मेयर छबिलालको ठाडो आदेशमा : गरिब किसानको बगर खेतिमा डोजर

१७ चैत्र २०८०, बर्दिया | बारबर्दिया र गुलरिया नगरपालिकाको सिमाना जब्दी घाटको बगरमा खेति गर्ने गुलरिया नगरपालिका वडा नम्मर ४ का किसानहरुले गरेको बगरखेतिमा बारबर्दिया नगरपालिकाको मेयर छबिलाल थारुले निर्ममता पुर्बक डोजर चलाउन निर्देशन दिदा बगर खेती गर्ने किसानहरु पिडामा परेका छन् । दैबी प्रकोपका कारण हुने क्षतिमा समेत किसानलाई क्षेतीपुर्तिको व्यवस्थापन गर्नुपर्ने निकायलेनै प्राकृतिक प्रकोप भन्दा क्रुर रुपमा किसानको बालीमा क्षती पुराउदा किसान त्रसित बनेकाछन ।

बर्षौ देखि किसानहरुले त्यस बगरमा तरभुज खेति गर्दै आइरहेका थिय त्यसै पेशा लाइ निरन्तरता दिदै यस साल पनि तेहाका किसान हरुले बगर खेतिको रुपमा तरभुजा खेति गरेका थिय ।
ऋण धन गरि बगरखेति गरिरहेका पिडित किसानहरुले लाभ लिने बेलामा खेति नै सखाप पारिदियको भन्दै बारबर्दियाका मेयर छबिलाल थारु प्रति गुनासो गरेका छन् ।


किसानहरु रामजनीया थारु, राधिका थारु, जमुनी थारु, बसन्त थारु, लक्षमी थारु, बुधनी थारुले लगाएको फलफुल डोजरले नष्ट गरेको छ । पीडित किसान बसन्त थारुले बारबर्दिया नगरपालिकाले दादागिरी शैलीमा बगर खेतीमा डोजर लगाएको र पालिका अध्यक्ष छबीलाल थारुले अन्य किसानको बगरखेतिमा पनि डोजर लगाउने धम्की दिएका छन् ।

भत्किएको जब्दीघाट पुलको दक्षिण तर्फ गुलरीया नगरपालिका वडा न. ४ बगहीका किसानहरुले बगर खेती गरेका छन् । फल्न थालिसकेको तरबुझा लगायतका फलफुल नष्ट गरेपछि आक्रोसित बनेका स्थानीय गुहार माग्न जिल्ला प्रशासन कार्याल गयका छन्।

पुरा भिडियो हेर्नुहोस

बिज्ञापन-YM-ADCustom Text

बारबर्दियामा महिला स्वास्थ्य स्वयंसेविकाको सम्मान–दिवस: २२ उत्कृष्ट स्वयंसेविका पुरस्कृत, १३० जनालाई प्रोत्साहन सामग्री वितरण

१९  मंसिर  २०८२  रिपोर्टिङ नेपाल सम्बाददाता , बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ आज भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय समुदाय, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्वयंसेविकाको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई विशेष बनाएको थियो।

कार्यक्रम ‘स्वस्थ समुदाय निर्माणमा महिला स्वास्थ्य स्वयंसेविकाको अग्रणी भूमिका’ भन्ने मूल नारा सहित  सुरु भयो।  जनचेतनामूलक नारासहित गरिएको  बजार परिक्रमा तथा र्‍यालीमार्फत स्थानीय बासिन्दालाई स्वास्थ्य–सन्देश फैलाइएको थियो।

समुदायमा लामो समयदेखि निस्वार्थ सेवामा समर्पित २२ जना उत्कृष्ट महिला समुदाय स्वास्थ्य स्वयंसेविकालाई कार्यक्रममै नगद, दोसल्ला र प्रमाणपत्रसहित विशेष सम्मान प्रदान गरिएको छ।

स्वास्थ्य शाखाका अनुसार, यी स्वयंसेविकाहरूले मातृ–शिशु स्वास्थ्य, पोषण, खोप, रोग नियन्त्रण र स्वास्थ्य–शिक्षा अभियानमा उल्लेख्य योगदान पुर्‍याउँदै आएका छन्।

त्यस्तै, नगर क्षेत्रमा क्रियाशील १३० जना स्वयंसेविकालाई झोला, छाता र टर्च वितरण गरी उनको निरन्तर सेवा–भावना र समर्पणप्रति कदर गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख छबिलाल थारुले चुनौतीपूर्ण परिस्थितिमा समेत समुदायलाई नजिकबाट सेवा पुर्‍याउने स्वयंसेविकाको भुमिकालाई ‘नगरपालिकाको स्वास्थ्य क्षेत्रको मेरुदण्ड’को रूपमा वर्णन गर्नुभयो।

उहाँले भन्नुभयो—
“बारबर्दिया नगरका स्वास्थ्य सूचकहरू पछिल्ला वर्षहरूमा निरन्तर सुधारिएको छ। यसको श्रेय सबैभन्दा धेरै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई नै जान्छ। उनीहरूको समर्पणलाई थप ऊर्जा दिन नगरपालिका निरन्तर साथ रहनेछ।”

उहाँले आगामी वर्षहरूमा क्षमता अभिवृद्धि तालिम, प्रोत्साहन कार्यक्रम, आवश्यक सामग्री तथा प्राविधिक सहयोग अझ सुदृढ बनाइने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले महिला स्वास्थ्य स्वयंसेविकालाई “समुदाय र स्वास्थ्य संस्थाबीचको जीवित पुल”को संज्ञा दिँदै उनको कार्यक्षमता र भूमिकाको प्रशंसा गर्नुभयो।“घर–आँगनमै पुगेर जोखिम रोकथामदेखि स्वास्थ्य सचेतना अभिवृद्धि गर्नु, मातृ–शिशु स्वास्थ्यमा सुधार ल्याउनु, खोप तथा स्वास्थ्य सेवा पहुँच विस्तार गर्नु—यी सबै क्षेत्रमा स्वयंसेविकाका प्रयास अमूल्य छन्। नगरपालिका सदैव उनीहरूको साथमा हुनेछ।”

प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखले सम्मान पत्र हस्तारण गर्दै

स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेलले स्वयंसेविकाको सक्रियताका कारण केही वर्षयता बारबर्दिया नगरपालिकाको स्वास्थ्य क्षेत्रमा ठोस परिवर्तन देखिएको उल्लेख गर्नुभयो।

उहाँका अनुसार—
“स्वयंसेविकाले कहिल्यै पछि नहट्ने स्वभाव, निरन्तर फाँट–स्तरमा काम गर्ने प्रतिबद्धता र समुदायप्रतिको जिम्मेवारी नै बारबर्दिया नगरको स्वास्थ्य प्रगतिसँग प्रत्यक्ष जोडिएको छ।”

उहाँले सम्मान–कार्यक्रम स्वयंसेविकाको मनोबल अभिवृद्धिमा महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै आगामी वर्षहरूमा पनि यो परम्परा निरन्तर अघि बढाइने जानकारी दिनुभयो।

स्वास्थ्य शाखाले कार्यक्रम सफल बनाउन साथ–सहयोग गर्ने १३० जना स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सरोकारवाला तथा नागरिक सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।

आजको दिवसले बारबर्दियामा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई औपचारिक रूपमा मान्यता दिएको मात्र होइन, उनीहरूको निष्ठा, समर्पण र समुदाय–सेवाप्रतिको दृढतामा पनि नयाँ ऊर्जा भरिदिएको जनाइएको छ।

बिज्ञापन-YM-ADCustom Text

स्वास्थ्य मूल्याङ्कनमा बारबर्दिया अब्बल, ७८.५३ अंकसहित पहिलो

बर्दिया, २०८३ भाद्र २४, बुधबार । रिपोर्टिङ नेपाल

स्वास्थ्य क्षेत्रमा गरिएको वार्षिक मूल्याङ्कनमा बारबर्दिया नगरपालिका बर्दियाका आठ स्थानीय तहमध्ये उत्कृष्ट ठहरिएको छ। स्वास्थ्य कार्यालय बर्दियाले निर्धारित स्वास्थ्य सूचकका आधारमा गरेको मूल्याङ्कनमा बारबर्दियाले ७८.५३ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।

नगर अस्पतालमै आँखा उपचार सेवा सञ्चालनमा ल्याउने बर्दियाकै पहिलो पालिकाको रूपमा समेत पहिचान बनाएको  बारबर्दियाले मूल्याङ्कनमा आफूलाई अब्बल सावित गर्न सफल भएको छ भने   बढैयाताल गाउँपालिका ७६.९३ अंकसहित दोस्रो र गेरुवा गाउँपालिका ७६.७६ अंकसहित तेस्रो भएका छन्।

स्वास्थ्य कार्यालय बर्दियाले सार्वजनिक गरेको नतिजाअनुसार बाँसगढी नगरपालिका चौथो, मधुवन नगरपालिका पाँचौँ, गुलरिया नगरपालिका छैटौँ, राजापुर नगरपालिका सातौँ र ठाकुरबाबा नगरपालिका आठौँ स्थानमा रहेका छन्।
आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य क्षेत्रमा सञ्चालन भएका कार्यक्रम तथा गतिविधिको वार्षिक समीक्षा र आगामी योजना तर्जुमा कार्यक्रममा स्थानीय तहहरूको मूल्याङ्कन नतिजा सार्वजनिक गरिएको हो।
स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख उमेश गौतमले निर्धारित सूचकका आधारमा स्थानीय तहहरूको मूल्याङ्कन गरिएको बताउनुभयो। उहाँका अनुसार अंकका आधारमा पहिलो, दोस्रो र तेस्रो स्थान निर्धारण भए पनि जिल्लाका सबै स्थानीय तहले स्वास्थ्य क्षेत्रमा राम्रो काम गरिरहेका छन्।
मूल्याङ्कनमा समेटिएका सूचकबाहेक पनि स्थानीय स्वास्थ्य शाखाहरूले समुदायमा सकारात्मक प्रभाव पार्ने विभिन्न काम गरिरहेको गौतमले बताउनुभयो।
उहाँका अनुसार सबैभन्दा कम अंक प्राप्त गर्ने स्थानीय तहले समेत ७२.२९ अंक हासिल गरेको छ। अन्य जिल्ला तथा स्थानीय तहको अवस्थासँग तुलना गर्दा बर्दियाको समग्र स्वास्थ्य क्षेत्रको प्रदर्शन राम्रो रहेको उहाँको भनाइ छ।
स्वास्थ्य मूल्याङ्कनमा उत्कृष्ट भएका पहिलो, दोस्रो र तेस्रो स्थानका स्थानीय तहलाई सम्मान गरिएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुनले प्रमाणपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो।
स्थानीय तहको स्वास्थ्य सेवा, कार्यक्रम कार्यान्वयन र सूचकगत प्रगतिको नियमित मूल्याङ्कनले आगामी दिनमा स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बिज्ञापन-YM-ADCustom Text

किसानको पीडा बुझ्ने नेतृत्व, कृषि यान्त्रीकरणदेखि शीतभण्डारसम्म बर्दियामै अग्रसर बारबर्दिया

बर्दिया, २०८३ आश्विन ३० गते ।

किसानको पसिनाले माटो उर्वर बन्छ, खेतमा अन्न फल्छ र त्यही अन्नले परिवारदेखि समाजसम्मको जीवन धान्छ। तर अन्न उत्पादन गर्ने किसानले नै समयमै खेत जोत्न नपाउने, कृषि यन्त्रका लागि अरूको भर पर्नुपर्ने, उत्पादन लागत बढ्ने र उत्पादन भइसकेपछि उचित मूल्य पाउन नसक्ने समस्या भोग्नुपरेको छ। किसानको यही पीडा बुझेर त्यसको समाधान खोज्नु केवल विकासको काम होइन, किसानको श्रम, आत्मसम्मान र भविष्यप्रतिको जिम्मेवारी पनि हो।

यही सन्दर्भमा बारबर्दिया नगरपालिकाले २०८३ साल असोज २९ गते सञ्चालन गरेको ३० प्रतिशत अनुदानमा कृषि यन्त्र तथा उपकरण वितरण कार्यक्रम महत्त्वपूर्ण पहलका रूपमा देखिएको छ। कार्यक्रममार्फत १२७ जना किसानलाई ९ एचपीका मिनी टिलर वितरण गरिएको छ। नगरपालिकाले यसअघि पनि कृषि यन्त्र वितरण गर्दै आएको छ। यी प्रयासले किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्ने र खेतीपातीको लागत घटाउने दिशामा काम गर्ने सम्भावना बोकेका छन्।

यस पहलसँग जोडिएको महत्त्वपूर्ण पक्ष नगरप्रमुख छविलाल थारूको सोच र अग्रसरता हो। किसानले खेत जोत्न तथा कृषि कार्य गर्न ट्र्याक्टरमा निर्भर रहनुपर्ने, चर्को शुल्क तिर्नुपरेको गुनासो गर्ने र आर्थिक अभावमा उधारोमा सेवा लिनुपर्ने अवस्थाले उनीहरूको खेतीपातीमा थप दबाब सिर्जना गरेको छ। कतिपय अवस्थामा उधारोमा खेत जोताएपछि धानको दाइँदेखि गहुँबाली लगाउने र भित्र्याउने कामसम्म एउटै सेवा प्रदायकमा निर्भर रहनुपर्ने बाध्यता पनि आउन सक्छ। यस्तो अवस्थामा किसानलाई आफ्नै कृषि यन्त्र उपलब्ध गराउनु समस्याको व्यावहारिक समाधानतर्फको कदम हो।

किसानको गुनासो र किसानले भोगेको यही समस्यालाई सम्बोधन गर्न नगरप्रमुखले ट्र्याक्टर सञ्चालकलाई खेत जोत्ने तथा दाइँ गर्ने शुल्क घटाउन आग्रह गर्दै सूचना जारी गरेका थिए। तर अपेक्षित रूपमा शुल्क नघटेको अवस्थामा किसानलाई विकल्प उपलब्ध गराउने आवश्यकता अझ स्पष्ट हुन्छ। कृषि सेवा प्रदान गर्ने व्यवसायीले आफ्नो लगानी र श्रमको उचित मूल्य पाउनुपर्छ; त्यसैगरी किसानले पनि न्यायोचित शुल्कमा समयमै सेवा पाउनुपर्छ। किसानलाई विकल्पविहीन हुन नदिने र कृषि सेवामा पहुँच बढाउने सोच नै दीर्घकालीन समाधानको बाटो हो।

मिनी टिलर वितरणले किसानलाई आफ्नै खेतबारीको काम आफैँ व्यवस्थापन गर्न सक्ने अवसर दिन सक्छ। आवश्यकताअनुसार समयमै खेत तयार गर्न, उत्पादन लागत घटाउन र सम्भव भए छिमेकी किसानलाई समेत सेवा दिएर आम्दानीको अर्को बाटो खोल्न यसले सहयोग पुर्‍याउन सक्छ। यसको महत्त्व उपकरणको मूल्यमा मात्र सीमित छैन; किसानले आफ्नो खेतीको समय र खर्चबारे आफैँ निर्णय गर्न सक्ने क्षमता बढाउनुमा छ। किसानलाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लैजाने सोच नै यस्ता कार्यक्रमको वास्तविक आधार बन्नुपर्छ।

नगरप्रमुख छविलाल थारूको कृषि विकाससम्बन्धी सोच कृषि यन्त्र वितरणमा मात्र सीमित छैन। कृषि क्षेत्रका विभिन्न यन्त्र तथा उपकरण किसानलाई सहुलियत दरमा भाडामा उपलब्ध गराउन कृषि हायरिङ सेन्टर स्थापना गरी सञ्चालन गर्ने उनको परिकल्पना पनि महत्त्वपूर्ण छ। सबै किसानले महँगा कृषि उपकरण आफैँ खरिद गर्न सक्दैनन्। यस्तो केन्द्र सञ्चालनमा आएमा किसानले आवश्यकताअनुसार उपकरण भाडामा लिएर प्रयोग गर्न सक्नेछन्। यसबाट साना तथा मध्यम किसानलाई आधुनिक कृषि प्रविधिको पहुँचमा ल्याउन र कृषि सेवाको लागत घटाउन सहयोग पुग्न सक्छ।

कृषि हायरिङ सेन्टरको अवधारणाले कृषि यन्त्र वितरणबाट प्राप्त हुने तत्कालीन राहतलाई दीर्घकालीन सेवामा रूपान्तरण गर्ने सम्भावना बोकेको छ। मिनी टिलर पाएका किसानले आफ्नै उपकरण प्रयोग गर्न सक्छन् भने अन्य उपकरण आवश्यक पर्ने किसानले हायरिङ सेन्टरबाट सेवा लिन सक्नेछन्। यो सोचलाई व्यवहारमा उतार्न सकेमा बारबर्दियाको कृषि क्षेत्रलाई थप व्यवस्थित, प्रविधिमैत्री र उत्पादनमुखी बनाउने आधार तयार हुन सक्छ।

यससँगै किसानको अर्को ठुलो  समस्या उत्पादनपछि उचित मूल्य नपाउनु र भण्डारणको सुविधा उपलब्ध नहुनु हो। किसानले मेहनत गरेर उत्पादन गरेको कृषि उपज उचित समयमा बिक्री गर्न नसक्दा वा भण्डारणको व्यवस्था नहुँदा कम मूल्यमा बेच्नुपर्ने अवस्था आउन सक्छ। विशेषगरी उत्पादन एकैपटक बजारमा पुग्दा मूल्यमा दबाब पर्ने र किसानले आफ्नो मेहनतअनुसार प्रतिफल नपाउने जोखिम रहन्छ। त्यसैले कृषि विकासलाई खेत जोत्न प्रयोग हुने उपकरणमा मात्र सीमित नराखी उत्पादनको संरक्षण, भण्डारण र बजार व्यवस्थापनसँग जोड्नु आवश्यक छ।

यही आवश्यकतालाई सम्बोधन गर्ने अर्को महत्त्वपूर्ण पहल किसानका लागि शीतभण्डार (कोल्ड स्टोर) निर्माण हो। नगरप्रमुख छविलाल थारूको अवधारणाअनुसार अघि बढाइएको शीतभण्डारको निर्माण कार्य सम्पन्न भएको र यसै वर्षदेखि सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ। यो योजना सञ्चालनमा आएपछि भण्डारण गर्न मिल्ने कृषि उपज सुरक्षित राख्न, तत्कालै बिक्री गर्नुपर्ने बाध्यता घटाउन र उपयुक्त बजार मूल्यको प्रतीक्षा गर्न किसानलाई सहयोग पुग्न सक्छ। तर यसको वास्तविक लाभ शीतभण्डार सञ्चालनमा आएपछि, किसानले सहज र उचित शुल्कमा सेवा पाएपछि तथा भण्डारण सुविधाको प्रभावकारी व्यवस्थापन भएपछि देखिनेछ।

कृषि यन्त्र वितरण, कृषि हायरिङ सेन्टरको परिकल्पना र शीतभण्डार निर्माणलाई अलग-अलग कार्यक्रमका रूपमा मात्र हेर्नु उचित हुँदैन। यी तीनै प्रयासलाई एउटै कृषि विकासको शृङ्खलाका रूपमा बुझ्न सकिन्छ। खेत तयार गर्न यन्त्र, आवश्यक उपकरणमा पहुँचका लागि हायरिङ सेन्टर र उत्पादनपछिको संरक्षणका लागि शीतभण्डार—यी पक्ष प्रभावकारी रूपमा जोडिन सकेमा किसानलाई खेतीको सुरुदेखि उत्पादन बिक्रीसम्म सहयोग पुग्न सक्छ। यही समग्र सोचले कृषि क्षेत्रलाई आधुनिक, व्यवस्थित र उत्पादनमुखी बनाउने सम्भावना राख्छ।

यी योजनासँग जोडिएको नगरप्रमुख छविलाल थारूको पहल र दूरदृष्टिलाई सम्मानका साथ लिनुपर्छ। किसानले भोगिरहेका समस्या पहिचान गरेर तिनको समाधानका लागि तत्कालीन र दीर्घकालीन उपाय खोज्नु स्थानीय नेतृत्वको महत्त्वपूर्ण जिम्मेवारी हो। कृषि यन्त्र वितरणले खेतबारीको काममा सहयोग पुर्‍याउने, हायरिङ सेन्टरले उपकरणमा पहुँच विस्तार गर्ने र शीतभण्डारले उत्पादनको संरक्षण तथा बजार व्यवस्थापनमा मद्दत गर्ने सोचले किसानका विभिन्न आवश्यकता समेट्ने प्रयास गरेको देखिन्छ। यसको सफलता भने योजना कति राम्रो सुनिन्छ भन्नेमा होइन, किसानले त्यसबाट कति प्रत्यक्ष लाभ प्राप्त गर्छन् भन्नेमा निर्भर हुनेछ।

कृषि अनुदान वितरणमा बारबर्दिया नगरपालिकाले निश्चित मापदण्डका आधारमा लाभग्राही छनोट गरी अनुदान उपलब्ध गराएको छ। राजनीतिक निकटता, नातागोता वा व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर निर्धारित मापदण्डभित्र पर्ने किसानलाई अवसर उपलब्ध गराउने यस्तो अभ्यासले सार्वजनिक स्रोतको न्यायोचित उपयोग र सुशासनको महत्त्वलाई उजागर गर्छ। अनुदान कुनै व्यक्ति वा समूहको कृपा नभई किसानको आवश्यकता र योग्यताका आधारमा प्राप्त हुने अवसर हो भन्ने सन्देश यसले दिएको छ। विकासका कार्यक्रम पारदर्शी, निष्पक्ष र मापदण्डमा आधारित हुँदा नागरिकको विश्वास बढ्नुका साथै वास्तविक किसानसम्म सहयोग पुग्ने आधार बलियो हुन्छ।

बारबर्दियाको कृषि क्षेत्रलाई थप सबल बनाउन कृषि यन्त्र वितरण, हायरिङ सेन्टर र शीतभण्डारसँगै गुणस्तरीय बीउ, मल, सिँचाइ, कृषि प्राविधिक सहयोग, मर्मतसम्भार र उत्पादनको उचित बजारमा पनि ध्यान दिनुपर्छ। शीतभण्डार सञ्चालनमा आएपछि यसको सेवा शुल्क, पहुँच, व्यवस्थापन र किसानले पाउने सुविधालाई पारदर्शी बनाउन आवश्यक हुन्छ। वितरण गरिएका यन्त्र प्रयोगमा छन् कि छैनन्, किसानको लागत कति घट्यो र शीतभण्डारले कृषि उपजको बिक्री तथा आम्दानीमा कस्तो प्रभाव पार्‍यो भन्ने विषयमा नियमित अनुगमन र मूल्याङ्कन गर्नुपर्छ।

किसानको समृद्धिलाई अनुदान वितरण वा उत्पादन वृद्धिमा मात्र सीमित गरेर हेर्न सकिँदैन। समयमै खेती गर्न सहज वातावरण निर्माण गर्नु, उत्पादन लागत घटाउनु, कृषि उपज सुरक्षित राख्ने व्यवस्था मिलाउनु र किसानले आफ्नो मेहनतको उचित मूल्य प्राप्त गर्ने आधार तयार गर्नु नै वास्तविक समृद्धितर्फका महत्त्वपूर्ण कदम हुन्। यही उद्देश्यलाई आत्मसात् गर्दै नगरप्रमुख छविलाल थारूको सोच र पहलमा अघि बढेका कृषि यन्त्र वितरण कार्यक्रम, कृषि हायरिङ सेन्टर सञ्चालनको परिकल्पना र निर्माण सम्पन्न शीतभण्डारलाई किसानको हितमा केन्द्रित दूरदर्शी प्रयासका रूपमा लिन सकिन्छ। किसानले भोग्दै आएका व्यावहारिक समस्यालाई सम्बोधन गर्दै कृषि क्षेत्रलाई आधुनिक, व्यवस्थित र आत्मनिर्भर बनाउने उहाँको सोच प्रशंसनीय छ। यी पहलले सार्थक रूप लिँदै किसानको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकेमा बारबर्दियाको कृषि विकासले नयाँ उचाइ हासिल गर्नेछ र स्थानीय अर्थतन्त्रलाई थप बलियो बनाउनेछ।

किसानको हातमा कृषि यन्त्र पुग्नु, आवश्यक उपकरण सहुलियतमा पाउने व्यवस्था बन्नु र उत्पादन सुरक्षित राख्न शीतभण्डार सञ्चालनमा आउनु—यी सबैको अन्तिम उद्देश्य किसानलाई आत्मनिर्भर बनाउनु हो। नगरप्रमुखको सोचले व्यवहारमा मूर्त रूप पाओस्, योजनाको लाभ वास्तविक किसानसम्म पुगोस र कृषि कर्म सम्मानजनक तथा लाभदायक पेसाका रूपमा स्थापित होस्। किसानको अनुहारमा देखिने सन्तोष, उत्पादनमा हुने वृद्धि र आम्दानीमा आउने सुधार नै यी पहलको वास्तविक सफलता हुनेछ।

किनकि किसान बलियो भए गाउँ बलियो हुन्छ, गाउँ बलियो भए स्थानीय अर्थतन्त्र बलियो हुन्छ। किसानको पीडा बुझ्ने नेतृत्व, कृषि विकासका लागि दीर्घकालीन सोच र त्यसलाई परिणाममा बदल्ने प्रतिबद्धताले नै बारबर्दियालाई बर्दियाको कृषि विकासमा अग्रसर स्थानीय तहका रूपमा स्थापित गर्न सक्छ।

बारबर्दियाले अघि सारेका यी पहल बर्दियाका अन्य स्थानीय तहका लागि पनि सिकाइको विषय बन्न सक्छन्। कृषि यान्त्रीकरण, सहुलियतमा कृषि उपकरणको उपलब्धता, किसानका लागि हायरिङ सेन्टरको परिकल्पना र उत्पादन सुरक्षित राख्न निर्माण सम्पन्न भएको शीतभण्डारलाई एउटै योजनागत सोचमा जोड्नु सामान्य विषय होइन। यी प्रयासले किसानको आजको समस्या मात्र होइन, भोलिको कृषि क्षेत्र कस्तो बनाउने भन्ने दीर्घकालीन दृष्टिकोण पनि प्रस्तुत गर्छन्।

तर एउटा महत्त्वपूर्ण प्रश्न यहाँनेर उठ्छ—किसानको हितलाई केन्द्रमा राखेर अघि सारिएका यी योजनाको भविष्य के होला?

आगामी स्थानीय  निर्वाचनपछि स्थानीय नेतृत्व परिवर्तन हुन सक्छ। नेतृत्व परिवर्तन लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक पक्ष हो। तर नेतृत्व परिवर्तनसँगै किसानका लागि अघि सारिएका उपयोगी योजना र दीर्घकालीन सोच पनि ओझेलमा पर्ने हुन् कि भन्ने चिन्ता स्वाभाविक छ। कुनै व्यक्तिको सोचबाट सुरु भएको योजना व्यक्तिसँगै समाप्त हुनुहुँदैन। किसानको हितमा रहेका योजना संस्थागत हुनुपर्छ र नेतृत्व परिवर्तन भए पनि तिनको निरन्तरता सुनिश्चित गरिनुपर्छ।

नगरप्रमुख छविलाल थारूले अघि सारेको कृषि विकासको सोचको महत्त्व पनि यहीँ छ। कृषि यन्त्र वितरणबाट किसानलाई तत्काल सहयोग पुर्‍याउने, हायरिङ सेन्टरमार्फत आवश्यक उपकरण सहज रूपमा उपलब्ध गराउने र शीतभण्डार सञ्चालनमा ल्याएर उत्पादनको संरक्षणमा सघाउने योजनाले पूर्णता पाएमा किसानले त्यसको प्रत्यक्ष लाभ लिन सक्नेछन्। यी योजना प्रभावकारी रूपमा अघि बढेमा कृषि क्षेत्रको विकासमा दीर्घकालीन योगदान पुग्न सक्छ। त्यसैले यिनको कार्यान्वयन र निरन्तरतामा सम्बन्धित सबै पक्षको ध्यान जान आवश्यक छ।

छविलाल थारू फेरि नगरप्रमुखका रूपमा निर्वाचित भएमा उनले अघि सारेका योजनालाई निरन्तरता दिने र थप व्यवस्थित रूपमा कार्यान्वयन गर्ने अवसर प्राप्त हुन सक्छ। तर योजनाको भविष्य कुनै एक व्यक्तिको पदमा मात्र निर्भर रहनु हुँदैन। उनी पुनः निर्वाचित भए पनि वा नयाँ नेतृत्व आए पनि किसानको हितमा रहेका यी योजनाले निरन्तरता पाउनु नै मुख्य विषय हो। आगामी नेतृत्वले पनि कृषि क्षेत्रका समस्यालाई प्राथमिकतामा राखेर निर्माण सम्पन्न शीतभण्डार सञ्चालन, हायरिङ सेन्टरको कार्यान्वयन र किसानको उत्पादन लागत घटाउने कामलाई अगाडि बढाउनुपर्छ।

किनकि किसानको भविष्य कुनै व्यक्तिको राजनीतिक भविष्यभन्दा ठूलो विषय हो। नेतृत्व आउँछन्, जान्छन्; तर किसानको समस्या उस्तै रहनु हुँदैन। आज अघि सारिएको राम्रो सोच भोलि परिणाममा रूपान्तरण हुन सक्यो भने मात्र त्यसले वास्तविक अर्थ पाउँछ। बारबर्दियामा सुरु भएका यी प्रयास व्यक्तिको कार्यकालमा सीमित नरही किसानको दीर्घकालीन हितसँग जोडिएर अघि बढ्न सकून्।

बिज्ञापन-YM-ADCustom Text

महिला फुटबल खेलाडीलाई प्रोत्साहन : बारबर्दिया–४ का वडाध्यक्ष योगीद्वारा खेल सामग्री हस्तान्तरण

बर्दिया,२०८३ आश्विन , २५ ।

बारबर्दिया नगरपालिका वडा नं. ४ का वडाध्यक्ष सीताराम योगीले महिला फुटबल खेलाडीलाई प्रोत्साहन गर्न वडाको बजेटबाट खेल सामग्री उपलब्ध गराउनुका साथै व्यक्तिगत रूपमा फुटबल प्रतियोगिताको प्रवेश शुल्कसमेत सहयोग गरेका छन्।

वडा कार्यालयबाट विनियोजित बजेटमार्फत वडाध्यक्ष योगीले महिला फुटबल खेलाडीलाई १५ जोर खेल ड्रेस र १२ जोर फुटबल जुत्ता हस्तान्तरण गरेका हुन्। खेलकुदमा महिलाको सहभागिता बढाउन र खेलाडीलाई आवश्यक सामग्रीको उपलब्धता सहज बनाउन गरिएको यस पहलले स्थानीयस्तरमा महिला फुटबलको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसका अतिरिक्त, बारबर्दियामा एक क्लबले आयोजना गरेको फुटबल प्रतियोगितामा सहभागी हुन खेलाडीहरूलाई वडाध्यक्ष योगीले आफ्नै व्यक्तिगत खर्चबाट प्रवेश शुल्कसमेत उपलब्ध गराएका छन्। सार्वजनिक बजेटबाट खेल सामग्रीको व्यवस्था गर्नुका साथै व्यक्तिगत तवरबाट पनि खेलाडीलाई सहयोग गर्नुले स्थानीय खेलकुदप्रति उनको चासो र प्रतिबद्धता देखाएको छ।

स्थानीयस्तरमा खेलाडीहरूले आवश्यक खेल सामग्री र प्रतियोगितामा सहभागी हुन लाग्ने खर्चको अभाव झेल्नुपर्ने अवस्था हुन सक्छ। यस्तो अवस्थामा खेलाडीको आवश्यकता पहिचान गरी सहयोग गर्नुले उनीहरूलाई खेलमा निरन्तरता दिन र आफ्नो क्षमता प्रदर्शन गर्न सहज बनाउँछ।

महिला फुटबलको विकासका लागि खेलाडीलाई अवसर, आवश्यक सामग्री र प्रोत्साहन उपलब्ध गराउनु महत्त्वपूर्ण मानिन्छ। वडाध्यक्ष योगीको यो पहलले स्थानीय तहमा खेलकुद प्रवर्द्धनका लागि बजेटको परिचालन र व्यक्तिगत सहयोग दुवैको महत्त्वलाई उजागर गरेको छ। यस्ता प्रयासले बारबर्दियामा महिला फुटबलको विकास र खेलाडीको मनोबल अभिवृद्धिमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गर्न सकिन्छ।

बिज्ञापन-YM-ADCustom Text

समाजसेवी कालीराम थारुको स्मृतिमा शालिक अनावरण

१४  श्रावण  २०८२, रिपोर्टिंग  नेपाल ,बर्दिया   — राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका समाजसेवी स्व. कालीराम थारुको सम्झनामा बारबर्दिया नगरपालिका–५ स्थित मगरागाडी चोकमा नागा पंचमी तथा गुरिया पर्वको अवसर पारि उहाँको शालिक अनावरण गरिएको छ।

नगरपालिकाको आयोजनामा आयोजित विशेष समारोहमा नगरप्रमुख छबिलाल थारुले शालिक अनावरण गर्दै स्व. थारुलाई “समर्पित र जनमुखी समाजसेवी”को रूपमा स्मरण गर्नुभयो। उहाँले भन्नुभयो, “कालीराम थारु कुनै पार्टी विशेषका प्रतिनिधि होइनन्, उनी सम्पूर्ण समाजका सेवक थिए। उहाँको योगदान थारु समुदायदेखि सम्पूर्ण बारबर्दिया नगरवासीका लागि प्रेरणाको स्रोत हो।”

यद्यपि शालिक निर्माण केही सामाजिक सञ्जालमा विवादको विषय बन्यो। आलोचकहरूले नेपाली कांग्रेसले स्थानीय निर्वाचन घोषणापत्रमा दल विशेषका नेताको नाममा शालिक नबनाउने उल्लेख गरेका थिए भन्ने विषय उठाइ समाजसेवी कालिरामको योगदान नबुझी हावाको भरमा मुर्ति बनाउनेकार्य लाई अतिरन्जित गरेका थिए । यसबारे नगरप्रमुख थारुले स्पष्ट पार्दै भन्नुभयो, “यो कुनै पार्टीको शालिक होइन। स्वर्गीय कालीराम थारु एक समाजसेवी हुनुहुन्थ्यो। उहाँको नेतृत्वमा बनाइएको कुलोबाट सयौं किसानले खेतमा सिँचाइ पाएका छन् , उहाको योगदानमा त्यसवेला खनिएको रम्मापुर जयनगर बाटोमा हजारौ जनता हिड्न पाएकाछन् , उहाले निर्माण गरेका स्कुलमा बिद्यार्थी पढिरहेका छन्, यस्ता धेरै योगदानहरु छन् कलिराम थारुको त्यसैले  उहाँलाई संकुचित राजनीतिक दृष्टिले होइन, साझा योगदान दिने सामाजिक व्यक्तित्वका रूपमा हेर्नुपर्छ।”

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टिकानाथ गोसाईले शालिक निर्माणमा १४ लाख ३८ हजार २ सय रुपैयाँ लागत लागेको जानकारी दिनुभयो। शालिक १ सय ९७ किलो तौलको भए पनि सम्झौता १ सय ८० किलोमा भएकाले सोही आधारमा भुक्तानी गरिएको हो। स्तम्भ निर्माण र वरिपरिका सडक पिच कार्यका लागि १५ लाख बजेटमा १४ लाख ६१ हजारमा सम्झौता भई बाँकी कार्य सम्पन्न हुन बाँकी रहेकाले म्याद थप गरिएको बताइएको छ।

वि.सं. १९८४ साल चैत २८ गते जन्मिनु भएका स्व. थारुले वि.सं. २०६१ साल चैत ४ गते निधन हुनु अघि सम्म जनताको सेवा, राजनीतिक जागरण र भौतिक विकासमा निरन्तर योगदान दिनुभयो। २०१२ सालदेखि कुलापानी चौधरीमार्फत राजनीतिमा प्रवेश गरी तीनपटक मगरागाडी गाउँपञ्चायतको प्रधानपञ्च पदमा निर्वाचित भई जनताको सेवा गर्नुभएको थियो।

२०३७ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा ‘छाता’ चिन्ह लिएर उम्मेदवारी दिनुभएका थारुले शिक्षा, सिँचाइ, पुल, मन्दिर, बाँध, कुला, खानेपानी, सडकजस्ता पूर्वाधार निर्माणमा सक्रिय सहभागिता जनाउनुभएको थियो। पश्चिम नेपालको एक ऐतिहासिक धार्मिक स्थल ‘सदाशिव मन्दिर’ पनि उहाँकै नेतृत्व र लगानीमा निर्माण भएको हो।

साँस्कृतिक संरक्षणमा समेत उहाँले विशेष ध्यान दिनु भएको थियो। उहाँको पहलमा परम्परागत भेषभूषा, नाचगान, रीतिरिवाजहरू जोगाइएका थिए। दशैँलगायत चाडपर्वहरूमा उहाँको घरमा सामूहिक जमरा, टीका र सांस्कृतिक जमघट नियमित रूपमा हुने गर्थ्यो।

राजाबाट ‘तक्मा’ र ‘कदरपत्र’ प्राप्त गरेका थारु, बहुदलीय व्यवस्थाको पक्षमा जनमत संग्रहमा सक्रिय सहभागी रहनुभएको थियो।

बारबर्दिया नगरपालिका वडा नम्मर ५ का वडाध्यक्ष लाल बहादुर चौधरी सभाध्यक्ष रहनुभएको उक्त कार्यक्रममा नगर प्रमुख छबिलाल थारु प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशेष अतिथिमा स्व. कलिराम थारुको धर्मपत्नी चीनकी थारु र प्रमुख प्रशासकीय अधिकृत टिकानाथ गोसाई रहनुभएको थियो l , राजनीतिक दल बाट प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसक नगर सभापति सुरेन्द्र बोहोरा, नेकपा माओवादीका नगर अध्यक्ष सुदिन थारु , रास्ट्रीय स्वतन्त्र पार्टीका नगर अध्यक्ष सागर भट्टराई , राप्रपा नगर अध्यक्ष राम भरोसे थारु लगाएत विभिन्न वडाका वडा अध्यक्ष, बडघर समाजसेवी लगायतको उपस्थिति रहेको थियो l

कार्यक्रमका सभाध्यक्ष बारबर्दिया नगरपालिका–५ का वडाध्यक्ष लाल बहादुर थारुले स्व. कालीराम थारु सामाजिक, सांस्कृतिक र भौतिक विकासमा उल्लेखनीय योगदान पुर्‍याएका एक सच्चा समाजसेवी भएको उल्लेख गर्दै उहाँको सम्मानमा शालिक स्थापना गर्नु नगरपालिकाको सराहनीय पहल भएको बताउनुभयो।

शालिक निर्माणलाई लिएर सामाजिक सञ्जालमा उठेका केही आलोचनाप्रति प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “कालीराम थारुजस्तो प्रेरणादायी व्यक्तित्वको जीवन र योगदानको गहिरो अध्ययन नगरी हचुवाको भरमा विरोध गर्नु दुर्भाग्यपूर्ण हो। यस्तो प्रतिक्रिया दिनेहरू कमजोर मानसिकता बोकेका सीमित व्यक्तिहरू मात्र हुन्।”

उहाँले कार्यक्रम समापनको घोषणा गर्दै कालीराम थारुलाई संकुचित राजनीतिक चश्माबाट नभई साझा सामाजिक योगदानको दृष्टिले हेर्नुपर्ने कुरामा जोड दिनुभयो। वडाध्यक्ष लाल बहादुर थारु  वर्तमानमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुनुहुन्छ।

बिज्ञापन-YM-ADCustom Text

किशोरकिशोरीको स्वास्थ्य सेवामा पहुँच बढाउन बारबर्दियामा नयाँ भवन

बर्दिया,२०८३ कार्तिक , १७ । किशोरकिशोरीका संवेदनशील स्वास्थ्य समस्याबारे खुलेर कुरा गर्न सक्ने सुरक्षित र गोपनीय वातावरण निर्माण गर्ने उद्देश्यसहित बारबर्दिया नगरपालिका–७ सिउनियामा एकीकृत किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा भवन निर्माण गरी सञ्चालनमा ल्याइएको छ।

बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारूको अध्यक्षतामा सोमबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले नवनिर्मित भवनको औपचारिक हस्तान्तरण कार्यक्रममा सहभागिता जनाउनुभएको थियो। भवन निर्माणसँगै नगरपालिकाको आधारभूत स्वास्थ्य सेवा प्रणालीमा किशोरकिशोरी लक्षित सेवाका लागि थप पूर्वाधार जोडिएको छ।

नगरप्रमुख थारूले स्थानीय तहमा स्वास्थ्य सेवालाई भवन र संरचना निर्माणमा मात्र सीमित नराखी नागरिकको वास्तविक आवश्यकतासँग जोड्नुपर्ने सन्दर्भमा यो सेवा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। विशेषगरी किशोरावस्थामा देखिने शारीरिक, मानसिक तथा यौन एवं प्रजनन स्वास्थ्यसम्बन्धी जिज्ञासा र समस्याका विषयमा सहज रूपमा परामर्श तथा सेवा प्राप्त गर्ने वातावरण निर्माण हुनु यसको महत्वपूर्ण पक्ष हो।

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक सहयोग तथा प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारू जनसेवा केन्द्र (आरकेजेएस) बर्दियाको साझेदारीमा सञ्चालित किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना दोस्रो चरणअन्तर्गत भवन निर्माण गरिएको हो।

भवन निर्माणमा कुल ४६ लाख ४५ हजार ४ सय ५८ रुपैयाँ २० पैसा खर्च भएको जनाइएको छ। २०८३ भदौ २८ गते निर्माण सम्पन्न भएको भवन सोमबार आयोजित कार्यक्रममा सम्बन्धित साझेदार संस्थाका प्रतिनिधिले स्वास्थ्य संस्था तथा नगरपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा नगरप्रमुख थारू, स्वास्थ्य सचिव श्रेष्ठ, जिल्ला समन्वय समिति सदस्य सुनिता नेपाली, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, कोइका नेपालका कन्ट्री डाइरेक्टर मुहेन कङ, प्लान इन्टरनेशनल कोरियाका प्रतिनिधि स्याङ्योङ पार्क तथा प्लान इन्टरनेशनल नेपालकी कार्यवाहक राष्ट्रिय निर्देशक सृजना गुरुङलगायतको उपस्थिति थियो।

कार्यक्रममा परियोजनाको उद्देश्य र उपलब्धिबारे जानकारी प्रस्तुत गर्नुका साथै नवनिर्मित भवनको अवलोकन गरिएको थियो। त्यसपछि कोइका, प्लान इन्टरनेशनल नेपाल र आरकेजेएसका प्रतिनिधिले भवन हस्तान्तरण गरेका थिए।

नयाँ भवनबाट किशोरकिशोरीले यौन तथा प्रजनन स्वास्थ्य, शारीरिक परिवर्तन, मानसिक स्वास्थ्य र अन्य संवेदनशील विषयमा गोपनीयता कायम राख्दै आवश्यक जानकारी, परामर्श तथा स्वास्थ्य सेवा लिन सक्ने अपेक्षा गरिएको छ। यसले विशेषगरी सामाजिक संकोच र जानकारीको अभावका कारण स्वास्थ्य संस्था पुग्न हिचकिचाउने किशोरकिशोरीलाई सेवा लिन सहज बनाउने विश्वास गरिएको छ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बर्दिया, स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश, नगरपालिका तथा वडा कार्यालयका प्रतिनिधि, स्वास्थ्यकर्मी, विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका पदाधिकारी, महिला स्वास्थ्य स्वयंसेविका, किशोरकिशोरी तथा बाल क्लबका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता रहेको थियो।

भवन निर्माणसँगै अब यसको प्रभावकारी सञ्चालन र सेवा निरन्तरता मुख्य विषय बनेको छ। स्थानीय सरकार, स्वास्थ्य संस्था र साझेदार निकायबीचको समन्वय कायम रहन सके सिउनियामा निर्माण भएको यो पूर्वाधारले बारबर्दियाका किशोरकिशोरीलाई आफ्नै समुदायमा गुणस्तरीय, सहज र गोपनीय स्वास्थ्य सेवा प्राप्त गर्ने आधार तयार गर्नेछ।

बिज्ञापन-YM-ADCustom Text

बारबर्दियामा एकै मञ्चमा ११ वडाका १३०५ महिलाको अष्टिम्की कार्यक्रमा सहभागिता

बारबर्दिया  / २ ०८२  श्रावण  ३०,  रिपोर्टिंग  नेपाल  सम्बाददाता  —

बारबर्दिया नगरपालिकाले आयोजना गरेको अष्टिम्की विशेष कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। कृष्ण जन्माष्टमीको अवसर पारेर गरिएको यस कार्यक्रममा नगरपालिकाका ११ वटै वडाबाट उल्लेख्य सहभागिता रहेको थियो। बारबर्दिया नगरपालिकाले आयोजना गरेको अष्टिम्की विशेष कार्यक्रममा हजारौं महिला दिदीबहिनीहरूले सामूहिक रूपमा एउटै मञ्चमा उपस्थित भएर नगरपालिकाद्वारा आयोजना गरिएको अष्टिम्की कार्यक्रम सफल पारेका छन् l

नगरपालिकाले सहभागिताको निम्ति सम्पूर्ण इच्छुक नगरवासीलाइ आव्हान गरेको थियो l नगरपालिकाको आव्हानलाइ स्वीकार्दै सम्पूर्ण वडाबाट ८७ वटा समूहमा १३०५ जनाको उपस्थिति थियो ।

ती समूहमार्फत करिब १३०५ जना महिलाले सामूहिक रूपमा कार्यक्रम स्थलमा उपस्थित भइ धार्मिक, संस्कृति परम्परा संरक्षणका लागि अष्टिम्की कार्यक्रममा भाग लिए। यसरी एउटै स्थानमा सयौं महिलाहरू परम्परागत ढंगले उपस्थित भई पूजामा सहभागी हुँदा कार्यक्रम अत्यन्त आकर्षक देखिएको थियो।

सहभागी महिलाहरू आफ्नै परम्परागत थारु पहिरन, गहना र पूजा सामग्रीसहित कार्यक्रम स्थलमा आएका थिए। उनीहरूले समूहगत रूपमा अष्टिम्की विशेष कार्यक्रम मा पुजा गर्दै एक–अर्कासँग अनुभव आदान–प्रदान पनि गरेका थिए। पूजामा सहभागी दिदीबहिनीहरूले उत्साहपूर्वक उपस्थितमा यसरी ठूलो संख्यामा भेला हुन पाउनु नै विशेष अवसर भएको अनुभव बाँडे।

कार्यक्रमलाई सम्बोधन गर्दै बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले यस अष्टिम्की विशेष कार्यक्रम लाई गाउँ–गाउँमा गरिँदै आएका सांस्कृतिक अभ्यासबारे जानकारी लिन र फरक–फरक ढंगले मनाइने पर्वलाई एउटै स्थानमा ल्याएर सांस्कृतिक आदानप्रदान गर्ने अवसरका रूपमा व्याख्या गर्नुभयो। उहाँले यसबाट कला–संस्कृतिको संरक्षणमा सहयोग पुग्ने र नयाँ पुस्तामा पनि संस्कृतिप्रति अपनत्व बढाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो। नगरप्रमुखले थारु समुदायको सम्मान र सांस्कृतिक सम्पदाको संरक्षणमा यो कार्यक्रम उपयोगी हुने धारणा राख्नुभयो।

भिडियो हेर्नुहोस 

प्रमुख प्रशासकीय अधिकृत टीकानाथ गोसाईंले बारबर्दिया नगरपालिकाले विगतदेखि नै थारु समुदायका चाडपर्वहरूको संरक्षणमा जोड दिँदै आएको बताउनुभयो। उहाँका अनुसार यस वर्ष अष्टिम्की विशेष कार्यक्रम त्यही प्रयासको निरन्तरता हो।

अष्टिम्की विशेष कार्यक्रम सामाजिक विकास समितिकी संयोजक श्यामकुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। आर्थिक विकास समितिका संयोजक रामफेरन थारुले सञ्चालन गर्नुभएको कार्यक्रममा नगरप्रमुख छबिलाल थारु प्रमुख अतिथी, नगर उपप्रमुख रत्ना कुमारी पाण्डे र  प्रमुख प्रशासकीय अधिकृत टीकानाथ गोसाईं विशिष्ट अतिथि र विभिन्न राजनीतिक दल लगायतका प्रतिनिधिहरूले आतिथ्य ग्रहण गरेका थिए।

कार्यक्रमका बीचमा वडाबाट आएका स्थानीय समूहहरूले सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए। स्थानीय समूहहरूले प्रस्तुत गरेको थारु समुदायको परम्परागत नृत्यले कार्यक्रममा सहभागीहरूलाई थप आकर्षित बनाएको थियो।

नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष सुदिन थारुले थारु समुदायको अष्टिम्की विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न योगदान पुरयाएकोमा बारबर्दिया नगरपालिकालाई धन्यवाद दिनुभयो। उहाँले नगरप्रमुख छबिलाल थारुले थारु समुदायको संस्कृति र परम्पराप्रति देखाउनुभएको चासोको प्रशंसा गर्दै यस प्रकारका कार्यक्रमले समुदायको पहिचानलाई अझ मजबुत बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।

यस पर्वमा महिलाहरू अघिल्लो दिन दर खाने, अष्टमीको दिन व्रत बस्ने, बेलुकी कृष्णको पूजा गरेर फलफूल, दूध र दही मात्र खाने र भोलिपल्ट पूजा सामग्री नदी वा खोलामा विसर्जन गर्ने परम्परा रहँदै आएको छ ।

थारु समुदायले अष्टिम्कीलाई धार्मिक आस्थाको रुपमा मान्ने हुदा नगरपालिकाले यस पर्बलाइ सांस्कृतिक अभ्यासका रूपमा प्रस्तुत गरीएकोहो।

यसरी नगरपालिकाको आयोजनामा सम्पन्न अष्टिम्की विशेष कार्यक्रममा ठूलो संख्यामा महिलाहरूको सहभागिता, परम्परागत पहिरन र सामूहिक पूजा अर्चनाको प्रयासले स्थानीय स्तरमै महत्वपूर्ण सांस्कृतिक गतिविधिको रूप लिएको छ । सहभागी महिलाहरूको सक्रियता, स्थानीय नेतृत्वको संलग्नता र सांस्कृतिक प्रस्तुति कार्यक्रमका मुख्य विशेषता बनेका छन् ।

नगरपालिकाले यस्ता कार्यक्रमलाई नगरबासीको चाहना अनुसार अझै निरन्तरता दिने जनाएको छ।

बिज्ञापन-YM-ADCustom Text

बारबर्दिया नगरपालिकामा सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम सुरु

१२ भाद्र २०८२ / बारबर्दिया — बारबर्दिया नगरपालिकामा सामुदायिक स्वास्थ्य तथा नर्सिङ सेवा घरदैलो कार्यक्रम सञ्चालनका लागि तीनदिने नव नियुक्त नर्सहरुको अभिमुखिकरण र सेवा प्रवेश तालिम सुरु भएको छ। भाद्र १२ गतेदेखि १४ गतेसम्म नगरकार्यपालिका हलमा हुने तालिमको आयोजना नगरपालिका स्वास्थ्य शाखा, जयनगरले गरेको हो भने सहजीकरण नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, टेकु, काठमाडौंले गरेको छ।

नेपालकै छैठौं नर्सिङ कार्यक्रमको रुपमा सुरु भएको यस अभियान अन्तर्गत बारबर्दियामा १४ जना नर्स नियुक्त भएका छन्। यसमा ११ जना सामुदायिक नर्स, २ जना विद्यालय नर्स र १ जना सामुदायिक नर्स अधिकृत रहेका छन्। नियुक्त नर्सहरु नगरपालिकाका सबै ११ वटै वडामा पुगेर स्वास्थ्य सेवा प्रदान गर्नेछन्। विद्यालय नर्सहरुले किशोरी विद्यार्थीलाई लक्षित गर्दै जनता माध्यमिक विद्यालय रम्मापुर र धर्मभक्त माध्यमिक विद्यालय कतर्नियामा स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसका लागि नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, नगरपालिका र विद्यालयबीच त्रिपक्षीय सम्झौता भएको छ।

तालिमको उद्घाटन समारोहमा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिराकुमारी निरौलाले विद्यालय र सामुदायिक स्वास्थ्य सेवाको महत्वबारे प्रकाश पार्दै भन्नुभयो, “नर्सहरुको भूमिका समुदायमा स्वास्थ्य सेवाको पहुँच बढाउन र स्वास्थ्य सचेतना फैलाउन अत्यन्त महत्वपूर्ण छ। सुरक्षित मातृत्व, बाल–किशोर स्वास्थ्य, मानसिक स्वास्थ्य र रोग नियन्त्रणमा उनीहरुको योगदान अमूल्य हुनेछ।”

वरिष्ठ अस्पताल नर्सिङ प्रशासक वाला राईले स्थानीय तहस्तरमा प्रभावकारी समन्वय र समितिको भूमिकाको महत्वबारे धारणा राख्दै भन्नुभयो, “सामुदायिक नर्सको कार्य प्रभावकारी हुन स्थानीय समुदाय, विद्यालय र नगरपालिकाबीचको सहकार्य आवश्यक छ। त्रिपक्षीय सम्झौता यस कार्यलाई थप बलियो बनाउनेछ।”

सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम परिवार केन्द्रित अवधारणामा आधारित छ। यस अन्तर्गत नर्सहरुले स्वास्थ्य परीक्षण, उपचार, स्वास्थ्य शिक्षा, रोग रोकथाम र व्यवहार परिवर्तनका कार्यक्रम घरमै पुगेर सञ्चालन गर्नेछन्। कार्यक्रमले मातृ–शिशु स्वास्थ्य, किशोर–किशोरी स्वास्थ्य, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, सर्ने तथा नसर्ने रोग नियन्त्रण तथा जेष्ठ नागरिक स्वास्थ्य सेवा विस्तारमा विशेष योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

यसअघि भक्तपुर, वर्दिबास, चन्द्रागिरी, वालिङ र इटहरीमा लागू भइसकेको यो कार्यक्रम चालु आर्थिक वर्षदेखि बारबर्दिया नगरपालिकामा औपचारिक रूपमा सुरु गरिएको हो। नगरपालिकाले यस अभियान मार्फत स्थानीय जनतामा स्वास्थ्य सम्बन्धी चेतना बढाउने र गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

उद्घाटन कार्यक्रममा नगरप्रमुख छबिलाल थारुले शिक्षा र स्वास्थ्यलाई सामाजिक विकासको मुख्य आधारका रूपमा प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो,
“स्वस्थ र सुसक्षम समाज निर्माण गर्न शिक्षा र स्वास्थ्य दुवै स्तम्भलाई मजबुत बनाउनु आवश्यक छ। विद्यालय र समुदायमा नर्सिङ सेवा उपलब्ध गराउनु भनेको हाम्रो समाजको भविष्य सुरक्षित बनाउने कदम हो। बारबर्दियाका सबै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने अधिकार राख्छन्। नगरपालिकाले नर्सहरुको उच्च मनोबल कायम राख्न र प्रभावकारी सेवा विस्तारमा निरन्तर साथ दिनेछ।”

मेयर थारुले नर्सहरुलाई आफ्नो जिम्मेवारी उच्च मनोबलसहित निर्वाह गर्न प्रेरित गर्दै, नगरपालिकासँग सहकार्य र सहयोगका लागि नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखालाई धन्यवाद ज्ञापन गर्नुभयो। 

नगरपालिकाले यस कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय स्वास्थ्य समिति, विद्यालय, परिवार र समुदायसँग सहकार्यमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएको छ। तालिममा सहभागी नर्सहरुले आगामी दिनमा आफ्नो कार्य प्रभावकारी बनाउन आवश्यक ज्ञान, सीप र व्यवहारिक अभ्यास प्राप्त गर्नेछन्।

यस कार्यक्रमको सफल कार्यान्वयनले बारबर्दियामा मातृ–शिशु स्वास्थ्य, किशोर–किशोरी स्वास्थ्य, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य र समुदायमा रोग नियन्त्रण सेवा विस्तारमा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

बिज्ञापन-YM-ADCustom Text

पदनाहा स्वास्थ्य चौकीलाई बारबर्दिया नगरपालिकाबाट उत्कृष्टताको सम्मान

५ असोज  २०८२ / बारबर्दिया — बारबर्दिया नगरपालिका–४ मा अवस्थित पदनाहा स्वास्थ्य चौकीले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको भन्दै बारबर्दिया नगरपालिकाबाट प्रशंसा पत्र प्राप्त गरेको छ।

नगरपालिकाभित्र रहेका १२ वटा स्वास्थ्य संस्थामध्ये प्रतिस्पर्धात्मक मूल्याङ्कनमा पदनाहा स्वास्थ्य चौकी पहिलो स्थानमा चयन भई यो सम्मान प्राप्त गर्न सफल भएको हो।

स्वास्थ्य चौकीका प्रमुख रमेश पौडेलले यो उपलब्धि पदनाहा क्षेत्रका सम्पूर्ण वडावासी, सेवाग्राही, स्थानीय अगुवा, बुद्धिजीवी र चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूको सामूहिक प्रयासको प्रतिफल भएको बताए। उहाँले भने – “यो सम्मान हाम्रो लागि गर्वको विषय मात्र होइन, अझ बढी जिम्मेवारीसहित सेवा पुर्‍याउने प्रेरणाको स्रोत पनि हो।”

यस उपलब्धि बारे सर्वसाधारणलाई जानकारी गराउन चौकीले वडा अध्यक्ष सिताराम योगीको प्रमुख आतिथ्यतामा विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा बडघर, स्थानीय अगुवा, बुद्धिजीवी, समाजसेवी तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अन्तरक्रियामा सहभागीहरूले पदनाहा स्वास्थ्य चौकीले देखाएको कार्यसम्पादन प्रशंसनीय रहेको भन्दै आगामी दिनमा अझ नयाँ कार्यक्रम, प्रविधि र योजनामार्फत सेवा स्तर थप उचाल्ने सुझाव दिएका थिए।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष योगीले पदनाहा स्वास्थ्य चौकीले देखाएको समर्पण र परिणामले वडा मात्र नभई सम्पूर्ण नगरपालिकाको गौरव बढाएको बताए। उनले “वडावासीको निरन्तर सहयोग र स्वास्थ्यकर्मीको अथक प्रयासले नै यो सम्भव भएको हो” भन्दै स्वास्थ्य चौकीलाई निरन्तर साथ र सुझाव दिन आग्रह गरे।

यसैगरी, स्वास्थ्य चौकीका प्रमुख पौडेलले पदनाहा स्वास्थ्य चौकीलाई उत्कृष्ट बनाउन योगदान पुर्‍याउने सम्पूर्ण समुदायलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

बारबर्दिया नगरपालिकाले प्रदान गरेको यो सम्मानले पदनाहा स्वास्थ्य चौकीलाई मात्र होइन, सम्पूर्ण नगर क्षेत्रका स्वास्थ्य संस्थालाई पनि उत्कृष्ट सेवातर्फ अघि बढ्न थप प्रेरणा दिने विश्वास लिइएको छ।

बिज्ञापन-YM-ADCustom Text

बिज्ञापन

Custom Text

भर्खरै राखिएको