपालिकाभित्र रहेका १२ वटा स्वास्थ्य संस्थामध्ये प्रतिस्पर्धात्मक मूल्याङ्कनमा पदनाहा स्वास्थ्य चौकी पहिलो स्थानमा चयन भई यो सम्मान प्राप्त गर्न सफल भएको हो।

स्वास्थ्य चौकीका प्रमुख रमेश पौडेलले यो उपलब्धि पदनाहा क्षेत्रका सम्पूर्ण वडावासी, सेवाग्राही, स्थानीय अगुवा, बुद्धिजीवी र चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूको सामूहिक प्रयासको प्रतिफल भएको बताए। उहाँले भने – यो सम्मान हाम्रो लागि गर्वको विषय मात्र होइन, अझ बढी जिम्मेवारीसहित सेवा पुर्‍याउने प्रेरणाको स्रोत पनि हो।

यस उपलब्धि बारे सर्वसाधारणलाई जानकारी गराउन चौकीले वडा अध्यक्ष सिताराम योगीको प्रमुख आतिथ्यतामा विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा बडघर, स्थानीय अगुवा, बुद्धिजीवी, समाजसेवी तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अन्तरक्रियामा सहभागीहरूले पदनाहा स्वास्थ्य चौकीले देखाएको कार्यसम्पादन प्रशंसनीय रहेको भन्दै आगामी दिनमा अझ नयाँ कार्यक्रम, प्रविधि र योजनामार्फत सेवा स्तर थप उचाल्ने सुझाव दिएका थिए।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष योगीले पदनाहा स्वास्थ्य चौकीले देखाएको समर्पण र परिणामले वडा मात्र नभई सम्पूर्ण नगरपालिकाको गौरव बढाएको बताए। उनले वडावासीको निरन्तर सहयोग र स्वास्थ्यकर्मीको अथक प्रयासले नै यो सम्भव भएको हो भन्दै स्वास्थ्य चौकीलाई निरन्तर साथ र सुझाव दिन आग्रह गरे।

यसैगरी, स्वास्थ्य चौकीका प्रमुख पौडेलले पदनाहा स्वास्थ्य चौकीलाई उत्कृष्ट बनाउन योगदान पुर्‍याउने सम्पूर्ण समुदायलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

बारबर्दिया नगरपालिकाले प्रदान गरेको यो सम्मानले पदनाहा स्वास्थ्य चौकीलाई मात्र होइन, सम्पूर्ण नगर क्षेत्रका स्वास्थ्य संस्थालाई पनि उत्कृष्ट सेवातर्फ अघि बढ्न थप प्रेरणा दिने विश्वास लिइएको छ।

बिज्ञापन-YM-ADCustom Text

कक्षा ११–१२ पढ्दादेखि नै छात्रामाथि कुदृष्टि! ‘मसँग .. बिताए लाइफ सेट गरिदिन्छु’ भन्ने बारबर्दियाको सामुदायिक बिद्यालयका एक शिक्षक प्रहरी नियन्त्रणमा

‘तिमी राम्री छौ’, ‘लाली लगाएर आऊ’, ‘गाला टोक्न मन लाग्छ’ भन्दै जिस्काएको आरोप; ब्याचलर पढ्दासम्म पनि व्यवहार नरोकिएको दाबी, धम्कीपछि प्रहरी अनुसन्धानमा

रिपोर्टिङ नेपाल , श्रावण २२ , २०८३ 

ज्ञान दिने मन्दिर मानिने विद्यालयभित्रै आफ्नै १९ वर्षीया छात्रामाथि लामो समयदेखि यौनजन्य दुर्व्यवहार र मानसिक दबाब दिएको आरोपमा एक शिक्षक प्रहरी नियन्त्रणमा परेका छन्।

पीडित छात्राका अनुसार, ती शिक्षकले आफू कक्षा ११ र १२ मा अध्ययन गर्दादेखि नै उनलाई लक्षित गर्दै असहज र आपत्तिजनक अभिव्यक्ति दिने तथा जिस्काउने गरेका थिए। शिक्षकले उनलाई ‘तिमी राम्री छौ’, ‘लाली लगाएर आऊ’, ‘गाला टोक्न मन लाग्छ’ जस्ता कुरा भन्ने तथा ‘आउट ड्रेसमा आइजा’ भन्दै जिस्काउने गरेको छात्राको आरोप छ।

छात्राको भनाइअनुसार, कक्षा ११ र १२ मा अध्ययन गर्दादेखि सुरु भएको यस्तो व्यवहार उनी अहिले ब्याचलर तहमा अध्ययन गरिरहँदासमेत ती शिक्षकले नरोकिएको आरोप छ। समय बित्दै जाँदा शिक्षकका व्यवहार झन् आपत्तिजनक बन्दै गएको छात्राको दाबी छ।

घटनाले गम्भीर रूप त्यतिबेला लिएको छात्राको भनाइ छ, जब ती शिक्षकले उनलाई ‘मसँग एक … बितायौ भने तिम्रो लाइफ सेट गरिदिन्छु, परीक्षामा पास गराइदिन्छु’ भन्दै अनैतिक प्रस्ताव राखे।

शिक्षकले आफूलाई यस्तो प्रस्ताव राखेपछि छात्राले आफू उनको विद्यार्थी भएको भन्दै त्यस्तो कुरा नगर्न आग्रह गरेको बताएकी छन्। ‘म तपाईंको विद्यार्थी हुँ, मलाई यस्तो कुरा नगर्नुस्, तपाईंको कुनै सहयोग चाहिँदैन’ भन्दै स्पष्ट रूपमा अस्वीकार गर्दासमेत शिक्षकले आफ्नो व्यवहार नरोकिएको उनको आरोप छ।

बरु ती शिक्षकले ‘माया लागेपछि के विद्यार्थी, के शिक्षक?’ भन्दै आफूलाई लगातार अवाञ्छित सन्देश पठाउने गरेको छात्राको दाबी छ।

रिपोर्टिङ नेपाल विद्यालयमा पुग्दा शिक्षक भेटिएनन्

घटनाबारे जानकारी पाएपछि रिपोर्टिङ नेपालको टोली घटनाको सत्यतथ्य बुझ्न तथा स्थलगत रिपोर्टिङका लागि सम्बन्धित विद्यालयमा पुगेको थियो। रिपोर्टिङ नेपाल टोली विद्यालयमा पुग्दा ती शिक्षक केही घण्टा पढाएर विद्यालयबाट निस्किसकेका थिए। त्यसकारण पहिलो पटकको रिपोर्टिङका क्रममा उनीसँग प्रत्यक्ष भेट हुन सकेन। त्यसपछि २०८३ साउन २२ गते पुनः रिपोर्टिङका क्रममा ती शिक्षकसँग भेट भएको थियो। भेटका क्रममा उनले आफूले कुनै गलत काम नगरेको दाबी गरे। तर, छात्रासँग भएको भनिएको कुराकानी तथा घटनासँग सम्बन्धित प्रमाणबारे बुझ्ने क्रममा मोबाइल जाँच गर्न आग्रह गर्दा उनले अत्तालिँदै आफ्नो मोबाइल देखाउन अस्वीकार गरेका थिए।

घटना बाहिरिने डरले ज्यान मार्ने धम्की दिएको आरोप

घटना यतिमै सीमित नभई पीडित छात्रालाई ज्यान मार्ने धम्कीसमेत दिइएको आरोप छ।पीडित छात्राका अनुसार, घटना बाहिरिएर आफूविरुद्ध कुरा सार्वजनिक हुने डरले ती शिक्षकले उनलाई ह्वाट्सएपमार्फत ‘यो कुरा कसैलाई भनिस् भने तँलाई गायब पारिदिन्छु, तेरो ज्यान सिद्ध्याइदिन्छु’ भन्दै धम्की दिएका थिए।यस्तो धम्कीपछि आफू थप त्रसित भएको छात्राको भनाइ छ। शिक्षकबाटै छात्रालाई लक्षित गरी यस्तो धम्की आएको आरोप सार्वजनिक भएपछि घटनाले विद्यालयमा छात्राहरूको सुरक्षा र शिक्षकको आचरणमाथि समेत गम्भीर प्रश्न उठाएको छ।

प्रहरी नियन्त्रणमा आरोपित शिक्षक

छात्रामाथि भएको भनिएको दुर्व्यवहार तथा ज्यान मार्ने धम्कीबारे जिल्ला प्रहरी कार्यालयमा जानकारी गराइएपछि इलाका प्रहरी कार्यालय बानियाभार (जयनगर) ले आरोपित शिक्षकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले पीडित १९ वर्षीया छात्राबाट घटनासम्बन्धी औपचारिक उजुरी दर्ता गराउने प्रक्रिया अघि बढाएको जनाएको छ। ति पीडित १९ वर्षीया छात्रालाई  प्रहरीले  साइबर अपराध (Cyber Crime) मा औपचारिक उजुरी दर्ता गर्न लगाएर अनुसन्धानको प्रक्रियालाई कडा रूपमा अगाडि बढाउने बताएको छ ।

यद्यपि, आरोपित शिक्षकले आफूले कुनै गलत काम नगरेको दाबी गरेका छन्। त्यसैले पीडितको आरोप, आरोपितको भनाइ तथा उपलब्ध प्रमाणको अनुसन्धानपछि घटनाको वास्तविकता थप स्पष्ट हुने देखिन्छ।

शिक्षकबाटै छात्रामाथि यस्तो आरोप, विद्यालय सुरक्षामाथि प्रश्न

शिक्षकलाई विद्यार्थीको भविष्य निर्माण गर्ने जिम्मेवारी दिइएको हुन्छ। तर, आफ्नै छात्रालाई लक्षित गरी आपत्तिजनक अभिव्यक्ति दिने, व्यक्तिगत सम्बन्धका लागि दबाब दिने, भविष्य र परीक्षामा सहयोग गरिदिने प्रलोभन देखाउने तथा धम्की दिएको आरोप लाग्नु गम्भीर विषय हो।

विशेषगरी कक्षा ११ र १२ मा अध्ययन गर्दादेखि ब्याचलर तहसम्म पनि यस्तो व्यवहार निरन्तर भएको पीडितको आरोपले शिक्षक–विद्यार्थी सम्बन्ध, विद्यालयको सुरक्षा र विद्यार्थीको संरक्षण प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।

यदि अनुसन्धानबाट आरोप पुष्टि भएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनअनुसार आवश्यक कानुनी कारबाही हुनुपर्ने देखिन्छ। विद्यालय विद्यार्थीका लागि सुरक्षित स्थान बन्नुपर्ने भएकाले यस्ता आरोपलाई सम्बन्धित निकायले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने देखिन्छ।

यस घटनाको अनुसन्धान कहाँसम्म पुग्छ, आरोपित शिक्षकविरुद्ध कस्तो कानुनी प्रक्रिया अघि बढ्छ र उपलब्ध डिजिटल प्रमाणले के देखाउँछ भन्ने विषयमा रिपोर्टिङ नेपालले निरन्तर निगरानी र रिपोर्टिङ गर्नेछ।

थप तथ्य तथा कानुनी प्रक्रियासम्बन्धी अपडेटका लागि हेर्दै गर्नुहोस्—रिपोर्टिङ नेपाल।

बिज्ञापन-YM-ADCustom Text

बिज्ञापन

Custom Text

भर्खरै राखिएको