
९ असार २०८२, रिपोर्टिंग नेपाल ,बर्दिया — बारबर्दिया नगरपालिकाले आफ्नो १७औं नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाले पूर्वाधार सुदृढीकरण, सामाजिक न्याय, सूचना प्रविधिको विस्तार, कृषि, ऊर्जा तथा समावेशी सेवा प्रणालीलाई उच्च प्राथमिकतामा राख्दै दीर्घकालीन तथा समग्र विकासलाई केन्द्रमा राखेको छ।
नगर क्षेत्रका सबै ११ वटै वडामा रहेका अस्थायी तथा जीर्ण काठेपुलहरू विस्थापित गर्दै नयाँ र टिकाउ संरचना निर्माण गरिनेछ। यस्तै, ६ मिटरभन्दा कम चौडाइ भएका सडकहरूमा अब लगानी नगर्ने स्पष्ट नीति लिएको छ, जसले विकासलाई लामो समयसम्म दिगो बनाउन मद्दत गर्ने विश्वास लिइएको छ।
नगरपालिकाले सबै बस्तीमा इन्टरनेट सेवा विस्तार गर्ने तथा मुख्य बजार क्षेत्रमा निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने योजना अघि सारेको छ। सूचना पहुँचको अधिकारलाई व्यवहारिक बनाउन यो कदमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
शिक्षालाई आधुनिक बनाउँदै नवप्रवर्तन कार्यक्रम प्रस्तावनाको आधारमा अनुदान दिइनेछ। सुत्केरी बिदामा बसेका शिक्षिकाहरूको विकल्पमा सत्ता शिक्षकको व्यवस्थासमेत गरिएको छ। साथै, समावेशी तथा वातावरणमैत्री शौचालय र स्वच्छ खानेपानीको व्यवस्था नगरका सबै विद्यालयहरूमा गरिनेछ।
विद्युत सेवा अझ सुदृढ बनाउन प्रयाप्त भोल्टेज सहितको सुविधा बस्ती–बस्तीसम्म पुर्याइने नीति अघि सारिएको छ। यो कदम ग्रामीण तथा अर्धशहरी क्षेत्रका उद्योग, शिक्षालय, स्वास्थ्य चौकी र डिजिटल सेवामा प्रत्यक्ष लाभदायक हुने विश्वास गरिएको छ।
कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न पालिकाले आलु, प्याज लगायतका बालीका लागि चिस्यान केन्द्र बनाउने तथा रैथाने बालीको संरक्षण तथा प्रवर्धन गर्ने नीति लिएको छ। साथै, कृषकलाई मौसमसम्बन्धी जानकारी घरदैलोमै पुर्याउने सूचना प्रणाली विकास गरिनेछ।
दूध संकलन तथा प्रशोधन केन्द्र स्थापना गरिनेछ भने सहकारीमार्फत कृषकहरूलाई बजारसँग प्रत्यक्ष जोड्ने कार्यक्रम पनि समावेश गरिएको छ।
८० वर्षभन्दा माथिका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा सुत्केरी महिलालाई घरमै पुगेर गुणस्तरीय सेवा दिने विशेष कार्यक्रम कार्यान्वयन गरिनेछ। स्वास्थ्य सेवालाई नागरिकमैत्री बनाउने यो नीति सुदूर बस्तीहरूमा अझ प्रभावकारी हुने अनुमान गरिएको छ।
युवाहरूमाझ लोकप्रिय हुँदै गएका खेलहरू — जस्तै पेनकेक सिलाट, कराते, भारोत्तोलन र उस्सु — लाई व्यवस्थित गर्न आवश्यक पूर्वाधार र तालिम केन्द्रको व्यवस्था गरिनेछ। स्थानीय स्तरमा प्रतियोगिताहरू सञ्चालन गरेर खेलकुदको विकासलाई थप मजबुत बनाउने योजना पनि यसै कार्यक्रमअन्तर्गत समावेश गरिएको छ।
स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई थप सुदृढ बनाउँदै २४ सै घण्टा सञ्चालनमा ल्याइनेछ। साथै, सार्वजनिक सम्पत्तिको लगत संकलन गरी संरक्षण गर्ने कार्यलाई व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।
बारबर्दिया नगरपालिकाको यसपटकको नीति तथा कार्यक्रमले पूर्वाधार विकास र सामाजिक उत्तरदायित्वलाई सँगसँगै लिएर अघि बढाउने संकेत दिएको छ। दीर्घकालीन सोच, स्थानीय आवश्यकता र डिजिटल युगको मागलाई सम्बोधन गर्नेगरी बनाइएको नीति कार्यान्वयनमा गएमा नगरवासीको जीवनस्तरमा गुणात्मक परिवर्तन आउने अपेक्षा गर्न सकिन्छ।

















