
५ असोज २०८२ / बारबर्दिया — बारबर्दिया नगरपालिका–४ मा अवस्थित पाञ्चजन्य माध्यमिक विद्यालयले विजया दशमी तथा दिपावलीको पावन अवसर पारेर विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक सुधारबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
बारबर्दिया नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति (बि.व्य.स.) का अध्यक्ष सीताराम योगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बारबर्दिया नगरप्रमुख छबिलाल थारु प्रमुख अतिथि रहनुभएको थियो। विशेष अतिथि पूर्व बि.व्य.स. अध्यक्ष पूर्ण शर्मा हुनुहुन्थ्यो भने कार्यक्रम सञ्चालन तोयानाथ सापकोटाले गर्नुभएको थियो। कार्यक्रममा शिक्षा शाखा संयोजक हरि प्रसाद पोख्रेल, पूर्व संयोजक कृष्ण प्रसाद पोख्रेल, वडा नं. २ का वडा अध्यक्ष राम फेरन थारु, वडा नं. ४ का बडघर, बुद्धिजीवी, अभिभावक, विद्यार्थी प्रतिनिधि लगायतको सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका सहायक प्र.अ. गोमा चालिसेले राख्नुभएको थियो भने प्र.अ. सोभा आचार्यले विद्यालयको उद्देश्य, प्रगति र चुनौतीबारे प्रष्ट पार्दै शिक्षा गुणस्तर वृद्धिका लागि भइरहेको प्रयासबारे जानकारी दिनुभयो। उहाँले विद्यालयले पछिल्ला वर्षमा शैक्षिक गुणस्तरमा सुधार ल्याउन विभिन्न कार्यक्रम अघि सारेको जानकारी दिनुभयो। जसअन्तर्गत कक्षा १ देखि ८ सम्मका लागि उपचारात्मक कक्षा सञ्चालन, कक्षा ८ र १० का लागि दिवा तथा रात्रीकालीन छात्रावासको व्यवस्था, टोल–टोलमा अभिभावक भेला तथा सहयोग समिति गठन, गणित, कृषि, कम्प्युटर प्रयोगशाला, पुस्तकालय र विज्ञान प्रयोगशालाका लागि सामग्री व्यवस्थापन तथा किशोरी विद्यार्थीका लागि महिनावारी आराम कक्षको स्थापना गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख छबिलाल थारुले विद्यालयको शैक्षिक सुधारमा नगरपालिकाले उच्च प्राथमिकता दिएको उल्लेख गर्दै भन्नुभयो कि घोकन्ते शिक्षा अब पुरानो ढर्रा भएको छ। उहाँले अबको आवश्यकता भनेको विद्यार्थीलाई बुझ्ने, सोच्ने र सिर्जना गर्ने बनाउने शिक्षा भएको बताए। उहाँका अनुसार शिक्षकले विद्यार्थीको स्तर अनुसार बुझाउन सक्ने तरिकाले पढाउनुपर्छ। नगरपालिकाले शिक्षामा कुल बजेटको ३८ प्रतिशत विनियोजन गरेको छ। यो ठूलो लगानी भएको तर यो लगानी तब मात्र सार्थक हुने उहाँले बताउनुभयो जब विद्यार्थीले वास्तविक ज्ञान आर्जन गर्छन्। नगरको पैसा खेर नजाओस् भनेर विद्यार्थीलाई बुझ्ने गरी पढाएर बारबर्दियालाई शैक्षिक क्षेत्रमा अग्रस्थानमा पुर्याउनुपर्ने उहाँको भनाइ थियो। नगरप्रमुख थारुले विद्यालयमा गुणस्तरीय पूर्वाधार, दक्ष शिक्षक र नियमित मूल्यांकन प्रणालीले मात्र शैक्षिक गुणस्तर बढाउने विश्वास पनि व्यक्त गर्नुभयो।
विशेष अतिथि पाञ्चजन्य माविकै पूर्व बि.व्य.स. अध्यक्ष पूर्ण शर्माले विद्यालयको आर्थिक सुदृढीकरणमा आफूले पुर्याएको योगदान सम्झिँदै आफू सहकारीको अध्यक्ष हुँदा विद्यालयको भविष्यका लागि विद्यालयमा भएको ७० लाख रुपियाँ सहकारीमा जम्मा गर्न लगाएर १० प्रतिशत ब्याज दिएको उल्लेख गर्नुभयो। उहाँका अनुसार त्यस ब्याजबाट निजीस्रोतका शिक्षकलाई तलब दिनेदेखि विद्यालय सञ्चालनसम्म ठूलो सहजता भएको थियो।
यस विषयमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष एबम वडा नम्मर ४ का वडाअध्यक्ष सीताराम योगीले आफ्नो विचार राख्दै विद्यालयमा विगतमा भएको योगदानको कदर गर्दै त्यस रकमको सदुपयोगबारे स्पष्ट विवरण समेत आवश्यक रहेको बताउनु भयो । उहाले भन्नुभयो “त्यो ७० लाख विद्यालयमा जम्मा भएको अहिले त्यो रकम कहाँ गयो ? यसको हिसाब–किताब खोज्नुपर्छ। ” भन्दै उहाले विद्यालयको स्रोत र साधन कसरी व्यवस्थापन गर्ने भन्नेमा पारदर्शिता, जवाफदेहिता र साझा जिम्मेवारी महत्वपूर्ण हुनेमा जोड दिनुभयो। उहाँका अनुसार विद्यालयको दिगो विकासका लागि शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय समाज सबैले समान रूपमा जिम्मेवारी बोक्नुपर्ने हुन्छ। उहाँले विद्यार्थीलाई पढाउँदा उनीहरूको मनोविज्ञान बुझेर सिकाउने अभ्यासलाई अझै बढाउनुपर्ने र अभिभावकले पनि घरमै बालबालिकाको सिकाइमा साथ दिनुपर्नेमा जोड दिनुभयो।
यसरी सम्पन्न शैक्षिक सुधार अन्तरक्रिया कार्यक्रममा विद्यालयका प्रगति, चुनौती र सुधारका योजनामाथि गहन छलफल भएको छ। स्रोत र साधनको पारदर्शी उपयोगबारे उठेका प्रश्नहरूले विद्यालयलाई अझै व्यवस्थित र जवाफदेही ढंगले अघि बढ्न प्रेरणा दिएको छ। कार्यक्रममा सहभागीहरूको निष्कर्ष अनुसार यो अन्तरक्रियाले बारबर्दियामा शैक्षिक सुधारबारे नयाँ दृष्टिकोण र बहसको सुरुवात गरेको छ ।
















