बर्दिया, २०८३ भदौ ४ गते ।
बारबर्दियामा विद्युत् कटौतीको समस्या पछिल्लो समय एक दिनको विषय मात्र बनेको छैन। महिनौँदेखि हरेक साता लामो समय विद्युत् कटौती हुँदै आएको भन्दै स्थानीयवासी तथा व्यवसायीहरू प्रभावित बनेका छन्।
पछिल्लो पटक असोज ३ गते शनिबार र असोज ४ गते आइतबार बिहानदेखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिएको छ। रुखको हाँगा कटान तथा विद्युत् लाइन आसपासको झाडी सफाइ अर्थात् ‘बुस कटिङ’का लागि विद्युत् बन्द गरिएको बताइएको छ।
नियमित रूपमा लामो समय विद्युत् बन्द हुँदा यसको प्रत्यक्ष असर सरकारी कार्यालयमा मात्र नभई निजी क्षेत्र, बजार तथा दैनिक व्यवसायमा समेत परेको छ। बिदाका दिन सरकारी कार्यालयहरू बन्द भए पनि धेरै निजी संस्था, प्रिन्टिङ प्रेस, साइबर, फोटो स्टुडियो, पसल तथा अन्य व्यवसाय सञ्चालनमै रहने भएकाले विद्युत् कटौतीले उनीहरूको काम प्रभावित हुने गरेको छ।
त्यसैगरी, विद्युत् आवश्यक पर्ने भेटेरिनरी भ्याक्सिन, डेरीका दूध तथा दुग्धजन्य पदार्थ, मासु पसलमा राखिने मासु र अन्य चिस्यान आवश्यक पर्ने सामग्रीहरू लामो समय विद्युत् नहुँदा बिग्रिने तथा आर्थिक क्षति हुने जोखिम बढ्छ।
हरेक साता किन यति लामो विद्युत् कटौती?
रुखका हाँगा तथा झाडी कटान विद्युत् लाइनको सुरक्षाका लागि आवश्यक प्राविधिक काम हुन सक्छ। तर प्रश्न काम गर्नुपर्ने वा नपर्ने भन्ने होइन, त्यस्तो कामको समय व्यवस्थापन र कार्ययोजनाबारे हो।
महिनौँदेखि हरेक साता लामो समय विद्युत् कटौती गर्नुपर्ने अवस्था किन दोहोरिइरहेको छ?
यदि एउटै प्रकृतिको काम नियमित रूपमा गर्नुपर्ने हो भने त्यसलाई चरणबद्ध तथा एकीकृत योजना बनाएर कम समयमै सम्पन्न गर्न सकिँदैन?
विद्युत् कटौतीबाट सर्वसाधारण र व्यवसायमा पर्ने असरलाई ध्यानमा राखेर काम गर्ने समय परिवर्तन गर्न सकिँदैन?
यी प्रश्नको स्पष्ट जवाफ सम्बन्धित विद्युत् कार्यालयबाट आउन आवश्यक छ।
काम गर्नैपर्ने हो भने समय परिवर्तन गरौँ : Reporting Nepal को सुझाव
Reporting Nepal को बुझाइमा रुख कटान तथा ‘बुस कटिङ’जस्ता काम विद्युत् सुरक्षाका लागि गर्नैपर्ने भए काम गर्ने समयलाई सर्वसाधारणमा कम असर पर्ने गरी व्यवस्थापन गर्न सकिन्छ। Reporting Nepal को सुझाव छ—यस्ता काम बिहान ५ बजेदेखि १० बजेसम्मको समयभित्र केन्द्रित गर्न सकिन्छ। यसका केही व्यावहारिक कारण छन्।
पहिलो, बिहानको समयमा बजार, साइबर, प्रिन्टिङ प्रेस, बैंक तथा कार्यालयलगायतका धेरै व्यवसाय तुलनात्मक रूपमा कम व्यस्त हुने भएकाले विद्युत् कटौतीको प्रभाव केही कम हुन सक्छ। बिहान १० बजेपछि बजार र कार्यालयहरू पूर्ण रूपमा सञ्चालनमा आउने भएकाले त्यसपछि लामो समय विद्युत् बन्द हुँदा प्रत्यक्ष असर बढी पर्न सक्छ।
दोस्रो, बिहानको समयमा तापक्रम तुलनात्मक रूपमा कम हुने भएकाले सर्वसाधारणलाई गर्मीको समस्या कम हुनुका साथै प्राविधिक टोलीलाई समेत काम गर्न सहज हुन सक्छ।
तेस्रो, बिहान ५ देखि १० बजेसम्मको पाँच घण्टे समयलाई प्रभावकारी रूपमा प्रयोग गर्दै आवश्यक परे थप जनशक्ति तथा प्राविधिक टोली परिचालन गरेर कामलाई तीव्र गतिमा सम्पन्न गर्न सकिन्छ।
यसरी विद्युत् सुरक्षाका लागि गर्नैपर्ने काम पनि निरन्तर राख्दै सर्वसाधारण तथा व्यवसायमा पर्ने असरलाई कम गर्न सकिने Reporting Nepal को सुझाव हो।
‘हेलो सरकार’मा Reporting Nepal ले नै फोन गर्यो
विद्युत् कटौतीको विषयमा Reporting Nepal ले नै ‘हेलो सरकार’मा फोन गरी बारबर्दियामा भइरहेको लामो विद्युत् कटौती र त्यसबाट परेको समस्याबारे जानकारी गराएको छ।
‘हेलो सरकार’बाट Reporting Nepal लाई “हुन्छ, म तपाईंको कुरा तत्काल सम्बन्धित निकायमा जानकारी गराउँछु” भन्ने प्रतिक्रिया प्राप्त भएको छ। उक्त फोन कुराकानीको रेकर्ड Reporting Nepal सँग सुरक्षित रहेको छ।
यसैगरी, विद्युत् कटौती तथा रुखको हाँगा कटानसम्बन्धी विषयमा सम्बन्धित विद्युत् कार्यालयका जिम्मेवार अधिकारीसँग Reporting Nepal ले प्रतिक्रिया लिन फोनमार्फत सम्पर्कको प्रयास गरेको भए पनि फोन उठेन। फोन नउठाउनुको कारण भने सम्बन्धित अधिकारीको आधिकारिक प्रतिक्रिया प्राप्त भएपछि मात्र स्पष्ट हुनेछ।
अब विद्युत् कार्यालयको जवाफ के हो?
- महिनौँदेखि हरेक साता लामो समय विद्युत् कटौती गर्नुपर्ने अवस्था किन दोहोरिइरहेको छ?
- रुख कटान तथा ‘बुस कटिङ’को कामको दीर्घकालीन कार्ययोजना के हो?
- एउटै क्षेत्रमा पटक–पटक विद्युत् बन्द गर्नुपर्ने अवस्था किन आइरहेको छ?
- सर्वसाधारण तथा व्यवसायमा पर्ने असरलाई ध्यानमा राखेर बिहानको समयमा काम गर्न सकिने सम्भावना किन खोजिँदैन?
- विद्युत् कटौतीको अवधि कम गर्न थप जनशक्ति तथा प्राविधिक टोली परिचालन गर्न सकिन्छ कि सकिँदैन?
विद्युत् लाइनको सुरक्षा र नियमित विद्युत् आपूर्ति दुवै आवश्यक विषय हुन्। त्यसैले सुरक्षाका लागि गर्नैपर्ने प्राविधिक कामलाई रोक्ने होइन, त्यसको समय र कार्ययोजना व्यवस्थित गरेर सर्वसाधारणमा पर्ने असर कम गर्ने विषयमा सम्बन्धित निकायले ध्यान दिन आवश्यक देखिन्छ।
भिडियो हेर्नुहोस :
बिज्ञापन-YM-AD