
०६ श्रावण २०८२, रिपोर्टिंग नेपाल ,काठमाण्डौ | निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासम्बन्धी घुस काण्डमा अनुसन्धान भइरहेका बेला उक्त प्रकरणमा भूमिसुधार मन्त्री भइसकेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको संलग्नता पनि देखिएको खुलेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार, पोखराका एक व्यक्तिसँग पूर्वमन्त्री श्रेष्ठले पटक–पटक सम्पर्क गरी नगद रकम मागेको प्रमाण फेला परेको छ। ती व्यक्तिले अडियो र म्यासेजमार्फत सम्पूर्ण विवरण सुरक्षित राखेका थिए, जसमा श्रेष्ठले ‘पशुपति पूजामा छु, क्यास चाहिएको छ, ड्राइभरलाई पठाइदिऊँ?’ भन्ने म्यासेजसमेत गरेकि थिईन ।
त्यसै क्रममा पूर्वमन्त्री श्रेष्ठले आफ्नो निजी सुरक्षा अधिकृत (PSO) प्रयोग गरेर पनि ती पोखराका व्यक्तिसँग पटक पटक सम्पर्क गरेको तथा पैसा मागेको तथ्य सार्वजनिक भएको छ।
घटना सार्वजनिक भएपछि पूर्वमन्त्री रञ्जिता श्रेष्ठले भने सबै आरोप अस्वीकार गरेकी छन्। उनले न ती पोखराका व्यक्तिलाई चिनेको दाबी गरिन्, न त पैसा मागेको भन्ने आरोप स्वीकार गरिन्। ‘न चिनाजान, न सम्पर्क, न भेटघाट— कसैसँग म पैसा माग्ने कुरा हुनै सक्दैन’, उनले बताएकी छन्।
तर अख्तियार स्रोतले भने यो प्रकरणमा श्रेष्ठ ‘तेस्रो पात्र’को रूपमा सक्रिय भएको पुष्टि गर्दै अनुसन्धान जारी रहेको जनाएको छ। ती व्यक्तिले मन्त्री गुप्ताको अडियो रेकर्ड मात्र होइन, श्रेष्ठसँगको म्यासेज आदानप्रदानसमेत उपलब्ध गराएको र त्यसले घटनालाई अझै गम्भीर बनाएको उल्लेख छ।
















