
आकस्मिक स्वास्थ्यदेखि सञ्चारसम्म ‘बुद्धभूमी नेपाल’को सक्रियता, २४ घण्टा एम्बुलेन्स र ‘कुण्डली’ साप्ताहिक प्रकाशन
बर्दिया, २०८३ भदौ ३ गते । बर्दियाको बारबर्दिया नगरपालिका–८, औरीमा स्थापित सामाजिक संस्था बुद्धभूमी नेपाल (Buddha Land Nepal–BL Nepal) ले आकस्मिक स्वास्थ्य सेवा, सामाजिक उद्धार तथा सूचना–सञ्चारका क्षेत्रमा आफ्नो गतिविधिलाई निरन्तरता दिँदै आएको छ। ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायलाई लक्षित गर्दै संस्थाले २४ सै घण्टा आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्नुका साथै स्थानीय विषयवस्तुलाई प्राथमिकता दिँदै ‘कुण्डली’ साप्ताहिक पत्रिका समेत नियमित प्रकाशन गर्दै आएको छ।
संस्था दर्ता ऐन, २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय बर्दियामा दर्ता नं. ८७५ सहित २०७७ सालमा स्थापना भएको बुद्धभूमी नेपाल समाज कल्याण परिषद्को आबद्धता नं. ५१८११ मा समेत आबद्ध रहेको संस्थाले जनाएको छ। स्थापनादेखि नै पिछडिएका तथा ग्रामीण समुदायमा सामाजिक सेवा विस्तार गर्दै आएको संस्थाले स्वास्थ्य क्षेत्रलाई आफ्नो प्रमुख प्राथमिकतामध्ये एक बनाएको छ।
आर्थिक अवस्था र बिरामीको प्रकृतिअनुसार सहुलियत
संस्थाले बिरामीको आर्थिक अवस्था तथा रोगको प्रकृतिलाई आधार मानेर विशेष छुट र सहुलियत कार्ड उपलब्ध गराउँदै आएको जनाएको छ। सिकलसेल, थालेसिमिया, मिर्गौला, मुटु तथा दीर्घरोगी, क्यान्सर पीडित, अपांगता भएका व्यक्ति, बालबालिका, गर्भवती महिला र ज्येष्ठ नागरिकलगायतलाई प्राथमिकतामा राखेर सेवा प्रदान गर्ने गरिएको संस्थाको भनाइ छ।
बारबर्दिया नगरपालिकाभित्र निशुल्क तथा नगरपालिका बाहिर सहुलियत दरमा आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन भइरहेको संस्थाले जनाएको छ। यही अभियानअन्तर्गत ‘एक घर, एक सहुलियत कार्ड’ तथा जीवन रक्षाका लागि चन्दा–दान महाअभियान सञ्चालन गरिएको छ।
संस्थाका अध्यक्ष अशोक के.सी. का अनुसार आगामी दिनमा सामुदायिक अस्पताल/क्लिनिक सञ्चालन गर्ने तयारीसमेत रहेको छ। सहुलियत कार्ड प्राप्त गरेका घरपरिवारलाई सहुलियत दरमा उपचार उपलब्ध गराउने तथा गुलरिया, कोहलपुर र नेपालगन्जसम्म समेत एम्बुलेन्स सेवा विस्तार गर्ने योजना रहेको छ ।
यस अभियानको अर्को उल्लेखनीय पक्ष संस्थाका अध्यक्ष अशोक के.सी. स्वयं एम्बुलेन्स चालकको भूमिकामा अग्रपंक्तिमा खटिएर बिरामीको सेवामा सक्रिय रहेको स्थानीयको भनाइ छ।
स्वास्थ्यसँगै सञ्चार क्षेत्रमा पनि निरन्तरता
बुद्धभूमी नेपालले स्वास्थ्य तथा सामाजिक सेवासँगै नागरिकलाई सूचना र समाचारमार्फत सुसूचित गराउने उद्देश्यले सञ्चार क्षेत्रमा समेत काम गर्दै आएको छ। संस्थाको प्रकाशन तथा अध्यक्ष अशोक के.सी. को सम्पादनमा ‘कुण्डली’ नेपाली भाषाको साप्ताहिक पत्रिका बर्दियाबाट नियमित रूपमा प्रकाशित हुँदै आएको छ।
जिल्ला प्रशासन कार्यालय बर्दियाबाट स्थायी इजाजत तथा दर्ता नं. ४९ प्राप्त ‘कुण्डली’ साप्ताहिक प्रत्येक आइतबार ८ पृष्ठमा ५०० प्रति प्रकाशन हुने गरेको संस्थाले जनाएको छ। पत्रिकाको प्रधान सम्पादकको जिम्मेवारी समेत अध्यक्ष अशोक के.सी. ले सम्हाल्दै आएकाछन् भने संवाददाता प्रमुख राजु नगाल क्षेत्री ले समाचार संकलन तथा सम्पादनमा सहयोग गर्दै आएकाछन्।
ओम शान्ति अफसेट प्रेस, गुलरिया बाट मुद्रण हुँदै आएको ‘कुण्डली’ले स्थानीय आवाज, सामाजिक मुद्दा तथा नागरिक सरोकारका विषयलाई प्राथमिकता दिँदै आएको संस्थाको भनाइ छ।
वातावरणदेखि विपद् उद्धारसम्म गतिविधि
संस्थाका सचिव रामराज थारु का अनुसार बुद्धभूमी नेपालले स्वास्थ्य र सञ्चारका अतिरिक्त आन्तरिक राजस्व कार्यालयबाट स्वीकृत कार्यक्षेत्रभित्र रही वातावरण संरक्षण, प्राकृतिक प्रकोप उद्धार, फोहोरमैला व्यवस्थापन तथा सामाजिक अनुसन्धान लगायतका गतिविधि पनि अघि बढाउँदै आएको छ।
संस्थाले आगामी दिनमा स्थानीय सरकार, समुदाय तथा अन्य सरोकारवाला निकायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै सामाजिक सेवाका गतिविधि विस्तार गर्ने जनाएको छ।
आकस्मिक स्वास्थ्य सेवाबाट सुरु भएको बुद्धभूमी नेपालको अभियान अहिले सूचना–सञ्चार, वातावरण संरक्षण र सामाजिक सेवासम्म विस्तार हुँदै गएको छ। ग्रामीण क्षेत्रमा सेवा र सूचनाको पहुँच बढाउने उद्देश्यसहित संस्थाले आफ्ना गतिविधिलाई निरन्तरता दिइरहेको जनाएको छ।
















