
४ जेष्ठ २०८२ , बर्दिया – रिपोर्टिंग सम्बाददाता “साना हातमा खोपको सुरक्षा, समर्पित मनमा सेवाको भाव” यिनै शब्दहरू आज बारबर्दिया नगरपालिकामा प्रत्यक्ष अनुभूत भए । बारबर्दियाले पुनः एकपटक ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिकाको रूपमा बर्दियामा पहिलो बन्ने गौरव प्राप्त गर्दै , स्वास्थ्य सुरक्षामा आफ्नो अडिग प्रतिबद्धता पुष्टि गरेको छ।
आज आइतबार,विशेष समारोहका बीच नगरपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिकाको प्रमाणपत्र प्रदान गरिएको हो। यो उपलब्धि केवल औपचारिकता नभई समुदायको निरन्तर मेहनत, स्वयंसेवकको समर्पण र स्थानीय सरकारको स्पष्ट दृष्टिकोणको प्रतिफल हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका मापदण्ड अनुसार, कुनै पनि पालिकालाई पूर्ण खोप सुनिश्चित घोषित गर्नका लागि आवश्यक छ । १५ महिनाभित्र जन्मेका सबै बालबालिकाले निर्धारित सबै खोप प्राप्त गरिसकेको हुनुपर्छ। एकजना पनि खोपबाट वञ्चित हुन नहुने कडाइ लागू गरिएको छ।
बारबर्दिया नगरपालिकाले यी सबै मापदण्डलाई लगातार पालना गर्दै आएको छ। यही आधारमा, पहिलोपटक २०७७ सालमा पूर्ण खोप सुनिश्चित नगर घोषणा भएको बारबर्दियाले त्यसपछि प्रत्येक वर्ष मापदण्ड अनुरूपको मूल्याङ्कनमा सफलता प्राप्त गर्दै आएको छ। यस वर्ष पनि बारबर्दियाले निरन्तरता कायम राख्दै, प्रमाणपत्र प्राप्त गरेर बर्दियामा स्वास्थ्यको क्षेत्रमा उदाहरणीय उचाइमा पुग्न सफल भएको छ।
यस उपलब्धिको अवसरमा आयोजित ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा तथा सम्मान कार्यक्रम’ भावनात्मक र प्रेरणादायी दुवै बन्यो।
समारोहमा नगर प्रमुख छबिलाल थारुको अध्यक्षता थियो भने प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समितिकी उपप्रमुख अमिता कुमारी यादव रहनुभएको थियो। साथै अतिथिहरु नगर उपप्रमुख रत्ना कुमारी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत टिकानाथ गोसाई, स्वास्थ्य कार्यालय प्रमुख नारायण प्रसाद चौधरी लगायतको उपस्थिति उल्लेखनीय थियो।
कार्यक्रमको शुरुवातमा सामाजिक विकास समिति संयोजक श्यामकुमारी चौधरीले स्वागत मन्तव्य दिइन्। तत्पश्चात दीप प्रज्वलन गर्दै नगर प्रमुख र प्रमुख अतिथिले संयुक्त रूपमा समारोहको उद्घाटन गर्नुभयो।
स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रतिवेदन प्रस्तुत गर्दै मूल्याङ्कनका मापदण्डहरू, यथार्थ अवस्थाहरू, सामना गरिएका चुनौतीहरू र सफलता प्राप्तिका पाटाहरू विस्तृत रूपमा सार्वजनिक गर्नुभयो।
कार्यक्रममा ११ वटै वडाका अध्यक्षहरू, खोप समन्वय समितिका सदस्यहरू, स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू सहभागी थिए। खोप अभियानमा उल्लेखनीय योगदान पुर्याउने महिला स्वास्थ्य स्वयंसेविका र खोप कार्यकर्ताहरूलाई दोसल्ला ओढाई प्रमाणपत्रसहित सम्मान गरिएकोछ ।
कार्यक्रमको सबैभन्दा भावुक र सम्मानजनक क्षण पाँच जना ६० वर्ष नाघेका महिला स्वास्थ्य स्वयंसेविकाको बिदाइ बन्न पुग्यो , ती महिलाहरूले जीवनका दशकौँ समाजसेवामा अर्पण गरे – न त तलबको आश, न त सुविधाको चाहना । उनीहरुको सेवाभाव आज लाखौँको सम्मानमा परिणत भयो।
नगरपालिकाले ती स्वयंसेविकाहरू अम्बिका शाहा (कुम्रागाउँ), पार्वती थरुनी (जब्दहवा), तुलसी देवी सिंह ठकुरी (सिउनिया), कुमारी बिष्ट (औरी), पार्वती देवी सापकोटा (कतारनिया) सबैलाई रु. १/१ लाखको चेक, दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै बिदाइ गर्यो।
नगर अस्पताल विकास समितिका अध्यक्ष तीर्थराज पौडेललाई पनि स्वास्थ्य क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै दोसल्ला ओढाएर सम्मान गरियो।
नगर प्रमुख छबिलाल थारुले भने “यो उपलब्धि हाम्रो स्वास्थ्यकर्मी, स्वयंसेविका, वडा अध्यक्षहरू र सम्पूर्ण नगरवासीको साझा प्रयासको उपज हो। हामी सबै गर्व गर्छौं कि हाम्रो पालिकामा एकजना पनि बालबालिका खोपबाट छुटेका छैनन्।”
उपप्रमुख रत्नकुमारी पाण्डे, जिल्ला स्वास्थ्य प्रमुख नारायणप्रसाद चौधरीले स्वयंसेविकाहरूको समर्पणका साथै पालिकाको यो उपलब्धिको मुक्तकण्ठले प्रशंसा गर्दै भविष्यमा पनि साथ र समर्थन रहने प्रतिबद्धता जनाए।
यस्तै, नगरप्रमुख छबिलाल थारुले ब्यानरमा लेखिएको प्रतिबद्धता वाचन गरी हस्ताक्षर गरेपछि कार्यक्रमको अन्त्यतिर, सबै सहभागीहरूद्वारा प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गर्दै खोप अभियानको निरन्तरता, समावेशिता र दिगोपनाको संकल्प गरिएको थियो। यो केवल कागजी हस्ताक्षर थिएन , यो थियो, स्वास्थ्यप्रति जनप्रतिनिधि र सेवकहरूको गहिरो उत्तरदायित्वको संकेत।
बारबर्दिया नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको यात्रामा जुन साँचो प्रतिबद्धता देखाएको छ, त्यो अब स्थानीय शासन र सार्वजनिक स्वास्थ्य नीतिबीचको सफल सहकार्यको सजीव उदाहरण बनेको छ।
स्वास्थ्य सेवा केवल औपचारिक कार्यक्रम मात्र होइन, त्यो सधैं अविचल भावनात्मक र मानवीय समर्पणमा आधारित हुने रहेछ भन्ने कुरा आजको समारोहले पुनः पुष्टि गर्यो।























