
रिपोर्टिङ नेपाल , भाद्र १८ , २०८३ | बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका–७, सिउनियाका २९ वर्षीय दिलीप रावत ब्राउन सुगर र नगद रकमसहित पक्राउ परेका छन्।
बानियाभार स्थित इलाका प्रहरी कार्यालय हाल जयनगर बाट भाद्र १७ गते खटिएको गस्ती टोलीले नियमित शान्ति–सुरक्षा तथा गस्तीका क्रममा शंकास्पद अवस्थामा रावतलाई फेला पारेपछि जाँच गरेको थियो। जाँचका क्रममा उनको साथबाट ६० मि.ग्राम ब्राउन सुगर र नगद रु. २१ हजार २ सय ७५ बरामद भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
प्रहरीका अनुसार रावतलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उक्त लागूऔषध तथा नगद रकम फेला परेको हो। बरामद गरिएको ब्राउन सुगर र नगद प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनापछि रावतलाई इलाका प्रहरी कार्यालय बानियाभारको हिरासतमा राखिएको छ। उनीसँग बरामद भएको ब्राउन सुगर र नगद रकमका सम्बन्धमा प्रहरीले थप अनुसन्धान तथा सोधपुछ अघि बढाएको जनाएको छ।
प्रहरीले बरामद भएको लागूऔषध कहाँबाट ल्याइएको हो, त्यससँग सम्बन्धित अन्य कुनै व्यक्ति वा पक्षको संलग्नता छ/छैन तथा बरामद भएको नगद रकमको सम्बन्ध घटनासँग छ/छैन भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।
लागूऔषध नियन्त्रण तथा अवैध ओसारपसार रोक्न प्रहरीले बर्दियाका विभिन्न क्षेत्रमा गस्ती, निगरानी तथा शंकास्पद गतिविधिमाथि जाँच गर्दै आएको छ। सोही क्रममा रावत पक्राउ परेको प्रहरीले जनाएको हो।
यस घटनामा पक्राउ परेका रावतसँग सम्बन्धित थप विवरण तथा अनुसन्धानबाट खुल्ने तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
















