
१३ असोज २०८२ / बारबर्दिया – बारबर्दिया नगरपालिका–७ रम्मापुर स्थित करेलिया सामुदायिक वन कार्यालयको प्रांगणमा नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी (Community–Police Partnership) कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको संयोजन तथा संचालन प्रहरी चौकी जयनगर इप्रकाका प्रहरी सहायक निरीक्षक जोरासिंह अधिकारले गरेका हुन् । उनले समुदाय र प्रहरीबीच आपसी विश्वास र सहकार्य भए मात्र सुरक्षित समाज निर्माण सम्भव हुने भन्दै चाडपर्वको बेला विशेष सतर्कता अपनाउनुपर्नेमा जोड दिए ।

सई अधिकारीका अनुसार चाडपर्वको रमाइलोको नाममा चोरी, लुटपाट, जुवातास, मदिरा सेवन, लागूपदार्थ दुरुपयोगजस्ता गतिविधि बढ्ने देखिन्छ । यस्ता अपराधलाई रोक्न समुदायकै सक्रिय भूमिका आवश्यक हुने उनको भनाइ थियो । उनले दशैं, तिहार जस्ता ठूला चाडपर्वलाई उदाहरण दिँदै भने, “प्रहरी मात्रले सबै अपराध नियन्त्रण गर्न सक्दैन । स्थानीय तह, समुदाय, विद्यालय र सामाजिक संस्थाहरूले प्रहरीसँग सहकार्य गरे मात्रै अपराधमुक्त र सुरक्षित समाज बनाउन सकिन्छ ।”
कार्यक्रममा सहभागीहरूमाझ चाडपर्वताका बेला देखिने सम्भावित अपराधका क्षेत्रमा विस्तृत जानकारी गराइएको थियो । प्रहरीका अनुसार, चोरी र लुटपाट मात्र नभई सवारी दुर्घटना, झैझगडा, कुटपिट, घरेलु हिंसा, महिलामाथि हुने हिंसा, जबर्जस्ती करणी जस्ता घटनाहरू पनि बढ्ने सम्भावना हुन्छ । यसरी अपराध बढ्ने सम्भावनाबारे जानकारी दिँदै सई अधिकारले सबैलाई सचेत रहन आह्वान गरे । उनले अपराध देखिए वा शंका लागे तत्काल प्रहरीलाई जानकारी दिन आग्रह गर्दै भने, “प्रहरीलाई ढिलो जानकारी गराइयो भने सामान्य घटना पनि ठूलो दुर्घटनामा परिणत हुन्छ ।”
कार्यक्रममा बालबालिका र किशोरकिशोरीलाई लक्षित गर्दै विशेष सन्देश दिइयो । प्रहरीका अनुसार, चाडपर्वमा रमाइलोको नाममा उनीहरू कुलतमा फस्ने, लागूपदार्थ सेवन गर्ने वा जुवातासतर्फ आकर्षित हुने सम्भावना बढी हुन्छ । त्यसैले अभिभावक र समुदायले उनीहरूलाई सुरक्षित राख्नुपर्छ ।
बालविवाह र बहुविवाहजस्ता अवैध प्रथाले समाजमा गहिरो समस्या ल्याउने भएकाले यसलाई रोक्न समुदायकै पहल अपरिहार्य हुने भनाइ पनि व्यक्त गरियो ।
सवारी साधनको अत्यधिक प्रयोग हुने भएकाले चाडपर्वमा दुर्घटनाको जोखिम बढ्ने तथ्य कार्यक्रममा उठाइयो । चालक र यात्रु दुवै सतर्क हुनुपर्ने भन्दै सई अधिकारले विशेष गरी मोटरसाइकल चालकलाई मादक पदार्थ सेवनपश्चात सवारी नचलाउन आग्रह गरे ।
उनले हेल्मेट र सिटबेल्ट प्रयोग नगर्दा धेरै दुर्घटनामा ज्यान गुमाउने अवस्था आएको तथ्य प्रस्तुत गर्दै सहभागीहरूलाई सचेत रहन आह्वान गरे ।

कार्यक्रममा सहभागीहरूले पनि अपराध नियन्त्रणमा प्रहरीलाई मात्र दोष नदिइ समुदायकै सक्रियता जरुरी हुने धारणा राखे । उनीहरूले कुनै पनि आपराधिक गतिविधि देखिएमा ढिला नगरी प्रहरीलाई जानकारी गराउने प्रतिबद्धता जनाए ।
सामाजिक संस्था र विद्यालयका प्रतिनिधिहरूले आफ्नो स्तरबाट सचेतना फैलाउने, टोलमा हुने विकृति र अपराध रोक्न प्रहरीलाई सहयोग गर्ने, बालबालिकालाई कुलतबाट जोगाउने र महिला हिंसा रोक्न प्रत्यक्ष पहल गर्ने संकल्प गरेका थिए ।
नेपाल प्रहरीले समुदायसँग सहकार्य गर्दै सञ्चालन गर्दै आएको “समुदाय–प्रहरी साझेदारी” अभियानले अपराध नियन्त्रण मात्र नभई शान्ति, सुरक्षा र सामाजिक विश्वास कायम गर्न दीर्घकालीन योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले प्रहरीलाई मात्र अपराध नियन्त्रणको जिम्मा हालेर पन्छिन नमिल्ने भन्दै आफूहरूले पनि सचेत हुने अठोट व्यक्त गरे । उनीहरूले प्रहरी र समुदायबीच नियमित छलफल र सहकार्य भइरहने हो भने बारबर्दियालाई अपराधमुक्त क्षेत्र बनाउन सकिने विश्वास व्यक्त गर्दै कुनै पनि आपराधिक गतिविधि देखिएमा ढिला नगरी प्रहरीलाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपाल प्रहरीले समुदायसँग सहकार्य गर्दै सञ्चालन गर्दै आएको “समुदाय–प्रहरी साझेदारी” अभियानले अपराध नियन्त्रण मात्र नभई शान्ति, सुरक्षा र सामाजिक विश्वास कायम गर्न दीर्घकालीन योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
















