गोपीलाल कँडेल Avatar

२४ मंसिर २०८१ l बर्दिया l गोपीलाल कँडेल

परमात्मा-  ब्रह्माण्डको सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता। यी शब्दहरूले हाम्रो अस्तित्वको सबैभन्दा गहिरो सत्यलाई छुन्छन्। हामी सबै परमात्मासँग जोडिएका छौँ, यो एउटा अटल सत्य हो। तर, हामी प्रायः परमात्माको खोजी बाहिर कतै गरिरहेका हुन्छौँ। मन्दिर, मस्जिद, चर्चमा गएर, पुकार गरेर, मागेर। तर, सत्य यो हो कि परमात्मा हामी भित्रै बिराजमान हुनुहुन्छ

विश्वका विभिन्न धर्महरूले परमात्माको अवधारणालाई फरक-फरक तरिकाले व्याख्या गरेका छन्। हिन्दू धर्ममा ब्रह्मा, विष्णु, महेश्वरलाई परमात्मा मान्दछन् भने इसाई धर्ममा जिससलाई परमात्मा मान्दछन्। इस्लाम धर्ममा अल्लाहलाई परमात्माको दर्जा दिएको पाईन्छ। बौद्ध धर्ममा निर्वाणलाई परमात्मा मानिन्छ। यद्यपि, सबै धर्महरूको मूल उद्देश्य एउटै छ, त्यो हो, परमात्मासँगको मिलन।

हामी प्रायः परमात्माको खोजी बाहिर गरिरहेका हुन्छौँ। हामी मन्दिर, मस्जिद, चर्चमा जान्छौँ। हामी पूजाआजा गर्छौँ। हामी भजन किर्तन गर्छौँ। हामी तीर्थयात्रामा जान्छौँ। तर, यी सबै बाह्य क्रियाकलापहरूले हामीलाई परमात्मासँग जोड्दैनन्। परमात्मा त हामी भित्रै बस्नुहुन्छ, अन्तर हृदयमा। परमात्मालाई पाउनको लागि हामीले उहाँलाई आफू भित्र न‌ै खोज्नुपर्छ।

जब हामी परमात्माको पुकार गर्छौँ, हामी अस्विकार गर्छौँ कि उहाँ हामी भित्र हुनुहुन्छ। हामी उहाँलाई आफूबाट टाढा छन् भन्ने ठान्छौँ। तर, जसले परमात्माको बाहिरी पुकारा मात्र गर्छ, उसका लागि त उहाँ सधैँ टाढै रहनुहुन्छ। किनभने यो सबै हाम्रो मान्यताको खेल हो। सच्चा प्रार्थना भनेको पुकार होइन र पुकारले परमात्मा प्राप्त हुदैन। सच्चा प्रार्थना मौन हुन्छ, शब्दरहित हुन्छ। जब हामी शब्दरहित हुन्छौँ, तब हामी परमात्माको निकटता अनुभव गर्न थाल्छौँ। हामीलाई केही भन्नुपर्ने आवश्यकता पर्दैन। किनकि उहाँलाई हाम्रो सबै कुरा थाहा छ, किनभने उहाँ अन्तर्यामी हुनुहुन्छ। हामीलाई थाहा नहुँदा नहुँदै उहाँ सबै कुरा बुझ्नुहुन्छ। परमात्मा हाम्रो

परमात्मा हाम्रो अन्तरतममा बस्नुहुन्छ। उहाँलाई के भन्नु? के सुझाव दिनु? हामी मन्दिर, मस्जिदमा गएर परमात्मासँग यसरी गर, उसरी गर भनेर भन्छौँ। सर्वव्यापक, अन्तरयामीलाई हामीले एउटा सानो मन्दीर भित्र कोचेर अपमान गरिरहेका छौँ । हामी मन्दिरका मुर्ती अगाडि भिखारी जस्तै बनेर बस्छौँ। परमात्माले सबै थोक दिनुभएको छ तर पनि हामीलाई पुग्दैन र मागिरहन्छौँ । हामी भन्छौँ, “मेरो पत्नी बिरामी छिन्, उनलाई निको पारिदेऊ। मेरो छोरा बेरोजगार छ, उसलाई जागिर मिलाइदेऊ।” बिमार निको पार्ने, जागिर मिलाई दिने, छोराछोरी जन्माईदिने परमात्माको काम होईन,यो त तपाईं हाम्रो काम हो । त्यसकारण यस्ता कुराहरू परमात्माले सुन्दैनन्। यस्ता कुराहरूका लागि गिडगिडाउनु बेकार छ। भागवत गीतामा बताईए अनुसार सत्कर्म गर्दै जानुस् त्यसको फल अवश्य मिल्दै जानेछ। सत्कर्मले शांति दिन्छ, आनन्द दिन्छ । हामीले परमात्मालाई सुनाउने होईन, बरु उहाँको कुरा सुन्नुपर्छ। अन्तरहृदयबाट निस्कने मधुर आवाजमा उहाँले के भनिरहनु भएकोछ, त्यो सुन्ने प्रयत्न गर्नुपर्छ । उहाँले हामीलाई दिनुपर्ने सबै कुरा पहिले नै दिइसक्नुभएको छ। हामीले त्यो कुरा स्वीकार गर्नुपर्छ। हामीले उहाँलाई आफू भित्र नै खोज्नुपर्छ। उहाँ हामीबाट टाढा होइनन्, बरु हामी अत्यन्त नजिक हुँदा हुँदै पनि उहाँबाट टाढा छौँ।  

हाम्रो कर्तव्य हो परमात्माको अनुभव गर्ने । परमात्माको दृश्य, शब्द, गन्ध र स्पर्श हामी आफैमा महसुस गर्न सक्छौँ । त्यसकारण उहाँलाई आफूभित्रै खोज्ने अभ्यास गरौँ। यसको लागि बिधि चाहिन्छ- आत्मज्ञान। भगवान श्रीकृष्णले अर्जुनलाई सिकाउनु भएको राजबिद्या। यही हाम्रो मुक्तिको मार्ग हो। आफ्नो जीवन प्रति संबेदनशील हुनुहुन्छ भने आउनुहोस् आजै देखि यो यात्रामा लागौँ।

परमात्माको कृपाको अनुभव व्यक्तिगत हुन्छ। यो अनुभन शब्दमा व्यक्त गर्न सकिदैन। यो अनुभवले हामीलाई शान्ति आनन्द र प्रेमको अनुभूति दिलाउँछ। यो अनुभवले हामीलाई जीवनको सार्थकता महसुस गराउँछ।

परमात्माको कृपा पाउनको लागि हामीले बाहिर कतै खोजिरहनु पर्दैन र बाहिर खोजेर पनि त्यो कृपा पाईदैन । उहाँ त हामी भित्रै, हाम्रै अन्तरहृदयमा बस्नुहुन्छ। हामीले आफू भित्रको आवाज सुन्न पर्छ। हामीले त्यो दृश्यको दर्शन गरौँ जो हामी भित्र नै छ। हामीले आफ्नो मन मस्तिष्क र शरीरलाई शान्त बनाउन सक्यौँ भने परमात्माको अनुभव अवश्य हुनेछ। मानव जीवनको सफलता र मोक्षको मार्ग पनि यहि नै हो।

बिज्ञापन

Custom Text
Custom Text Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here